Posted by: metta December 13, 2014
सडक दुर्घटनाको अर्थशास्त्र
Login in to Rate this Post:     0       ?        

सडक दुर्घटनाको अर्थशास्त्र

  • शुक्रबार २६ मंसिर, २०७१
  • डा. अरुणा उप्रेती
  • 1 Comment
(0 votes)
एउटा राजमार्गको बाटो साह्रै नराम्रो र घुमाउरो रहेछ। बाटो बिग्रेपछि र वर्षात्को समयमा त त्यहाँ दुर्घटना हुनु अति सामान्य घटना रहेछ। बाटो बिग्रँदै जाँदा दिनमा ३–४ वटा बस दुर्घटना भएर मानिसको टाउको फुट्नु, हातखुट्टा भाँचिनु, चोटपटक लाग्नु र कहिलेकाहीँ त मृत्यृसमेत हुनु स्वाभाविक भइसकेको थियो। त्यो ठाँउमा बस दुर्घटना यति सामान्य भइसकेको थियो कि, कुनै दिन त्यहाँ दुर्घटना भएन भने 'त्यो ठाउँमा आज कुनै पनि दुर्घटना भएन' भनेर समाचार बन्थ्यो।
त्यहाँनजिकै एउटा व्यक्तिले सानो औषधि पसल र चिया पसल पनि राखेको थियो। दुर्घटना भएपछि त्यहाँ मानिसले औषधि किन्न थाले र चिया पनि खानथाले। विस्तारै त्यो पसलको आकार पनि बढ्दै गयो। पछिल्लो ५ वर्षमा त त्यो सानो औषधि पसल अस्पतालमा परिवर्तन भइसकेको छ। अस्पतालको नाम नै सबैले 'दुर्घटना अस्पताल' राखिदिएका छन्। जनस्तरबाट राखिएको नाम चर्चित त हुने नै भयो। पछि त त्यहाँ एकतल्ले अस्पतालले नपुगेर ३–४ तल्ले भवन नै बन्यो। दुर्घटना गराउने बसका ड्राइभरलाई सुविधा र निःशुल्क उपचारको व्यवस्थाको थालनी भयो। 
चौबीसै घण्टा उपचार सेवा दिनुपर्ने भएकाले धेरै स्वास्थ्यकर्मीको जरुरत पर्यो्। सडक दुर्घटनामा परेका घाइते, तिनका परिवार, स्वास्थ्यकर्मीलगायतको चहलपहलले नजिकै चियापसल, फलफूल पसल, पत्रिका पसल, मनोरञ्जन प्रदायक पसल आदि सबै धमाधाम खुल्न थाले र ती क्रमशः चल्न पनि थाले। दुर्घटनाग्रस्त क्षेत्र देशको एउटा ठूलो व्यापारिक केन्द्र बन्यो। आक्कलझुक्कल र थोरैमात्र दुर्घटना हुने कतिपय देशका स्वास्थ्यकर्मी पनि त्यस दुर्घटना अस्पतालमा आएर सिक्न थाले। त्यसपछि त झन् वरिपरिका बिरामी पनि विदेशी डाक्टर छन् भनेर आउँदै जचाउन थाले। दुर्घटना अस्पतालको नाम त देशको कुनाकुनामा फैलियो। 
कुनैकुनै ड्राइभर-खलासी त त्यस क्षेत्रमा आउँदा गाडी अलि बिस्तारै चलाएर दुर्घटना नगर्दा दुर्घटना अस्पतालका मालिकले त्यो बस ड्राइभर र खलासीलाई बोलाएर …विशेष प्याकेज' दिएर त्यो ठाउँमा उनीहरूको बस पनि दुर्घटना गराउन आग्रह गर्न थाले। ड्राइभर र खलासीको २०–२० लाखको बीमा पनि गरिदिए। दुर्घटना अस्पताल मालिकका भाइले चाहिँ त्यहीँ ३ तारे होटल चलाउँथे। उनले पनि ड्राइभर र खलासीलाई दुर्घटना गरेवापत् मासुभात सित्तैमा दिएर पुरस्कार दिने आश्वासन दिए। अनि त के चाहियो धमाधम बस दुर्घटना हुनथाल्यो। त्यो ठाउँले दुर्घटनामा 'रेकर्ड' नै राख्यो। 
यस्तो भएपछि अब त अति भयो भनेर नागरिक समाजले आवाज उठाउन थाल्यो। सरकारले त्यो दुर्घटनाग्रस्त क्षेत्रको सडक मर्मत गर्ने कार्यक्रम ल्याउने विचार गर्योल। त्यस दुर्घटना गाउँमा त्यो विचारले मात्रै पनि ठूलो खैलाबैला मच्चियो। यसरी बाटो राम्रो बनायो र त्यहाँ दुर्घटना हुन छाड्यो भने त हाम्रो जीविकाको आधार नै समाप्त हुन्छ। परिवारको बिचल्ली हुन्छ, त्यस्तो चर्चित गाउँको शोभा नै हराउँछ। त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी सबै नै बेरोजगार हुन्छन्। करोडाँैको हिसाबकिताब राख्ने चार्टर्ड एकाउन्टेट पनि काम नपाएर बेरोजगार हुन्छन्। झन् अविकतिस गाउँका व्यक्तिले काम पाएको र त्यस ठाउँमा चिया पसल चलाएर बालबालिकालाई पढाउने तथा लालनपालन गर्ने महिलाको त मुखको गाँस नै खोसिन्छ। त्यसैले सरकारले कुनै पनि हालतमा यस दुर्घटना क्षेत्रलाई सुधार गर्ने काम गर्नु हुँदैन। यो त राष्ट्रिय महत्वको ठाउँ हो। बाहिरबाट स्वास्थ्यकर्मी आएर काम गर्दा कति नाम बढेको छ। दुर्घटनाग्रस्त क्षेत्रलाई त बनाउनै हुँदैन, बरु सकिन्छ भने नेपालका अन्य भागमा पनि 'दुर्घटना कुना' भनेर सडक बनाउनुपर्छ।' गाउँका गन्यमान्य व्यक्ति मिलेर एउटा समिति बनाएर सरकारलाई यस्तो निवेदन गरे। 
