सुधाको डायरी –पेज ८७
साकेत फेरि भेट्टियो।
भेट्टियो के भनौँ र खोई, धुईँपताल लगाएर खोजे पछि जे पनि पाइन्छ। पाउलो
अल्केमिष्टमा भन्छन् "वेन यु वान्ट समथिंग अल द युनिभर्स कन्सपाइर्स इन
हेल्पिंग यु अचिभ इट!" शायद मेरो
लागि व्रम्हाण्ड लागेको थियो साकेतको खोजीमा। रेकमा किताव मिलाउँदै गर्दा दाइले
आँखा झिम्क्याउँदै भनेका थिए।
"साकेतलाई मर्निंग वक
मन पर्छ !"
मैले पुलुक्क उनलाई हेरेँ।
उत्तर दिन जरुरी ठानिन।
"उ ठमेल आइपुगेर निक
क्याफेमा हट लेमन खान्छ एक कप अनि करिव एक घण्टा वस्छ त्यहाँ पत्रिका पढ्दै
!"
म किताव मिलाइरहेँ।कति गाह्रो
छ मिलाउनलाई । एउटा आउँछ,एउटा किताव झिक्छ। तिनवटा किताव पछारिन्छन् असरल्ल।
विच्चमा थोते दाँत जस्तो खाली ठाउँ वस्छ। अर्को आउँछ,एउटा रो को किताव अर्कोमा
मिसाइदिन्छ।तोरिवारीमा लिचिको रुख उभ्याइदिएजस्तो देखिन्छ। जीवन पनि त्यस्तै नै त
हो, असरल्ल मिलाउनै गाह्रो।मिलाउँदा मिलाउँदै समय सकिएको पत्तै नहुने।
********* ************
************* *************** ************* ************
उसको र मेरो मेल आदानप्रदान
भएको करिव दश दिन भएको थियो। उ भनेजस्तै असिनपसिन भएर आइपुग्यो क्याफेमा अनि हट
लेमन मगायो। ल्याउनेले थोरै मह पनि मिसाएर ल्यायो। ल्याउने मान्छेले उसको चोइस
वुझेको छ। छेवैको पत्रिका पल्टायो। म उसलाई हेरीरहेँ। उसको छेवैको कुर्सी खाली नै
थियो। छेवैको एक्वारियममा माछा यतावाट उता उता वाट यता दौडिइरह्यो। कति सानो परिधि
उसको छिनमै फन्को मारिदिन सक्छ।
म छेवैको कुर्सीमा गएर
वसेँ। उसले पत्रिका छोडेर एक झल्को मलाई हेर्यो। फेरि पत्रिकामै फर्कियो।त्यो मृत
पत्रिकामा मभन्दा वढी आकर्षण छ।
"साकेत जी !"
उसले फेरि टाउको पत्रिका
छोडेर म तिर वटार्यो। उ मौन नै थियो। तर उसका आँखाले मलाई सोधे झैँ लाग्यो।"
भन, तिमी के चाहन्छौ !"
"मैले तँपाइको सवै
किताव पढेकी छु ।"
उसले यसपाली पत्रिका
पट्याएर राख्यो। अनि मौन नै मलाई नियाली राख्यो।
"किन किन सवै कितावमा
आफुलाई भेट्टाउँछु। तँपाइले मेरो आत्मा छुनु भएको छ जस्तो लाग्छ।"
यसपालि उ मुसुक्क हाँस्यो।
आफ्नो सफलताको विजयोत्सव! म वोलि नै रहेँ
"मैले तँपाइलाई भेट्ने
रहर गरेकी थिएँ। मेल पनि लेखेकी थिएँ। विजी छु भनेर रिप्लाइ गर्नु भयो। आज यहाँ
भेट्टाएँ।खुशी लागेको छ।"
"नाम के रे तँपाइको
?" पहिलो चोटी उसले वोल्यो। उसले मलाई विर्सिसकेको छ। नाम याद छैन। शायद मैले
धेरै वल लगाएर लेखेको मेल पनि याद छैन।
"सुधा !" मैले
विस्तारै जवाफ फर्काए
"सरी सुधाजी मलाई नाम
याद रहन्नन् !" शायद उसले मेरो अनुहारको भाव वुझ्यो।
"इट्स ओके !"
मेरो मन भन्दै थियो यो कदापी ओके होइन।तर जिव्रोले इट्स ओके नै भन्यो।
"अनि के मन पर्यो त
तँपाइलाई मेरो कितावमा?"
"मैले भनीसके नि
,तँपाइका कितावमा म आफैलाई भेट्टाउँछु !"
"शायद म तँपाइलाई नै
सोचेर लेख्छु कि ?" उसले म तिर हेर्दै आफ्नो हट लेमन सुरुप्प पार्यो।
"तँपाइलाई त मेरो नाम
समेत याद छैन ! कसरी मलाई सोच्नु भयो भनेर मानौँ ?"
"कहिलेकाहिँ धमिला
आकृतीहरु भेट्टिन्छन् वाटोमा,मोडमा,चौतारोमा शायद तँपाइलाई मैले कुनै वाटोमा मोडमा
चौतारोमा भेट्टाए कि ?"
