Posted by: somewhereondearth October 2, 2013
अनुमति बिना
Login in to Rate this Post:     2       ?         Liked by
 हामीले एकान्तको अनौठो ‘ओढ्ने’ बनाएका हुन्छौं । घरि फुकाली दिन्छौं घरि गुम्सेर बस्छौं। जब फुकाल्छौं, पारदर्शि हुन्छौं । हामीले  संसार देख्छौं, संसारले हामीलाई देख्दछ । मुस्काउँछौं, बात गर्छौ । अनि घरि पारदर्शिता मन खाँदैन, ओढी बस्छौं । न संसार देखिन्छ, न संसारले हामीलाई टटोल्छ । म आफैं भित्र एहोकोरिएकि थिंए । उनले आफ्नो पीर बिसाए । मेरो ‘ओढ्ने’ भित्रको मलाई उनले झस्काई दिए । खास्टो भित्रकी मलाई पोल्यो । फर्केर उनिसँग जान, उनका बिगत सुन्न, उनको भविष्य बुझ्न मन भयो। तर अंह, जीवन सजिलो किन पो भइदिन्छ । हामी सबै जान्दा जान्दै पनि कर्म छुटाउँछौं । जीवन्त आशा मागेर पनि मन मरिदिन्छ । फगत सदभावका चार शब्दले उनको पीर केहि हलुको हुन्थ्यो होला । मलाई मसँगै गाह्रो भयो । म फर्केर उनि सामु गइन । टाढै बसे ।

दोहा छोड्ने बेला भयो । लागेको लाइन, बिस्तारै बिग्रिदै गयो । ठेलाम ठेल गर्दै जहाज सम्म पुर्याउने गाडि चढियो । अनि गाडिबाट जहाज । प्राय: सबै अनुहार नेपाली । कोहि दंगदास, कोहि गलेका । सबैका आ आफ्नै कथा । कोहिले महंगो घडि र फोन बोकेका । कोहिले साँवा ज्यान लिएर फर्केका ।  

झ्यालमुनि जहाजको भुँडिमा सामान राखेको हेर्दै थिए । दुईवटा ठुलो बाकस चढाउन थाले । कस्तो सामान हो भन्ने भयो । मैले अनुमान गर्न सकिन, अन्तै मुन्टो बटारें । यतिकैमा पछाडि पट्टीबाट आवाज सुने ।

‘अस्तिहप्ता मरेको भनेका थिए, यिनै होलान!’

‘दिनको अठार घण्टा काम थियो रे, सुत्न सुँगुरको खोर भन्दा पनि फोहोर ठाउँ । एउटा कोठामा  आठ दश जना कोचेर राखेको रे । दुई तिन दिनको ज्वरो पछि त राति नै गएछ । मेरो गाउँको भाइ पनि थियो । उसले सुनाएको ।

‘लौ, अनि त्यो पठाउने ले केहि गरेन? काममा बिमा त थियो होला नि?’

‘अर्काको पासपोर्टमा आएको रहेछ । पठाउनै ने ठग ।‘

‘अनि दुतावासमा कुरो नलगेको? साथीभाइले केहि गरेनन्?’

‘सोझो मोरोको कस्ले गर्छ? फेरि सबै काँचा खाले रहेछन् । दुताबासमा रोएछन् । केगर्नु दुताबासले, बलै दुइहजार रियाल र लास नेपाल पठाउनेमा कुरो मिलाएछन।‘

‘कताको केटो रहेछ?’

‘खोइ पश्चिम तिरको हो क्यार’

‘अनि अर्को को हो त?’

‘खोइ बंग्लादेशी हो, नेपाली पासपोर्टमा आएको भन्थे ।‘

‘ए, अनि नेपाल किन पठाको त?’

‘त्यसलाई यहि राखे, पासपोर्ट काण्ड खुल्छ, फेरि अरु मान्छे ल्याउन मिल्दैन भनेर रे ।‘

‘कुरो त ठिकै हो’

सुनेकि मात्र थिए, जहाज चढाउँदै गरेको लास र त्यसको सेरोफेरोको कथा त्यहिं देखे । यो सत्य को अगाडि मेरो खास्टो बिलायो । मैले मुख फोरें ।

‘यो सरासर कतार सरकार र नेपाल सरकार को गल्ति हो। मान्छेको जीवन यति सस्तो छैन । गरिब देशका कामदार भनेर यसरी ठग्न मार्न पाईदैन। ‘ मैले पछाडि फर्केर मेरा बिचार राखें ।

जब साक्षात मृत्यु देखिन्छ्, ब्यक्तित्वका अफ्ठ्याराहरुले आवाज रोक्दो रहेनछ । केहि बेर अघि सम्म ब्यक्तिगत गोलो घेरामा एकान्तिन खोज्ने म, मेरा मनका निजि मन्थन छोडेर देखेको दु:खमा मेरा उजुरीहरु राख्दै थिए । त्यो पनि अपरिचित आवाजहरु सँग । 