त्यस्तो अनुरोध गर्न जाँदा उनीहरू एउटा ठूलो र सुविधासम्पन्न बस चढेर गए। पाँच तारे होटलमा बसेर तिनले सरकारी अधिकारीसँग छलफल गरे। भोड्का, मम, चाउमिन खाँदै अति राम्रो वातावरणमा छलफल भयो। तात्तातो मासु र पुलाउको भोजनपछि आइसिक्रम खाँदै छलफल भयो र दुर्घटना गाउँका गन्यमान्य व्यक्तिहरूले खाममा हालेर सरकारी अधिकारीलाई केही उपहार पनि दिए। सरकारी कर्मचारीले आफ्नो रिपोर्टमा लेखे- 'दुर्घटना क्षेत्रमा अहिले सुधार गर्नु आवश्यक छैन। त्यहाँ सुधार गर्दा धेरै समस्या पर्ने देखिएकाले हाल त्यहाँको बाटो नबनाउने निर्णय गरिएको छ। त्यहाँको सडकमा कुनै पनि खालका सुधार गर्दा स्थानीयबासिन्दाबाट ठूलै विरोधको सामना सरकारले गर्नुपर्ने हुन्छ।' यस कुराले भोलिपल्टको अखबारको प्रथम पृष्ठमा स्थान पायो। 
यो देखेर देशका इञ्जिनियर र राजनीतिक दलका नेताका पत्नीहरूले भने- 'त्यसरी दिनहुँ मानिस मरिरहँदा पनि दुर्घटना हुने बाटोलाई नबनाउँदा त आपत् पर्ला नि! हामी पनि त्यही बाटोमा हिँड्नु पर्ला कुनै दिन।' जवाफमा नेता र इञ्जिनियरहरूले भने- 'यस्तो मुर्ख कुरा नगर तिमीहरू। तिम्रा सन्तान बसमा हिँड्नुपर्छ? हामी कि त हेलिकप्टरमा जान्छौँ कि त विदेशी महँगो गाडीमा चढ्छौँ, किन पिर गर्नुपर्योर? हामीलाई दुर्घटना अस्पताल र त्यहाँको तीन तारे होटलले सेयर पनि दिने भएको छ। पिर गर्नु पर्दैन, हाम्रो त दुवै हातमा लड्डु छ।' आफ्ना पतिको कुरा सुनेपछि नेता र इञ्जिनियर पत्नीहरूको चित्त बुझ्यो। उनीहरू बेलुकाको पार्टीमा जान लिपिस्टिक लगाउन थाले र अस्पतालमा आफ्नो कोको नातागोतालाई काम दिन सकिन्छ विचार गर्न थाले। त्यसपछि त्यो दुर्घटना अस्पतालमा विभिन्न दलका नेता, डन, विदेशी शक्तिको पनि हालीमुहाली हुन सुरु भयो। 
दुर्घटनाग्रस्त क्षेत्र अब कहिल्यै पनि सुधार गर्ननपर्ने भनेर संसद्बाट पास भयो। संविधानमा पनि त्यसको लागि विशेष व्यवस्था गरेर दुर्घटनाग्रस्त क्षेत्रलाई सुधार गर्नुपर्ने भयो भने संसद्को दुईतिहाइले मतदान गर्नुपर्ने प्रावधान बन्यो। दुर्घटना अस्पताल दुर्घटना गाउँको बारेमा अध्ययन भएर किताब पनि निस्किन थाले। अब त कसैले पनि त्यस ठाउँलाई सुधार्नु पर्ने, सडक बनाउनु पर्ने भनेर छलफलसम्म पनि गर्दैन। राजनीतिक दलको नै छत्रछायामा आनन्दसँग बस दुर्घटना हुन पाएको छ। मानिसहरू पीडित भएर अस्पताल गइ नै राख्छन्। बिरामी अस्पतालमा र कुरुवा तिनका होटेलमा खाना खाई नै रहन्छन्। र, अस्पताल तथा होटलको उन्नति भई नै रहन्छ। अब त नेताहरू दुर्घटना अस्पतालबाट आएको आफ्नो सेयरको पैसा पनि त्यहीँ राख्न थालेका छन्। किनभने त्यहाँ एउटा अन्तर्राष्ट्रियस्तरको बैंक पनि खुलेको छ। 
दुर्घटना अस्पतालका शाखा देशका विभिन्न भागमा खुलेपछि नेपालको जनसंख्या पनि नियन्त्रण भएको छ। दीवा वा रात्रिबसमा चढ्नेहरू गरिव, मुर्ख भएकाले उनीहरूको संख्या कम भएपछि देशमा अशिक्षा र पछौटेपन पनि घटेको छ। नेपालको यो विकास देखेर दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रले पनि दुर्घटना अस्पताल खोल्ने तयारी गरेको विषयमा समाचार आएको छ।

