Posted by: Rudramati June 24, 2013
हृदयेविदारक कथा - आमा ! जानुहोस
Login in to Rate this Post:     0       ?        

त्यो घटना सुनेपछि मैले उनका निर्दयी छोरालाई धिक्कार्नुसम्म धिक्कारेको थिएँ । तर, आज जब म आफ्नो अवस्थाबारे सोच्दछु, तब मेरो हृदयमा कताकति त्यो छोराप्रति पनि दया जागेर आउँछ ।


आफ्नी जन्मदात्री अशक्त वृद्धा आमालाई त्यसरी बिरानो देशमा अलपत्र पारेर एक्लै छोडेर जानुपर्दा उसको आत्मामा कति चिरा पर्‍यो होला ? कति धिक्कार्‍यो होला उसले आफूलाई ? कति कल्पन्थ्यो होला ऊ आफ्नो कुकृत्य सम्झेर ? आफूले गरेको दुष्कर्मका लागि पश्चात्ताप गर्दै ऊ फेरि त्यस ठाउँमा आएर आफ्नी आमाको खोजी गर्‍यो होला त ? यस्तै यस्तै प्रश्नहरूले मेरो मथिङ्कललाई झक्झक्याइरहन्छन् ।


के म आफ्नी आमालाई त्यसरी नै बिरानो देशमा निराश्रय छोडेर आएपछि शान्तिको जीवन बिताउन सकुँला ? एउटी अबोध सानी बालिकाजस्तै भइसकेकी मेरी आमालाई म के गरेर पहिलेको जस्तै स्वस्थ अवस्थामा ल्याऊँ ? के गरेर उनलाई सद्दे पारूँ ? हरे … ! म के गरूँ … ? मेरो हृदयमा यस्तै प्रकारका अनेक थरी कुराहरू खेल्दछन् । “होइन, म कति दिनसम्म यसरी आफ्नी आमाको र मेरा परिवारको दुर्गति सहेर बस्न सकुँला र ? अस्ति घरबेटीले समेत त्यस्तो फोहोरी मान्छेलाई हामी राख्दैनौँ, अन्तै डेरा खोजेर सर्नू” भनिसकेको छ ।


आमाको अकल्पनीय दुरवस्थाले गर्दा मेरो जीवनपद्धतिमा समेत कत्रो नकारात्मक असर परिसकेको छ । तर मेरी आमा भने आफ्नै संसारमा मग्न भएर एक्लै आफैँसँग बात मार्नुहुन्छ, हाँस्नुहुन्छ र आफूलाई मन नलागेको क्रियाकलाप गरेर रमाउनुहुन्छ । अघि भरखरै पनि मेरी आमा मेरो कोठामा पस्नुभएको थियो । “आमा ! जानुहोस्, आफ्नो कोठामा गएर बस्नुहोस् ।” मैले भनेको थिएँ ।


आमा सदाझैँ केही पनि उत्तर नदिएर केही बेरसम्म मतिर हेरिरहनुभएको थियो । “आमा जानुस् न भन्या, … कोठा गन्हाइसक्यो !” मैले केही आजित भएर ठूलो स्वरमा भनेको थिएँ ।


मेरो कुरो सुनेपछि अनुहारमा अझ बढी मुजा पार्दै मेरी आमा मुसुक्क हाँस्नुभएको थियो ।

Read Full Discussion Thread for this article