Posted by: ashishme August 25, 2014
सबैभन्दा पहिले सन्तुष्टि भनेको के हो त्यो बुझ्नुपर्छ
Login in to Rate this Post:     2       ?         Liked by
किन डिप्रेसनमा छन् युवाहरू?
http://www.ratopati.com/2014/08/24/161733.html


बढ्दो बजार मूल्य र खुम्चँदो आम्दानीको स्रोत विशेषतः आवश्यकता पूर्तिका लागि दैनिक करिब १५ सय युवा त्रिभुवन विमानस्थलबाट बाहिरिइरहेका छन् । विशेषगरी शहरका युवा युवतीहरू बेरोजगारी, महँगी लगायत अनेकौं समस्याबाट गुज्रिरहेका छन् । केही गरौं भन्ने उमेरमा समस्यै समस्याको थुप्रोले थिचिएर युवाहरू डिप्रेसनमा छन् । यस्तो जटिल अवस्थाले खुम्चिएका युवा युवतीहरू कसरी आफ्नो भविष्य सुरक्षित गराउन सक्छन् ? तनावमुक्त हुन र भविष्य निर्माणमा उनीहरूले केके गर्नुपर्छ ? मनोवैज्ञानिक गंगा पाठक र समाजशास्त्री डा. ओम गुरुङ्गसँग कुराकानीमा आधारित प्रस्तुति ।

गंगा पाठक, मनोवैज्ञानिक
बेरोजगार, निराशा, चर्को मूल्यवृद्धि, खुम्चँदो आम्दानीको स्रोत, अन्योलपूर्ण भविष्य जस्ता समस्याले बहुसंख्यक नेपाली युवाहरू ग्रसित छन् । तर कैयौं हाम्रा युवाहरू यथार्थभन्दा धेरै बाहिरको सपना बोकेर अनावश्यक तनाव झेलिरहेका छन् । उनीहरू जीवनमा सन्तुष्टि खोजिरहेका छन् । त्यसका लागि सबैभन्दा पहिले सन्तुष्टि भनेको के हो त्यो बुझ्नुपर्छ । उनीहरू एकदम असन्तुष्ट भेटिन्छन्, तर किन असन्तुष्टि जनाएको हो ? के भयो भने सन्तुष्ट हुने हो त्यसबारे प्रष्ट हुनुपर्छ । धेरै ठूलो पोष्टमा जागिर पाए, हाइफाइ भयो र लिभिङ्ग स्टाटस् बढ्यो भने र सबैले चिन्ने आइडेन्टिटी भयो भने पनि मानिस सन्तुष्ट हँुदैन । नेपालको सन्दर्भमा मात्र हेर्ने हो भने यहाँ एजुकेसन सिस्टमले नै असर गरिरहेको छ । हाम्रो एजुकेसन सैद्धान्तिक बढी छ, प्राक्टिकलमा निकै कम । हाम्रो अहिलेको एजुकेसनले मानिसको स्कील डेभलप हुँदैन र आफ्नो सर्टिफिकेट कतै सेल गर्न सक्दैन । खाली डिग्री लिने, सर्टिफिकेट लिने र यति प्रतिशत आयो र उति प्रतिशत आयो भन्ने मात्र अहिलेको शिक्षा प्रणाली छ । यसले हामीलाई कमजोर बनाइरहेको छ । मुख्य समस्या यही हो ।

अर्को कुरा हामीमा युवाहरूलाई परजीवी बनाइरहने संस्कार छ । युवालाई आफैंमा डिपेन्डेन्ट बन्ने स्थिति बनाउन सकिरहेको छैन । १८÷१९ वर्षका युवालाई बाबुआमाले तिमी आफैं कमाएर पढ भन्यो भने ऊ आफैंमा डिपेन्डेन्ट बन्न सिक्छ । तर त्यो छैन । जे पाउँछ त्यही काम गर तर काम त गर भनेर सिकाउनुपर्ने हो । हाम्रोमा कामलाई सम्मान गर्ने संस्कार नै विकास भएको छैन । सामान्य जागिर नखाने, ठूलो अफिसमा जागिर खानुपर्ने, त्यहाँ पनि सामान्य कामदार मात्र भएर भएन, बोस नै बन्नुपर्ने गलत संस्कार हामीकहाँ हुर्किरहेको छ । यस्तो प्रवृत्तिले अहिले युवाहरूलाई ग्रस्त बनाइरहेको छ ।