‘कतार सरकारलाई यि समस्या साह्रै गौण छन् । लगभग कुनै पनि पुग्दैन, पुग्नै दिदैनन् । नेपाल सरकार त भुंडि बोकेको बेश्या जस्तो छ । न लोग्नेको टुंङ्गो, न सन्तानको भविष्य । कसलाई के गुनासो गर्नु, बैनि’ अनिक मोटो आवाज दाहिने तिरबाट आवाज आयो ।  

‘होइन, मानवअधिकारको कुरो त हुन्छ नि । अन्तराष्ट्रिय मजदुरलाई खानपिन, बसाई र स्वास्थ्य उपचारको नियम त जहाँ पनि हुन्छ ।‘ मलाई चित्त बुझेन । मैले मेरा तर्क राख्दै गए ।

‘हेर्नु दाइ, आजको समयमा यसरी मुख बाँधेर बस्न हुँदैन । नेपाल बिकास नभए पनि सुचना संचारको विकासमा अछुतो रहन सकेको छैन । यस्ता घटना अरु अहिले सामाजिक संजालमा आईरहेका छन् । भर्खरै पनि यस्तै घटना आएको छ, यहि सामजिक संजालको माध्यमले हामी कतार  सरकार लाई झक्झकाउँदै छौं । फिफासँग कतारको बिश्वकप खोस्ने हस्ताक्षर चलेको छ ।‘

‘त्यसरी तातेर हार हाम्रै हुन्छ बैनि’ सुस्त स्वरमा उनले भने ।

‘आवाज उठाउँदा हार हुन्छ र?’ म झ्वाँकिए ।

‘आवाज उठाउँदा हार हुँदैन, तर पर नहेरि दगुर्दा भने लडिन्छ । यो कतारमा बिश्वकप भयो भने हामीले केहि नेपाली भाइहरु गुमाउँला, तर भएन भने कति हो कति नेपाली परिवार मर्ने छन् ।‘

‘के भन्न खोज्नु भएको? नेपालीलाई गरेको सुंगुर सरहको ब्यवहार ठिक हो? अझ यसरी नेपाली मरुन?’ मलाई उनको तर्क सँगै रिस उठिसकेको थियो ।

‘कोहि मरेको कसरी राम्रो हो र? फेरि यस्तो सास्ति पाएको नेपाली कथा सुन्दा कुन नेपाली को मन नरोला? म आफै तिन छोरा छोरीको बाउ हुँ । छोराछोरि गुमाउने कल्पना सम्मले मलाई कपाउँछ । तर कुरो यहाँ ब्यवहारको हो । ब्यबहार धान्न पर्छ । कुरो यहाँ माडको हो । ‘ उनले आफ्ना दर्शन राख्दै गए ।

‘ हो यो खाडिमा समस्या छन्, कामदार ठगिन्छन् । नेपाली दाजु भाई मरेका छन्, मर्दै छन् । तर राम्रो पाटो पनि छ । कोहिले राम्रै ठाउँमा काम पाएका छन् । राम्रै कमाएका छन् । नेपाल को बास्तविकता हेर्दा २२ साल सम्म केहि भुत्रोभाँङ होला जस्तो छैन् । देश रेमिट्यान्सले चलेको छ । नेपाल आजको भोलि नयाँ हुँदैन । भलै रिमिट्यान्सले देश बन्दैन, तर गुजारा चलाउने आजको बास्तविकता त यहि हो । यसैले फुटबल रद्ध गर्नु भन्दा कतार सरकार सँग बार्ता गर्ने कि? नेपाल सरकारलाई लुंगि कस्न तातो लाउने कि भन्ने कुरो हो मेरो । बंग्लादेशिलाई पासपोर्ट दिने, श्रम बिभाग अगाडि पाँचसयको किर्ते मजदुर बिमा बेच्ने, एउटाको पासपोर्टमा अर्काको फोटो राख्ने ठगहरुलाई समाउने कि! आफ्ना प्राथमिकता सोझ्याउने भन्ने कुरो हो मेरो ।‘ उनको तर्क सँगै उनको आवाज बढ्दै गयो ।

म चुप बसे यो पालि । उनको तर्कले त्यो बिवाद त जित्यो तर मन झन कुँढियो । यहाँ तर्कहरु हुन्छन्, अनि मुल्यहरु हुन्छन् । तर जव मानवताको कुरो हुन्छ । तर्कहरु लोते हुन्छन् । जीवन अमूल्य हुन्छ ।

मेरो देशको यो कस्तो चाँहि दरिद्रता हो जहाँ चुल्हो बाल्न लाशको भुंङ्ग्रो बाट आगो सापट लिन पर्छ!  नागरिक को लाशमाथि बन्ने समाज जतिनै सम्पन्न किन नहोस, पवित्र कहिले हुँदैन ।

म नेपाल पुगेकि पनि छैन, नेपालले मलाई निकै लपेटि सक्यो ।

 

क्रमश:

 meaninglessthinkings@somewhereondearth

Read Full Discussion Thread for this article