Posted by: fucheketo April 20, 2014
ध्वाँसे
Login in to Rate this Post:     4       ?         Liked by
थाने- कथा पुरानै हो, प्रतिकृयाको लागि धन्यवाद, विस्तारै present मा ल्याउँछु है कथालाई ? ;)
juggy- for once I tried this, and I finished "उलार" just yesterday night , liked it :)
sojoketo- thanks , मलाई पनि मन परेको क्यारेक्टर "साहिँली" hahahhahaha...
अन्य पढिदिनुहुने, मन पराइदिनुहुने साथीहरुलाई धन्यवाद

ध्वाँसेले माया गर्न जान्यो तर देखाउन जानेन-शान्ती

तिन छोरा पछि म छोरी जन्मेँ। आमा वाउले छोरी खोजेका, छोरी जन्मेँ।दुवैजनालाई शान्ती भयो, अनि मेरो पनि नाम राखिदिए शान्ती। खासै ठूलो आम्दानी थिएन वाउ आमाको। खेत वारी थियो सँधैको कामले जेनेतेने खान पुग्थ्यो।खेतवारीमा गएर काम गर्न मलाई खासै राम्रो त लाग्दैन थ्यो तर पनि कहिलेकाहिँ काम गर्नु पर्थ्यो। तिनैजना दाजु मलाई माया गर्थे,त्यहि भएर धेरै जसो मेरो भागको काम पनि गरिदिन्थे। आमावुवालाई भने मेरो काम सघाएको पुल्पुल्याएको जस्तो लाग्थ्यो।दाजुहरुलाई गाली पनि गर्नु हुन्थ्यो "हैन यसलाई घर गरी खाने गरी त काम सिकाउनै पर्छ!"। म सोच्थेँ मलाई लिन त राजकुमार आउँछ घोडामा, मैले त केहि काम गर्नु पर्दैन, मेरो जीवन आलिशानको हुनेछ।निन्द्रामा पनि म फिलिमका हिरोहरु देख्थेँ ,फिलिम जस्तै नाच्थे उनीहरु मेरो सपनामा।त्यो दिन विहान उठेपछि मलाई झर्को लाग्थ्यो ,किन सपनाहरु टुट्छन्। किन विपना सपना जस्तो हुँदैन?


स्कुलका अरु केटीहरु भन्दा मेरा हात गोडा सलक्क परेका थिए। अनुहार पनि मिलेको छ भनेर डाह गर्थे साथीहरु। मलाई उनीहरुले डाह गरेको रमाइलो लाग्थ्यो।आफ्ना हात गोडा खेलाइ रहन्थे।अरु साथीहरुको खुट्टा फुटेको हुन्थ्यो। मेरो गोडामा म नरिवलको तेल लाउँथे खेत गएको दिन, त्यहि भएर मेरो खुट्टा फुट्दैन थियो। वुवाले आमालाई ल्याइदिएको नेल पोलिश म चोरी चोरी लगाउँथे।आमाले थाहा पाएपछि गाली गर्नुहुन्थ्यो" यति सानै उमेरमा कति नक्कल पारेकी, यो पक्कै पोइल जान्छे!"। मलाई रिस उठ्थ्यो तर म केहि वोल्दिनथेँ।आमा थाहा पाएपनि नेलपोलिश चोरेको वुवालाई भने सुनाउनुहुन्नथ्यो। मलाई त्यो आमाले मलाई माया गरेको हो जस्तो लाग्थ्यो।दंग पर्थेँ।


