Posted by: fucheketo February 7, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     3       ?         Liked by

"तिमी माया लाई पिडा भन्छ्यौ,जीवनलाई भ्रम भन्छ्यौ,मृत्यु शाश्वत हो भन्छ्यौ ! जीवनको यो त एउटा पाटो मात्र हो! कोठा भित्र भएको मान्छेले वाहिरको भित्ताको रंग पत्ता लाउन सक्छ र ?" उ खिस्स हाँस्यो।

उसको अनुहारको ओज हराए झैँ लाग्छ आजकल मलाई। दिनहुँ निन्याउरो देख्छु उसलाई !

"तँपाइले देख्नुभएको छ त्यो पाटो?"

"मलाई त न तिम्रो निश्चल जस्तो अँध्यारो मन पर्छ, न तिमी जस्तो सत्य ! म त भ्रमले गाँजेको मान्छे ,निदाउन चाहने मान्छे !"

"अनि आज के खानुहुन्छ, कुरिलो पनि अमन भइसकेको होला हैन ?" मैले प्रसंग वदलेँ।

"क्षणमा वाँचेको न हुन्छ मान्छे, कहिले नुनिलो खोज्छ , कहिले गुलियो !"

"त्यस्तै हो, मलाई तितो मन पर्छ !"

"कसले भन्यो तिमीलाई मृत्यु तितो हुन्छ भनेर ? मृत्यु त बेस्वादे हुन्छ , रुवा चवाए जस्तो ! तिमी कति दिनमा फर्किदैछौ घर ?" एक्कासी उसले मलाई प्रश्न राख्यो।

मैले हिजो मात्र डक्टर लाई सोधेकी थिएँ। उसले नियालेर मलाई हेरेको पनि हो। उसको अनुहारमा मैले म प्रतिको विश्वास पाइन।फेरि गएर फेरि मर्न खोज्छे भन्ने सोचेको पनि हुन सक्छ। धेरै वेर सोचेर उसले मलाई जवाफ फर्काएको थियो "चाँडै" भनेर !

"चाँडै !" मैले सुस्तरी जवाफ फर्काएँ।

मेरो भाइ वाहिरको वेन्चमै उँघेर वसिरहन्छ।कहिलेकाहिँ भने मोवायल खेलीरहेको देख्छु।मलाई कता कता उ त्यो केटीलाई मन पराउँछ जस्तो लाग्छ।मैले केहि मागे नवोली भित्र छिर्छ।वाहिर गएर लिएर आउँछ। हिजो तिन दिन पछि आमा फेरि भेट्न आउनुभयो। वाथले गर्दा खासै हिँड्न सक्नुहुन्न तर पनि हिजो जिद्दी गरेरै आउनुभयो।मेरो आँखामा हेरेर मौन वस्नुभयो। अनि केहि नवोली फर्किनु भयो। मैले आँखा जुधाउन सकिन। कस्तो भारी मौनता ,जानेवेलामा उसले आमालाई भनेको थियो।

"अव देखी यसो गर्दिन सुधाले, वुझ्छे अस्पतालवाट निक्लने वेलामा उसले के खेर फाल्न खोजेकी रहिछ भनेर !"

उसले आमालाई सान्त्वना दियो। आमाले अचम्म मानेर उसलाई हेर्नुभयो।मैले अचम्म मानेर दुवैलाई हेरेँ।भाइले आमालाई डोर्याएर वाहिर लग्यो।

"ल अव आजको भाग, हामी निश्चलको कुरा गर्दै थियौँ !" आमा वाहिर निस्किने वित्तिकै उसले मलाई पुरानै संसारमा फर्काएको थियो। जहाँ निश्चल थियो, म थियौँ अनि अँध्यारोमा घोलिएको त्यहि धुवाँ थियो।

"आज एउटा पनि पेन्टिंग विक्री भएन" उसले मतिर हेर्दै भन्यो।

"चिन्तित छौ ?"

"छैन, तर सँधै हुन्थ्यो आज भएन !"

मलाई उसको सवैभन्दा मन पर्ने, उसको अनुहारको स्थायित्व, अनुहार मा भाव मिसिए पछि अनुहार अनुहार रहन्न ऐना वन्छ मुटु चिह्याउने।उसको अनुहारमा म न कहिल्यै खुशी देख्छु, न दुख ।मात्र अनुहार!

