Posted by: cybernepali October 14, 2014
अमेरिकामा म:ह: ले दर्शकलाई हँसाए तर आयोजकहरुलाई रुवाए
Login in to Rate this Post:     0       ?        

० ४ लाखदेखि २७ लाखसम्म महको पारिश्रमिक

० बिचौलियाका कारण आयोजक मारमा

अमेरिकामा नेपाली समुदाय यतिबेला व्यवस्थित समुदाय बन्ने तर्खरमा छ । जसको लागि सामुदायिक भवन, मन्दिर, गुम्बा निर्माणदेखि दोस्रो पुस्ताका लागि नेपाली भाषा, संस्कृति, रीतिरिवाज र परम्परासँग पनि निकट बनाउनु उसको चुनौती रहेको छ । अमेरिकामा आआफ्नो समुदायको हितका लागि लागिपरेको नेपाली समुदाय अहिले वर्तमान अवस्थामा विभिन्न कार्यक्रम आयोजना गर्दै अर्थसंकलन गर्न व्यस्त छ । यसै क्रममा सामुदायिक हितका लागि दुईचार पैसा बचाउने उद्देश्यअनुरुप अमेरिकाको चारै दिशाका राज्यहरुमा महजात्रा आयोजित भएका छन् । महको लोकप्रियतालाई महसुस गर्दै अहिले नेपाली समुदाय अमेरिकाका विभिन्न राज्यहरुमा ४ लाखदेखि २७ लाख रुपैयाँसम्म महँगो पारिश्रमिक तिरेर महजात्रा आयोजना गर्दै छन् । तर, आयोजकहरु भने महको महँगो पारिश्रमिकका कारण मारमा परेका छन् । यसै विषयमा न्यूयोर्कबाट विजय पौडेलले तयार पारेको रिपोर्टः

तीनमहिने हास्य कार्यक्रमसहित अमेरिकामा महजात्रा लिएर गत सेप्टेम्बर १६ मा लस एञ्जलसको विमानस्थल अवतरण गरेका महजोडीले यो समाचार तयार पार्दासम्म अमेरिकाका १३ वटा शहरमा आफ्नो प्रस्तुति देखाइसकेका छन् । तर, अमेरिका र क्यानडाका कार्यक्रम आयोजकहरु भने महको चर्को पारिश्रमिक कारण असन्तुष्टि व्यक्त गरेका छन् ।

गत अक्टोबर ५ तारिख झण्डै १७ सय टेक्सासबासी नेपालीले डल्लास एभरेष्ट लायन्स क्लबको आयोजनामा कन्भेन्सन सेन्टर कम्प्लेक्समा भरपूर मनोरञ्जन लिएको बृहत् महजात्राका कार्यक्रम संयोजक राम सी पोखरेल बताउँछन् । ‘हामी पनि प्रवासमा शतप्रतिशत च्यारिटीकै लागि यस्ता कार्यक्रम गर्छौं । आफ्नो स्रोतसाधन समुदायको हितका लागि लगाउँछौं’, पोखरेल भन्छन्– ‘तर महको यस पल्टको शुल्क हेर्दा सम्बन्धित कलाकारले भन्दा बीचको एजेन्टले राम्रै कमाइ गर्न खोजेको देखियो ।’ पोखरेल मात्र होइन कार्यक्रम सभापति प्रकाश गौतम पनि पहिला त महको कार्यक्रमका लागि २० हजार डलर पारिश्रमिक माग गरिएको थियो । तर, पछि महँगो भयो, कार्यक्रम नै गर्दैनौं भनेपछि बल्ल १३ हजार अमेरिकी डलरमा कुरा मिलेको बताउँछन् । जति नै तिर्नुपरे पनि मह राम्रा कलाकार भएको र दर्शकले भरपूर मनोरञ्जन लिएको बताउँछन् आयोजकद्वय पोखरेल र गौतम । बिचौलिया प्रयोग गरेर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठजस्ता कलाकारले अमेरिकामा कार्यक्रम गर्दा आयोजकले तिर्नुपरेको चर्को शुल्कबाट एजेन्टले नै धेरै फाइदा लिने तर कलाकार स्वयम् भने मारमा नपरुन् भन्ने चिन्ता व्यक्त गर्छन् संयोजक राम सी पोखरेल । महको १३ हजार अमेरिकी डलर पारिश्रमिक तिरेर महजात्रा आयोजना गरेको डल्लास एभरेष्ट लायन्स क्लबले केही रकम नाफा गरेको अनुमान गरेको छ । तर, हिसाबकिताबको अन्तिम विवरण भने संकलन हुन बाँकी रहेको जनाएको छ ।

