Posted by: _____ August 3, 2013
मुम्बईको कोठीदेखि म्यागासेसे पुरस्कारसम्म
Login in to Rate this Post:     0       ?        
 

मुम्बईदेखि म्यागासेसे

 
(0 Votes)
 
 
 
 

कथा २०४४ सालतिरको हो । कर्णालीसँग जोडिएको दैलेखको सदरमुकामबाट डेढ दिन उत्तरतिर हिँडेपछि पुगिने कासीकाध गाविसको तोरीमुल गाउँका गंगाबन संन्यासीको परिवारलाई छाक टार्न समस्या थिएन । तोरीमुल गाउँमा आँखाले हेरेर नभ्याउने पाखो बारीबाट वर्षभरिलाई पुग्ने

अनाज जेनतेन फल्थ्यो ।

१७ वर्षकै उमेरमा गंगाधरले सदरमुकाम नजिकैको खुर्सानी बारीकी चन्द्रकला बुढाथोकीलाई भगाई अन्तरजातीय बिहे गरे । चन्द्रकलाबाट संन्यासी परिवारमा १० सन्तान जन्मिए । तर के कारणले हो कुन्नी चन्द्रकलाले तीन छोरी र तीन छोरालाई नाबालक उमेरमै गुमाइन् । ६ जना नाबालक गुमाएपछि संन्यासी परिवार विरक्तियो । चन्द्रकलाले बोक्सीका कारण ६ जना सन्तान गुमेको लख काट्दै बाँकी तीन छोरी र एक छोराको पनि ज्यान खतरामा रहेको बताउन थालेपछि संन्यासी परिवारले तोरीमुल गाउँ सदाका लागि छाड्ने निधो गर्‍यो । पत्नीको एकोहोरो बसाइँ सर्ने ढिपीपछि गंगाबनले पाखोबारी, वस्तुभाउ छिमेकीलाई बिक्री गरी ४/५ हजार बाटो खर्च बनाएर लिलबहादुर क्षत्रीको बहुचर्चित 'बसाइँ' उपन्यासका पात्रहरूले झैं तोरीमुल छाड्यो । टाँगा चढेर पश्चिम नेपालको रुपइडिहा नाका कटाउँदै गंगाबन कान्छी छोरी सुनिता, एक्लो छोरो टोपबहादुर र माइली छोरी सुमित्राका साथ भारतको जम्मुकास्मिर पुग्यो । जेठी छोरी राधाको बिहे भैसकेकाले उनलाई बर्दियामै छाडियो ।

त्यसताका पश्चिम नेपालबाट रोजगारी खोज्दै जानेहरू आलु रोप्ने, स्याउ टिप्ने, दैनिक ज्यालादारीमा कुल्ली काम गर्थे । गंगाधरको परिवार सिपालु थिएनन् । जानेको कृषिकर्म बाहेक विकल्प नभएका निम्न वर्गीय गंगाबन परिवारको जम्मुकास्मिरमा अब जीवनको दोस्रो अध्याय सुरु भयो ।

सिजनमा साहुको फार्ममा स्याउ टिप्ने, प्याकेजिङ गर्ने, फार्मबाट स्टोरसम्म पिठ्युँमा ओसार्ने, आलुखेती गोडमेल गर्ने, हार्भेस्ट गर्ने कर्ममा गंगाधर, उनकी पत्नी चन्द्रकला, छोरा टोपबहादुर, सुमित्रा लागे । हिमाञ्चल प्रदेश र पन्जाबसँग सीमा जोडिएको कास्मिरमा हिउँद याममा अत्यधिक हिउँ पथ्र्यो । नेपालको मध्यपहाडी भेगमा हिउँ नभोगेका उनीहरू हिउँद याममा फुर्सदिला हुन्थे । हिमपात नभएका बेला हातमुख जोड्न निर्माणसम्बन्धी कुल्ली र ज्यालादारी कामतिर मोडिन्थे । यी सबै कर्मलाई नियाल्दै आइरहेकी थिइन्, कान्छी छोरी सुनिता ।

५ वर्षको उमेरमै नेपाल छाडेर परिवारको हात समात्दै पछाडि लागेकी उनी पनि त्यता पुगेपछि स्याउ टिप्ने, आलु गोड्ने, कुल्ली काममा सघाउने भैसकेकी थिइन् । यस्तै पेसाबाट आर्जन गरेको रुपैयाँबाट गंगाबनले साहुको जग्गामा सानो झुप्रो बनाए । त्यही कच्ची झुप्रोमा २ छोरीसहित ५ जनाको परिवारको जीवन चल्दै गयो । सुनिताले स्कुल पढ्न चाहिन् । तर गंगाबनले मानेन ।

'बरु तिम्लाई मै सिकाउँछु अक्षर, चिट्ठी लेख्न-पढ्न जाने पुग्छ, अरु बढी किन लेखपढ गर्नुपर्‍यो' भनी उनले सुमित्रालाई पढाउन थाले, 'सामइ क, कन्दिना का, बाइमात्रा की....!' यसरी उनले ब्राहखरी पढिन् । दिनभर स्याउ र आलु खेतीको अल्झन बेलुकी छोरी पढाउने सामान्य साक्षर गंगाबनले सुनितालाई अक्षर चिन्नेमात्रै होइन, चिट्ठी लेख्न र पढ्न सक्ने बनाए ।

