Posted by: _____ July 29, 2013
मुम्बईको कोठीदेखि म्यागासेसे पुरस्कारसम्म
Login in to Rate this Post:     0       ?        
 

मुम्बईको कोठीदेखि म्यागासेसे पुरस्कारसम्म

बुढी आमाहरु अझै भेटिन्छन् मुम्बईमा

सुनिता दनुवार, अध्यक्ष, शक्ति समूह

1सन् १९९६ मा भारतको मुम्बईका रेडलाइट इलाकामा ठूलो रेड भएको थियो । त्यसलाई मुम्बईको इतिहासकै पहिलो छापा भन्ने गरिन्छ । त्यहाँबाट झण्डै ५ सय किशोरीहरुको उद्दार गरिएको थियो । उनीहरुमध्ये झण्डै २ सय नेपाली थिए, जो १८ वर्षभन्दा कम उमेरका थिए । नेपालको तत्कालीन सरकारले यिनीहरु नेपाली हुन् भन्ने प्रमाण वा नागरिकता छैन भन्ने प्रश्न गर्दै यिनीहरुलाई नेपाल ल्यायो भने एचआईभीको पोको भित्रिन्छ भन्ने आरोप लगाएर स्वदेश फर्काउन अस्वीकार गर्यो । जसका कारण हामी लामो समय त्यहीँ बस्नुपर्‍यो । नेपाल सरकारले हामीलाई स्वीकार गर्न चाहेन, भारत सरकारले छोड्न चाहेन ।

हामी बेचिएर यसरी फर्कियौं

कोठीबाट निकालिएका दुई सय नेपाली किशोरीहरु मध्ये केही भाग्नु भयो, कतिपय आफ्ना नियमित ग्राहकसँगै लभ परेर उनीहरुसँगै जानुभयो । हामीलाई लामो समयसम्म सरकारले नहेरे पनि नेपालका ७ वटा संस्थाहरु मिलेर यिनीहरु हाम्रा नेपाली छोरीहरु हुन्, यदि नेपाल सरकारले लिन मान्दैन भने के भो त, हामी चुनौती दिएर नेपाल ल्याउँछौं भनेर हामीलाई नेपाल ल्याए । ओरेक, माइती नेपाल, एबीसी नेपाल, सिविन, नवज्योती, स्त्री शक्ति र शान्ति पुनःस्थापना केन्द्रको संयुक्त पहलमा १ सय २८ जना नेपाल आए । उनीहरुमध्ये हामी १५ जना मिलेर शक्ति समूह स्थापना गरेका हौं । शक्ति समुहको पहिलो अध्यक्ष पूजा मिजार हो, जो अहिले अमेरिकामा हुनुहुन्छ ।

didi

हामी नेपाल फर्किने क्रममा भरतीय अभिनेता सुनिल सेट्टीले सेभ द चिल्ड्रेनमार्फत एयर फेयरको व्यवस्था मिलाउनुभएको रहेछ । नेपाल आएका मध्ये हामी १२ जना ओरेकमार्फत् आइपुगेका थियौं । त्यसक्रममा एचआईभी टेष्टलगायतका परीक्षण भयो, केहीमा एचआईभी पोजेटिभ देखियो । त्यसपछि हाम्रोबीच रुवाबासी नै भयो । अब हामी मर्छौं, हाम्रो केही पनि छैन, सबै चिज अन्धकारमय भयो भन्नेमा थियौं ।

डा. रेणुराज भण्डारीले हाम्रो अवस्था देखेपछि तिमीहरु रोएर केही हुँदैन, तिमीहरु रुनु भनेको आफूले आफैंलाई कमजोर गर्नु हो, भोलि अनेक समस्या आउँछन्, तिनीहरुसँग जुध्न पो सिक्नुपर्छ भनेर सम्झाउनुभयो । तिमीहरुको आँसु शक्तिमा बदल्नुपर्छ, बरु म तिमीहरुलाई तालिमको आयोजना गर्छु, त्यो तालिम लिएपछि तिमीहरुलाई म बेचिनुमा मेरो दोष हैन भनेर अगाडि आउने छौं भनेर १५ जनालाई तालिमको आयोजना गर्नुभो । स्वास्थ्य आधारभूत नाम दिइएको तालिममा महिला मानवअधिकार, महिला बेचबिचन लगायतको विषय समावेश गरिएको थियो ।