टेक्सास डल्लासमा मात्र होइन १२ हजार अमेरिकी डलर शुल्क तिरेर नेपाली एसोसिएसन अफ नदर्न क्यालिफोर्नियाले महजात्रा आयोजना गर्यो । आठ वटा संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न महजात्राको आयोजनाका लागि महको शुल्क र अन्य गरी ३० हजार डलर खर्च भएको कार्यक्रम संयोजक ईश्वर सापकोटा बताउँछन् । यो कार्यक्रम महको अमेरिकामा यसपटकको पहिलो कार्यक्रम हो ।

त्यसैगरी महको प्रस्तुतिका लागि लस एन्जलसस्थित पशुपति फाउण्डेशनले पनि १० हजार अमेरिकी डलर शुल्क तिरेर महजात्रा सम्पन्न गरेको प्रेम गुरागार्इं बताउँछन् । शुल्क अलि महँगो नै भएको गुरागाईंको भनाइ छ । शुल्कका बारेमा कार्यक्रमपूर्व अलि बार्गेनिङसमेत भएको सुनाउँछन् गुरागाईं । त्यस्तै, टेक्सास राज्यको अष्टिनमा ग्रेटर अष्टिन नेपाली सोसाइटीले गत अक्टोबर १ तारिखमा आयोजना गरेको महजात्रावापत पनि १० हजार नै पारिश्रमिक बुझाएको कार्यक्रम संयोजक डा. नविन दहालले जानकारी दिएका छन् । महको पारिश्रमिक अलि ज्यादा भएको कुरा संयोजक डा. दहाल पनि स्वीकार्छन् । ‘शुल्क महँगो भए पनि अमेरिकामा हामीले दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउने र बुझाउने उद्देश्यअनुरुप कार्यक्रम गरेका थियौं’, उनले भने । झण्डै नौ सय दर्शकले मनोरञ्जन लिएको बताउँछन् दहाल ।

यस्तै, सियाटलस्थित नेपाल सियाटल सोसाइटीले पनि महलाई पारिश्रमिक १० हजार अमेरिकी डलर नै बुझाएको जनाएको छ । सियाटलमा आजसम्म आयोजित कार्यक्रमहरुको दाँजोमा सबैभन्दा बढी दर्शकको उपस्थिति रहेको महजात्रामा ६ सय जना नेपाली दर्शकले मनोरञ्जन लिएको संयोजक मोहन गुरुङले जानकारी दिएका छन् ।

महको पारिश्रमिक तथा कार्यक्रमको विषयमा कुरा गर्दै एसोसिएसन अफ नेप्लिज इन मिनियासोटाका अध्यक्ष तथा कार्यक्रम संयोजक ददिन पाण्डे पनि हाम्रो ‘सिम्प्याथी’ मदनकृष्ण र हरिवंशप्रति भएको बताउँछन् । ‘उहाँहरुको योगदान र मिहेनतको सम्मानस्वरुप हामीले कार्यक्रम आयोजना गरेका हौं । तर, बिचौलियाले बढी फाइदा लिन खोजेजस्तो देखियो’, उनले भने । प्रवासमा हाम्रो दोस्रो पुस्तालाई नेपाली कार्यक्रम, नेपाली भाषा, संस्कृति देखाउने लक्ष्यअनुसार मिनियासोटामा हामीले आयोजना गर्दै आएको विविध कार्यक्रमहरुमध्ये महको यस कार्यक्रमका लागि हालसम्मकै उच्च ४ हजार अमेरिकी डलर पारिश्रमिक दिएको पाण्डेले बताएका छन् । जम्मा ३० डलरमा डिनरसहितको टिकट विक्री गरेर यति सानो समुदायभित्रबाट ४ हजार पारिश्रमिक दिन सक्नु पनि ठूलै भएको बताउँछन् उनी ।

तीनमहिने महजात्राका लागि अमेरिका आएका महजात्रा टोलीमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, बसुन्धरा भुसाल, हरिवंशका छोरा मोहित आचार्य, मदनकृष्णका छोरा यमन श्रेष्ठ, हरिवंशकी श्रीमती रमिला आचार्य, फोटोग्राफर गौरीशंकर ध्वजू श्रेष्ठ तथा एक सहयोगीका साथ हाल उनीहरु अमेरिकामा छन् । महसहितको १० जनाको टोली यही आगामी अक्टोबर १७ र १९ तारिख आयोजना हुने महजात्राका लागि यसै हप्ता न्यूयोर्क आउने कार्यक्रम छ । न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाइटीको आयोजनामा म्यानहाटनस्थित अर्मेनियम चर्चमा आयोजना हुने महजात्राका लागि सोसाइटीले झण्डै ५० हजार अमेरिकी डलर लगानी गरेको बताइएको छ । महजात्रा अमेरिकाको देशव्यापी संयोजन गर्दै हिंडेका रवि लामिछानेलाई सोसाइटीले २७ हजार अमेरिकी डलर दिनुपर्ने सम्झौता गरेको जनाएको छ । सोसाइटीले ५० हजार लगानी गरेर आयोजना गरेको महजात्राबाट बचेको रकम रिजउडस्थित प्रस्तावित दुर्गा मन्दिर निर्माण लगाउने जनाएको छ । रिजउड नेप्लिज सोसाइटीद्वारा आयोजित महजात्रा कार्यक्रमको विषयमा संयोजक भुवन अधिकारी भन्छन्– ‘हाम्रो उद्देश्य रिजउडको दुर्गा मन्दिर निर्माणको लागि कार्यक्रम गर्नु हो । नाफा भए पनि, घाटा भए पनि हामीले महको पारिश्रमिकवापत २७ हजार डलर बुझाउनै पर्नेछ ।’

