Posted by: fucheketo October 16, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     4       ?         Liked by
Thank you serial,gone crazy and all the readers who read and liked story till now..

गरिमा निदाइसकेकी थिई , फेरि कोल्टे फर्केर। तर रात जिउँदै थियो। वाहिर झर्दै गरेका ताराहरु जिउँदै थिए।त्यो रातो डायरीका पल्टिएका पानाहरु, शव्द शव्दहरु ,भावहरु जिउँदै थिए। सुधा र मेरो त्यो रातको साथ जिउँदै थियो।

सुधाको डायरी- पेज ८१

उसको किताव पढिसक्दा रातको करिव दुई वजेको थियो। मैले एकै दिनमा उसको किताव सिध्याए। अझ भनौ एक सास पढेर भ्याएँ। विच विचमा उसको अनुहार झल्याक झुलुक त्यो कितावमा देखिरह्यो। गम्भिर, कम वोल्ने। तर मैले के नै पत्ता लगाएँ होला र उसको वारेमा। उ धेरै वोल्न पनि त सक्छ ! मैले नसुन्नु र उसले नवोल्नु त नितान्त भिन्न विषय। मेरो आँखा मेरै आँखा हो, संसारको ऐना पनि त होइन।

पढिसकेर उसले लेखेका शव्दहरुलाई छोएँ "सवै किताव पढेकोमा धन्यवाद सहित- साकेत" लाग्यो म उसैलाई छुँदै छु। उसका लेख्दै गरेका हातहरुलाई सुम्सुम्याउँदै छु। उ कलम दौडाउँदै छ म तिर हेरेर मुसुक्क हाँस्दै। शव्दहरु खोलाजस्तै वगिरहेछन्। पछाडी उसको इमेल हेरेँ। अहिले उ के गर्दै होला साँची? कुनै नयाँ पात्र खोज्दै होला! रातको दुई वजे सुतिरहेको होला नि ! के पात्र खोज्छ यतिखेर? तर खोज्न पनि त सक्छ, लेखकहरु इसेन्ट्रिक हुन्छन्। उ दिउँसो सुत्न सक्छ। रातमा पात्रहरु खोज्न सक्छ।

अचानक अर्को प्रश्न आयो मनमा , म किन उसकी पात्र वन्न सक्दिन? मैले पुरै आफ्नो कथा सुनाएँ भने उसले लेख्ला कि नलेख्ला? लेख्छ, अवश्य लेख्छ । मेरो जीवन पनि एउटा कथा भन्दा के नै कम छ र अहिलेसम्म ! उ पनि त छ यो कथामा ।

किन किन मलाई ल्यापटप खोलुँ खोलुँ भयो रातको दुई वजे। ल्यापटप खोलेँ। छेवैको हरियो घाँसमा सुतेका दुइटा कुकुरका छाउराहरु देखिए ल्यापटपमा । मैले करिव एक महिना अघी खिचेकी त्यो फोटो। कुनै कार्तिकमा कुनै कुकुर उन्मत्त भएको नतिजा ! तर आहा कति सुन्दर ,लुटपुटिएका घाँसमा । मलाई किन किन फोटो खिचुँ खिचुँ लागेर खिचेको फोटो।

मैले आफ्नो मेल खोलेँ। साकेतको मेल एड्रेस टाइप गरेँ। अनि सुस्तरी किवोर्ड टाइप गरेँ धेरै सोचेर ।

"डियर साकेत "

सोचेँ , अहँ हुन्न। उसलाई आफ्नो भाषा प्रति माया छ। म उसलाई नेपाली मै लेख्छु। मेट्टाएँ अनि लेखेँ

"प्रिय साकेत"

प्रिय? के यो सम्वोधन ठिक छ?साकेत? उ लेखक हो , नाम चलेको । म उसकी पाठक हुँ । उसको कथाको सच्चा भक्त। यो सम्वोधन ठीक छैन।फेरि मेट्टाएँ।

"प्रिय साकेत जी "

प्रिय? म किन उसको अघि समय अघि नै खुल्न चाहन्छु। मेरो व्यग्रता यति धेरै किन ? अनि उ मलाई प्रिय किन? हो उ मलाई प्रिय छ । तर सवै एउटै मेलमा देखाउन जरुरी पनि त छैन। विस्तारै खुल्दै गएको सम्वन्ध रमाइलो हुन्छ।फेरि टाइप गरेँ।