तालिम लिएपछि कस्तो अनुभूति भयो भन्दा हामी समस्यामा पर्नु त हाम्रो दोष हैन, यो राज्य, समाजको दोष हो भने हामी किन रुने ? किन यसका विरुद्धमा नलाग्ने भनेर हामीले छलफल गर्‍यौं र अब एकजना बोलेर कसैले सुन्दैन, हामीले सामूहिक आवाज उठाउनुपर्छ भन्ने महसुस भयो र समूहमा आवद्ध भएर काम गर्ने निर्णयमा पुग्यौं । नाम के दिने त भन्नेमा लामो छलफलपछि १५ जनाको आँशुलाई शक्तिमा बदल्ने भनेपछि शक्ति समूहको स्थापना गरेका हौं ।

संस्था दर्ता गर्दाको हैरानी

स्थापनाको क्रममा धेरै सहयोग डा. रेणुले नै गर्नुभयो । हामी सबै १८ वर्षभन्दा कम उमेरका थियौं । केहीसँग पनि नागरिकता थिएन । हामीले ओरेकसँगै सहयोग लियौं । ओरेकले विधान बनाइदियो, जतिजना हामी फर्किएका थियौं, कसैको अविभावक थिएन भने कतिले अविभावक चिन्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा ४ वटा मात्र नागरिकता जम्मा गर्न सक्यौं, ३ नटा पुगेन । संस्था दर्ताका लागि ७ बटा त चाहियो भनेपछि डा. रेणुसँग बसेर जबसम्म हामी सदस्यहरुको नागरिकता बन्दैन, तबसम्म तपाईको कर्मचारीको नागरिकता सापट दिनुपर्छ, भोलि हाम्रो बनेपछि उहाँहरुले हासीखुसी हामीलाई छोडिदिनुपर्छ भनेपछि उहाँले मान्नु भो । हामीले त तिमीहरुलाई सहयोग गर्ने हो, तिमीहरुले केही गर्छु भनेपछि म किन गर्दिन ? भनेर तीनवटा नागरिकता उपलब्ध गराइदिनुभयो ।

तर, हामीलाई समस्या के भयो भने दर्ता गर्न आफैं जानुपर्ने, एकदमै फुच्चे, दुब्लो पातलो, मोटो भनेको ४५ केजीको । जाँदा सिडियो र कर्मचारीहरुले हामीलाई देखेर खिल्ली उडाए । तलदेखिमाथिसम्म हेरेर ओ हो संस्था चलाउन यति सजिलो भन्ने ठानेको तिमीहरुले ? संस्था चलाउन पीएचडी, डिग्री हासिल गर्नुपर्छ, धेरै पढ्नुपर्छ । तिमीहरु भनेको पढेलेखेको छैनौं, राम्री छौं, बरु डान्स रेष्टुराँमा जाऊ, त्यहाँ भनेको सजिलै काम पाइन्छ, संस्था चलाउनेतिर नलाग भने । हामी जतिपटक गए पनि हामीलाई गरेर गरेर फर्काउँथे । दर्ताका लागि झण्डै ४ वर्ष धायौं हामीले । १९९६ मा समूह गठन गरेपनि २००० मा मात्र संस्था गर्दा गर्न सफल भयौं । अब अति नै भयो भन्ने लागेपछि नदिने हो भने कारण दिनुस, किन दर्ता नगर्ने । होइन भने हामीलाई स्वीकृत दिनुस् । हामी काम गछौं, यदि तपाईहरुलाई हामीले काम राम्रो गरेन भन्ने लाग्यो भने हामीलाई ल्याएर उभ्याउनुस् । तर, मुख हेरेर, जिउ हेरेर, पढाईलाई आधार मानेर यस्तो गर्न मिल्दैन भनेपछि बहस गरेपछि ल गरिखाको हेरौंला भनेर स्वीकृति दिए ।

हाम्रो शक्ति समूहले म्यागासेसे पुरस्कार पाउँदा हामीलाई गर्व लागेको छ । तपाईहरुलाई पनि पक्कै खुशी लागेको छ । यो हाम्रोमात्रै होइन, सिंगै देशले खुशी हुनुपर्ने विषय हो । यो राष्ट्रकै गौरबको विषय हो ।suneel