महजात्राका आयोजकहरुले कलाकारहरुको पारिश्रमिक बढी भयो भन्ने गुनासो आइरहँदा कलाकार हरिवंश आचार्य भने यो कुरामा सहमत छैनन् । आचार्य भन्छन्– ‘हामीले न पारिश्रमिक तोकेका छौं न त यति दिनुपर्छ भनेका नै छौं । शो सकिएपछि कति उठ्छ त्यसपछि मात्र पारिश्रमिक तय हुने उनी बताउँछन् ।


हरिवंश आचार्य

० कतिवटा कार्यक्रम सम्पन्न भयो ?

१३ वटा शो गर्यौं ।

० जम्मा कति वटा गर्ने योजना छ ?

क्यानडा र अमेरिका गरी २० वटा बढी हुन्छ होला ।

० कार्यक्रम कस्तो भइरहेको छ ?

अत्यन्त राम्रो रेस्पोन्स छ । प्रायः सबै आयोजकले कुनै पनि कार्यक्रममा यस्तो राम्रो सहभागिता अहिलेसम्म भएको थिएन । यति ठूलो कार्यक्रम कहिल्यै भएको थिएन भनेर हौसला दिइराख्नुभएको छ ।

० यसपटकको महजात्राको कुनै उद्देश्य छ कि ?

हाम्रो त काम नै यही हो । ३४ वर्ष भयो, यही काम गरेको । त्यही हो देशको वर्तमान परिवर्तनलाई संस्थागत गर्ने, संघीयतालाई संस्थागत गर्ने, गणतन्त्रलाई व्यवस्थित गर्नेजस्ता महत्वपूर्ण कुराहरुलाई हास्यव्यङ्ग्यमार्फत बाहिर ल्याउने प्रयास गरेका छौं । अरु त खास केही उद्देश्य छैन । मनोरञ्जन दिलाउनु नै हो ।

० तपाईंहरुको पारिश्रमिक बढी भयो भन्ने असन्तुष्टि छ नि ?

हामीले पारिश्रमिक तोकेका छैनौं । कार्यक्रम सकिएपछि कति बाँकी रहन्छ, त्यसपछि कार्यक्रम आयोजकले हेरेर दिनुहुन्छ । कार्यक्रमको उद्देश्य हेरेर पारिश्रमिक लिन्छौं । कतिपयले सामुदायिक भवन, मन्दिर निर्माण, बाढीपीडितको सहयोगका लागि कार्यक्रम गर्नुभएको छ । हामीले पनि त्यस्तोमा सहयोग गर्नुपर्छ । त्यसैले मूल्य तोकेर कहाँ लिनु । अब छिट्टै न्यूयोर्क आउँदैछौं । न्यूयोर्क ठूलो शहर, धेरै नेपाली भएको शहर, त्यहाँको कार्यक्रम अझ राम्रो होला भन्ने सोचेका छौं ।

 

कहाँ–कहाँ हुँदैछ बाँकी महजात्रा ?


नर्थ क्यारोलिना, ग्रीन्सबोरो
मिचिगन
न्यूयोर्क (दुई शो)
बोष्टन (दुई शो)
फ्लोरिडा
क्यानडा (दुई शो)
बाल्टिमोर
डिसी, भर्जिनिया
न्यू ह्याम्सपियर
न्यूजर्सी
ओहायो, कोलम्बस
केन्टुकी
नर्थ क्यारोलिना (दुई शो)

 

 

महले कहाँ, कति पारिश्रमिक लिए ?


सन्फ्रान्सिस्को १२,०००
लस एञ्जलस १०,०००
सियाटल १०,०००
कोलोराडो ७,०००
डलास १३,०००
हुस्टन ४,०००
अष्टिन १०,०००
सिकागो ८,०००
मिनियासोटा ४,०००
आइवा ४,२००


http://vishwanews.com/MenuPages/content/details.aspx?cat=24&news_id=4601&t=%E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE+%E0%A4%AE%E0%A4%B9%E0%A4%81%E0%A4%97%E0%A5%8B+%E0%A4%AD%E0%A4%AF%E0%A5%8B+%E0%A4%AE%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE

Last edited: 14-Oct-14 08:01 AM
Read Full Discussion Thread for this article