Posted by: caliber19 October 8, 2013
जुआरी (कथा)
Login in to Rate this Post:     2       ?         Liked by
जुआरी (कथा) भाग ६ 

.. अघी त्यो रातो स्कुटरमा जाने केटी पक्कै पनि रिचा हुनुपर्छ, उस्को ठम्याइ एस्तै थियो । 

उस्ले मलाई यदी देखेकी भए; रोक्दी हो ? बोल्दी हो ? के प्रतिकृया हुंदो हो ? 
बेलुका ओछ्यानमा डङ्रङ्ग उत्तानो पल्टिएर आइते एस्तै केही सोच्दैथियो, दिल-दिमागमा अरु आइतेहरु पनि जन्मदैथिए क्रमश: । 
समय कती बलवान ! वायुपंखी घोडा झैं एस्को आफ्नै रफ्तार, आफ्नै दिशा - अनी हामी; उस्को टापको ठोकाइले हावामा एक क्षण फुस्स उड्ने धुलोका कणहरु । नाश्शिनु पर्ने बांचाइ, माश्शिनु पर्ने सत्य । अस्तित्व पनि भ्रम जस्तै, स्वामित्व पनि रिण जस्तै; स्वविवेकी र स्वचालित बनेर आत्मा फगत स्वाङ पारीरहेछ ! खै केमा रह्यो त नियन्त्रण - जन्ममा ? मरणमा ? भाग्यमा ? 
कर्ममा त छ नि । प्राप्तीकालागी परिश्रम आवश्यक छैन र ? 
तर पनि सुनिश्चितता खै त ? 
के उस्ले नचाहेको हो र एउटा सुन्दर संसार ? मात्र कोरा सपनाहरु पुरा हुंदैनन् रे ठीक छ, तर प्रयास गरिएकाहरु पनि त फुटिगए आखिर विधुवाको चुरा जस्तै । 

आनन्द दाइss ! जमुनाको ढोका पिटाइले उस्को तन्द्रा भङ्ग भो । 
ह्म्म्ss खुल्लै छ । 
ओहो ! कस्तो अंध्यारोमा बस्नुभा' ? उस्ले प्याट्ट स्विच अन गरिदीई, चिमको टड्कारो उज्यालो कोठाभरी पोखियो; खाना खान आउनु रे । 
कल्ले पका' तिम्ले हो ? आइतेले सामान्य बन्ने प्रयासमा सोध्यो । 
म्म्; मैले बना'को किन मिठो लाग्दैन र ? उस्ले पनि कुराकानी सहज पार्न मद्दत गरी, उसो त माया मार्फत उस्लाई आइतेको बारेमा थोर-बहुत जानकारी भइसक्याथ्यो । 
होइन, आज झन; धेरै दिनपछी मिठो खान पाइनेभो भनेर नि । पुग्नेगरी त पका'छेउ के ! उस्ले ढोका ढप्काउंदै भन्यो ।  
एss जत्ती छ । नपुगे मेरो भाग पनि खानुहोला भएन ? उ पनि जिस्कीई, दुबै सिंडी उक्लिए । आइतेको कोठा भुइंतलामा थियो, जमुनाका दिदिबैनी तेश्रो तलामा बस्थे । 

हैन अंझै तेइ हुलियामा भन्या ! कस्तो फोहोरी देख्याछ तपांइलाई त । आइतेलाई किचनमा देख्नासाथ मायाले ब्यंग्य गरी । 
भोली नै काटुम्ला भनेर हो । करीब-करीब एक औंलजती लामो दारी कन्याउदै उ मुश्कायो । 
ओहो ! एक्छिन सेब गर्नपनि आईतवार नै चाइने ? मायाले ब्यंग्यवाण जारी नै राखी, आइते र आईतवार पारस्परिक रहेकोले उ अंझै मुश्कायो । 
एss दाइको त कुरै नगर्न, ह्वां तल अंध्यारोमा धुम्धुम्ती तपस्या गर्दै हुनुहुन्थ्यो ! जमुनाले पनि 'आंखो देखी हाल' बयान गरी । 
ल-ल बस्नुस्, हात धुनु भा'हो ? माया पस्किन थाली । 
आफ्नै हात त हो, के फरक पर्ला र ! आइते सिङ्कतिर सोझियो । 
हेर-हेर, अल्छि दाई ! जमुनाले पानी राखीदीई । 