http://nagariknews.com/opinion/story/29358.html

मुख्य समाचार»

यात्रु कोच्न नपाउँदा बन्द

काठमाडौ, मंसिर २६ - 
३८ सिटको बसमा ६८ यात्रु राख्दा गत आइतबार सुर्खेतको पोखरीकाँडामा ठूलो दुर्घटना भयो। १८ जनाले ज्यान गुमाए भने ४९ यात्रु घाइते भए। त्यसको दुई दिनपछि बुधबार प्रहरीले सिटभन्दा बढी यात्रु राख्ने १३ सवारी साधनका चालक र सहयोगीसमेत गरी २३ जनालाई पक्रेर सार्वजनिक मुद्दा चलायो। प्रहरीको उक्त कडाइविरुद्ध यातायात व्यवसायीले भोलिपल्टैदेखि अनिश्चितकालीन बन्द सुरु गरे। परिणाम- आम यात्रु त गन्तव्यमा पुग्न पाएनन् नै, उक्त दुर्घटनामा जीवन गुमाएकाका परिवारजनले आफन्तको काजकिरियासमेत गर्न पाएका छैनन्। 

मध्यपश्चिम ब्युरो, नेपालगन्ज

आफन्तको अन्त्येष्टिपछि काजकिरियाका लागि बाजुराको गोत्री गाविस पुग्नुपर्ने एक दर्जन पीडितहरू व्यवसायीले बढी यात्रु कोच्न नपाएको झांेकमा यातायात बन्द गरिदिँदा शुक्रबारसम्म पनि सुर्खेतमै भौंतारिन बाध्य छन्। समयमै र्फकन नपाए मृतकको काजकिरिया उम्कने भएकाले अहिले उनीहरू जसरी पनि आफूलाई घर पुर्‍याइदिन जिल्ला प्रशासन र यातायात समितिसँग हारगुहार गरिरहेका छन्। 