" साकेत जी, तँपाइको यो किताव पनि पढी सिध्याएँ। तँपाइले मेरो लागि लेखेका शव्दहरु पनि पढेँ "सवै किताव पढेकोमा धन्यवाद सहित" । मैले त्यतिखेर पनि भनेको थिएँ, यो किताव पढीसकेपछि फेरि भन्छु "धन्यवाद सवै पाठकहरुले तँपाइलाई दिनुपर्ने हो। मलाई तँपाइका कथाहरु पढ्दा लाग्छ अक्षर अक्षरमा म छु, शव्द शव्दमा मेरा आयामहरु छन्,वाक्य वाक्यमा मेरा परिवेशहरु छन्।अनि हरफ हरफमा मेरो जीवन घोलिएको छ। तँपाइ नचिने पनि मलाई असाध्यै राम्ररी चिन्नुहुन्छ।

अस्ति विमोचनमा असाध्यै भिँड थियो। तँपाइ सँग कुरा गर्ने मन थियो। प्रश्नहरु सोध्ने मन थियो धेरै अघि देखी। तर इच्छा अधुरै रह्यो। तँपाइ भेट्टिएर पनि भेट्टिनुभएन। त्यो एसी कोठामा, त्यत्रो भिडमा क्यामेराका विच झल्याक झुलुकमा अरुले के देखे थाहा छैन। मैले त मात्र तँपाइको सतह देखेँ।खोइ मलाई किन किन चित्त वुझेन।

पढ्दै गर्दा तँपाइलाई लाग्ला कुनै पागल मलाई पछ्याइरहेको छ।तर तँपाइकै शव्दहरु त हुन " स्वतन्त्रता भोग्न पागलपन नै चाहिन्छ। समाजले त वाँधिएका मान्छेलाई मात्र मान्छेको दर्जामा राखेको छ।" किन किन यो शव्दको पारखी सँग त्यहि शव्दकी पुजारी मलाई सँगै थोरै समय विताउन मन छ। जहाँ दुई कप चिया सँग तँपाइका भावनाहरु सुन्न पाइयोस्। तातो वाफ सँगै निक्लिएका ति शव्दहरु पनि न्याना लागुन।

 म स्वतन्त्र भएर तँपाइको स्वतन्त्र रुपको दर्शन गर्न चाहन्छु।

दर्शानाभिलासि

सुधा

****************** ***************** **************** ************* **********

मैले आफ्नो मेल सिध्याएँ। फेरि पढेँ। सेन्ड र सेभ एज ड्राफ्टको विचमा धेरै वेर माउस खेलाएँ। अनि सेभ एज ड्राफ्ट मा क्लिक गरेर ओछ्यानमा ढल्किएँ। त्यो रात मलाई धेरैवेर निन्द्रा लागेन। लाग्यो मैले केहि काम अधुरो छोडेकी छु। जुन पुरा गर्ने ममा आँट छैन।

एक घन्टाको कोल्टे फेराइ पछि म फेरि उठेँ। एक गिलास पानी पिएँ। अनि फेरि ल्यापटप खोलेँ। ड्राफ्ट मेलमा सेन्ड थिचेर आरामले निदाएँ।

************* ************** ***************** **************** *****************

भोलिपल्ट विहानै मैले मेल चेक गरेँ। नयाँ मेलहरु थिएनन्। कस्ति हुस्सु म , मैले रातको साढे तिन वजे पठाएको मेल उसले नहेरी विहानको आठ वजे कसरी रिप्लाइ गरोस् ? दिउँसो पनि मैले घण्टा घण्टामा मेल चेक गरेँ उसले रिप्लाइ गरेन। शायद उ वेलुका मात्र मेल हेर्छ मन मनै सोचेँ।

त्यसपछिका दुई तिन दिन मेलको रिप्लाइ आएन। उसलाई धेरै मेलहरु आउँछन्। त्यहि मेलको थानमा मेरो मेल पनि मिसियो। मैले आश मारेँ।

चौथो दिन रिप्लाई आयो

"Sorry , am not in Nepal right now, probably it will be difficult for me to arrange meeting with you coz I have very tight schedule after I reach Nepal also. Sorry for that, however thanks for reading my new book. Will write another book soon J " Saket

मलाई उसको रिप्लाइ देखेर रिस उठेर आयो। कस्तो रुखो उत्तर । उसलाई मेल लेख्नका लागि मैले करिव एक घण्टा खर्च गरेँ। मेल पठाउन अर्को एक घण्टा । शायद उसले एक मिनेटमा त्यसको उत्तर लेख्यो एक सेकण्डमा सेन्ड गर्यो। शायद त्यसपछि उसले अरु मेलहरुमा मलाई लेखेका उत्तरहरु नै कपि पेष्ट गर्यो। उसको जीवनमा म केवल उसको एक पाठक हुँ मात्र पाठक।

मेल वन्द गरेर ठमेल तिर हुइँकिएँ। आज मौसम चिसो छ। अनि जीवन र मेरो वरपरका मान्छेहरु निरस हुँदै गएका छन् । हो हेमींग्वेले भनेको साँचो हो " आइ ड्रिंक टु मेक अदर पिपुल मोर इन्ट्रेस्टिंग"। 

Read Full Discussion Thread for this article