आहा ! कस्तो मिठो । तिम्रो हातमा त जादुनै छ हो, दिदिलाई पनि सिकाउन एस्तो मिठो पकाउन । ठुलो गांस चपाउंदै आइतेले जिस्कायो । 
है ! टाउको हल्लाउंदै जमुना फिस्स हांसी । 
केरे ? मैले त सिका'को उल्लाई ! माया एक ग्लास वाइन लिएर टेबुलमा आइपुगी; आज चाख्नुहुन्छ र ? 
मद्यपान श्वासनिकोलागी हानिकारक छ ! था'छैन ? 
हाs हाs ! हैन मलाई त कैलेकाइं अचम्म लाग्छ भन्या, तपाईं कसरी गुरुङ हुनुभा' ? बाहुन हुनुपर्ने मान्छे ! 
हे पर्भुss कां लेख्या छ हो फलानोले खानुपर्ने, ढिस्कानोले खानुनपर्ने भनेर ?
तेइ त, फेरी बाहुनहरुले खांदै नखाने हुन् र ? जमुनाले पनि थपी एस्पाली । 
अरे वा ! बहुमत ? लौ हात खडा ! मायाले देब्रे हात उठाउंदै दाहिने हातले अर्को सिप लिई । आइते र जमुना मुखामुख हेर्दै हांसे । 

भोली के छ नि प्लान ? आइते जुंगा मिलाउंदै बाहिरिन लाग्दा मायाले सोधी । 
कलेज जानुपर्ने छ एकछिन । अली छिट्टै निक्लिनु पर्ला, खाना शायद बाहिरै हुन्छ कि ।  
म बिहानै तयार गर्दिम् त दाई ? जमुनाले सोधी । 
हैन, पर्दैन बा । भरेकोलागी नै बनाउन है । उ निक्लियो । 
दाई गुडनाsssट ! 
ओके स्विsssट ड्रिम ! 

कस्तो मज्जाको है आनन्द दाई ? जमुनाले आंखा ठुला पार्दै सोधी । 
माया केही बोलिन, फिस्स हांसी मात्रै; एक सिप वाइन लिई - दिमागमा भने आइते थियो र त्यो रात पनि । 
उस्लाई अचम्म लागेकोथियो, कस्तो खाल्को मान्छे होला भनेर । आमाको कात्रो र के-केजाती पनि भन्दैथियो, के सांच्चै भनेकोहोला र ? खैर, अरु जेसुकै भएपनी उस्कै कारणले आज एउटा संभावित दुर्घटना टरेको थियो है; त्यसैले पनि त्यो मान्छेप्रती आभारी थिई माया । 

