Posted by: atomic October 9, 2014
MRP सम्बन्धि
Login in to Rate this Post:     0       ?        
शरणार्थी’ नेपालीलाई राहदानी नदिइने

09 Oct 2014 | 10:22am
बिहीबार २३ असोज, २०७१
सुरेन्द्र पौडेल


(0 votes)
काठमाडौं-अवैध तरिकाले अमेरिकालगायत विश्वका विभिन्न राष्ट्रमा प्रवेश गरी शरणार्थीको हैसियत प्राप्त गरेका तथा शरणार्थीको हैसियत खोजिरहेका नेपालीलाई सरकारले राहदानीलगायतका सेवा उपलब्ध नगराउने भएको छ।
परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी नीतिगत निर्णय गर्नसरोकारवाला निकाय गृह र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयसँग राय लिन थालेको छ। ‘अहिले नेपाली नागरिकले देशभित्र बस्न नसक्ने अवस्था छैन। देशकै बेइज्जत गरेर शरणार्थीको हैसियत खोज्नेलाई राहदानीलगायतका सेवा उपलब्ध गराउनु हुँदैन भन्ने परराष्ट्रको धारणा हो। यही धारणालाई नीतिगत निर्णय गरी कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायसँग अहिले हामी राय लिइरहेका छौं,ु परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले नागरिकसँग भने।
मन्त्रालयले विदेशमा शरणार्थीको हैसियतमा रहेका तथा शरणार्थीको हैसियत खोजिरहेका नेपालीलाई राहदानीलगायतका सेवा दिन केही दिनयतादेखि नै रोक लगाइसकेको छ।
अमेरिकाको वासिङ्टनस्थित नेपाली दूतावासमा राहदानी लिनका लागि शरणार्थीको हैसियत प्राप्त गरेका तथा शरणार्थीको हैसियत खोजिरहेका नेपालीको आवेदन ठूलो संख्यामा परेपछि परराष्ट्रले कडाइ गर्न लागेको हो। शरणार्थीको हैसियत प्राप्त गरेका तथा खोजिरहेका धेरै नेपाली राहदानी बनाउन आएपछि वासिङ्टनस्थित नेपाली दूतावासले परराष्ट्रसँग राय–सुझाव मागेको थियो। परराष्ट्रले त्यस्ता व्यक्तिलाई तत्काल राहदानीलगायतका सेवा उपलब्ध नगराउन भन्दै यस विषयमा नीतिगत निर्णय गर्ने जवाफ पठाइसकेको छ।
मानव तस्करहरूले दक्षिणपूर्वी एसियाली तथा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुर्याीइएकादेखि छोटो अवधिको भिसामा अमेरिका पुग्नेहरूले शरणार्थीको हैसियत खोज्ने गरेका छन्। दक्षिणपूर्वी तथा ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिर्ने नेपालीले बीचबाटोमै आफ्नो राहदानी च्यातेर फ्याँक्ने गर्छन्। तस्करहरूले अमेरिका प्रवेश गराउनेबित्तिकै उनीहरूले शरणार्थीको हैसियत माग्ने गर्छन्, र त्यसका लागि अदालतमा मुद्दा दायर गरिन्छ। यस्तामध्ये धेरैले पछि शरणार्थीको हैसियत पाउने गर्छन् भने त्यो अवधिमा त्यहाँ रहेको नेपाली दूतावासबाट आफ्नो राहदानी हरायो भन्दै नयाँ राहदानीलगायतका सेवासमेत लिन भ्याएका हुन्छन्।