दाताहरुको दुःख

त्यो अवस्थामा हामीसँग केही दाता थिए । मामाकास र अक्सफामले सहयोग गरेका थिए, तर पर्याप्त थिएन । संस्था दर्ता भएपछि मामाकासका बोर्ड मेम्बरमा लिन्छु भन्ने आउनुभयो, हामीलाई भेट्नु भो । उहाँले तिमीहरुले यत्रो साहस गरौं, तिमीहरुले पीर नगर, म धेरै त भन्न सक्दिँन, तर अफिस स्थापना गर्ने सामाग्री दिन्छु भन्नुभो । पछि उहाँले हामीसँग खाता नभएकाले ओरेकको खातामा ५ लाख हालिदिनुभयो । एउटा बोर्ड राखेर, एउटा कोठामा अपिस सेट गर भन्नु भो । हामीले त्यसबेला ओरेककै कार्यालयमा भएकाले एउटा फ्लाट भाडामा लियौं । २ जना फुलटाइम र एकजना पार्टटाइम कर्मचारी राख्यौं । त्यसबेला अक्सफामको कन्ट्री डाइरेक्टर मीना पौडेल हुनुहुन्थ्यो । उहाँले अहिले काम गर्नुस भनेर केही पैसा दिनुभयो । अक्सफाम र सेभ द चिल्ड्रेनले कर्मचारीमा आधा र प्रोग्राममा आधा पैसा दियो । त्यसपछि ३ जनै पूर्णकालीन स्टाफ राख्न सक्ने भयौं ।

हाम्रो कामको क्षेत्र

हाम्रो अनुभव के थियो भने बसोबास, बस्ती, गलैंचा कारखानाबाट हाम्रो ग्रुपका बढी भएकाले फोकस त्यही गरौं । किशोरीहरुको समूह बनायौं, छलफल गर्‍यौं । कहिले काँही हामी आफ्नै कथाहरु सुनाउँथौं । तर, मेरो कथा भनेर भन्दैनथ्यौं । यस्तो पनि हुन्छ रे भनेर सनाउँथ्यौं किनभने म यस्तो हुँ भनेपछि म बहिस्कृत पो हुन्छु कि भन्ने डर हुन्थ्यो । परिचय यसरी दिन्थ्यौं कि हामी भनेको विभिन्न महिला हिंसामा परेकाहरुले खोलेको संस्था हो । हामीले कहिल्यै बेचविखनमा परेका भनेनौं । विस्तारै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कार्यक्रममा, मिडिया नभएको स्थानमा हामीले खुलेर भन्थ्यौं कि म बेचिएकी चेली हुँ, मैले यस्तो गरेँ ।

अब सर्भाइवरका लागि यो यो हुनपर्छ भनेर ०६४ को कानुन संशोधनका क्रममा लविङ पनि गर्‍यौं । अहिले हामी ११ जिल्लामा छौं (मकवानपुर, बारा, पर्सा, रौतहट, झापा, कैलाली, बाँके, बर्दिया, सिन्धुपाल्चोक नुवाकोट, काठमाडौं) । ४ वटा पीडितहरुका लागि आवास पनि छन् । काठमाडौंमा २ वटा सुरक्षित आवास, सिन्धुपाल्चोकमा सरकारकै सहयोगमा र पोखरामा १८ वर्षभन्दा मुनिका, जो उच्च जोखिममा छन् । झापा, बाँके र बर्दियामा बैदेशिक रोजगारीमा गएकाको नाममा बेचबिखनमा परेका दिदीबहिनीहरुको समूह छ ।

काठमाडौंको हकमा अहिले आन्तरिक बेचबिखन बढेको छ । गोंगबुमा हाम्रो शक्ति स्रोत केन्द्र छ, जहाँ मनोरन्जन क्षेत्रमा काम गर्ने दिदी बहिनीहरु आउनुहुन्छ, टीभी हेर्ने, मेकअप गर्ने, छलफल गर्ने, आफ्नो पीडाहरु शेयर गर्ने गर्नुहुन्छ । सिन्धुपाल्चोक, नुवाकोट, बारा, रौतहटमा बेचविखनमा परेका दिदी बहिनीहरुको समूह छ । हामीले किशोर किशोरीहरुको समूह पनि बनाएका छौं, जुन काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, बारा र रौतहटमा छन् ।

अहिलेको सोच के छ भने बाँके, बर्दिया र कैलालीमा पनि उच्च जोखिममा भएका किशोर किशोरीहरुलाई संगठित गरेर परिचालन गर्ने योजना बनाएका छौं । सजिलै बेचविखनमा पर्न सक्नेहरुको समूह हो यो ।

