Posted by: _____ July 8, 2014
सिकेलाल - 'नेपाली' भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका
Login in to Rate this Post:     0       ?        
गोर्खाली हरु अंग्रेजी सेना मा भर्ना  हुनु भन्दा १५० वर्ष पहिले नै नेपाली भाषा बिकसित भै सकेको थियो र तेस्को प्रयोग पनि मज्जा संग हुन्थ्यो भन्ने  तल को लेख पढे  पछि प्रस्ट हुन्छ.
सी के लाल जिउ अध्यारो मा तिर हान्दा आफै लाग्छ 

मजलिस घरबाट–७

Share:
    
- कमल दीक्षित
प्रतापमल्लले रानीपोखरीमा शिलापत्र चिटाएको ३४४ वर्ष भयो, जुन एउटा देशको इतिहासमा धेरै समय नभए पनि यत्तिमै हामीले देशको भूगोल बिर्स्यौं!

रानीपोखरीको बारको बारेमा चर्चा गरिएको थियो– 'मजलिस घरबाट ६' मा। 'निमित्त' बार भए पनि त्यसमा कुरा चाहिं रानीपोखरीकै भएको हो। त्यतिले पनि रानीपोखरीका कुरा नसकिएको हुँदा आज फेरि हामी त्यस वरिपरि नै चक्कर लगाउँदैछौं।

राष्ट्रिय नाचघर अगाडि पर्खालमा जडिएको प्रतापमल्लको शिलालेख।
मान्छेहरूका बीचमा जेठो–कान्छोको कुरा हुन्छ। यहाँ हामी एकैछिन रानीपोखरीको उमेर हिसाब गरेर हेरुँ। मजलिस घर बन्नुभन्दा २२७ वर्षअघि खनिएको हो रानीपोखरी। अनि त्यहाँ त्यो चौगिर्दे बार त त्यसको चौथाइ शताब्दीपछि पो हालिएको रहेछ १९९४ सालमा! राजा प्रतापमल्लले रानीपोखरी खनाएको तिथिमिति नै दिएकाले ऐले हामीलाई धेरै सजिलो भएको छ। उनले रानीपोखरी निर्माणका बारेमा विस्तृत विवरण दिएर एउटा शिलालेख नै खडा गरिदिएका थिए– शाके १५९२ (विक्रमीय १७२७) सालको कार्तिक शुदी पूर्णिमाको दिन।

यो हिसाबले रानीपोखरीभन्दा यसको बार २६७ वर्ष कान्छो देखिन्छ। प्रतापमल्लले खडा गरेको त्यो शिलालेख नेपाल र नेपाली भाषाका निमित्त एउटा कोसेढुंगा नै सावित भएको छ। अत्यन्त महत्वपूर्ण अभिलेख हुनपुगेको छ त्यो आज। त्यसले बताउँछ– ऊ वेला पर्वते भनेर चिनिने नेपाली भाषा गोर्खालीहरू उपत्यका छिर्नुभन्दा पहिले यहाँ जमिसकेको रहेछ! त्यही प्रमाणित गर्छ यस शिलालेखले। गोर्खाका राजाले नेपाल उपत्यका सर गर्नुभन्दा पहिले, कान्तिपुरको गद्दीमा पृथ्वीनारायण शाह बस्नुभन्दा ठीक ९८ वर्षअघि राजा जयप्रकाश मल्लका बाबु जगज्जयमल्ल अघिका राजा भास्कर मल्लका बराजु प्रतापमल्लले त्यो शिलालेख चिटाएका हुन् भन्ने नबिर्सूं! त्यति वेला पनि यति राम्ररी नेपाली भाषा प्रयोग गरिएको शिलालेखलाई यस भाषाको ऐतिहासिक व्यापकताको प्रमाण मान्छन्, भाषाविद्हरू।

