हराएको माया भेटिएको विछोड- शान्ती
काठमाण्डौमा पानी सिमसिम पर्दै थियो। पानी परेपछि धेरै नै हिलो हुन्छ काठमाण्डौ। त्यसमाथी माइक्रो, ट्याम्पो, ट्याक्सी ,वाइक........ म पैदल हिँड्नेलाई कतिखेर कसले पानी छेपिदेला भन्ने पिर। अफिसको ड्रेस धुन पानी नभएर अफ्ठ्यारो छ कोठामा। फेरि लगाएको यो ड्रेस पनि विग्रियो भने त गाह्रो नै हुन्छ। मेरो छाता पनि हिजो वानेश्वरको छाता वनाउने ठाउँमा वनाउँछु भन्ने सोचेकी थिएँ। मोराहरु पानी परेकाले वसेनछन्। कस्तो अचम्म छाता वनाउनेहरु पानी पर्दा ओत लाग्ने ठाउँ पाउन्नन् , मैले मनमनै यहि सोचेकी थिए। मेरो चप्पल पनि हिलो उछिट्याउँछ छिटो छिटो हिँड्दा त्यसैले म विस्तारै विस्तारै नै हिँड्दैथिएँ। कसैले मलाई पछाडीवाट कोट्याए जस्तो लाग्यो। फर्केर हेर्दा पछाडी ध्वाँसे उभिएको थियो।
"चिनीनस् कि के हो ?"
"चिनेँ !" मैले सुस्तरी उत्तर फर्काएँ। उसको त स्पर्श स्पर्श चिन्छु म। त्यहि छाति मा अडेस लागेर कति घण्टा काटेकी छु मैले ।
"कता हो तेरो वसाई !"
"अलि पर हो, थापागाउँ तिर !" म उसलाई किन मेरो वसाइ देखाउँ । म परिवार भएकी मान्छे, उ ठेगान नभएको मान्छे । मेरै घरमा आयो भने के भनेर चिनाउँ उसलाई । उसलाई देख्ने वित्तिकै मन चंगा भएर अतितको आकाशमा उड्दै छ आज। म तलवाट फर्काउन खोज्दैछु मनलाई आजको समयमा, यथार्थको धरातलमा।
"विजी छेस् ?"
के उत्तर दिउँ उसलाई म ?
"अलि अलि !" मैले संक्षेपमैँ उत्तर फर्काएँ।
"त सँग कुरा गर्न मन थियो, गाउँमा पनि भेट भएन !"
मेरो विहाको दिन उसले रक्सी खाएर धेरै हल्ला गरेको थियो भन्ने मैले सुनेकी थीएँ।तर सवैको आफ्नै आफ्नै भविष्य हुन्छन्। मान्छेले पतिमा कहिल्यै हत्यारा खोज्दैन। राम सरलाई उसले घाँटी रेटी रेटी मारेको सुन्दै मेरो आंग सरंग भएको थियो। लाश हेर्न जान आमा वुवाले दिनुभएन। वुवाले फर्किएर भन्नुभयो। चौतारीमा वसेर तिन जना राम सरकोमा जाने योजना वनाउँदै थिए अरे!तिनको टोलि नेता ध्वाँसे नै थियो अरे! म ध्वाँसेको रुन्चे अनुहार सम्झेर रात भरी निदाउन सकिन। दुई महिना अगाडी मात्र मलाई युद्दमा लाने भए भनेर ध्वाँसे अनुहार रुन्चे वनाउँदै थियो। दुई महिनामा नै उ रगत चाखेको वाघ जस्तो भयो।सपनामा मैले ध्वाँसेको अनुहारमा विस्तारै विस्तारै रगत पोखिएर रातो भएको देखेँ। मलाई अझै याद छ , म त्यो रात काल्लिएर उठेकी थिएँ।
त्यसको करिव एक महिना पछि बाले कतावाट ध्वाँसेको र मेरो सम्वन्धको सुइँको पाउनु भएछ। मेरै साथीहरुमध्ये कसैले नै हल्ला गरिदिए होलान्। मलाई कोठा थुनेर दुइ झापड लाउनु भयो। त्यसपछि मेरो पढाइ र मेरो भविष्यको वारेमा सम्झाउनु भयो । अनि मलाई एस एल सी सिद्दिने वित्तिकै काठमाण्डौ पठाउने कुरा भयो।ध्वाँसे विस्तारै मेरो अतित वन्यो।कतै कुनै कुनामा गुम्सियो। तर मलाई जति नै माया गरे पनि उ हत्यारा हो त्यो पनि त सत्य हो। म हत्याराकी पत्नी र मेरा छोरा छोरी हत्याराका छोराछोरी पक्कै पनि हुन सक्दैनन्।
ध्वाँसे सँगको सम्वन्धको वारेमा मैले वताउन खोज्दा अजयले भनेको थियो
"तिम्रो अतित सँग मलाई मतलव छैन, तिम्रो वर्तमान मा कोहि छ भने भन म बिहा अझै रोक्न सक्छु"
अजय सँग विहा हुने समयमा ध्वाँसे गाउँ आएको छ भन्ने मैले सुइँको पाएको थिएँ । मेरो मन जोडले धड्किएको थियो।एउटा अनौठो डर लागेको थियो, मेरो विहा आएर विथोलिदियो भने।मैले अजय सँग मोवायलमा कल गरेरै त्यो कुरा भनेकी थिएँ। उसले सवै कुरा सुनेर मलाई सुस्तरी भन्यो।
"टेन्सन नलेउ, केटा मान्छे त्यस्तै हुन् !"
