Posted by: fucheketo May 10, 2014
ध्वाँसे
Login in to Rate this Post:     3       ?         Liked by

thaney and serial thanks for the comment , अन्य पढिदिनुहुने लाईक गरिदिनुहुनेहरुलाई धन्यवाद...

दोश्रो अध्याय

ध्वाँसे दाई योद्दा नै हुन् , नेता होइनन् – कान्छो

साँझ परिसकेको थियो तर शहर चकमन्न भने भएको थिएन।हुन त पाटनका गल्लीहरुमा अँध्यारो अलि चाँडै छिर्छ अनि उज्यालो अलि चाँडै अस्ताउँछ। परेवाको सुली इँटाको त्यो वाटोमा छरिएको हुन्थ्यो।तर अँध्यारोको सुन्दरता हेर , सवैलाई निल्छ ,फोहोर पनि देखिन्न अनि सुन्दरता पनि। धेरै पछि ध्वाँसे दाइले मलाई वोलाएपछि म हतारिँदै त्यो गल्ली छिरेको थिएँ।हामी सामान्यतय संकटकालमा कहिलेकाहिँ त्यो पसलमा भेट्थ्यौँ। जव शहरलाई कर्फ्युले निल्ने गर्थ्यो, त्यो भट्टीकि साहुनी पछिल्तिरको ढोका खोल्दिन्थीन अनि हामी लुसुक लुसक आफ्ना पर्चा छर्ने गर्थ्यौँ शहरभरी।भट्टीकी साहुनीको छोरो पनि जनयुद्दमा शहादत पाएपछि छोराको आत्माको शान्तीको लागि क्रान्तिमा होमीएकी थीईन्।शान्तीको लागि युद्द !! कस्तो अनौठो सत्य...... तर आज संसार फरक भएको थियो। शान्ती प्रकृयामा लागेको पनि धेरै महिना वितिसक्यो। चुनाव नजिकिँदै छ। अचानक ध्वाँसे दाइले मलाई फोन गरे। मेरो नम्वर पत्ता लाउन हम्मे हम्मे परेको गुनासो पनि गर्दै थिए। तर समयले मेटाउदै लगेको सम्वन्ध मोबायलको एक रिंगले फेरि नजिक ल्यायो। हामीले साँझ सँगै विताउने निर्णय गर्यौँ।

"धेरै समय लगाइस् त !" दाइले म तिर हेर्दै प्रश्न राखे । प्रश्न भन्दा पनि कुराको नियमित शुरुवात भनौ।अनुहारमा दाह्री टाटेपांग्रे। दाइलाई चाँडै वुढ्यौली लागे जस्तो! हुन त त्यति साह्रो वुढा होइनन् यी मान्छे ! धेरै भए भने तिस होलान्!

"वाटोमा फसियो के दाई !" मैले पनि नियमित नै उत्तर फर्काइदिएँ! आजकल उत्तर हरु पनि प्रश्न जस्तै रेडिमेड भएका छन् !

"आजकल त पुलिसको पनि डर छैन, के मा फसिस हौ?" उनले मेरो रेडिमेड उत्तर मा थोरै मसाला खोजे

"पाटनको गल्लीमा फस्नलाई पुलिसनै त के चाहिन्छ र दाई? वाटा वाटामा फस्न योग्य धेरै सम्झनाहरु छन् नि !" म खिसिक्क हाँसिदिएँ।

"तँ अनि तेरो कुरा !" पहिलेको जस्तो धेरै वोलिरहेका थिएनन् ध्वाँसे दाई। ध्वाँसे दाइका गफ हाम्रो साँझ कटाउने माध्यम वन्थे पहिला पहिला ! अचम्मको मान्छे होमिएको थियो क्रान्तिमा.।सिमा र अनुशासन भएको झुण्डमा एउटा स्वतन्त्र पंक्षी उडान भर्न जमर्को गरेजस्तो थिए ध्वाँसे दाई ! मेरो अरु सँग खासै कुरा मिल्दैनथियो। किनकी उनीहरुलाई मर्ने र मार्ने वाहेक आउँदैन थियो।तर ध्वाँसे दाई भने खुट्टा धुँदै गरेका छापामार वहिनीका पिँडुला हेर्दै मलाई आँखा झिम्क्याउँथे।

"वहिनीहरु हुन के दाई !" म कारवाहीको डरले हच्किँदै भन्थे..