यसरी नै युरोपेली राष्ट्र, अस्ट्रेलिया पुगेका नेपालीले पनि त्यहाँ विभिन्न बहाना देखाउँदै शरणार्थीको हैसियत माग्ने गरेका छन्। यसरी शरणार्थीको हैसियत खोज्ने तथा प्राप्त गर्नेहरूले ती राष्ट्रमा पुगेपछि ‘राहदानी हरायोु भन्दै सम्बन्धित नेपाली दूतावासबाट राहदानीलगायतका सेवा लिँदै आएका थिए। दूतावासहरूले पनि बिनासोधपुछ त्यस्ता व्यक्तिलाई सेवा दिने गरेका थिए। अवैध रूपमा प्रवेश गरी शरणार्थीको हैसियत प्राप्त गर्ने तथा खोज्नेको संख्या अमेरिकामा बढेपछि परराष्ट्रले अहिले कडाइ गर्न लागेको हो।
‘नेपालमा बस्न सकिनँ भनेर प्रमाणित गरेपछि कुनै व्यक्तिलाई सम्बन्धित देशले शरणार्थीको हैसियत प्रदान गर्ने हो। शरणार्थीको हैसियत प्राप्त गर्नेबित्तिकै उनीहरूको नेपालसँग कानुनी सम्बन्ध टुट्छ। त्यसैले यस्ता व्यक्तिलाई राहदानीलगायतका सेवा नदिने पक्षमा हामी पुगेका हौं,ु अधिकारीले भने।
विदेशमा शरणार्थी हैसियत प्राप्त गरेका तथा हैसियत खोजिरहेका नेपालीलाई राहदानीलगायतका सेवा दिने वा नदिने सम्बन्धमा नेपालमा स्पष्ट प्रावधान छैन। सन् १९५१ को शरणार्थीसम्बन्धी महासन्धि र यससम्बन्धी सन् १९६७ को प्रोटोकलमा भने शरणार्थीको हैसियत प्राप्त गर्ने र खोज्नेलाई के कस्तो सुविधा दिन हुनेरनहुने स्पष्ट किटान गरिएको छ, तर नेपाल शरणार्थीसम्बन्धी महासन्धि र प्रोटोकलको भने पक्षधर राष्ट्र होइन। यिनै शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय कानुनमा हस्ताक्षर नगरेकाले नेपालमा आउने अन्य देशका शरणार्थीलाई सरकारले मानवीयताका आधारमा शरण दिँदै आएको छ।
शरणार्थीको हैसियत प्रदान गर्ने देशले सम्बन्धित व्यक्तिलाई विदेश भ्रमणका लागि आवश्यक पर्ने ‘शरणार्थी परिचयपत्रु र ‘अस्थायी यात्रा अनुमतिपत्रु उपलब्ध गराउँछ। यस्ता शरणार्थीले आफ्नो देशबाहेक अन्य देशको भ्रमण गर्न पाउँछन्। आफ्नो देश जाँदा पक्राउ पर्ने सम्भावना हुने भएकाले शरणार्थीलाई आफ्नो देशमा जान दिइँदैन। तर, अमेरिकालगायतका राष्ट्रमा शरणार्थीको हैसियत प्राप्त गर्ने नेपालीले त्यहाँको सरकारले उपलब्ध गराउने यात्रा अनुमतिपत्र मात्र होइन नेपाली राहदानी लिई नेपाल समेत आवतजावत गर्दै आएका थिए।
शरणार्थीको दर्जा दिइसकेपछि व्यक्तिले उसको देशको दूतावासबाट राहदानीलगायतका सेवा लिएको जानकारी पाए सम्बन्धित देशले शरणार्थीको सूचीबाट हटाउने गर्छ। तर, नेपालीले दुवै पक्षलाई ढाँट्दै दोहोरो सुविधा लिने गरेका छन्।
‘यो कानुनीभन्दा पनि बढी व्यावहारिक समस्या हो। यदि कसैले शरणार्थीको हैसियत त्यागेर राहदानी लिन आउँछ भने त्यस्तालाई सेवा दिन मिल्छ नत्र शरणार्थीलाई राहदानीलगायतका सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुरुप दिन मिल्दैन,ु अधिकारीले भने, ‘यो मुद्दा विशेष गरी अमेरिकामा शरणार्थीको हैसियतमा रहेका नेपालीले राहदानीका लागि आवेदन दिएपछि उठेको हो।ु
अवैध तरिकाले अमेरिका जाने नेपालीको संख्या बर्सेनि बढ्दैछ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार सन् २००४ देखि २०११ सम्ममा ६ सय ६६ जना नेपाली मेक्सिकोबाट अवैध तरिकाले अमेरिका छिर्दै गर्दा सीमामा पक्राउ परेका थिए। २००४, २००५, २००६, २००७, २००८, २००९, २०१० र २०११ मा क्रमशः ८२, ९०, ७०, ६५, १ सय २५, ६७, ६३ र १ सय ४ जना नेपाली मेक्सिको–अमेरिका सीमामा पक्राउ परेका हुन्।
अमेरिकी होमल्यान्ड सेक्युरिटीको शरणाथीसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०१३ मा नेपाली अमेरिकामा शरणार्थीको ‘स्टाटसु पाउने चौथो ठूलो राष्ट्र भएको छ। सन् २०१३ मा ८ सय ५४ नेपालीलाई अमेरिकाले शरणार्थीको स्टाटस दिएको थियो। यो संख्या सन् २०१२ मा ९ सय ७५, २०११ मा ७ सय ४० र २०१० मा ७ सय ५५ थियो।
अमेरिका शरणार्थीको हैसियत पाउने नेपाली
वर्ष संख्या
२०१३ ८५४
२०१२ ९७५
२०११ ७४०
२०१० ७५५
२००९ ७६२
२००८ ४५६
२००७ ३७२
२००६ ३१६
२००५ २७९
२००४ २३५
२००३ २४०
२००२ १११
स्रोतः अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी

( Main Source: Nagariknews.com)

http://www.nagariknews.com/society/crime/story/25922.html
Read Full Discussion Thread for this article