ध्वाँसे दाइ सँग मेरी सरिताको कुरा – कान्छो
"तँ मुला, मेरो अलि बोली विक्न छोड्यो भन्ने वित्तिकै फोनै नउठाउने !" ध्वाँसे दाइको रिस गज्जपको छ। माया गरेको वेला ज्यान छोडेर माया गर्छन् ,रिसाएको वेला हात छोडेर रिसाइदिन्छन् । झापड खाइएला भन्ने डर थियो भेट हुँदा झन्न फोनवाटै आवाज आएकोले झापड नै चाहिँ खाइएन।
"हैन के दाइ , नम्वर चेन्ज गरिराख्नु हुन्छ ,कुन नम्वर तँपाइको म कसरी पत्ता लाउनु भन्नु त ?" मैले मेरो स्पष्टिकरण दिएँ।
"मुला खुरुक्क न वेलुका भेट , त्यहाँ पाटनमा ! सँधैको ठाउँमा !"
"भरे त अलिकति काम छ दाइ !" मैले सुस्तरी जवाफ दिएँ। मलाई थाहा छ ध्वाँसे दाइ लाई नाइ मन पर्दैन । तर भरे त सरितासँग भेट्ने कुरा भएको छ।सरिता पनि त रिसाउन सक्छे।
"तँ त्यहिँ शंखमुलमा वस्ने हैन, काटेर पुलमुनी फाल्दिन्छु तँलाई आइनस् भने !" ध्वाँसे दाइले मैले केहि वोल्न नपाइ फोन राखे। कस्तो खरो रिस, कस्तो रुखो वोली,म अलमल्लमा परेँ। ध्वाँसे दाइ त ओखर हो, साह्रो ,फोर्नलाई गाह्रो तर नजिकिए पछि भने असाध्यै मिठो।ध्वाँसे दाइ भन्दा बरु सरितालाई नै फकाउन सजिलो होला जस्तो लाग्यो। मोबायलवाट एसएमएस पठाएँ
"आज आउन भ्याइन, काम पर्यो !"
उताबाट रिप्लाइ आयो "जे सुकै गर, पैसा जोडेर लिन्छु महिनाको लास्टमा !"
************** ************** ***************** *************** *********** *****
पाटनका गल्लीहरुसँग हाम्रो अनौठो सम्वन्ध छ। त्यहाँको त्यो देवीको मन्दिर म कहिल्यै देव्रे कट्दिन। एकदिन झुक्किएर देव्रे कटेको त्यहि दिन पुलिसले लखेट्यो। हामी पर्चा सर्चा सवै छोडेर भाग्यौँ। पाटन क्याम्पसको वाल नाघेर भागेपछि मात्र वल्ल अलि सास आयो। ध्वाँसे दाइलाई त्यति खेर मैले भनेको थिएँ
"दाइ आज त्यो देवीको मन्दिर देव्रे कटिएछ , त्यहि भएर अनिष्ट आको !"
ध्वाँसे दाइले आफ्नै भाषामा जवाफ फर्काए
"नापो तेरो देवीको मन्दिरले, भोली फनफनी तिन फन्को उल्टो घुम्दिन्छु के हुन्छ हेरौँला।"
म फेरि वोल्नु भन्दा चुप नै वसेँ।
***************** ****************** ********************* **********************
"के हो खुब बिजी छस् त आजकल !" ध्वाँसे दाइको रिस मरेको थिएन भेट्दा !
"त्यस्तो हैन दाइ !"
"के हो त ? मुला कि केटीको चक्करमा परिस् ?"
म केहि बोलिन। यो चक्कर त हैन पक्कै । यो त व्यापार हो।
"गाह्रो हुन्छ है परेपछि छुटाउन केटा ,होश गर , लडेकै मान्छेले वोलेको हो !" मलाई थाहा छ ध्वाँसे दाइ मायामा लडेका मान्छे हुन्।
"साँची अहिले याद आउँछ कि आउँदैन दाइ ?"
"कस्को ? शान्तीको ! भेट भको थियो एक महिना जति अघि !"
"अनि गफ पनि भयो ?"