"तेरै वहिनी होली!" उनी ति कुरालाई पनि हावामै उडाइदिन्थे।

*************** ************** **************** *************** *****************

"अनि दाई के खाम् त?"

"यहाँको त छ्यांग नै त होला नी ? क्रान्तिकारी छ्यांग हैन दिदी?" दाईले साहुनीलाई जिस्क्याए

"भाइहरु धेरै पछि देखियौ नी शहरमा!" साहुनीले आत्मियता पोखिन्।

"आजकल क्रान्ति शहर पसेको छ नि त दिदी" मैले कटाक्ष गरेँ।

"वफ चिल्ली दुई प्लेट!" ध्वाँसे दाइले अर्डर गरे।उपत्यका वफले नै त चलेको छ आखिर!

"पाक्न टाइम लाग्छ है !"

"आजकल मान्छे छैनन् त खासै , व्यापार किन मन्द हो दिदी ?"

"तिमी आयौ नि धेरै पछि, अव व्यापार पनि वढ्ला विस्तारै विस्तारै !" उनी खिसिक्क हाँसिन्। सँधै फोस्रो मुस्कान पोत्छिन्। छोरोको मृत्युले हुनुपर्छ, उनको अनुहारवाट भाव हराएको,अझै फर्केको छैन। हामीले यस्ता घाउ धेरै देखिसक्यौँ विगतका वर्षमा । कहिलेकाहिँ लाग्छ यो युद्द केका लागि थियो।तर फेरि सोच्छु , मान्छेमा चेतना त आएको छ  युद्दले।पाउने र दिनेमा युद्द महँगो भयो वा सस्तो यसैमा घोत्लीरहन्छु धेरैवेरसम्म।

"तँलाई थाहा छ, म त्यतिखेर यहाँ किन आउँथे ?" ध्वाँसे दाई आज सुस्त देखिन्थे।

"किन?"

"यी दिदी मलाई कसैको याद दिलाउँछिन् !"

दुई डवका छ्यांग आइसकेको थियो। अमिलो,मान्छे किन पिउँछन् यति नमिठो कुरा ।मान्छेलाई हुन त पिडा पनि त मन पर्छ।

"कस्को दाई ?" मैले थाहा पाइ पाइ सोधेँ। अघिल्लो पटक पनि हामीले यहि वात मारेका थियौँ । यसपालि पनि।लोग्नेमान्छेको जीवनमा स्त्री कति महत्वपुर्ण हुन्छे भने , उ त्यसैको  अघि पछि दौडिरहन्छ। कहिले वर्तमान लाई फन्को लाउँदै दौडिन्छ, कहिले भविष्य कोर्ने सुरमा दौडिन्छ, कहिले भुतका सपना देख्दै दौडिन्छ।

"थिइन एउटी भाउजु !!!"

"अनि दाई घर नजाने चुनाव अघि ? त्यहाँ पनि त पार्टीको झण्डा वोक्ने तँपाइजस्तै मान्छे चाहिएको होला नी !" मैले कुरा कोट्याएँ। छेवैको पर्दा पहिले जत्तिकै मैलो थियो। लोडसेडींगको विचमा पनि इन्भर्टरको सहाराले पाँच वाटको सिएफएल चम्किँदै थियो जसले छतको कुनामा लागेको माकुराको जालो स्पष्ट देखिन्थ्यो।

"जानु त पर्ने हो ! "

"शान्ती भाउजुलाई पनि त भेट्ने होला नी?"

