Posted by: shahi baba May 6, 2014
अक्षयकुमारले किन गर्दैछन् नेपालको बेइज्जति
Login in to Rate this Post:     0       ?        

२१ बैशाख, काठमाडौं । भारतीय चर्चित अभिनेता अक्षयकुमार अभिनित एक चलचित्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्थाबारे भिडियो खिचेर नेपालको बेइज्यत गर्न लागेको रहस्य खुलेको छ । 

तीन दिनदेखि काठमाडौंको हायत होटलमा बसिरहेका अक्षयकुमारलाई उच्च सुरक्षा दिइएको छ । नेपालमा फिल्म शुटिङ गर्न आएको युनिटले स्वदेश फर्कने दिनमा त्रिभुवन विमानस्थलको भिडियो खिच्ने छन्, जुन दृश्य उनको चलचित्रमा ‘नेपालको विमानस्थल खत्तम छ’ भन्ने देखाउनका लागि प्रयोग गरिने छ ।

भारतीय युनिटले खिच्न लागेको विमानस्थलको दृश्य र उनको चलचित्रमा गरिने प्रस्तुतीले नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आउने भन्दै विमानस्थलका कर्मचारी र सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।akashya-kumar-1

कसले दियो अनुमति ?

नेपाली विमानस्थलको बेइजयत गर्ने उद्देश्यले शुटिङ गर्ने अनुमति अक्षयकुमारको टोलीलाई कसले दियो भन्नेबारे विमानस्थलका उच्च अधिकारीहरु नै अनविज्ञ छन् ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक ऋषिकेष शर्मा भन्छन्- ‘स्वीकृति नलिई भारतीयलाई विमानस्थलमा शुटिङ गर्न दिन मिल्दैन, पहिल्यै स्वीकृति लिएको छ भने मलाई थाहा भएन, तर आज स्वीकृति लिएको थाहा छैन ।

विमानस्थललका कर्पोरेट अफिसर केमनाथ ठाकुरले पनि विमानस्थलको बेइज्यत हुने गरी भारतीयलाई शुटिङ गर्न दिन नहुने त्यहाँका सुरक्षा अधिकारीहरुलाई बताएका छन् । तर, विमानस्थलका सुरक्षा अधिकारीहरु भने कहाँबाट भारतीयलाई यस्तो अनुमति दिइयो भन्ने अन्योलमा छन् । नेपालको बेइज्यत हुने गरी सुटिङ गर्न लागिएकोमा सुरक्षा अधिकारीले समेत चिन्ता व्यक्त गरेको छन् । विमानस्थलमा खटिएका एक प्रहरीले अनलाइनखबरसँग भने,-’यो राष्ट्रिय स्वाभिमान र प्रतिष्ठाको विषय हो, तपाई पत्रकारहरुले आवाज उठाइदिनुपर्‍यो । नेपालको इज्यत कुनै हालतमा लुट्न दिनुभएन ।’

चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैताले भारतबाट सिनेमाको छायांकन लागि आवश्यक सामानहरुको भन्सार छुटका लागि निवेदन आएको र सिनेमाको नाम बसन्ती भनी दर्ता गरिएको बताए । त्रिभुवन विमानस्थलभित्र देखिने नराम्रा दृश्यहरुलाई सिनेमामा देखाउने आफूले सुनेको बताउँदै त्यस्ता दृश्य खिच्न नदिने बताए ।

के गर्दैछन् अक्षयकुमार ?

बलिउड नायक अक्षय कुमार काठमाण्डौको हायात होटलमा बसेर चलचित्र शुटिङ गरिरहेका छन् । अक्षयकुमारको मूख्य भूमिका रहने नेपालमा छायांकन भैरहेको सिनेमाको नाम बसन्ती हो । चलचित्र विकास बोर्डमा सिनेमाको निर्माण पक्षले बसन्ती चलचित्रको शुटिङका लागि आएको भन्दै क्यामेरा लगायतका सामाग्रीको भन्सार छुट गराएका छन् ।

सिनेमाको छायांकन सोमबार ठमेल र मंगलबार भक्तपुर दरबार स्क्वायरमा गरिने बुझिएको छ । तर, यो स्थानमा अक्षय कुमारको दृश्य समावेश हुन्छ या हुँदैन खुलाइएको छैन । चलचित्रमा नेपालको त्रिभुवन विमानस्थलमा देखिएको अव्यवस्थित वातावरणलाई देखाउने तयारी रहेको बुझिएको छ ।

स्रोतका अनुसार चलचित्रको कथामा नायिका तपसी पन्नु नेपाल घुम्न आएपछि अक्षय कुमार पनि उनलाई खोज्दै नेपाल आउने छन् । उनी निक्कै फटाहा चरित्रमा सिनेमामा देखिने बताइएको छ । नेपाल आउने क्रममा विमानस्थलभित्रको अब्यबस्थालाई सिनेमामा देखाइने छ ।

ढाका टोपीको स्वागत

यतिबेला सिनेमा छायांकन हायात होटलकै परिसरमा भैरहेको छ । तर, सुरक्षा र फ्यानहरुको बाक्लिदो भिडले छायांकनमा असर पुगेको छ । अक्षय कुमारले आजसम्म नेपाली मिडियासँग भेट गरेका छैनन् । निरज पाण्डेको निर्देशनमा तयार भैरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि काम गरिरहेका छन् ।

यसैबीच नेपाल चलचित्र प्राविधिक संघलाई ‘बसन्ती’को निर्माण यूनिटले १५ हजार सहयोग गरेको छ । आइतबार चलचित्र प्राविधिक संघको टोली हायात होटलमा पुगेको थियो । अक्षय कुमारलाई नेपाली ढाकाटोपी लगाएर सम्मान गर्ने प्राविधिक संघ रहेकोे तयारी छ । यसका लागि उनका सहयोगीसँग कुरा भएको अध्यक्ष मनोज केसीले बताए ।

राजनीतिक हमला

भारतीयहरुले नेपालको विमानस्थलमा पटक-पटक धावा बोल्दै आएका छन् । विगतमा पाकिस्तानी आइएसआइले विमान अपरहण गरेको निहुँ बनाई भारतीय पक्षले त्रिभुवन विमानस्थल असुरक्षित रहेको आरोप लगाउँदै आएका छन् । यही निहुँमा भारतीय विमानमा सुरक्षाकर्मीहरु राख्ने सम्झौतामा उनीहरुले नेपाललाई दबाव दिएका छन् ।

पछिल्लो समय त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने ठेक्का भारतले लिन खोजेकोमा सर्वोच्च अदालतको आदेशले रोकिएको अवस्था छ । यसरी भारतीय राजनीतिक वृत्तबाट अनेक दाऊपेच भइरहेका बेला अक्षयकुमारको चलचित्रमार्फत् नेपालको विमानस्थलको हुर्मत लिने उद्देश्यले नेपाल आएको स्रोतले बतायो ।

- See more at: http://www.onlinekhabar.com/2014/05/195757/#sthash.Zd0MmDrk.dpuf
Read Full Discussion Thread for this article