बुढी आमाहरु अझै भेटिन्छन् मुम्बईमा

अहिले मुम्बईमा पनि परिर्वतन आएको छ । हामीले रेड लाइट एरियाको भ्रमण गरेका थियौं । त्यहाँ गएर हेर्दा पहिले जहाँ रेडलाइट एरिया थियो ११ नम्बर गल्ली, १२ नम्बर गल्ली भन्ने जस्ता ठाउँमा त साना-साना उद्योगहरु छन् । हामीले किन यस्तो भयो त भनेर बुझ्यौं । १९९६ को रेडपछि सरकार, प्रहरी, पत्रकार र संघ संस्थाको आखाँ त्यहा पर्‍यो र उनीहरुले असुरक्षित महशुस गरेर ठाउँ सरेछन् । तर, त्यहाँ एजेन्ट छन्, बुढी बुढी महिलाहरु । सानो कोठामा ३/४ बटा पर्दा लगाइएको छ । त्यसपछि हामीले सोधौं तपाईहरु किन यहाँ बसेको भन्दा त्यहाँबाट उठेपछि त ग्राहकसँगको सम्पर्क टुट्छ भनेर एजेन्ट बनेर बसेका रहेका छन् ।

हामीले मुम्बईमा नेपालीहरुलाई नै भेटेका थियौं । किन यहाँ बसेको, अतीतलाई भुल्नुस्, अब त बुढी पनि हुनुभो, ग्राहकले पनि भने जस्तो पैसा दिँदैनन होला, नेपालमै जाऊँ हिड्नुस् भन्दा उनीहरुले भने- ‘नेपालमा गएर के गर्ने तिरस्कार ? घृणा ? त्योभन्दा बढी के पाउँछौं हामीले । बरु, यहाँ एकदुई छाक खान पाएका छौं । हामीलाई के नै गर्नु छ र, छोरो रोला छैन, छोरी रोला छैन, एक्लो जिन्दगी, दुई छाक खान पाएकै छौं । मरेपछि जे होला होला ।

उहाँहरुको कुरा एक हिसावले सही पनि हो । नेपाल आएर के पाउनुहुन्छ र उहाँहरुले ? उल्टै घृणा मात्र । उमेर ढल्किएपछि आयको काम, कोठीमा खाना पकाउने, चिया नस्ता दिनेतिर उनीहरु सिफ्ट हुन्छन् । उमेर हुञ्जेलमात्रै जीउ बेच्ने हो । मुम्बईमा दोस्रो तेस्रो जेनेरशनका नेपाली पनि छन्, तर, अहिलेसम्म कसैसँग आधिकारिक तथ्यांक छैन । आईएलओले बाषिर्क ४ देखि ७ हजार बेचिन्छन् भनेर २००२ मा भनेको थियो । तर, अझै ठोस तथ्यांक छैन । अहिले झन् बेचबिखन बढेको भनिन्छ तर, ठोस आधार छैन ।

किशोरीहरुलाई सुझाव

अहिले कसैले कसैलाई विश्वास गर्न सक्ने अवस्था छैन । केटाहरुले प्रेमको नाटक गरेर या श्रीमानले नै बिहे गरेर, साथमा राखेर त लगेर बेचिदिन्छन् भने कसको विश्वास मान्ने ? त्यसैले अब सबै सचेत हुनुपर्छ । यदि हामीलाई कसैले फकाउँदैछ, जागिरको प्रलोभन देखाउँदैछ या यसो गरौं भन्छन्, भने किन यसो भन्दैछ, उसको पछाडिको स्वार्थ के छ भनेर विश्लेषण गरौं । आफ्नै दाइ, बाबुले भनेको छ भने कुन भावमा आएको भनेर सोचौं । यसको अर्थ आफ्नै परिवारलाई विश्वास नगर्नुस् भनेको हैन । तर, शंका लाग्छ भने १० पटक सोच्नुस्, साथीभाइसँग सल्लाह लिनुस् र बल्ल निर्णयमा पुग्नुस् । मलाई यसो भनेको छ, मे के गरुँ भनेर सल्लाह गर्नुस्, आफ्नै आमा पनि यसमा तपाईको साथी हुनसक्नुहुन्छ ।

समाज र राज्यले गर्नुपर्ने काम

यो समस्या न्यूनीकरणका लागि सबैले गर्नुपर्छ । राज्य, समाज, नागरिक सबै सचेत हुनुपर्‍यो । कुनै नयाँ मान्छे गाउँ पस्दैछ भने किन पस्दैछ भनेर चासो राखौं । राज्यले भएको कानून कार्यान्वयनगर्नुका साथै अझै विस्तारमा पहल गर्नुपर्छ । अनुगमन र तत्काल कारबाही, जाहेरी दिनेहरुको सुरक्षाको व्यवस्था मिलाउनुपर्छ ।
 

Read Full Discussion Thread for this article