सञ्जोग पनि कस्तो पर्छ कैलेकाइं; जुन मान्छेलाई उस्ले राम्ररी धन्यवाद पनि भन्न पाएकी थिईन, जुन मान्छेको उस्लाई नाम सम्म पनि थाहा थिएन; तेही मान्छे टुप्लुक्क देखापर्‍यो शहीद गेटमा, भोलीपल्ट ! उ शायद कतै जाने माइक्रो कुरिरहेको थियो, माया ट्याक्सिमा त्रिपुरेश्वरतिर जांदै थिई । मायाले ट्याक्सिलाई तेहिंबाट बिदा गरेर उ भएतिर लम्कीई, तर खै ! उस्ले मायालाई देख्यो-देखेन वा चिन्यो-चिनेन; केही वास्तै गरेन, बरु माइक्रो आउने बाटोतिरै हेरिरह्यो । 
माफ गर्नुहोला, यहाँले शायद मलाई चिन्नु भएन क्यारे ! मायाले नजिकै गएर भनी । 
हजुर ? उस्ले मायाको अनुहारभरी आंखा दौडायो, कहिंकतै देखे-देखे जस्तो लागे पनि यकिन गर्न सकेन । सरी; म - मैले ..  
हिंजो राती मलाई ठुलो गुण लगाउनु भएकोथियो नि तपाईंले । मायाले प्रष्ट्याइ । 
ए ! तपाईं हो ! अब उस्लेनी सम्झ्यो । म अलिक तेस्तै हतारमा थिएं, सरी है । 
हैन-हैन प्लिज, मैले पो तपाईंलाई थ्याङ्क्यु भन्नु पर्ने । अनी ऐले कता जांदै हुनुहुन्थ्यो कुन्नी, फेरी डिस्टर्ब गरें कि के हो ? देब्रेतिर भिरेको हातेझोला मिलाउदै मायाले सोधी । 
केही डिस्टर्ब भएको छैन । म त सामाखुशी जाने माइक्रोलाई पर्खेर बसिरा'हो, खै । उस्ले बाटैतिर हेर्दै भन्यो । 
ए, त्यां पर आरएनएसी (तात्कालिन) बाट पाइन्थ्योहोला नि बरु अलिक छिट्टै । मायाले हातैले त्यता पारी देखाउंदै भनी । यदी तपाईंलाई आपत्ति छैन भने हिंड्नुस्न ट्याक्सिमा म पुर्याइदिन्छु, सम्झनुस्; मलाई ठुलो आत्मसन्तुष्टी मिल्नेछ । 
हैन ठिकै छ, मलाई तेत्ती हतार पनि छैन । एउटा कोठा हेर्न जानु थियो .. । 
तपाईं - माया बिच्मै रोकीई । हेर्नुस् त ! ऐलेसम्म त हाम्रो परिचय पनि भएको रहेनछ ! उ खितिती हांसी; म माया, माया खड्का । 
आनन्द गुरुङ । ८-१० दिन भो काठमाण्डु आएको, ऐले अलिक गार्हो परेर कोठा खोजिरा' । उस्ले मलिन परिचय दियो । 
हिन्नुस्न, त्यता कतै चिया खाम्, तपाईंलाई पनि तेतैबाट सजिलो पर्छ । मायाले सुन्धारातिर देखाउंदै आग्रह गरी । 
खै .. मैले त बाहिरको कुरा .. मेरो आमा खस्नु भो हिंजो । उस्ले भरसक सामान्य शैलिमा भन्ने प्रयास गर्‍यो । 
माया खङ्रङ्ग भई । हिंजो राती उस्ले भनेको कुरा बम झैं पड्कियो मथिङगलमा । ओ आइयाम सो सरी; दबेको लवजमा भनी उस्ले । अर्को भुइंचालो गयो उभित्र, तिलक खड्का र केशरी खड्काको रग्ताम्य आकृती बजारियो; गर्ल्याम्म । आमाबाबु गुमाउनुको दु:ख थियो उसँग पनि, सहानाभुती र सम्वेदनाले कक्रक्क निचोर्यो उस्को मुटुलाई पनि । 
प्लिज हिंड्नुस् मसँग, यहाँ के कुरा गरिराख्ने । मायाले उस्को हातै समातेर जिद्दी गरी, किनकी उस्लाई राम्रै थाहा थियो; यो शहर, यो भिड जतिसुकै ठुलो देखिएपनी एस्को चित्त रत्तिभरको पनि छैन भनेर । यहाँ दुख्ने घाउहरुलाई मलम लाउने औंलाहरु निकै कम छन्, हो, बरु नुन बोकेर हिंडेका मुट्ठिहरु प्रशस्तै छन्; हरेक गल्ली र चोक अनी तह र तप्कामा । 

अनी यहाँ तपाईंको कोही आफन्त, साथीभाइ - माफ गर्नुहोला, मैले सोध्न हुनेथियो कि थिएन ? मायाले मधुरो स्वरले बोली । 
चिन्जानको त कोही छैनन्, तेसैले पनि अलिक .. 
अनी सतिगती ? 
अगी बिहान दाहसंस्कार त गरें तर होटेलमा रिती पुर्याएर बस्न नसकिने, तेसैले नै कोठा पाईन्छ कि कतै भनेर खोज्दैछु । आइतेले अब केही खुलेरै कुरा गर्‍यो । यो बिरानो शहरमा आज कसैले अलिकती दया र आफ्नोपन देखाइदिंदा पनि पग्लियो बिचरो, एक्लो र निर्धो मुटुलाई कैलेसम्म गांठो पारेर राखिरहोस् त उस्ले पनि, उस्ले त ऐले सम्म मन फुकाएर आंशु झार्नसम्म पाएको छैन, भित्रभित्रै पिएकोछ; किल्किले दुखाउंदै । 
हाम्रैतिर जाउंनत नभए, म बस्ने घरमै भुइंतला जम्मै खाली छ, नभए मेरै कोठा उपलब्ध गराउंला तपाईंलाई, ढुक्क हुनुहोस् । सँगै भए सानोतिनो सहयोग म पनि गर्न सक्नेथिएं । मायाले आश्वास्त पार्दै भनी । 
कोठा त मैले पनि अघी उतै चाबेलतीर २-४ वटा हेरेकोथिएं तर काजकृया गर्ने भनेपछी शहर-बजारतिर अलिक नदिंदा रहेछन । उस्ले दुखेसो बिसायो । 
मायाले पुन: अतितको एउटा एैना देखी । कुनै दिन एउटी केटीमान्छे भएकैले मात्र उ आफ्ना पितृको काजकृया गर्नुबाट बञ्चित भएकी थिई तर आज यहाँ त एउटा केटोमान्छेलाई पनि बञ्चित बनाइदैछ । वा रे समाज ! आज तेरो धोती फाटेकोछ, त्यो नया टोपीमा गर्व नगर् पाजी ! 
अब तपाईं धन्दै नमान्नुस्, तपाईंलाई कोठा दिलाउने जिम्मा मेरो भो । ट्याक्सिss ! मायाले हात हल्लाइ । 
तपाईंको घरमा को-को हुनुहुन्छ कुन्नी ? अब घरै जाने भएपछी आइतेले अलिक अप्ठ्यारो महशुस गर्नथाल्यो । 
घर हैन, वहाल नै हो; बैनी र म मात्रै । हिंड्नुस्न पैले, सब रामकाहानी सुनाउंछु म । मायाले ढोका खोलीदीई, उ भित्र बस्यो, अर्कोपट्टिबाट माया छिरी । दाई, सिनामंगल । बिआइसिसीको पछाडितीरबाट लानुस् है, त्यसरी छिटो पर्ला । 

