Posted by: missnepalus June 30, 2014
चर्चित डिजाइनर शमा बानुको डिजाइन मिस नेपाल अमेरिकामा !!
Login in to Rate this Post:     0       ?        

चर्चित डिजाइनर शमा बानुको डिजाइन मिस नेपाल अमेरिकामा


 

खसोखास साप्ताहिक /न्युयोर्क
              नेपालकी चर्चित फेशन डिजाइनर शमा बानुको डिजाइन मिस नेपाल अमेरिकामा प्रदर्शन गरिने भएको छ । फेशन डिजाइनर शमाले ढाकाको कपडाबाट डिजाइन गरेका ‘एक्सक्लुसिभ’ आधुनिक पोशाकहरु लगाएर मिस नेपाल अमेरिकाका प्रतिस्पर्धीहरु रयाम्पमा उत्रने भएका छन् । नेपालको मौलिक ढाकाका पोशाकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गइरहेको अवस्थामा अमेरिकामा रहेका नेपाली युवा पुस्तामाझ ढाकाको पोशाक प्रवद्र्धन गर्ने उद्देश्यले ढाकाका डिजाइन प्रदर्शन गर्न लागिएको मिस नेपाल अमेरिकाका आयोजक अमित शाहले जानकारी दिए । 


           अमित भन्छन् –“मिस नेपाल अमेरिकाको उद्देश्य नेपाली कला, संस्कृति , पर्यटन र मौलिकताको प्रवद्र्धन गर्नु पनि हो । हामीले विभिन्न तरिकाले हरेक वर्ष नेपाली कला, संस्कृति , पर्यटन र मौलिकताको प्रवद्र्धन गर्दै आएका छौं । यसवर्ष चर्चित फेशन डिजाइनर शमा बाजुको मौलिक ढाकाका डिजाइन प्रदर्शन गरिने छ । ” नेपालमा केरा, सिस्नु, आलु लगायतबाट कपडा बनाइदै आएको र त्यस्ता मौलिक कपडालाई आधुनिक पोशाकमा ढाल्न सकेमा त्यस्ता पोशाकप्रति आधुनिक पुस्ताको पनि चासो र आकर्षण बढ्ने आयोजकको विश्वास रहेको छ । 
          फेशन डिजाइनर शमा बानु नेपाली फेशन उद्योग र फिल्मी उद्योगमा समेत चर्चित नाम हो । उनले नेपाली फिल्म उद्योगमा फेशन डिजाइनिङको नयाँ कन्सेप्ट भित्राएकी छिन् । उनका डिजाइन व्याख्या गर्नका लागि कुनै शब्दको आवश्यकता नै पर्दैन । सन् २००६ मा नमुना कलेज अफ फेशन टेक्नोलोजीमा फेशन डिजाइनसम्बन्धि अध्ययन गरेकी उनले सन् २०११ मा क्रियटिभ डिजाइन अवार्ड समेत जितेकी थिइन् । तिनै फेशन डिजाइनरले डिजाइन गरेका आधुनिक पोशाक लगाएर मोडलिङ गर्ने अवशर पाउने भएका छन्, यसपटकका मिस नेपाल अमेरिकाका प्रतिस्पर्धीहरुले । 


        आगामी अगस्त २३ मा न्युयोर्कमा हुने मिस नेपाल अमेरिकाको आयोजक इभेन्ट प्लानेट इन्ट हो । सन् २०११ देखि हरेक वर्ष गरिदै आएको मिस नेपाल अमेरिकाको चौथो संस्करण यो वर्ष न्युयोर्कको म्यानहटनमा हुने भएको छ । कौफम्यान म्युजिक सेन्टरमा हुने मिस नेपाल अमेरिकामा सहभागी हुन चाहने युवतीहरुले अहिले धमाधम आवेदन दिइरहेका छन् । प्रतियोगितामा सहभागी हुन चाहने १८ देखि २९ वर्षसम्मका युवतीहरुले अझै दुईहप्तासम्म आवेदन दिन पाउनेछन् ।  मिस नेपाल अमेरिकाको आधिकारिक वेभसाइट मिस नेपाल युएस डटकममार्फत इच्छुकहरुले आवेदन दिन सक्नेछन् । विजेतालाई ५ हजार अमेरिकी डलरको छात्रबृत्ति प्रदान गरिने छ । त्यसैगरी फस्ट रनर अप र सेकेण्ड रनर अपले पनि क्रमश ३ र २ हजार डलरको छात्रबृत्ति प्राप्त गर्नेछन् । विजेताले साथमा अन्य उपहारहरु पनि प्राप्त गर्नेछन् । अमेरिकामा रहेका मात्र नभई क्यानडामा रहेका नेपाली युवतीले पनि प्रतियोगितामा सहभागिता जनाउनसक्ने आयोजकको भनाई छ । 

        युवा शशक्तिकरण र नेपालको प्रवद्धन भन्ने मुल नाराका साथ हुने मिस नेपाल अमेरिका पारदर्शी तरिकाले हुने आयोजकले आश्वस्त पारेका छन् । प्रतियोगितामा जजको निर्णय नै अन्तिम निर्णय हुने र आर्थिक पारदर्शिता अपनाउनका लागि लाइसेन्स प्राप्त सीपीए राखिने आयोजकको भनाई छ । प्रतियोगितामा सहभागीहरुले मिस नेपाल न्युयोर्क, मिस नेपाल क्यालिफोर्निया, मिस नेपाल टेक्सास जस्ता टाइटलहरु पनि जित्न सक्नेछन् । साथै विगतका वर्षहरुमा जस्तै मिस ट्यालेन्ट, मिस पपुलर लगायतका टाइटलहरु यस पटक पनि राखिएको छ । 
       मिस नेपाल अमेरिका पहिलोपल्ट सन् २०११ म अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो । पहिलो मिस नेपाल अमेरिका सुजिता बस्नेत हुन् । त्यसपछि मिस नेपाल अमेरिकाको दोश्रो संस्करण सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न भएको थियो । सन् २०१२ मा आस्था श्रेष्ठ मिस नेपाल अमेरिका भइन् । गत वर्ष न्युयोर्कमा सम्पन्न मिस नेपाल अमेरिकामा बार्तिका राईले ताज पहिरिन सफल भइन् । प्रतियोगितामा विगतका वर्षमा सीएनएन टेलिभिजनकी पूर्व प्रस्तोता किरण क्षेत्री, हलिउडका फिल्मोग्राफी र साउड एडिटर जेम्स सिम्चिक, नेपाली कुटनीतिक नियोगका उच्च पदस्थ अधिकारीहरु , मिस अमेरिका , मिस न्युयोर्क लगायत उपस्थीत भइसकेका छन् । 



खसोखास साप्ताहिकको वर्ष ३ अंक २४ पूर्णाङ्क १२५, शुक्रवार, असार १३–१९, २०७१ मा प्रकाशित । 

- See more at: http://khasokhas.com/news/426#sthash.ZWzSPxjo.dpuf
Read Full Discussion Thread for this article