यस्तै दैनिकी गुजार्दै गंगाबनको परिवारले दिन, महिना, साल बिताउँदै गयो । आय आर्जनको कर्म भए पनि बचत गर्न नसकेका उनीहरू पेटका लागि भइरहेको गुजारामा रमाइरहेका थिए । ५ वर्षको उमेरमा कास्मिर पुगेकी सुनिता १४ वर्षकी किशोरी भैसकेकी थिइन् । आमाबाउ, माइली दिदी र दाजुजतिकै काम गर्ने भैसकेकी उनी आँट्दा फार्मबाट ५ पेटी स्याउ जुरुक्क पिठ्युँमा बोकेर ढुवानी गर्ने स्टेसनसम्म पुग्थिन् । उनले बोलीचालीका लागि कास्मिरी भाषा जानिसकेकी थिइन् । डकर्मी र सिकर्मी पनि जानेका गंगाबन कास्मिर भासिएको नौ वर्षपछिको एकदिन उनका कान्छा भाइ टुप्लुक्क खबर नगरी दैलेखबाट कास्मिर पुगे । तीन महिनाको बसाइपछि गंगाधरका १६ वर्षे जेठा छोरा टोपबहादुरलाई घर सल्लाह नगरी कान्छा भाइले 'बेपत्ता' बनाए । एक्लो छोरा, जसले मरेका दिन आमाबाउको काजकिरिया गर्ला ठानेर गंगाबन दम्पतीले जोगाउँदै कास्मिर पुर्‍याएका थिए, उसैलाई बेपत्ता बनाइएपछि उनीहरूले खुसी जीवनमाथि फेरि अर्को ब्रजपात परेको महसुस गर्दै छोराको खोजीमा कास्मिर छाड्ने निधो गरे । कमाइबाट जोगाएको पैसा थुपार्दै गंगाधर हलक्क बढेकी कान्छी छोरी सुनिता, पत्नी र माइली छोरी सुमित्राका साथ गढवाल, अल्मोडातिर हान्निए ।

त्यहाँसम्म आइपुग्दा उनीहरूको गोजी रित्तो भैसकेको थियो । छोरा नभेटेपछि त्यहाँ डेरा खोजेर कुल्ली र ज्याला मजदुरीको काम सुरु भयो । रोडाढुंगा ओसार्ने र बोक्ने, ट्याक्टरमा लोड-अनलोड गर्ने यस्तै-यस्तै दैनिकीमा उनीहरू अल्झिए । त्यही ठाउँमा गंगाबनको परिवारको दुईजना नेपाली ट्याक्टर चालकसँग चिनजान भयो । ती चालकहरूलाई ट्याक्टरी धनीले 'ओई बाहादुर' भन्थे भने गंगाबनको परिवार बाबु भनी सम्बोधन गर्थे । उनीहरूले हाँक्ने ट्याक्टरले बोक्ने रोडाढुंगा जम्मा पार्थे उनीहरू । भने ती दुई नेपाली चालक ओसार्थे । अल्लारे उमेरका ती दुई बेला-बेला सुनितालाई जिस्काउँदै भन्थे, 'यो उमेरमा पनि आमाबाउको कमाइमा बाँच्ने ? कस्ता-कस्ताले हातमा

आमाबाउ पाल्छन्, तिमी किन बाउआमाको पछि-पछि किन लागेको ?' भन्थे । प्रेरणादायी तर अलि ओजनदार यस वाक्यलाई सुनिता सामान्य स्रोतासरह सुन्थिन्, बिर्सिन्थिन् । महिना दिन जतिपछि कुनै नेपालीले उनको छोरा र भाइलाई नैनीतालतिर देखेको खबर सुनायो । त्यो खबरले उत्साहित बनेको गंगाबनको परिवारले महिना दिन जतिको कमाइबाट जुटेको पैसा खर्चेर नैनीताल ओर्लिने निर्णय लियो । यसै सबै घटना सुनेका र एक महिनादेखि साथसाथै काम गरिरहेका ती दुई ट्याक्टर चालकहरूले पनि गंगाबनको परिवारलाई छोरा टोपबहादुरको खोजीमा सघाउन नैनीतालसम्म साथै गइदिने वाचा गरे । यसै सिलसिलामा उनीहरू अल्मोडाबाट भोलि बिहानको बस चढ्न बस स्टेसन नजिकैको होटलमा बास बस्न आइपुगे ।