त्यस बखत यसरी नेपाली भाषामा लेखिएको शिलालेखको ऐले हामीले उच्च मूल्याङ्कन गर्नु अचम्म होइन। आश्चर्यको कुरा त के हो भने उसै वेला राजा प्रतापमल्लले समेत यस शिलालेखलाई अथवा भनूँ यसमा अंकित सन्देशलाई अति नै ठूलो महत्व दिएका रहेछन्। नत्र एउटै कुरो तीन–तीनोटा शिलामा उत्कीर्ण गराएर कसले राख्थ्यो? यो प्रतापमल्लको 'रानिपोखरी अभिलेख' भनिने उही–उही भाकाका तीन शिलालेख तीन ठाउँमा पाइएका छन् रानीपोखरी वरिपरि! २०११ सालमा प्रकाशित लक्ष्मण सत्याल र अक्रुर कुइँकेलको चौथो इतिहास संशोधनलाई उल्लेख गर्दै 'इतिहास–संशोधनको प्रमाण–प्रमेय' ग्रन्थले २०१९ मा भनेको छ– 'रानीपोखरीको प्रतापमल्लको यो अभिलेख राष्ट्रिय नाचघर बाहिर, ज.सूरशमशेरको क्याम्पभित्र र वीर अस्पतालको क्याम्पभित्र छ।' यो थियो ५० वर्षअघिको कुरो।

ऐले ती तीन ओटा शिलालेखको अवस्थित कहाँ छ, के छ, अनुसन्धेय कुरो हो।
शिलालेखहरू वस्तु हुन्– खोजिएला, फेला पनि पर्लान्। तर खोजेर पनि फेला नपर्ने अरू पनि एक दुई कुरा देखिन्छन् त्यस शिलालेखमा। नेपाली विद्वत् समाजलाई 'च्यालेन्ज' गर्छन् यी शिलालेखले। राजा प्रतापमल्लको यस अभिलेखले हामीलाई खोजेर पत्ता लगाउने हाँक दिएको छ। एउटा प्रश्न, प्रतापमल्लले रानीपोखरीमा पानी कसरी भरे? के गरेर भर्न सके? पचासभन्दा बढी तीर्थहरूबाट घडा भरी–भरी जल ल्याएर खन्याइयो यहाँ। शिलापत्रले नै बताएको– वागमतीबाट त १०,६४१ घडा जल ल्याई घोप्ट्याइयो रे! तर, त्यत्रो पोखरी त्यत्ति पानीले कसो गरी भर्नू? अनि के गरे त राजा जयप्रतापले? ध्यान दिऊँ। त्यही शिलापत्र भन्छ,
“श्रीसुन्दरी नदीको जल बहाइकन पोषरी भर्या।। श्रीनीलकंठको जल भारि ६३।। श्रीविष्नुमतिको जल।। श्रीविश्वनाभको जल बहाइकन आफुले संकल्प गरीकन पानी राष्यो।।”

मैले शिलापत्रले 'च्यालेन्ज' गरेको छ भनेको यही हो। रानीपोखरी भर्ने ती दुई कुला कुन कुन नदीबाट ल्याइएका हुन्? र, ती जल बहाइएका 'सुन्दरी नदी' र 'विष्नुनाभ' कहाँ छन्? अचेल हामी तिनलाई कुन नामले चिन्छौं, थाहा छ कसैलाई? 'सुन्दरीनदी' या 'विष्नुनाभ' कुन जलाशय या जलस्रोतलाई कहिन्थ्यो हामीलाई थाहा छैन, तर काठमाडौं राज्यक्षेत्रकै कुनै स्रोतहरू हुनुपर्छ यी दुवै। किनभने पाटने या भादगाउँलेले आ–आफ्ना इलाकाबाट काठमाडौंको पोखरी भर्नलाई पानी लैजान दिंदैनथे!

(दीक्षितको यो चुनौती स्वीकार्दै हिमाल ले इतिहासकार, सम्पदाविज्ञ, समाजशास्त्री, मानवशास्त्री लगायतका विद्वानहरूबीच खोजपूर्ण छलफल चलाएर ऊवेलाको 'सुन्दरीनदी' या 'विष्नुनाभ' अहिले कहाँ पर्छन् र के कहलाउँछन्– पत्ता लगाउने जमर्को गर्नेछ। –सम्पादक)


Read Full Discussion Thread for this article