Posted by: nakkali keti March 18, 2014
खेश्राहरु
Login in to Rate this Post:     5       ?         Liked by
पुग्नु र फर्किनुको हतारले
कल्पनाको बारी बाँझै रह्यो
कुनै कुनै दिन
म शब्दका बीउ खोज्ने गर्छु
कबिता उमार्न
त्यै कबिताको छ्हरी मुनी
गुन्द्री ओछ्याएर
पैतालाका ठेलाहरु सुम्सुम्याउँला
अनी एक बटुको साँधेको भोगटे खाउँला
भन्ने लाग्छ
तर मसँग फुर्सद छैन
केबल एउटा झ्याल छ
त्यै झ्यालबाट केही क्षण
म बाहिरको
सुकिलोपन हेर्ने गर्छु
सुन्यता सुन्ने गर्छु
त्यो सुकिलोपनमा अलिकती गोबर मिसाइदिन मन लाग्छ
अनी पातमुनी सुतेका झ्याउँकिरी बिउँझाइदिन मन लाग्छ
हजुरआमाले हालेको खल्पिको स्वाद्ले झैं
मुख रसाएर आउँछ
अनी सोच्ने गर्छु
एक दिन म सभ्यताको बन्धन चुँडाएर
बुरुक बुरुक उफ्रिने छु
आफ्नै बारीमा
------------------------------------------------------------------------------------------------

आज तिमीसँग डाँडामा बसेर बेशी हेर्न मन छ बा
कान्छी छोरीले बनाको चियाको घुड्कोसंगै
तिमी अतितका कुरा गर्नु
म तिमीलाई भबिश्यका कुरा सुनाउँला
हार जीतको धपेटीबाट एकछीन बिश्राम मारुम न बा
उन्नती र सभ्यताको बोक्रेपन बिसाएर हामी सुसेली हालौंला
अनी
तिमी मलाई चाणक्यको निती सुनाउ
म तिमीलाई "इमिली डिकिन्सन" को कबिता सुनाउँला
व्यबहारको कुन्यु मिलाउँदा मिलाउँदै थाकेकी मेरी आमालाई
आउ न बा हामी मिलेर एक छीन हँसाउँ
उनी हाँसेको देखेर तिमी र म पनि मुस्कुराउँला
समयको भेलमा पौडिदा पौडिदैं म पर आइ पुगेंछु
तिमी पनि उमेरको उकालो चड्दा चड्दा थाकेका होलाउ
आउ न बा आज डाँडामा बसेर बेशी हेरौं
म तिमीलाई कम्मर भाँची भाँची नाच्न सिकाउँला
तिमी मलाई हाँसी हाँसी बाँच्न सिकाउ
Read Full Discussion Thread for this article