ध्वाँसे म भन्दा दुइ कक्षा माथी थियो। यसपालि नौ मा ध्वाँसे फेल भयो। म आठमा पुगेँ। आठ कक्षा नौको छेउमा थियो।उ आफ्नो क्लासमा छिर्ने वेलामा मलाई पुलुक पुलुक हेर्थ्यो।साथीहरुले जिस्क्याउँथे "तेरो फिलिमको हिरो उ त्यहि हो हेर, कपाल हेर त हिरो जस्तो छैन ?" म रिसाए जस्तो गर्थेँ, तर मनमनै रमाइलो लाग्थ्यो।
त्यो दिन ध्वाँसेले मलाई हेरेन। उसको कपाल काटिदिएको मैले देखेँ। मलाई त्यो खुइले राम सर सँग रिस उठेर आयो। त्यति राम्रो मान्छेलाई विरुप पारिदिए। मनमा लाग्यो "त्यो कपाल सवै जम्मा पारौँ ।अनि भेला पारेर जोडिदिउँ फेरि ध्वाँसेको टाउकोमा । तर वाहिर निस्किँदा हजामले सफा गरिसकेछ।त्यसपछि ध्वाँसे एक हफ्ता स्कुल आएन।

स्कुलको पछाडीपट्टि वयरको रुख थियो। मलाई वयर खुव मन पर्थ्यो।अमिलो वयर, सम्झिँदै मेरो मुख रसाउँथ्यो।म तलवाट ढुँगा हान्थेँ। धेरैजसो मेरो निशाना लाग्थ्यो। तर एउटा वयरको लागि त्यति ठूलो मेहेनत।मलाई कहिलेकाहिँ रिस उठ्थ्यो।एक दिन म त्यहाँ पुग्दा ध्वाँसे पनि त्यहि वयरको छेउमै थियो।

"वयर खान आकी ?" उसले मलाई हेर्दै सोध्यो।

"हैन सुन्तला, वयरको रुखमा फलेछकि भनेर हेर्न आको !" मैले ध्वाँसेलाई जिस्क्याएँ।म एक्लै थिएँ,स्कुल छुट्टि भई सकेको थियो।

"म त तँलाई वयर टिपिदिउँकी भनेर पर्खेको !" उसले आफ्नो कपाल कन्याउँदै भन्यो

"किन नी?"

"अव तारा झार्न सक्दिन,त्यहि वयर भए पनि टिप्नै पर्यो नि!"

मलाई हाँस उठेर आयो।मोरोलाई वोल्न पनि आउँदैन। त्यो दिन मैले थाहा पाएँ । म एक्लै थिइन ध्वाँसे तिर तानीएकी, ध्वाँसे पनि मेरो नजिक हुन चाहन्थ्यो।

"टिप्दे न त !"

उसले स्कुलको वेरावाट भाटा झिकेर लिएर आएको रहेछ।

"मार्लान तँलाई राम सरले !" मलाई डर लागेर आयो।

"त्यो खुइलेले जे विगार्नु थियो विगारी सक्यो !" ध्वाँसेको अनुहार अझ्झ कालो भयो। मलाई अचानक ध्वाँसेको माया लागेर आयो। हो उसको कपाल साँच्ची नै राम्रो थियो।

उसले भाटाले हिर्कायो। एक्कै चोटी वरर झरे वयर।टिपेर मलाई दियो। मैले फ्रकको खल्तिमा हालेँ दंग परेर।हाल्दै गर्दा उसले मेरो हात च्याप्प समात्यो।

"छोड !" मलाई अचानक डर लागेर आयो।
उसले छोड्दियो।
"कस्तो दुख्यो !" म रिसाए जस्तो गरेँ।

"तँलाई दुखाउन खोजेको हैन !"

"के गर्न खोजेको त ?"

"खै किन किन तेरो हात समातुम् समातुम् लाग्यो !"

मोरोलाई वहाना वनाउन पनि आउँदैन। आँट पनि छैन।

"अव देखि नगर है !"

उसले टाउको हल्लायो। मलाई अचम्म लागेर आयो। कस्तो जे मा टाउको हल्लाउँछ। मोरो, ध्वाँसेलाई माया गर्न आउँछ,देखाउन आउँदैन।

Read Full Discussion Thread for this article