मैले जिस्क्याएँ छुसुक्क!! केटीको कुरा गर्ने वित्तिकै ध्वाँसे दाईमा लालीमा आउँछ। दुई तिन चोटी त छापामार केटीलाई फकाएको, जिस्क्याएको र खोइ के के मा हो , कारवाहिमा परिसकेका मान्छे , तर मनमाँ वस्ने सँधै एउटै ।शान्ती, सँधै उसैको कुरा सुन्दा सुन्दा हामी दिक्क हुन्थ्यौँ । कति सम्मको माया पिरति हो आखिर ! त्यति टाढा वस्दा पनि सपनामा उसैलाई देखिरहने अरे, मलाई त दिक्क लागेर भन्थेँ। आ पार्टीमा सिफारिस गरेर फेरि पुर्व पठाइदिउँ! तर त्यतिखेर नौलो ठाउँमा नौला मान्छे पठाउने योजना अनुरुप हामीलाई पश्चिम पुर्याइएको थियो पछि पश्चिममै हुँदा युद्द विराम पनि भयो।

तर यसपाली सँधै जस्तो भएन। ध्वाँसे दाई अनायसै चुप भए! छ्यांगको एक घुट्को लगाए। मासुको एक टुक्रा मुखमा लिए नमिठो तरिकाले मानौँ उनलाई कसैले कोच्याइरहेको छ यी सवै !

"हिजो मात्र मलाई घरवाट फोन आको थियो !" ध्वाँसे दाईले कथा सुनाउन लागे!

"हाम्रो क्रान्तीले तातेको छ रे तराई अहिले , यसपाली त सवै तराई लाल झण्डाले रातो हुने वाला छ अरे, अनि यस्तै यस्तै कुरा सुनेँ वुझिस् कान्छो ?"

"त्यो त राम्रै हो नि दाई हाम्रो लागि !" मैले पनि हो मा हो थपिदिएँ!

"त्यति सम्म त राम्रै थियो मुला !" ध्वाँसे दाईको आँखा रातो थियो। भिज्दै गएको पनि देखिन्थ्यो।

"के नराम्रो भो त दाई ?"

"त्यसपछि शान्तीको विहाको निम्तो आको छ भनेर सुनाए, चार दिन पछि विहे छ अरे !" डवकाको वचेको छ्यांग त्यत्ति भनेर सिद्दियो। मैले मनमनै अड्कल काटेँ ध्वाँसे दाइको मन पनि अहिले यहि छ्यांग जस्तै अमिलो भएको छ।

"वुझिस् कान्छा कहिले काहिँ मलाई त्यो खुइलेको घाँटी रेटेकोमा साह्रै नमज्जा लाग्छ, आखिर त्यहि मोरीको लागि त थियो। अव त्यो नै आफ्नी भइन , कहिले काहिँ म त्यसकी वुढी सम्झिन्छु मोरी.... भुँडी वोकेकी थिई .पापै गरेँ मैले!!" ध्वाँसे दाई वोलीरहे , म सुनिरहेँ। तिनको मनमा छलकपट छैन। साँचो लाई साँचो भन्छन् अनि झुटोलाई झुटो।कहिलेकाहिँ ध्वाँसे दाई जोश्शिएको वेला भन्ने गर्थे

 " वुझिस् अव द्वन्द, युद्द सिद्दिदैछन्, हामीले आफुलाई परिवर्तन गर्नुपर्छ , सँधै योद्दा मात्र हुनुहुन्न, अव योजना वनाउनुपर्छ नेतृत्व गर्नुपर्छ।" तर मलाई लाग्छ ध्वाँसे दाई योद्दा नै हुन् नेता होइनन्।

"आ छोड्दिनु दाइ त्यो कुरा !" मैले यति मात्रै भन्न खोजेँ। वाटोमा वत्ति आयो, लोडशेडिंग सिद्दिए जस्तो छ आजको!

 

Read Full Discussion Thread for this article