Posted by: Rudramati June 24, 2013
हृदयेविदारक कथा - आमा ! जानुहोस
Login in to Rate this Post:     0       ?        

मानवी र म भएर आमाका फोहोर लत्ताकपडा सफा गथ्र्यौं । घर सफा गथ्र्यौं । तर, पनि घर उस्ताको उस्तै फोहोरी र गन्हाउने हुन्थ्यो । आमालाई नुहाइदिने र कपडा धुने क्रममा कैयौँपटक हामीले बान्तासमेत गरेका थियौँ तर पछिपछि बानी परेर होला, जति नै घिन लागे पनि बान्ताचाहिँ हुन छाड्यो । मेरा छोराछोरीको हाल पनि बेहाल भएको थियो । उनीहरूले त राम्ररी खान पनि छोडिसकेका थिए ।

“यस्तै हो भने त यिनीहरूको पढाइलेखाइ पनि खत्तम हुने भयो । मेरो त बिदा पनि सिद्धियो । अब उही बेतलबी बिदामा बस्नुपर्छ । पैसाले कसरी पुर्‍याउने हो ? घर कसरी धान्ने ?” मानवी बिरक्तिएर भन्ने गर्दथिन् । सत्य भन्ने हो भने म मेरी आमाको अवस्थाले गर्दा हरबखत मानसिक तनाव झेलिरहेको थिएँ । तर विवश थिएँ, म केही गर्न सक्दिनथेँ ।


कहिलेकाहीँ त मैले आमालाई बेस्सरी झपार्ने पनि गर्न थालेको थिएँ । तर बिचरी मेरी आमा Û मैले उहाँलाई हकार्दा उहाँ सानी बच्चीझैँ निधार खुम्च्याएर आँखाबाट आँसु छचल्काउँदै विवश दृष्टिले मतिर हेर्नुहुन्थ्यो । त्यो निर्दोष घात सहन नसकेर मेरो आँखाबाट स्वतः आँसुका धारा बग्दथे ।

पछिपछि भने हामीले आमालाई उहाँको कोठाबाट निस्केर अन्य कोठातिर आउनजानलाई प्रायः निषेध गरिदिएको झैँ भएको थियो । उहाँलाई दिइएको कोठाबाहेक अन्य कोठामा उहाँले पाइला राख्नासाथ हामी भन्ने गर्दथ्यौँ- “आमा ! जानुहोस्, आफ्नो कोठामा गएर सुत्नुहोस् ।”

हाम्रो आदेश सुनेपछि आमा केही बोल्नुहुन्नथ्यो । तर, उहाँको आहत दृष्टिले मलाई धेरै कुरा भनिरहेको हुन्थ्यो ।

हाल प्रायः दुई महिनाजति भएको छ, आमाले एउटा नौलो चाला देखाउन लाग्नुभएको छ । त्यो के भने, हिजोआज आमा हाम्रो आँखा छलेर सुटुक्क घरदेखि बाहिरिनुहुन्छ । कैयौँपटक आमालाई कोठामा नपाएर हामीहरू अत्तालिँदै टोलछिमेक र बाटाघाटा चहार्दै हिँड्छौँ । अनि कहिले उहाँलाई कुनै रूखको छहारीमा बसेको भेट्छौँ त कहिले दायाँ खुट्टो लतार्दै बाटामा हिँडिरहेको भेट्छौँ ।


“आमा ! तपाईं किन यसरी हामीलाई दुःख दिनुहुन्छ ? तपाईंको स्याहार-सुसार गर्नुपरेको हुनाले मैले जागिरसमेत छोड्नुपर्ने भएको छ । काठमाडौँजस्तो ठाउँमा एउटाको कमाइले घर धान्नु र तपाईंलाई औषधिउपचार गर्नु कस्तो गाहारो हुन्छ, त्यो तपाईंले बुझ्न सक्नुहुन्न । भएन, यसरी जति बेला मन लाग्यो त्यति बेला आफूखुसी उठेर हिँडिदिने ! अब त साह्रै दिक्क लागिसक्यो ।” प्रायजसो आमाको अघि आˆनो मनमा उठेको गुनासो यसरी नै पोख्ने गर्दछिन् मानवी ।

