Posted by: Rahuldai May 13, 2014
बुद्धम शरणं गच्छामी _"तथागत बुद्ध घर फर्किंदा"
Login in to Rate this Post:     9       ?         Liked by

बुद्धम शरणं गच्छामी..................

"तथागत बुद्ध घर फर्किंदा ..........."

(कसैको धार्मिक भावनालाई ठेस पुर्र्याउने उद्देश्य यो कथा हैन | म स्वयम् बौद्धमार्गी हुँ | सानै उमेर देखि हरेक साल बुद्ध जयन्तीको उपलक्षमा आफ्नै चोकमा धर्म देशना ( कथा –प्रवचन ) सुन्दै आएको छु र प्रस्तुतिन लागेको कथा मैले श्रद्धय श्रामणेरहरुबाट सुन्ने मौका पाएको छैन| सधैं शिद्धार्थ  गौतम  माया देबी आफ्नो माइत देब दह जाँदा जाँदै बीच बाटोमा लुम्बिनी वनमा माया देबीको काखीबाट जन्मेको कथा  सुन्ने सुनाउने गरिन्छ| २१औ शताब्दिमा आएर मानव काखीबाट जन्मिदैन भन्ने हेक्का बौद्ध गुरुहरुलाई कहिलेइ आएन |

बुद्ध घर फर्किंदाको यो कथा धेरैले नसुनेको नपढेको हुन सक्छ, किन कि धेरै बौद्ध भिक्षु र विद्वानहरुले  यो कथा थाह भएर पनि महत्व न दिएको पाएँ | त्यसैले आज बुद्ध जयन्तीको पूर्ब बिहानी - संध्यामा यो कथा राख्न गैराखेको छु | )

 

अनेक कष्टकारी तपस्या र ध्यान पछी दिब्य ज्ञान शिद्धार्थ  गौतमले बोधी गयाको बिशाल वृक्ष मुनि प्राप्त गरे र बुद्ध भए | संसारिक दुख पीडा र जन्जालको कारक र तिनबाट मुक्तिको दिब्य ज्ञान सबैमा बाड्न सकियो भने यो दुखिलो संसार उजिलिन्छ भनेर पहिलो पल्ट काशी छेउको शारनाथमा भिक्षु आनन्द लगायत पांच भिक्षुहरुलाई धर्म देशना गर्नु भयो | तथागत बुद्धको ज्ञान संदेश भारत बर्ष भरि नै फैलिदै थियो | पांच बाट पचास हुँदै हजारौं अनुयायीहरु चिवर (पहेलो वस्त्र)मा कालो गुलपा ( भिक्षुहरुले बोक्ने दान पात्र ) लिएर गाउँ शहर वस्तीहरुमा जीवन जगतको कथा सुनाउदै हिडे, मुक्ति मार्गमा मानवजातिलाई डोर्याउदै हिडे |

राजकुमार शिद्धार्थ बाट बुद्ध भैसकेको र देश देसाबरमा मुक्तिको ज्ञान फैलाउदै गरेको समाचार कपिलवस्तु दरबार र घरघरमा आगो सरि फैलिसकेको थियो | राजा सुद्धोधनले पटक पटक छोरालाई घर फर्किन आग्रह गर्न दूत पठाए | नवौं पल्ट सम्म जति दूत बनेर गए , तथागत भगवानको धर्म देशना सुनेर उतै भिक्षु भए र कपिलवस्तु फर्केनन् | अन्तमा आफ्नै मन्त्रीको छोरा कलोद्यन संदेश बोकेर बुद्धकोमा गए, धर्म देशना सुने , भिक्षु भए तर राजा सुद्धोधनको संदेश पनि सुनाए|

घर फर्किन आग्रह गरेको संदेश | फिरन्ते भिक्षुहरुको नेतृत्व गर्दै दर्शनको कुरा बाड्दै हिडेका बुद्धले घर न सम्झेको पक्कै हैन| भर्खर जन्मेको छोरो राहुल, रानी यशोधरालाई बिर्सेको पक्कै हैन होला | तर भौतिक दूरी र प्राथमिकतामा कपिलवस्तु टाढीन गएको हुन सक्छ | संयोगले त्यतिबेला बुद्धको क्याम्प कपिलवस्तु नजिक भएकोले घर फर्किने मन बनाए |

