धमिलो प्रकाशमा म चुस्कीका
विचमा साकेतलाई खेलाएर वसेँ। फेरि सोचेँ मेरो आफ्नो मनमा किन उसको आधिपत्य
स्विकार्दैछु। त्यो त मेरो कमजोरी हुनेछ, अनि मेरो हार पनि। दुई पेग लिइसकेकी
थिएँ। यहाँको भिँडमा एउटा संगित छ। पदचापहरुमा धुन छ। रात झिलिमिली देखिन्छ।शहरको
अलि महँगो ठाउँहरुमै पर्छ यो। तर पैसा के का लागि। मेरो एक्लो जीवनमा मेरै लागि।
कुनै दिन, पाएँछु भने काम भने अलि क्रिएटिभ गर्नेछु। कितावहरु मिलाउने भन्दा !
नजिकैका टेवलहरुमा पनि
मान्छेहरु आफ्नै धुनमा व्यस्त थीए। करिव दुई टेवल पर एउटा चिनेको अनुहार देखा परे
जस्तो लाग्यो। धेरै वेर नियाँले, हो होइन खुट्याउन सकिन। समयले मान्छेको अनुहार
परिवर्तन गर्छ । नियत पनि। नजिकै गएँ।
"एक्सक्युज मि !"
"यस !" उसले मलाई
हेर्दै भन्यो। आँखा जुधेँ। धेरै वेर नियाल्यो। उसलाई पनि चिने चिने जस्तो लाग्यो
शायद। किन नचिनोस्। एक चोटी उसले मेरै हातमा प्रेमपत्र थमाएर हिँडेको ठिटो। समयले
मासु थपेछ उसको जीउमा। राम्रो त पहिले देखि नै थियो । कोट र टाईमा ह्यान्सम
देखिएको थियो पहिलेको भन्दा।
"प्रतिक होइन ?"
मैले कन्फर्म गर्न चाहेँ।
"ओ माइ गड, सुधा ! वाट
ए प्लिजेन्ट सर्प्राइज !" उसको अंग्रेजी पहिले पनि राम्रो नै थियो। अहिले अझ
निखारिएछ। उसको अनुहारमा मुस्कान छाएको छ, मलाई भेटेर हो त ? होला कहिलेकाहिँ
सपनामा रोजेका वस्तु विपनामा भेट्टिँदा मान्छे अक्कमक्क पर्छ । शायद त्यसैको
मुस्कान हो यो।
वारमा भेट्टिएकी सुधा- मेरो
पाटो
गरिमा र मेरो तेश्रो भेट।
पहिला दुई भेटमा नै उसले मेरो मन चोरिसकेकी थिई। उ विस्तारी वोल्थी। वोलीमा मह
मिसिए जस्तो मिठो।आफु भने त्यहि मह वनाउने फूलहरु जस्ति थि। लजाउँदा भमरा वस्दा
लर्किएको फूल देखिन्थी। धेरै वोल्दिनथी। दुई जनामा म ज्यादा वोल्थेँ भनौ न। घरवाट
हाम्रो कुरा चलिसकेपछि मात्र हामीले भेट्ने निर्णय गरेका थियौँ। दुई भेटमा नै
हामीले कुरा पनि पक्का नै गरिदियौँ। नजिकका दुई महिना विहेको लगन नहुने भएपछि विहे
भनि आजको त्रिसठ्ठी दिन पछि हुने भयो। उसले मलाई टेक्स्ट गरेकी थीई।
"कस्तो रमाइलो
मान्छेहरुलाई, दुई महिना गर्लफ्रेण्ड पनि भेट्टाए!" म मुसुमुसु हाँसिरहेँ
उसको टेक्स्ट देखेर। अनि टाइप गरिदिएँ।
"तिमीलाई पनि
वोइफ्रेण्ड भेट्टाएकोमा वधाइ छ।"
तेश्रो भेटको पनि प्लान
हामीले वेकरी क्याफेमा नै गरेका थियौँ। तर म पुग्ने वेलामा पत्ता लाग्यो उसको
सिफ्ट चेन्ज भएर वेलुकाको भएछ।
"सरी !"
उसले मलाई टेक्स्ट गरेकी
थीई। निराश भएर वानेश्वरमा वाइक रोकेर मैले दुई चार जना साथीहरुलाई कल गरेँ। तर
त्यो साँझ म सँग विताउने कोहि साथी भेट्टिएन। वाइकलाई अनामनगर तिर लगेर साथिको
दोकानमा छोडिदिएँ। अनि ट्याक्सीमा ठमेल तिर हुइँक्याएँ। आज एक साँझ एक्लै पिएर
हेर्नेछु कस्तो हुन्छ भनेर।
****************
**************** **************** **************** *************
म वसेको मात्रै थीएँ। परवाट
कोहि मेरो नजिक आयो। चिने चिनेको अनुहार,हाँस्दै। म उसलाई चिन्छु। म यो केटीलाई
प्रष्ट चिन्छु।
"प्रतिक हैन?"
वोली उत्तिनै नशालु जति नौ वर्ष अघि थियो।
अनुहार उत्तिनै मादक जति नौ वर्ष अघि थियो। कपाल शायद अलि लामो पहिलेको भन्दा।
ड्रेस , थोरै रफ पहिलेको भन्दा जिन्स अनि कन्भर्समा।
"ओ माइ गड, सुधा वाट ए
प्लिजेन्ट सर्प्राइज !"
"कसैलाई पर्खिदैछौ
?"