उसको कोठाको काठको छानावाट कहिले काहिँ मुसा चिह्याउँथ्यो। मलाई डर लाग्थ्यो उसका सवै तस्विर खाइ दिने पो हो कि भनी। म त्यसलाई हेर्दा उसका र मेरा कहिलेकाहिँ आँखा जुध्थे।यति निश्चल आँखा भएकोले के विगार गर्ला र जस्तो लाग्थ्यो। एक दिन निश्चलले एउटा पेन्टिंग वनायो। त्यहि मुसा छिर्दै गरेको, मात्र मुसाको पुच्छर अनि प्वाल !

अनि मेरो हातमा दिँदै भन्यो! "मलाई थाहा छ तिमीलाई यो मन पर्नेछ !"

मैले उसको चित्रमा अर्थ खोजेँ ।धेरै अर्थ खोजेँ। तर विडम्वना त्यसपछि उ भेट भएन।

उसको कोठा भोलिपल्ट खुल्लै थियो। तस्विरहरु यता उता छरिएका ! म दिनहुँ जसो उसको कोठा जान्थेँ उसलाई भेट्छु की भनी! अहँ भेट्टाइन! ति तस्विरहरु पनि समेटेर कुनामा राखिँदिएँ। विस्तारै ति तस्विरहरु त्यहि मुसाले खान थाल्यो। धमिरा लाग्यो। म पनि त्यो कोठा जान छोडेँ।

"अनि निश्चल भेटिएन ?"

"भेट्टियो, मात्र जिवित भेट्टिएन, धेरै नशा र थोरै खानाले गर्दा भएको भन्ने खवर पाएँ , उ सँग त्यतिखेर पनि मेरो आधा अनुहार छोपेको तस्विर थियो उसको अन्तिम ठेगानामा !"

मलाई किन किन जीवन अर्थहिन लाग्यो । उ सँगै जाउँ जाउँ लाग्यो। उसलाई सोध्न मन लाग्यो। उ आखिर किन भागेको थियो भनेर !

मैले आफ्नो कथा टुंग्याएको थिएँ। उसको आँखा अझ गहिरिएको थियो। उ पात्र केलाइरहेको थियो शायद !

धेरैवेर सोचेर उसले वोल्यो,

" म त भाग्न सक्ने अवस्थामा पनि छैन ! तर तिमी जिवन जानेकी मान्छे, अभ्यस्त हुन सिक"

"अव तँपाइको पालो !"

"म भन्न भ्याउँदिन होला पुरै कथा !"

"किन ? डिस्चार्ज गर्दै छन् र !"

"भोली !" उसले मलाई हेर्दै भन्यो।

"ठिक भयो त तँपाइलाई, ठिक भए जस्तो लाग्दैन मलाई !" मैले उसको शरिर नियाल्दै भनेँ। उसको शरिर त झन झन गलिरहेको छ।

"मात्र डिस्चार्ज गरेको अरे, ठिक गरेको हैन रे !" उ हाँस्दै भन्यो।

"मैले वुझिन !"

"वुझ्छ्यौ, तिमी त जीवन वुझेकी मान्छे, मृत्यु चिनेकी मान्छे , तर म अझै भन्छु मृत्यु तितो हुँदैन, वेस्वादे हुन्छ, रुवा जस्तो ,खान मन नलाग्ने !"

म मौन भएँ, मेरी आमा जस्तै, अवाक !!!

*********** ****************** ****************** **************** **************

उ आज डिस्चार्ज भएर गयो।शायद एक महिना अरु वाँच्नेछ। मैले जाने वेलामा केहि भन्न सकिन। उसले मलाई जीवन वुझाएर गएको छ।मैले भाइलाई भित्र वोलाउँदै भनेँ

"तँ अलि कम वोल्ने गर्छस् , खुल्ने गर सवैसँग, अनि साँच्चिकै माया गर्छस् भने भन् त्यो केटीलाई।" उसले अचम्म मानेर मलाई हेर्यो। मैले अर्काको मृत्यु देखेर आफ्नो जीवनको महत्व वुझेकी छु।


यो कथा यत्ति नै ।

 

Read Full Discussion Thread for this article