"अरु त के गर्न सकिन्छ र , अव दुई वर्ष पछि भेट हुँदा भान्जा भान्जीलाई आइसक्रिम खुवाउनुपर्छ !" ध्वाँसे दाइले नमिठो गरेर घुट्क्याए रक्सीको सुर्को।
"कस्तो कडा !"
उनले साहुनी तिर हेरेर भने। "आगो वल्यो भित्र "
"मुटु जलेको होला भाइ, रक्सीले हैन होला !" साहुनि दिदी खितित्त हाँसिन्।दाइले जवाफ फर्काएनन्।
*************** ****************** ******************* ************** ***********
"अनि को हो त केटी ?"
"छे दाइ सरिता भन्ने !"
"काँ कि ?"
"सिन्धुपाल्चोक !"
"हैन कसरी ताकिस् हौ सिन्धुपाल्चोक की ,पुर्वको मान्छेले !" ध्वाँसे दाइ अचम्ममा परेँ।
"त्यस्तो केहि हैन दाइ !"
"कस्तो हो त?"
"पैसा तिरेर हो दाइ !" मैले सुस्तरी भनेँ।
"थुक्क मोरा, के के न होला भनेको,गन्हाउने बोको सँग केहि लाग्छ ? सारा नशा गायव ! म त अर्को पनि म जस्तै देवदास हुने भयो भनेर डर पनि लागेको थियो!" ध्वाँसे दाइले फेरि एक घुट्को लगाए
"ठिकै रैछ दिदी, मुटु नै जलेको रहेछ, यसपाली अघिको जति पोलेन !" दाइ साहुनी तिर हेरेर खिस्स हाँसे।अनि म तिर हेरेर भने
"तँलाई थाहा छ ,यी दिदीलाइ देख्ने वित्तिकै मलाई कसैको सम्झना आउँछ!"
"मलाई थाहा छ दाइ !" मैले त्यो कथा फेरि सुन्न चाहिन। कति सुन्नु एउटै कथा ,भट्टिमा आएपिछे।
"त्यसो भए त ठिकै छ ! तर कान्छा आखिर उसलाई पनि रमाइलो तँलाई पनि रमाइलो ! के खान पैसा तिर्छस् त ?"
"हेर्दा नै तिरुम् तिरुम् लाग्छ दाइ !"
"वाहिरको प्याकिंग न हो भाइ फरक , सामान त उहि खासाको ! जतन गरे चल्ने ,नभए विग्रीजाने !" यसपाली ध्वाँसेदाइ जोडले हाँसे। मानौ आइमाइहरुलाई होच्याएर उनी मज्जा लिइराखेका छन्।
"हैन दाइ ,सरिता अरु भन्दा फरक छे !" मैले सुस्तरी जवाफ फर्काएँ।
"के मानेमा ?"
"खै एक दम गम्भिर लाग्छे मलाई !"
"दिदी एउटा चुरोट दिनु त !" "नचाहिने के को गम्भिर हो यो फेरि ? "
"खोइ त्यो चाहिँ थाहा छैन दाइ !"
"एउटा कुरा सोधौँ ?" ध्वाँसे दाइ मेरो नजिकै आए।
"सोध्नु न !"
"तैँले साह्रै गफ लगाइस् , म पनि हेर्नु पर्यो कस्ती रैछे सरिता , म गएँ भने तँ रिसाउन त रिसाउँदिनस् नी !"
यसपाली भने मलाई थोरै विझ्यो। मलाई थाहा छ ,यो माया हैन, तै पनि पिडा दियो यसले।झलक्क सरितालाई सम्झेँ । हुन त म नगएको दिन पनि उ एक्लै त वस्दिन।ध्वाँसे दाइ जाँदा के नै फरक पर्छ र ?
"भो त रिसाइस् जस्तो छ ! तेरो गुडिया सँगै तैँ खेल, मलाइ चाहीँदैन पैसा पर्ने खेलौना !"
"हैन दाइ नम्वर खोज्दैछु!" मैले उसको नम्वर हेर्दै दाइलाई जवाफ फर्काएँ।