मैले झट्ट गरिमालाई
सम्झीएँ।
"हैन , एक्लै छु
!" झ्यालवाट वाहिर हेर्दै जवाफ फर्काएँ। छेवैको घरको पर्दा हल्लिरहेको थियो।
रातको सिरसिरे वतास सुस्त सुस्द हल्लाउँदै थियो त्यो पर्दालाई।
"कुनै दिन तिमी पनि
वारमा भेट्टिएलाउ भन्ने मैले सोचेको थीइन !"
"मैले पनि ! " के
उ एक्लै छे यहाँ? मैले घडी हेरेँ करिव आठ वजेको थियो।के गर्दै छे उ राती ठमेलमा !
उसलाई स्वतन्त्रता मन पर्छ। त्यहि स्वतन्त्रता मनाउन आएकी होला।
"तिमी एक्लै हो
?" मैले पनि उसैको प्रश्न दोहोर्याइदिएँ।
"हैन आउन एक्लै आएकी
थीएँ अव एकजना पुरानो साथीसँग छु ।" उसले म तिर हेरेर हाँसी।
"अनि के छ खवर , कहाँ
छौ आजकल ?"
"आकृति वुक पोइन्ट ,
काम गर्दै छु। "
"वाउ वि आर अल्मोस्ट
इन सेम फिल्ड, मनोरमा प्रिन्ट्स, हामी किताव वनाउँछौ तिमीहरु वेच्छौ।तिम्रो किताव
प्रतिको इन्ट्रेस्ट। मन पर्ने काम पाएकी रहेछौ।"
हाम्रो अफिस नाम चलेकै
पव्लिकेसन हाउस हो। उसलाई थाहा हुनुपर्छ। किनकी उ पनि नाम चलेकै
डिष्ट्रिव्युटरकोमा काम गर्दि रहिछे।
"केहि लिन्छौ ?"
उसको रित्तो ग्लास देखेर मैले प्रश्न राखेँ।
"हैन पुग्यो !"
"कम अन यत्ति पछि
भेट्टिएको साथी ,एक पेग त सँगै लिनै पर्छ।"
"सुलिभान्स ! मैले
अहिले भख्खरै लिएको। मिक्स नगरौँ! त्यहि मगाउँछौ भने साथ दिन्छु तिमीलाई "
उसले मलाई कहिल्यै साथ दिएकी थिईन। साथी भएको समयमा पनि । मैले उसवाट माया खोजेँ
उसले साथ दिन चाही। उसको साथ मलाई प्यारो लागेन। हामी त्यत्तिकै टाढा भएका थियौँ।
उसलाई त्यसपछि किताव मोह पलायो। मलाई किन किन कितावहरु सौता जस्तो लाग्थे
त्यतिखेर।
"ओके यु ड्रिंक योर्स
, आइ विल ड्रिंक माइन !"
मैले उसलाई स्वतन्त्र
छोडिदेँ। मलाई थाहा छ , उ स्वतन्त्रता मन पराउँछे।
"चिकन सलाद ?"
"स्युर !" यसमा
भने उसले आफ्नो स्विकृती जनाई।
"अनि कत्तिको किताव
पढ्दै छौ त ?" मैले प्रश्न राखेँ।
"म समुन्द्रमा छु।
वाल्टिवाट उठाउँछू, दिन दिनै नुहाउँछु !" उ जोडले हाँसी। उसको वोली पनि खासै
वदलिएको छैन।कहिलेकाहिँ के वोल्छे , म वुझ्दिन। वोले भन्दा वढी लुकाउँछे।
"काम रमाइलो छ भनेपछि
!"
"खासै छैन, चेन्ज गरुँ
भन्ने सोच्दै छू। समथिंग क्रिएटिभ !"
"आइ क्यान टक विथ माइ
म्यानेजमेन्ट , इफ यु वान्ट! अहिले नै त खाली छैन तर हुन सक्छ !"
मलाई थाहा छैन मैले किन यसो
भनेँ। मलाई उसको नजिकै वस्न मन छैन। फेरि , घाउ कोट्याउन मन छैन। गरिमालाई सम्झेँ,
म गरिमा सँगै ठीक छु।किन दाँज्दै छु सुधालाई गरिमासँग। मैले दाँज्न मिल्दैन। सुधा
त मेरो सिद्दिएको अध्याय हो। नलेखिएको कथा हो। गरिमा त वर्तमान हो। जसलाई मैले
पाएको छु। अनि हामी सँगसँगै रमाएका पनि त छौँ।
"तिमीले पनि किताव
पढ्नुपर्छ त्यहाँ पनि ?"
"म एकाउन्टमा हो। आइ
हेट रिडिंग वुक्स! तिमीलाई थाहा छ।"
म उसलाई नियाल्दा समेत
लाइव्रेरीमा नछिरेको मान्छे।
"ओके लेट्स मिट सम अदर
टाइम, गट टु गो !" एक सासमा पेगमा रहेको वाँकी मादकता रित्याई। लरवराउँदै
उभिन खोजी। सकिन। उसले न्यापकिनमा केहि कोरी अनि फेरि उठी।
"नडराउ म पुग्छु कोठा
, मेरो वाटो मलाई थाहा छ। " मलाई हेरेर फेरि मुसुक्क हाँसी।
उ गएपछि मैले त्यो न्यापकिन
हेरेँ। एउटा स्त्री आकृतिको स्केच। लामो कपाल भएकी उ जस्तै । अनि तल
"९८४१............"। उसको मोवायल नम्वर हुनुपर्छ। मैले मोवायल खोलेर सेभ
गरेँ " सुधा !" । "पागल केटी !" भनेर म सेभ गर्न पनि त
सक्दिन।