Posted by: cybernepali July 29, 2014
बर्षौं पछि अमेरिका ल्याएको स्वास्नीमा परिवर्तन पाउँदा
Login in to Rate this Post:     0       ?        

गर्मी यामको पारिलो सोमबार । आज अधिकांश रेष्टुरेन्ट कामदारले अमेरिकामा फुर्सद पाउने दिन । ६ दिनसम्मको रेष्टुरेन्टको खटाइपछि ऊ पनि आज न्यूयोर्कमा छुट्टी मनाउन आएको रहेछ । थकित अनुहारमा नेपालबाट भर्खर भर्खर अमेरिका आएको आप्रवासीको कृत्रिम हाँसो एकातिर, अर्कोतिर त्यो कालो ब्याग दुवैलाई बिसाउँदै ज्याक्सन हाइटको भिम्स क्याफेको माथिल्लो तल्लामा आएर थचक्क बस्छ । उसैको प्रतीक्षामा केही समयअगाडिदेखि कुरेर बसेको अर्का व्यक्तिसँग हात मिलाएर ज्याक्सन हाइटको भिम्स क्याफेमा आसन जमाएर ऊ बसेको मात्र के थियो, उसको बोली फुटिहाल्यो– ‘मलाई त्यसले फसाई यार, म के गरौं ?’ हुन त ऊसँग मेरो पूर्वपरिचय थिएन । तर, उसैको प्रतीक्षामा बसेको अर्को व्यक्तिसँग भने म स्वयम् पनि परिचित थिएँ । दुई व्यक्तिका आपसी संवादले व्यक्तिगत प्रसंग शुरु हुन लागेको अड्कलबाजीका कारण सँगै जोडिएको अर्को टेबुलमा बसिरहेको मलाई अप्ठेरो महसुस हुन थाल्यो । असहज मान्दै मान्दै त्यहाँबाट निस्कने निक्र्योलका साथ उठेर ती अर्का व्यक्तिसँग बिदाइ माग्दै थिएँ । तर, एकछिन बसौं न सर भन्दै उनीहरु बसेकै टेबुलमा बस्नका लागि करकाप गर्न थाल्यो । म स्वयम् भने अर्काको व्यक्तिगत कुराकानीका प्रसंगभित्र प्रवेश गर्न चाहँदैन थिएँ । त्यसैले त भिम्स क्याफेबाट बाहिर निस्कने मेरो प्रयास थियो । तर, अर्का पूर्वपरिचित मित्रले ज्यादै जिद्दी गरेर सँगै बस्न बाध्य बनाएपछि मेरो बाहिरिने प्रयास असफल भयो ।

बाहिर ९० डिग्री तापक्रम, भित्र भिम्स क्याफेको तातो मःमःको बाफ । अर्कातिर ती न्यूजर्सीको रेष्टुरेन्टबाट एक दिनको छुट्टी मनाउन न्यूयोर्क आएका ती युवाको पीडाको रन्को । झनै पूर्वपरिचित युवाले मसँग परिचय गराइदिएपछि त ऊ यति धेरै उत्साहित भयो कि ? उसका मनभित्र पिल्सिएर बसेका असीमित पीडाहरु ऊ एकैपल्ट बाहिर निकालेर मेरो अगाडि बिस्कुन छरेझैं छर्न चाहन्छ । ऊ हलुका हुन चाहन्छ । त्यसैले त जम्मा आधा घण्टाको बसाइँमा उसले आफ्नो सबिस्तार कहानी सुनाउन भ्यायो ।

१६ वर्षे चढ्दो जवानीमा गाउँको एउटै विद्यालयमा अध्ययनरत एक युवतीसँग माया गाँसिएपछि भगाएर प्रेमविवाह गरेको रहेछ उसले । अहिले ऊ ३१ वर्षको भएछ । कति सुनौला थिए ती पल ! सबैतिर रमाइलो मात्रै । जुँगाको रेखी बस्दै गर्दा एउटै स्कुलकी किशोरीसँग मन बस्यो उसको । मन परेपछि परिवारको के पर्बाह ? भागी बिहे गरे साना दुलहादुलहीले, भविष्यको सपना सजाउन थाले । एकअर्काबाट नछुट्टिने वाचा गरे । जस्तै दुःखी परिस्थितिमा एकअर्कालाई न्यानो अँगालोको सुरक्षा दिने कसम खाए । ‘कसम न हो खाइदिए पुगिगो, सायद कसमहरू तोडिनकै लागि हुँदो रहेछ दाइ,’ ऊ भूमिका बाँध्दै छ । हामी पनि सुन्दै छौं, रोमाञ्चक कथा चलचित्र हेरेझैं । संवेदना मर्दै गइरहेको समाजमा कारुणिक कथाले मन दुखेको दाबी त म कसरी गरूँ ! पत्याउँछ पो कसले ?