 

बुद्धत्व प्राप्त गरेको पहिलो हिउँदमा बुद्ध, भिक्षु आनन्द लगायत सयौं भिक्षु गणहरु बुद्धम शरणम गच्छामीको देब वाणी गुन्जायमान गर्दै कपिलवस्तुको फाँटमा एउटा अलौकिक दृश्य देखा पर्र्यो | बुद्ध आफ्नो गृह नगरीमा प्रवेश गर्दै थियो | सारा शहर स्वागतमा पुल्लकिट थिए | घर घरबाट पुष्प वृष्टि गर्दै थिए, हुलका हुल मान्छेहरु स्वत स्फुर्तरुपमा त्यो भिक्षुहरुको लाइन समर्पनको रेखा कोर्दै थिए |

शहरको मुख्य प्रवेश द्वारमा  पुग्यो लावा लस्कर | सबै भन्दा अगाडी पहेलो वस्त्रमा गुलपा बोकेर तथागत बुद्ध नै थिए |  द्वारमा स्वागतार्थ स्वयम् यशोधरा र छोरा राहुल उपस्थित थिए |

द्वारमा हात फैलाएर बाटो छेकिन् रानी यशोधराले |  “मेरा केही प्रश्नहरु छन् , तिनका जवाफ नदिकन प्रबेश गर्न मिल्दैन|” रानी यशोधराको अप्रत्याशित र अकल्पनीय ब्यबहारबाट तथागत बिचलित हुनु भएन |

“वत्स, म सर्बज्ञ हैन , सके सम्म जाने सम्म , इमान्दारपूर्बक तिम्रो जिज्ञासा मेट्ने प्रयास गर्ने छु | भन तिम्रो जिज्ञासा के हो ? “

यशोधरा  – तपाईंले दुइ दिने बालक राहुल र सुत्केरी  पत्नीलाई छोडेर जानु के जायज थियो ? बाबु र पति हुनुको धर्म निर्बाह गर्नु पर्दैन ?

तथागत – ठिक थियो वा थिएन त्यसको जवाफ म संग छैन , मेरो गल्ती पनि हुन सक्छ, तिमी भन्छौ भने त्यो स्वीकार्छु  | तर म यो संसारका मानवजातीको दुख:को रहस्य खोज्दै हिडेको मान्छे, गल्ती गरेको छु भने माफ गर्नु |

यशोधरा – तपाईं मानवजातीको कल्याण र मुक्ति मार्गको खोजीको महान यात्रामा निस्केको मान्छे के मलाई एक शब्द सोधेको भए नाइँ भन्थे होला ?? म त एक बीर योग्दाकी छोरी, लडाईमा जाँदा पनि हामी आफ्ना खसम र परिवारलाई शगुन दिई फूलमाला पहिर्याई हांसी हांसी बिदा गर्ने संस्कारमा हुर्केकी | म महान उद्देश्यको सफलताको कामना गर्दै शगुन नदिईकन पठाउँथिएँ होला ??

यो प्रश्नको उत्तर बुद्धसंग थिएन | अवाक रहे बुद्ध | यशोधरा भित्र शायद बर्षौं देखि यस्ता म्लेक्ष प्रश्नहरु गुम्सिराखेको थियो | अलिकति हर्ष मिश्रित असन्तुष्टि थियो | यसोधराले  प्रश्न माथी प्रश्न राख्दै गइन् |

“ अनकन्टार डरलाग्दो जंगलमा प्राप्त हुने कस्तो ज्ञान हो त्यो, दरबार भित्र नै त्यस्तै वातावरण किन हुन सक्दैनथ्यो | चाहेको भए भने जस्तो एकान्त र साधना योग्य स्थान यतै कयौं छन् |”

“ छोरा राहुल, यिनै हुन् तिम्रा बाबा, जन्मेको दुइ दिनमा छोडेर जानु भएको, अब आफ्नो हक माग बाबा संग “