सुर्खेतस्थित संवाददाता मोती पौडेलका अनुसार पक्राउ परेका चालक र सहयोगीहरूलाई रिहा गर्नुपर्ने भन्दै व्यवसायीले बिहीबारदेखि अनिश्चितकालीन यातायात बन्द गराएका कारण सुर्खेतबाट सञ्चालन हुने छोटो र लामो दूरीका कुनै पनि सवारी साधन चलेनन्। 

त्यसले गर्दा उक्त दुर्घटनाका पीडितहरूसँगै आम यात्रु अनाहकमा सास्ती बेहोर्न बाध्य भएका हुन्। 

ग्ाोत्री-१ का गोरे सार्कीले समयमै घर जान नपाउँदा दुर्घटनामा परी मृत्यु भएका भाइबुहारी साउने सार्की र कुसुमसराको किरिया गर्न नपाएको बताए। उनले घरबाट ल्याएको रकम पनि सकिएकाले बेखर्ची भई खानबस्नै नपाउने स्थिति आएको बताए। बाजुरा साप्पाटाका गंगाबहादुर कार्कीले प्रशासन र समितिको विवादले पीडितलाई झन् पीडित बनाएको बताए। आफूहरूलाई घर पुर्‍याइदिन प्रशासन र समिति दुवैले नसघाएको उनले बताए।

प्रशासनले पीडितहरूलाई घर पुर्‍याउने काम सम्बद्ध यातायात व्यवसायीकै भएको बताएको छ भने यातायात समितिले चाहिँ आफ्ना मजदुरको रिहाइका लागि सवारी साधन बन्द गर्नुपरेको दाबी गरेको छ। ट्राफिक नियमविपरीत क्षमताभन्दा बढी यात्रु बोक्ने सुर्खेतका यातायात मजदुरलाई सार्वजनिक मुद्दा लगाएको विरोधमा व्यवसायीले बिहीबार र शुक्रबार यातायात सेवा ठप्प पारेका हुन्। बाँकेमा शुक्रबार साँझ यातायात खुले पनि सुर्खेतमा अनिश्चित छ।

सवारी ऐन र नियमावली हुँदाहुँदै दुर्घटनाको सबै दोष चालकमाथि थोपार्ने गरी सार्वजनिक मुद्दा लगाउनु गलत भएको भन्दै विरोधमा उत्रिनुपरेको यातायात मजदुरसम्बद्ध संघसंस्थाको दाबी छ। 'दुर्घटनाका अनेक कारण छन्,' अखिल नेपाल यातायात मजदुर संघका बाँके अध्यक्ष राजकुमार बीसीले दाबी गरे, 'चालकलाई मात्र दोष दिनुको सट्टा हरेक घटनाको निष्पक्ष छानबिन गरेर कारबाही गर्नु उपयुक्त हुन्छ।' 

मध्यपश्चिम यातायात व्यवसायी संघका सहकोषाध्यक्ष गणेश पन्तले यातायात मजदुरहरूलाई प्रहरी प्रशासनले जथाभावी सार्वजनिक मुद्दा लगाएर थुन्ने काम गरेकाले रिहा नगरेसम्म यातायात नखुल्ने बताए। 'यो अनिश्चितकालीन बन्द हो,' उनले भने, 'यातायात मजदुरलाई रिहा नगरिएसम्म खुल्दैन।' 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पीडित परिवारलाई घरसम्म लैजाने व्यवस्था सम्बन्धित यातायात समितिको नै भएको बताए। यातायात व्यवसायीले चासो नदिँदा बिहीबारदेखिको बन्द खुलाउन नसकिएको उनले जनाए।

बर्दिया संवाददाता कमल पन्थीका अनुसार यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएपछि यहाँ पनि लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भए। यातायात बन्दले यात्रुहरू बिचल्लीमा परेका छन्। सरकारले सवारी दुर्घटना घटाउन गरेको कडाइलाई सघाउनुको सट्टा यातायात समितिले उल्टै नाजायज माग राखेको यात्रुको गुनासो छ। 

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनमाथि कारबाही प्रक्रिया अघि बढाएको ट्राफिक प्रहरी प्रमुख उत्तम जिसीले बताए। उनले हरेक सवारी साधनमा कडा निगरानी गरी क्ष्ामताभन्दा बढी यात्रु बोक्ने, मदिरा सेवन गरी चलाउने र यातायात नियमावलीविरुद्ध हुने सबै काम कडाइसाथ रोक्ने जनाए। 

http://www.ekantipur.com/kantipur/2071/8/26/full-story/335494.html

Read Full Discussion Thread for this article