depression3युवाहरूलाई तिमीले राम्रो गर्नुपर्छ र बेस्ट नै बन्नुपर्छ भनेर समाजले हरेकलाई गाइड गरिरहेको छ । तर सबै बेस्ट बन्न सक्ने त होइन । ऊ के काममा सक्षम छ, केके काममा उसको खुबी छ भन्ने कुरा नबुझी युवाहरू कन्फ्युजनमा सपना देखिरहेका छन् । जागिरको लागि अन्तर्वार्ता लिन जाँदा घोत्लिएर अन्तर्वार्ता दिन जान्छन्, त्यस्तो नि हुन्छ ? आफू जुन विषयका लागि क्यान्डिडेट हो त्यसमा त पर्फेक्ट हुनुप¥यो नि ! आत्मविश्वासका साथ जानसक्नु प¥यो नि ! तर हाम्रो युवा पुस्तामा त्यस्तो पाइन्न । यदि तपाईंले कृषिमा डिग्री गरेको हो भने त्यस सम्बन्धी विषयमा जे–जे सोधे पनि भन्न सक्छु भन्ने हुनुप¥यो । वास्तवमा हाम्रो अहिलेको युवा वर्ग क्यापेबल नै छैन ।

आफूले आफूलाई एक्सपोज गर्ने कुरामा युवाहरू कमजोर छन् । म को हुँ, मेरो क्षमता के हो ? रुचि के हो ? र के काम चाहिं राम्रोसँग गर्न सक्छु भन्ने कुरा राम्रोसँग छुट्याउन सक्दैनन् । तर त्यसो गर्नुहुँदैन । आफ्नो जीवनको लक्ष्य के हो, आफूमा के क्षमता छ त्यो पहिचान नगरी पाइयो भन्दैमा जे पायो त्यही जागिर खान हुँदैन । यदि जे पायो त्यही जागिर खान थालियो भने नजानेरै त्यो युवा फ्रस्टेड भइसकेको हुन्छ । यही कारण युवाहरू बढी फ्रस्टेड हुन्छन् । विश्वविद्यालयमा गोल्डमेडल ल्याउनेले कलेजमा पढाउन सक्छ नै भन्ने हुँदैन । पढाउने भनेको कला हो, जोसँग शब्द छ र कला छ उसले राम्रो पढाउन सक्छ, यदि गोल्डमेडल ल्याएको छ तर पढाउने कला छैन भने पढाउन जानु भएन ।

यदि गयो भने ऊ असफल हुन्छ । ऊ त आफ्नो क्षमता अनुसारको टेबल वर्क गर्न जानुप¥यो । हो यहींनेर बढी फ्रस्टेसन हुन्छन् मानिसहरू । मैले गोल्डमेडल पाएको थिएँ, मलाई पढाउन दिएन, मैले पाइनँ, यो भएन, त्यो भएन भनेर अरु–अरुलाई आरोप लगाउँछन् । मभित्र के कमजोरी भयो र मैले यो काम गर्न सकिनँ भनेर समीक्षा गर्ने र कमजोरी केलाएर सुधार्ने हामीमा अभ्यास नै भएको छैन । त्यो खालको संस्कारको विकास नै भएको छैन । त्यसले गर्दा युवाहरू बढी फ्रस्टेड भएका छन् । र उनीहरू त्यसपछि विदेश जाने भन्न थाल्छन् । यो एकप्रकारको रोग नै हो ।
धेरै युवाहरू उनीहरूको कुराकानी खाली फलानो देशमा अप्लाई गरेको भिसा लागेन, टोफेल दिने आदि कुराहरू मात्र हुन्छ । नेपालमा यस्तो उस्तो गर्ने भन्ने केही हुन्न । खाली विदेशको मात्र कुरा हुन्छ । बडो दुःखको कुरा त युवाहरूमा मैले गर्न खोजेको र जानेको कुरा यहीं प्रयोग ग¥यौं, यहीं गर्न सकिन्छ भनेर मिहिनेत गर्ने स्थिति नै छैन ।