एउटा अप्ठेरो वातावरण सिर्जित  भयो | यात्रा रोकिएको थियो | बुद्धम शरणं गच्छामी मधुर हुँदै गैरहेको थियो | गम्भीर थियो त्यो क्षण |

“ सुन यशोधरा ! मैले मानिसहरु दुख हेर्न सकिन, रोगी, बृद्ध असक्तहरुको घाउ बुझ्न सकिन | यो दुखै दुखको रहस्य के हो मलाई जान्न मन लाग्यो | कसैलाई थाहा थिएन , कहाँ पाइन्छ , के मा पाइन्छ यो दुखबाट मुक्ती हुने मार्ग |

सकल मानव जातीको दुख हरण कसरी हुन सक्छ, कहाँ बाट हुन सक्छ भन्ने खोज सजिलो हुन सक्दैन , मलाइ लाग्यो | दरबारको चार दिवारी भित्रको सुखसयल र पारिवारिक बन्धनमा बाँधीए भने यो खोज हुन सक्दैनथ्यो  वा ढिलो हुन सक्थ्यो | मेरो अठोट बिमुख हुन सक्ने यावत कराँहरु थिए र म सुटुक्क छन्दक ( शिद्धार्थ गौतममा सहयोगी )संग तिमीहरु आमा छोरालाई छोडेर हिडेको हुँ| म कर्ताब्यबिमुख भएर भागेको हैन | एउटा महा खोजमा निस्केको | दरबार तिमीहरुको हेरचाह गर्न सक्षम छ भन्ने थाहा थियो | हो मैले एउटा पति र पिता हुनुको कर्तब्य निर्बाह जति गर्नु पर्ने हो त्यति सकिन | तिमीहरुलाई दुख भयो होला | तर दरबार बाहिर निस्केर हेर .. चारै तिर दुख: नै दुख छ | पीडा नै पीडा छ | तिनीहरुको अँध्यारो अनुहार अलिकति मात्र पनि उज्यालो गर्न सके  हाम्रो दुख केही हैन , तिम्रो पीडा केही हैन | यही हो मेरो प्राप्ती, दुख:लाई कसरी कम गर्ने, पीडा मुक्त मुस्कान फैलाउने |

आज म यही संदेश  ज्ञान बाड्दै हिडेको छु | बाड्दा बाड्दै यहाँ सम्म आइपुगेको छु | हजारौं अनागरिक अनागरिकाहरु म संगै मुक्ति संदेश बोकेर हिडेका छन् | म संग भएको सम्पती भनेको नै यही चिवर ( पहेंलो वस्त्र ) र यो गुलपा हो | तर जुन ज्ञान र संदेश मैले बोकेको छु त्यसको कुनै मूल्य छैन |

आउ तिमीहरु पनि यो ज्ञान ज्योती फैलाउन म संग हिड, मानव कल्याणमा लागौं र यो संसारबाट सदाको लागि दुख: पिडालाई बिदा गरौँ “|

भगवान बुद्धको यो सारगर्भित उत्तरको कुनै प्रति प्रश्न रहेन यशोधरा संग | द्रविभूत भइन् र छोरा संगै यशोधरा पनि तिनै भिक्षु भिक्षुणीहरुको समूहमा समाहित भइन् |”

 

बौद्ध ग्रन्थ र कथाहरुमा यशोधरा र राहुलको प्रसङ्ग त्यस पछी भेटिदैन | बौद्ध गण राज्यमा परिवारबाद थिएन भन्ने प्रमाण हो यो | बुद्धको स्वास्नी र छोरा पनि तिनै हजारौं भक्तहरुको भिडमा गुमनाम भएर गए | बुद्ध पछी भिक्षु आनन्द थिए | क्षमता र योग्यता नै नेतृत्वको आधार थियो |

बुद्ध जयन्तीको उपलक्षमा यो कथा पस्किन पाएकोमा मैले भाग्यमानी सम्झेको छु |

 

बुद्धम शरणं गच्छामी ....................................

 

Last edited: 13-May-14 08:15 AM
Last edited: 13-May-14 08:16 AM
Read Full Discussion Thread for this article