मायाले लागेपुगेको गरी तेतिखेर । हरेक कुरालाई पैसासँग मात्र दांजेकीभए त्यो सबकुराहरुमा टाउको दुखाउनुपर्ने कारणै थिएन तर भौतिकतामा त्यो सुख कहाँ छ र जुन उस्ले कसैको सहयोग र सेवामा भेटेकीथीई । सेवा यदी सांच्चिकै धर्म हो भने उस्ले पनि केही पुण्य त कमाएकीथीई । 

ओई दिदी ! आज किचनमै सुत्ने बिचार  छ कि के हो ? जमुनाले झस्काइ । 
तं जा न, म आउंछु एकछिनमा । मायाले उतिर नहेरेरै भनी । 
आज बोतलै जानेभो त आनन्द दाई आउनुभा'को खुशीमा ? जमुनाले आंखिभौं तन्काउंदै बोतलतिर देखाइ । के-के सोच्दै गर्दा मायाले आज आधा भन्दा बेसी पिइसक्यारैछे । 
हैन यतिमात्रै हो । हातको ग्लासमा बचेँको अलिकती वाइन देखाइ मायाले, अनी एकै घुट्कोमा स्वाट्ट पारी । ल हिंड् सुत्नुपर्छ । 
अरे-अरे ! जरा सम्हाल्के मेरी जान ! जमुनाले दुबै हातले मायाको पाखुरो समातेर उठाउंदै जिस्कीई । 
चुप्लाग् ! दुबैजना गलल्ल हांसे । पानी ल्या हो ? 
अं । जमुना बाहिर पुगिसक्याथी' । 
माया पनि बत्ती अफ गरेर बेडरुमतिर लागी । 

आइते भने तल लाटोकोशेरो जस्तो भा'थ्यो । निन्द्रा लाग्ने फिटिक्कै नामोनिशान छैन । हिंजो-अस्ती जेलमै बरु निदाउन सकेकोथियो उ । के आज रिचालाई देखेर हो त ? होइन भने किन ? 
कोल्टे फेर्यो, उठ्यो, पानी खायो, फेरी ढल्यो; अंह - मन ब्याकुल भईरह्यो । हेर्दा-हेर्दै सिलिङ त एउटा ठुलो क्यान्भासमा परीणत भो । अनेक आकार र स्ट्रोकका थुप्रै रंगहरु पोतिए; उस्ले रिचासँग खेलेको होली जस्तै, राम शिंहको छिर्केमिर्के पोशाक जस्तै, बाटुलिको फुलबुट्टे गुन्यु जस्तै । अनी ति रंगहरु आफै सलक्क मिलेर जमुने भञ्ज्याङ बन्यो । तर कस्तो अचम्म ! त्यहां त उस्को घरै छैन; बाटुली, राम शिंह, धर्की, कसैलाई देखेन उस्ले । स्कुल भन्दा तलको ओरालोमा एउटा धमिलो आकृती थियो, उस्ले बोलाउन चाह्यो तर त्यो आकृती त झन्-झन् धमिलो हुंदै तेस्सै बिलाएर गयो !
क्रमश: 

Read Full Discussion Thread for this article