४ वर्षअगाडि उसकी पत्नी अमेरिका आई, पति र छोराछोरी छाडेर । अनि, ती वाचाकसम, वात्सल्यपूर्ण मातृत्व र पत्नीसुलभ चरित्र पनि बाग्मतीतिरै सेलाएर आइछ । उसले यी सब त्यति बेला थाहा पायो, जब ऊ पनि एक वर्षअघि अमेरिका आयो । सोह्र वर्षअगाडिको मायाप्रेम अब उसका लागि किंवदन्ती बनिसकेछ । के छ कुन्नि अमेरिकामा ? चारै वर्षको अवधिमा उसकी प्यारी जीवनसंगीलाई क्रूर अनि धोकेबाज बनाइदिएछ । प्राणप्यारी, आनन्ददायी पत्नी नै अहिले उसका लागि दैनिक पीडाको माध्यम बनेकी छ । अहिले दुनियाँका नजरमा मात्र उनीहरू पतिपत्नी हुन्, भावनात्मक रूपमा होइन । उसले निकै प्रयास ग¥यो दाम्पत्यको झीनो त्यान्द्रोलाई फेरि कसिलो बनाउन । तर, साथ पाएन । परिवर्तन हुने त मान्छेको स्वभाव हो, यसमा बिचरा भूगोलको के दोष ? भूगोलले कठोरता आउँथ्यो त सायद ऊ पनि यति धेरै दुख्ने थिएन ।

एक वर्षअघि छोराछोरी च्यापेर जोन अफ केनेडी विमानस्थल झर्दा लामो वियोगपछि प्राणप्यारीलाई भेट्न आतुर थियो ऊ । अर्धांगिनीप्रति छुट्टै सम्मान थियो । वर्षौंपछि पत्नी देख्दा उसका आँखामा असीम सुखका आँसु टिलपिलाए । पत्नीका आँखामा भने उसका लागि कुनै ‘फिलिङ’ टिल्पिलाएन । बरु सँगै ल्याएको पुरुषतिर उन्मत्त दृष्टि थियोे त्यो नारीको । पतिलाई ‘रिसिभ’ गर्न उपपति लिएर गइछ । धन्न, चिनाउनचाहिँ ‘दाइ’ भनेर चिनाई । बिचरा, नेपालबाट भर्खर आएको बबुरो, नपत्याएर पो के गरोस् ?

‘सतीसालभैंm पत्नीबाट यस्तो धोका होला भन्ने कहिल्यै सोचिनँ दाइ,’ ऊ भक्कानिँदो छ, ‘त्यो त ब्वाइफ्रेन्ड पो रहेछ ।’ नेपालमा छँदाकोे पत्नीको मधुर आवाज अब कर्कश ध्वनि बनिसकेछ । केही प्रश्नै सोध्न नहुने । ठाडो जवाफ– ‘तँलाई मैले नै अमेरिका ल्याएकी हुँ, चुप लागेर बस् ।’ सुरुमा त ऊ छाँगाबाट खसेझैं भयो, अब बानी प¥यो । बारम्बारको चोटले मान्छे चोट खान खप्पिस हुन्छ । छोराछोरीको भविष्यका लागि पनि कुनै कठोर निर्णय गरिनहाल्न ऊ विवश छ ।

नेपालमा राम्रै पढिरहेका थिए लालाबाला । उसको पनि राम्रै व्यवसाय, मानसम्मान र इज्जत थियो । कमी थियो त पारिवारिक साथको । जीवनसंगिनीको । त्यही अभाव पूरा गर्न सुनौलो भविष्यको खाका कोर्दै ऊ जहाज चढ्यो । माथि अकाशमा बादलका गुच्छा हेर्दै सपना बुन्यो– पतिपत्नी सधैं एकअर्काका सारथि बनौंला । छोराछोरीको भविष्य उज्ज्वल पारौंला । तर, ती सबै सपना पत्नीले उसको नामको चुरा नाडीबाट निकालेर कतै पत्थरमा बजारेझैं चकनाचुर भइसके अब । लामो श्वास तान्दै पुर्परोमा हात राख्यो उसले एकचोटि । अनि कामना ग¥यो– ‘यस्तो दिन कसैले देख्न नपरोस् ।’