साँझको बेला ती अल्लारेहरूले कतैबाट लड्डु ल्याएर बाँड्न थाले । सुनिता नखाने भन्दै इन्कार गर्दै थिइन्, तर गंगाधरले क्वाप्प मुख हाल्दै 'खाउ-खाउ यी बाबुहरूले राम्रै ठानेर दिएका हुन्, यी मैले त खाएँ' भनी लड्डु खाए । सुनितालाई यतिसम्म याद छ, त्यसपछि के भयो, उनलाई थाहा छैन । यो ५२ सालतिरको कथा हो । अर्को दिनजस्तो हुनुपर्छ, उनले आफूलाई एकाएक मुम्बईको कोठीमा भेट्टाइन् । जहाँ उनका बुबाआमा कोही थिएन । उनीहरू कता गए, उनलाई थाहा भएन । छेउमा बसेकी नेपालीभाषी घरवाली (जसलाई कोठीमा 'बाई' भनिन्छ) ले 'तिमीलाई ल्याएर आएका केटाहरू कपडा किन्न गएका छन्, केही बेरमा आउँछन्' भनिन् । ती कपडा किन्न हिडेका केटाहरूको बाटो हेर्दाहेर्दै सुनिताले घन्टा, दिन, हप्ता बिताइन्, तर उनीहरू आएनन् । उनले विस्तारै आफू बसेको घर कोठी भएको र दलालहरूले आफूलाई बेचेको थाहा पाइन् । केही हप्तापछि घरवालीले ८० हजार भारुमा सुनितालाई किनेको बताउँदै यौन व्यापारका लागि तयार हुन दबाब दिन थालिन् । तर सुनिताले विद्रोह गरिन् । आमाबाउको ममतामा हुर्किंदै गरेकी किशोरी सुनिताले झन्डै एक महिना भोकभोकै रुँदै आमाबाबुको सम्झनामा रातदिन बिताइन् । सुनिताको रुवाबासी र इन्कारले आजित बनेकी घरवालीले एक महिनापछि उनलाई नजिकैको अर्को कोठीमा १ लाख ६० हजारमा बिक्री गरिन् । महाराष्ट्र प्रान्तको कमाटीपुरामा रहेको कोठीमा उनलाई सामूहिक बलात्कार गरियो । परिवारसँग खाइखेली गर्दै कास्मिरमा हुर्किंदै गरेकी सुनिताको जीवन अँध्यारोमा धकेलियो ।

५ महिनापछिको एकदिन अधिकारकर्मीहरूसहित महाराष्ट्र प्रहरीले कमाटीपुराका कोठीमा व्यापक छापा हान्यो । जहाँबाट १८ वर्ष मुनिका २ सय बढी चेलीबेटीको उद्धार गरियो । त्यही भीडमा थिइन् सुनिता, चरीमाया तामाङ, दिलकुमारी राई लगायत करिब १ सय २४ जना नेपाली चेली । जसलाई मानव बेचबिखन विरुद्धमा काम गर्दै भारतीय र नेपालका ७ वटा संस्थाको सहयोगमा  मुम्बईबाट राजधानी काठमाडौं ओरालियो । १३ देखि १८ वर्षसम्मका ती किशोरीहरूमध्ये केहीको एचआईभीका कारण मृत्यु भयो । केही गाउँ फर्के । केहीलाई गैरसरकारी संस्थाहरूले पुनःस्थापना गरे । केहीले सीप सिकेर इलम थाले । केहीले वैवाहिक जीवनयापन गरे । केही विदेशिए ।

यसै भीडमा यता न उता भएका १५ जना चेलीहरूले समाज र राज्यले बहिस्कार गरिरहेको अवस्थालाई चिर्दै आफूहरूले भोगेको जस्तै जीवन अरु चेलीबेटीले अपनाउनु नपरोस् भनेर एकबद्ध भई काम गर्ने अठोट लिए । माइती देश फर्के पनि रुवाइमा दिनरात बिताउनेहरूले पीडालाई शक्तिमा  बदल्दै स्थापना गरेको 'शक्ति समूह'ले करिब ४७ लाख रुपैयाँसहित यस वर्षको एसियाली नोबेल पुरस्कार मेगासेसे जितेको छ । यसअघि अमेरिकी सरकारले २०११ मा 'आधुनिक दासता विरुद्धको सम्मान शक्ति समूहकै संस्थापक सदस्य चरीमाया तामाङलाई दिइसकेको छ । त्यसअघि २००७ मा अमेरिकी सरकारले यस संस्थालाई 'प्रभावितहरूले चलाएको अग्रणी संस्था'को सूचीमा राखिसकेको छ । ३२ चेलीहरूलाई कोठीबाट फर्काएको, ३ सय ३२ जनालाई सेल्टरमा राखेर सहयोग गरिसकेको शक्ति समूहले हालसम्म १५/१६ हजार किशोर/किशोरीलाई चेतना जगाइसकेको छ । सुरुका दिनमा दाताहरूको ५ लाख सहयोगबाट उठेको समूह यतिबेला दातृ निकायको वाषिर्क ३ करोड हाराहारी सहयोगमा काम गरिरहेको छ । जसको नेतृत्व दैलेखमा जन्मेर कास्मिरमा हुर्केकी अनि मुम्बईमा बेचिएकी चेली सुनिता ले गर्दै आएकी छन् ।

 

- See more at: http://www.ekantipur.com/np/2070/4/19/full-story/373309.html#sthash.8kLbgBFG.dpuf
Read Full Discussion Thread for this article