मेरो अभिभावकले मेरो लागि कतिसम्म खर्च गर्ने क्षमता राख्छ त्यो थाहा नपाई साथी युके गयो, युएस् गयो, अष्ट्रेलिया गयो भन्दै युवाहरू हावामा त्यतै दगुर्छन् । बाबुआमामा पनि यस्तै प्रभाव छ । उसको छोरा गयो, उसको छोरी पनि गयो, उसले यति पैसा पठाइसक्यो, ह्या मेरो नि जाओस् भनेर उनीहरू ऋण गरेर भए पनि पठाउँछन् । यो निकै नराम्रो रोग हो ।

जो यहाँ आफ्नो भविष्य खोज्न सक्दैन, राम्रोसँग काम गर्न सक्दैन र पाएर पनि त्यसलाई राम्रो पर्फमेन्स दिन सक्दैन । उनीहरूले विदेशमा झनै ठूलो दुःख भोगिरहेका हुन्छन् । मुख्य समस्या त हाम्रो युवा पुस्तामा लेवर वर्कको क्षमता नै छैन । लेवर वर्कर पाउनै गाह्रो छ तर बेरोजगार भएँ भन्ने साथीहरूलाई हाइफाइ भएको अफिस चाहिएको छ । जब उनीहरू बाहिर जान्छन्, त्यहाँ दुःख पाउँछन् । हरेक वर्ष ५० जना भन्दा बढी डिप्रेसन भएर फर्किरहेका हुन्छन् । उनीहरू फर्किंदा मानसिक रोग, डिप्रेसन आदि रोग लिएर आउँछन् । यो समस्या बढ्दै गइरहेको छ ।
हो यहाँ जागिर खाएर पनि महँगीले दैनिक जीवन विताउन हम्मेहम्मे पर्नेहरू धेरै छन् । यदि त्यस्तो भयो भने उसले एक्स्ट्रा काम गर्नुप¥यो । एक ठाउँमा काम गरेर बाँकी समय विन्दास बस्नु भएन । परिश्रम गर्नुप¥यो । म आफैं चार ठाउँमा पढाउन जान्छु । मैले किन श्रम गर्छु भन्दा मलाई धेरै पैसा चाहिएको छ । नत्र म पनि एक ठाउँमा पढाएर चुप लागेर बसे भइहाल्यो नि त । अहिलेको डिमान्ड मिट गर्न मैले धेरै काम गर्नुपर्छ ।

त्यो सबैले गर्नुप¥यो । यदि ऊ दिउँसो एउटा अफिसमा काम गरिरहेको छ भने बिहान बेलुका एक्स्ट्रा अन्य काम गर्नुप¥यो । फ्रस्टेड भएर के पाउँछ त ? आउट कम के ? ६ हजार तलब छ यसले पुगेन भनेर डिप्रेस भएर हिंडेर तपाईंले के पाउनु हुन्छ ? पाउने डिप्रेस मात्र हो । बरु यो ६ हजार तलबले कसरी म्यानेज गर्ने र बाँकी आम्दानी कसरी प्राप्त गर्ने भन्नेतिर ध्यान दिनुभयो भने चाहिं राम्रो हुन्छ ।
हुन त हामी कठोर सामाजिक बन्धनमा छौं । म यो बाबुको छोराछोरी, यो काम गर्नुहुन्न । मैले यति पढेको छु, यसो गर्नुहुन्छ, यसो गर्नु हुन्न भन्ने परिपाटीको विकास भएको छ ।

