Posted by: _____ May 19, 2014
मूल भट्टको मासिक तलबभत्ता २ लाख २५ हजार
Login in to Rate this Post:     0       ?        
पुजारीले १७ प्रतिशत कमिसन पाउने

कान्तिपुर संवाददाता


काठमाडौ, जेष्ठ ४ - विशेष पूजा गरेबापत मूल भट्ट र अन्य तीन भट्टलाई १७ प्रतिशत कमिसन उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोष तयार भएको छ । कोषका पदाधिकारी र पुजारीबीच बिहीबार भएको छलफलमा कोषले यसमा सहमति जनाएको हो ।

पुजारीहरूले २५ प्रतिशत कमिसन माग्दै ३७ दिनदेखि विशेष पूजा ठप्प पारेका छन् । 'समस्या समाधानका लागि भए पनि कमिसन दिनुपर्ने भयो । त्यसैअनुसार हामीले छलफल गर्‍यौं । पुजारीहरू पनि सहमत भए,' बैठकका एक सहभागीले भने, 'प्रत्येक दिन दर्शनार्थी खिन्न भएर जाने अवस्था आएको छ । जसरी पनि समाधान निकाल्न कमिसन दिन तयार भएका हौं । अब अनुमोदनका लागि पर्यटन तथा संस्कृति मन्त्रालयमा पठाउँछौं ।'

पूजा गरेबापत कमिसन दाबी गर्दै मूलबाहेकका अन्य तीन भट्टले बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई गुहारेका थिए । कोषका सदस्य सचिव गोविन्द टन्डनले भट्टसँग संवाद जारी रहेको बताए । 'बैठकमा छलफल भयो । पुजारी सकारात्मक छन् । चाँडै विशेष पूजा सुचारु हुन्छ,' उनले भने ।

२५ प्रतिशत कमिसन लिइछाड्ने अडानमा रहेका तीनजना भट्ट पनि केही लचिलो भएका छन् । 'उहाँहरू सबै सकारात्मक छन् । पूरा गर्न सक्ने माग हामी पूरा गर्छाैं,' उनले भने ।

विशेष पूजा ठप्प हुँदा वैशाख महिनामा मात्र १ करोड १५ लाख रुपैयाँभन्दा बढी कोषलाई घाटा भएको छ । प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष

पूजा हुने गर्छन् । यसबापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चनेसमेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ ।

पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकन्छन् । कोषका कर्मचारी र सदस्य भट्टलाई कमिसन दिने पक्षमा छैनन् ।

प्रकाशित मिति: २०७१ जेष्ठ ४ ०९:२१

- See more at: http://www.ekantipur.com/np/2071/2/4/full-story/389362.html#sthash.9EEGm4Vx.dpuf
Read Full Discussion Thread for this article