"तँपाइ धेरैजनालाई
भेट्नु हुन्छ, शायद धेरैको कथा मेरै जस्तो छ कि ?"
"त्यो पनि हुन सक्छ। तँपाइलाई
भेटेर रमाइलो लाग्यो! मेरो अलि हतार छ, म निस्किन्छु अहिले ! फेरि भेटौँला कुनै
वाटोमा मोडमा चौतारोमा " उ जुरुक्क उठ्यो, आफ्नो कोट थोरै मिलायो। मलाई हेरेर
मुसुक्क हाँस्यो अनि वाहिर निस्कियो।मैले उसले रित्याएको गिलासलाई हेरेँ। अव यो
क्याफेमा मैले अर्डर गर्नु पर्ने केहि थिएन। वाहिर निस्किने ढोका हेरेँ। उज्यालो
घामको प्रकाश भख्खर भित्र छिर्दै थियो। प्रिय प्रकाश मैले तिमी सँग विदा माग्नु
पर्ने छ। साकेत यहाँवाट निस्कीसक्यो।
**************
************* **************** ************** ******************
गरिमाले कोल्ट फेरी। उसको
अनुहार टेवल लेम्पको प्रकाशमा चहकिलो देखियो। थोरै उसको वाक्लो कपालले छोपेको।
संसारमा ढाकिएका वस्तुहरु नै मनमोहक देखिन्छन्। मैले तिनै कपाललाई थोरै हटाएर उसको
निधार,गाला अनि उसका ओठहरु हजारौँ पटक चुमेको छु। तर म कहिल्यै अघाउँदिन। जहिले
जहिले म उसलाई देख्छु ममा अनौठो रुपमा उसको मायाको भोक जाग्छ। उसमा मेरो कल्पनाले
नभ्याउने गरिको धैर्यता छ। एउटा समुन्द्र जस्तो। कहिलेकाहिँ म आफुलाई तुच्छ
ठान्छु। उ छेउमा हुँदा हुँदै म अहिले सुधाका डायरीका पानामा आफूलाई भेट्टाउँदा
खुशी भएको छू। अनि कुनै हरफहरुमा अरु पुरुषको उपस्थितिले मलाई गलाएको छ। हो पुरुष
इर्ष्यालु हुन्छ । म गरिमा जस्तो सागर वन्न सक्दिन। तर म गरिमा बाट अघाउँदिन , उ
सँधै मायाको भोक जगाउँछे।
*********** ************
***************** ************** ******************
सुधाको डायरी-पेज ९०
मेल आएको थियो। साकेतको
होइन, उसको मेल त समुन्द्रमा मोति खोजे जस्तो। प्रतिकको आएको थियो। मलाई मेरो सिभी
पठाउन भनेको थियो। दुइ दिन अघिको साकेतको भेटले मलाई किन किन गलाएको थियो। हो
लेखकहरु सन्काहा हुन्छन्। उनीहरु यसमानेमा पनि सन्काहा हुन्छन् कि उनीहरुलाई
जीवनको सत्यवोध आफुलाई मात्र भए जस्तो लाग्छ। जसले गर्दा उनीहरु अरुलाई मुर्ख
देख्छन्। उसले मलाई पनि त्यहि मुर्खको भिँडमा राख्यो। अव म साँचिकै मुर्ख थिएँ
थिइन त्यो अर्को पाटो।
मैले पुरानो वनाइसकेको सिभी
हेर्दा पनि नहेरी फर्वार्ड गरिदिएँ । मलाई काममा जाँगर छैन।
*************
************* ******************* *************** *************
मैले सुधालाई लेखेको मेल
कभर पेज रिभिउ कमिटिले एक
जना मान्छे खोज्नै पर्ने कुरा राख्यो। हुन त म मात्र एकाउन्ट्स हेर्थेँ तर मैले
अनायसै भनिदिएँ
"मैले चिनेको एउटा
क्यान्डिडेट छ।"
सवैले मलाई पुलुक्क हेरे।
तिनजना सर्ट लिष्ट भएका मध्ये वाटै राख्ने कुरा चल्दै थियो। तर मेरो वोलि काट्न
गाह्रो भयो। अन्त्यमा कुरा राखियो।
"भोली सम्म सिभी पठाउन
भन्नु न त !"
मैले मेलमा स्पष्ट लेखेको
थीएँ
"गाह्रो छ, तर म
सकेसम्म सहयोग गर्छु ।"
म उसँग नजिकिन चाहन्न तर
पनि किन म उसलाई सहयोग गर्दैछु ? यो त्यहि केटी हो जसले मलाई साधारण भनेर छोडेकी
थिई।मेल लेखिरहँदा पनि मलाई गरिमा याद आइरही।
"हामी केवल साथी हौँ,
मन मिल्ने साथी। मेरो जीवनसँगिनी गरिमा नै हो ! गरिमा पनि म जस्तै साधारण छे, हामी
दुवैको जोडी मिल्छ। "
मैले धेरै चोटी मनमा
दोहोर्याएँ। मन न हो त्यति चाँडै मान्दैन। वुझाउनुपर्छ,सम्झाउनुपर्छ।