अमेरिका आएदेखि पत्नी उसलाई नजिक पर्नै दिन्न रे ? बच्चाबच्चीको मायाले सताएपछि हप्ताको एक दिन छुट्टीमा कोठा पुग्छ ऊ । त्यहाँ पत्नीसँग हरेक हप्ता अर्कै पुरुष हुन्छन् । हिजोको होइन, त्योभन्दा पनि नयाँ । ब्वाइफ्रेन्ड कपडा फेरेजत्तिकै । कोठामा पुग्दा उसकी पत्नीलाई अलिकति पनि हीनता आभास हुँदैन रे ।

अति भएपछि उसले डिभोर्स माग्यो । पत्नीले उल्टै धम्की दिई, ‘त्यसो भए तेरो ग्रिनकार्ड खोसिदिन्छु ।’ ज्यादती अझ थपियो, ‘तँजस्तालाई अमेरिका ल्याएकी छु । खुरुक्क रेस्टुरेन्टमा काम गर्ने । महिनाको हजार डलर मलाई बुझाउने । नत्र ग्रिनकार्ड जाला ।’ आफ्नै पत्नी आफ्नै अघि नाठोसँग रत्तिएको देख्दा एउटा पतिको मन कस्तो होला ? पटकपटक मरेर ब्युँतन्छ ऊ । घरीघरी सास अड्किएलाजस्तो हुन्छ । वैधानिक पति ऊ नै हो तर उसलाई त्यो सुख छैन । बस्, एउटी निर्दयी आइमाईका लागि पैसा छाप्ने मेसिन बनेको छ । छोराछोरीको न्यानोले मात्रै बाँचिरहेछ ।

‘अरूका नजरमा ऊ नै मेरी पत्नी हो । तर, मेरा लागि भइन । घरमा के भन्ने होला अब,’ ऊ निचोरिँदो छ, ‘न नेपाल जान सक्छु न यहाँ बस्न । छोराछोरीको भविष्य के हुने हो, चिन्ता लाग्छ ।’ उसलाई आफन्त फोन गर्छन् । बखान गर्छन्– ‘परदेशमा संघर्ष गरेर परिवार सुखी पार्ने सुशील पत्नी पाइछस् तैंले । सपरिवार अमेरिका पुर्याउन सक्ने पत्नी पाइछस् तैंले ।’ यस्तो सुन्दा उसलाई असह्य पीडा हुन्छ । मरेजस्तो अनुभूति हुन्छ । दिनदिनै भोग्छ ऊ यो दारुण परिस्थिति । हो, ऊ दिनदिनै मर्छ र दिनदिनै ब्युँतिन्छ, आफ्नै पत्नीको निर्दयी व्यवहार फेरि झेल्नका लागि । आँखाका नानीजस्ता छोराछोरीलाई एक झल्को हेर्नका लागि ।

करिब आधा घन्टाको ट्र्याजिक फिल्मजस्तो कहानी बिनाटिकट सुनेर हामी भिम्स क्याफेबाट बाहिरियौं । ऊ आँसु पुछ्दै बाटो लाग्यो । थिएटरबाट निस्किएपछि फिल्मका पात्र र कहानीजस्तै भुल्नु छ उसलाई पनि । गर्न के नै पो सकिन्छ र ?


http://vishwanews.com/MenuPages/content/details.aspx?cat=20&news_id=3866&t=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%AE%E0%A4%BE+%E0%A4%AA%E0%A4%A4%E0%A4%BF+%E0%A4%AC%E0%A4%A8%E0%A5%87+%E0%A4%AA%E0%A5%88%E0%A4%B8%E0%A4%BE+%E0%A4%9B%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A8%E0%A5%87+%E0%A4%AE%E0%A5%87%E0%A4%B8%E0%A4%BF%E0%A4%A8

Read Full Discussion Thread for this article