यहाँ कामलाई सम्मान गर्न सिक्नुपर्ने छ । कलेज पढाउनेले आफ्नो थप आयको लागि बच्चाहरूलाई ट्युसन पढाउन नहुने पनि होइन । यो भनेको मिलाउने हो । आफ्नो प्लेटफर्म निर्माण गर्दै जाने हो । यदि त्यसो नगर्ने हो भने त तपाईंहरूको केही पनि समाधान छैन । किनकि अझै हजार वर्ष मुलुक यसरी नै चल्ला । भनेपछि हामी कहिलेसम्म सरकारको मात्र भरमा बस्ने ? के हामी आधा पेट मात्र खाएर बाँच्न सक्छौं ? त्यो त सक्दैनौं । त्यसैले समय अनुसार परिवर्तन हुनुप¥यो । एउटा जागिरले पुग्दैन भने अर्को काम पनि गर्नुप¥यो । होइन, जे जागिर छ त्यही खाइरहने अनि मलाई यतिले पुगेन, यति चाहिन्छ भनेर त्यहाँ कराइरहेर केही हुन्न । मात्र तपाईंहरू आफू फ्रस्टेड हुनुहुन्छ, बस त्यत्ति हो ।

डा. ओम गुरुङ समाजशास्त्री
यहाँको संकीर्ण संस्कृतिले युवाहरूलाई दिग्भ्रमित बनाइरहेको र शारीरिक श्रमलाई घृणा गर्न सिकाइरहेको छ । यही कारण हाम्रो श्रमशक्ति हरेक दिन करिब १५ सयका दरले बाहिरिइरहेका छन् भने यहाँ कामदारको अभाव बढ्दै गइरहेको छ । यो नेपाली समाजमा देखिएको डरलाग्दो विकृति हो । हामीभित्र शारीरिक श्रमलाई तल्लोस्तरको काम ठान्ने र टेबुलमा बसेर गर्ने कामलाई श्रेष्ठ ठान्ने प्रवृत्ति बढिरहेको छ । कामलाई बराबरीको मान्यता नदिने यहाँको संस्कारले मानिसहरू लेबर काम गर्नै चाहँदैनन् । यहाँ सीप अनुसारको काम छैन, मजदुरी गरे अनुसारको श्रमको मूल्य पनि छैन । कामलाई तल्लोस्तरमा राखेर श्रम निर्धारण गरिएको छ । यही कारण युवाहरू नेपालमा लेबर काम गर्न चाहँदैन । यो समाज र राज्यले बनाएको गलत मापदण्डले नेपाली श्रमबजारमा विकृति बढिरहेको छ । समाजले नै यसरी हेरेपछि मानिसहरूलाई श्रमप्रतिको आस्था, विश्वास र सम्मान नै छैन । तर आफ्नो देशमा नगरेको यही काम बाहिर गएर गरिरहेका छन् । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने अवधारणा नभएपछिको अवस्था हो यो । सबैले कर्मचारी र कारिन्दाको काम खोज्छन् ।
राम्रा अवसरहरू जसको सत्ता, शक्ति र राजनीतिसँग सम्पर्क छ उसले मात्र पाइरहेको छ । बाँकी अरुलाई कुनै प्रकारको अवसर नै छैन । समान खालको अवसर नपाएपछि मान्छेमा वितृष्णा बढ्छ र यसले मानिस पलायन हुनतिर लैजान्छ । युवा आफैंले गर्न सक्ने केही छैन । कुनै पनि देशमा युवा आफैंले केही गर्न सक्दैन । पहिला राज्यले उचित नीति तथा योजना बनाइदिनुपर्छ । त्यसपछि मात्र युवा परिचालन गरेर जाने हो । यहाँ कुनै त्यस्तो नीति नै छैन । उपयुक्त वातावरण नभई युवाहरू आफैं गर्छौं भनेर लागिपरे पनि समाजमा त्यो खालको वातावरण नै छैन । राज्यले उपयुक्त वातावरण बनाउँदैन भने कसैले गर्छु भन्दैमा केही हुँदैन ।
- See more at: http://www.ratopati.com/2014/08/24/161733.html#sthash.vfXazWbf.dpuf
Read Full Discussion Thread for this article