तर उ आएन, मेरो वोझ हट्यो। आज वानेश्वरको यो मोडमा उ भेट्टिएको छ। न उसलाई म नदेखे जस्तै गरेर हिँड्न सके, न उसका उत्तरहरु नै दिन सक्दैछु। म त जड भएकी छु अहिले।
"चिया खान भ्याउँछेस् ?"
उसको प्रश्न मैले नकार्न सकिन। प्रश्नहरु सहि गलत हुन सक्छन्, उत्तरहरु सहि गलत हुन सक्छन्, तर समय सहि गलत हुँदैन,क्षणहरु सहि गलत हुँदैनन् । म पनि समयसँगै वगिदिएँ।
*************** ************** *************** ****************** ***************
"कस्तो छ त तेरो नयाँ परिवार ?"
लामो समयको मौनता पछि उसले प्रश्न राख्यो।
"राम्रो छ !" मैले संक्षिप्त उत्तर फर्काएँ।
"छोराछोरी भए ?"
मैले छैन भन्ने जनाउन टाउको हल्लाएँ। उ आफ्नो चियामा लागेको तर हेरीरहेको थियो। कपको डण्डीमा आएर एउटा झिंगा वस्यो। उसले हातले झिंगा धपायो।झिँगा उडेर छेवैको मंगलवजारको कृष्णमन्दिर भएको फोटोमा वस्यो।
"म पनि कस्तो हुस्सु, विहे भएकै त छ महिना त हुँदैछ। कसरी होस् छोरा छोरी ?"
म चुपनै लागि राखेँ।
"मैले चुरोट खान मिल्छ यहाँ तेरो अगाडी ?"
मैले उसलाई एक चोटी चुरोट नखा भनेर गाली गरेकी थिएँ । उसले छोड्दिन्छु पनि भनेको थियो। छोडेको रहेनछ।मैले हुन्छ भन्ने आशयमा टाउको हल्लाएँ।
"आज नखा भन्दिनस् ?"
उसले मेरो आँखा मा पुलुक्क हेर्दै प्रश्न राख्यो। ध्वाँसेलाई वोल्न आउँदैन जस्तो लाग्थ्यो मलाई। तर नेता भएर वोल्न पनि सिकेछ।
"तँ मान्छस् त अझै मैले भनेको ?"
म खिस्स हाँसिदिएँ।
"भन्दै भनिनस् अव मान्ने नमान्ने त दोश्रो कुरा !" उसले सल्काउँदै जवाफ दियो। झ्याल तिर फर्केर धुवाँ उडायो। उसलाई थाहा छ मलाई चुरोटको धुवाँ मन पर्दैन भनेर !
"अनि के गर्छन् त तेरा वुढा ?"
"इन्जिनियर हो !" मैले सुस्तरी जवाफ फर्काएँ।
"पढेलेखेको मान्छे , हामी जस्तो नौ फेल हो र !" उसले चुरोट एशट्रे मा झोस्यो। कुनै पिडाले मन निभे जस्तै चुरोट पनि निभ्यो।
"तँ पनि काम गर्न थालिस कि के हो ?"
"प्राइभेट वेंकमा !"
"बाबा, अव कसले सक्ने , पैसा कहाँ राख्छौ अव ?हाम्रो पार्टीलाई चन्दा देओ थोरै !"
मन झसंग भयो। जिस्किँदैछ कि साँचै भन्दैछ ,छुट्याउन सकिन।
"नडरा नडरा जिस्केको मात्रै !"
"के थाहा तँ त जिस्की जिस्की घाँटी रेटिदिने मान्छे!!!" यसपालि मैले हिम्मत गरेरै वोलेँ । मलाई त्यो रातको सत्य जान्न मन छ।
उ चुप भयो। उसले मौन स्विकृती दिए जस्तै। आत्म समर्पण गरे जस्तै।
"त्यसपछि मैले तँलाई माया गर्न सकिन ध्वाँसे !" मैले भारी स्वरमा भनेँ।
"मेरो माया त कसले नै पो देख्छ र ! तँ पनि अरु जस्तै मेरो गल्ति नै खोजेर हिँड्ने नै त परिस् !"
"कति जनाको जिवन वर्वाद गरिस् थाहा छ तँलाई ! त्यो सरकी वुढीको पेटमा वच्चा थियो त्यतिखेर !"
"थाहा पाउँदा ढिलो भैसकेको थियो!"
ध्वाँसेले वाहिर टेम्पु गुडेको हेरिरह्यो। वाहिरको टेम्पुले ध्वाँसेको चुरोटवाट निस्केको भन्दा पनि कालो मुस्लो फ्याँक्यो।
"कहाँ छे त मास्टरकी वुढी अहिले ?" उसले आँट गरेरै प्रश्न सोध्यो।
"त्यो त मलाई पनि थाहा छैन।"
"मलाई त सँग भेट्न आउन मन थियो, तर विहामा भाँड भैलो होला भनेर गइन। तैँले जे गरिस् ठीकै गरिस् । म तेरो लायक थिइन!!" उसले अर्को चुरोट सल्कायो। उसको चुरोट को लत वढेछ। यति चाँडै अर्को चुरोट नथप्नु पर्ने हो।
"मैले भनेको मान्छस् दुइटा कुरा ?" मैले उसलाई हेर्दै भनेँ।
"भन न !"
"पहिलो एउटा राम्री केटी खोजेर विहे गर, अनि दोश्रो चुरोट छोडिदे !"
उ हाँस्यो, कुनै पिडा लुकाएर हाँसे जस्तो ।
"उठ ढिलो भए जस्तो छ, साँझ पर्न लाग्यो! "
उ जुरुक्क उठ्यो। वाहिर आकाश फेरि कालो भएछ। आज फेरि राती पानी पर्छ जस्तो छ। भोली फेरि विहान वाटो हिलो हुन्छ जस्तो छ।