आमाको सारा क्रियाकलाप हेर्दा उहाँ बिस्तारै आफ्नो सुर हराउँदै हुनुहुन्थ्यो, नत्र मेरी आमा आफ्ना कारणले अरूले दुःख पाएको हेर्नै नसक्ने मान्छे हो, त्यो मलाई थाहा छ ।


“हेर्नुहोस्, अब मैले जागिर नगर्ने हो भने घर चलाउन र बच्चाहरू पढाउन सकिँदैन । अति भयो । अब कुनै न कुनै उपाय त गर्नै पर्छ ।” मानवीले प्रायजसो मसँग भन्न थालेकी छिन् । म के गरूँ ? जतिजति आमाको अनौठो र अप्रिय क्रियाकलाप बढ्दै छ, त्यतित्यति मानवी र मेरो माझमा वैमनस्य बढ्दै छ ।

भएन, हिजोआज त आमा लाएको लुगासमेत फुकालेर नाङ्कै बस्ने र मौका पाउनासाथ फुत्त कोठाबाट बाहिरिएर सडकमा पुग्ने गर्न लाग्नुभएको छ ।


कहिलेकाहीँ त आमालाई खोज्नको निम्ति सारा दिन भौँतारिँदा पनि कुनै सीप नलागी प्रहरीचौकीमा गएर खबर गर्नुपर्ने अवस्थासम्म आएको छ । एकातिर मेरी जन्मदात्री आमाको यस्तो दयनीय अवस्था, अर्कोतिर पत्नी र छोराछोरीको गनगन अनि दिनदिनको बढ्दो महँगीको कारणले घरको खस्किँदो आर्थिक अवस्था, यी यावत् कुराले गर्दा म आफू नै विक्षिप्तजस्तै भइसकेको छु ।

“हरे ! वृद्धावस्थामा असाध्यै रोगले ग्रसित भएर सुर हराएपछि मानिसको अवस्था कति दीनहीन र कति टिठलाग्दो हुँदो रहेछ । यसरी अर्काको दयाको पात्र भएर जिउनुभन्दा त बरु मृत्यु नै सुखदायी होला ।”


आमाको दयनीय अवस्था देख्दा म बारम्बार मनमनै यसरी नै सोच्ने गर्दथेँ । अब मेरो मनले पनि साँच्चै नै हरेस खाएको जस्तो भएको छ । अस्ति त हामीले आमालाई कुनै वृद्धाश्रममा राखिदिनुपर्छ कि भनेर घरसल्लाह पनि गरेका थियौँ । तर हामी छोराबुहारी हुँदाहुँदै पनि आमालाई वृद्धाश्रममा राखिदिँदा समाजले के भन्ला ? जोरीपारी कति हाँस्लान् ? भन्ने लाग्यो ।

अर्को कुरो, मेरी आमाको अवस्था देखेर कुनचाहिँ वृद्धाश्रमले उहाँलाई आश्रय देला र ?


कहिलेकाहीँ त म निकै पहिले कसैले मलाई सुनाएको एउटा हृदयविदारक घटना सम्झेर निकै बेरसम्म घोरिने गर्न पनि थालेको छु । त्यो घटना यसप्रकारको थियो-

एक दिन करिब सय वर्षकी जस्ती देखिने एउटी कुप्री वृद्धा पशुपति मन्दिरको नजिकै बसेर रोइरहेकी थिइन् अरे । ती वृद्धालाई देख्दा उनी निकै सम्पन्न घरकी जस्ती देखिन्थिन् अरे । उनलाई त्यसरी रोएको देखेर वरपर भएका मानिसहरूले कौतूहलतावश उनीसँग सोधपुछ गरेछन् । तर उनले आफ्नो भाषामा के उत्तर दिइछन् कुन्नि, त्यो कसैले पनि बुझेनछन् । जे होस्, रात पर्न लागेपछि उनलाई वृद्धाश्रममा पुर्‍याइएछ ।

धेरै महिनासम्म वृद्धाश्रममा बसेपछि उनीबाट के कुरो थाहा पाइयो रे भने उनलाई आफ्नै छोराबुहारीले एकछिन यहीँ बस्दै गर्नू है, हामी आउँछौँ भनेर झुक्याएर छोडेका रहेछन् ।

Read Full Discussion Thread for this article