Posted by: Rudramati June 24, 2013
हृदयेविदारक कथा - आमा ! जानुहोस
Login in to Rate this Post:     3       ?         Liked by

Source:www.onlinekhabar.com/2013/02/42678/
------------------------------------------------------------------------------------0---------------------------------------------------------------------------
माया ठकुरी
छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा-नचाहँदै पनि म आमातिर हेरेर भन्दछु- “आमा जानुहोस्, कोठामा गएर सुत्नुहोस् ।” मेरो कुरो टुङ्कनिासाथ मानवी कुरो थप्दै भन्छिन्- “हो त नि ! यहाँ यी भुराभुरीहरूसँग बसेर के गर्नु ? बरु कोठामा गएर आरामसँग सुत्नुहोस् ।”हाम्रो कुरो सुनेपछि आमा केही नबोलीकन एकटक लाएर मतिर मात्रै हेरिरहरनुहुन्छ, त्यो क्षण आमाका ती विषादपूर्ण दृष्टिमा निहित असङ्ख्य गुनासाहरूले मलाई भित्रभित्रै मर्माहत तुल्याउँछन्, तर म मौन रहन्छु । आमा शिथिल गतिमा आˆनो कोठातिर लाग्नुहुन्छ ।

 

मलाई थाहा छ, आमालाई पनि हामीहरूसँग बसेर कुरा सुन्न मन लाग्दछ, टिभी हेर्न मन लाग्दछ र उहाँ परिवारको न्यानो स्पर्शलाई अनुभूत गर्न चाहनुहुन्छ । तर वर्ष दिन पुगिसक्यो, आमाले चाहेको जस्तो यहाँ केही पनि भएको छैन ।

आमाको दयनीय अवस्था देख्दा मेरो मन वेदनाले फाटेर आउँछ तर म विवश छु । मैले चाहेर पनि मेरी जन्मदात्री आमालाई खुसी दिन सकेको छैनँ । कहिलेकाहीँ त आफैँलाई धिक्कार्न मन लाग्दछ ।
 


मलाई यो पनि थाहा छ कि म टुहुरोलाई हुर्काउन, बढाउन र शिक्षा दिलाउनमा मेरी आमाले मानसिक पीडामात्र होइन, शारीरिक श्रम पनि खेप्नुपरेको थियो । त्यति मात्र नभएर उहाँले मेरो घरगृहस्थी सम्हाल्न र मेरा नाबालक छोराछोरीहरू हुर्काउनमा समेत ठूलो सहयोग पुर्‍याउनुभएको थियो ।


काठमाडौँजस्तो महँगो ठाउँमा डेरामै बस्ने गरेको भए तापनि हामी दुवै पतिपत्नी जागिरे भएका हुनाले बागबजारको एउटा गल्लीभित्र चारओटा ससाना कोठा भएको डेरामा बसेर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सक्षम भएका थियौँ । तर अहिले वर्षदिन जति हुन लाग्यो, मानवीले जागिर छोडेर आमाको स्याहार गरेर घर बस्न थालेको । भन्न त मेरा मित्रहरू भन्ने गर्दछन्, “गोकुलजी ! तपाईं बडो भाग्यमानी हुनुहुँदो रहेछ, वृद्धा भइसकेकी अशक्त आमाको सेवा गरेर बस्नुभएको छ । के गर्नु ! हामीले चाहेर पनि आफ्ना मातापिताप्रति आफ्नो कर्तव्य निर्वाह गर्न सकिरहेका छैनौँ ।”


आफ्नो प्रशंसा सुन्दा कसलाई राम्रो नलाग्ला र ? तर, आमालाई आफूसँग राख्दा बेहोर्नुपरेको भोगाइको मर्मलाई मैले मात्र होइन, मेरो परिवारले समेत कसरी खेप्नुपरेको छ, त्यो मैले मात्र अनुभूत गर्न सकेको छु ।

कहिलेकाहीँ म आफूलाई आफ्नै विगतको चौतारीमा पुर्‍याएर हेर्ने गर्दछु, जहाँ मेरो बाल्यकालका समस्त क्रियाकलाप मेरी आमासँग गाँसिएका हुन्थे ।


भरभराउँदो बैँसको बेला अचानक वैधव्यको मार सहन बाध्य भएकी मेरी आमाले कसरी आफ्नो इच्छाआकाङ्क्षालाई वशमा पारेर जीवनभरि सफ्र्ष गर्नुभयो होला ! ती कुराहरू सोच्दासोच्दै म भित्रभित्रै भुटभुटिन्छु, आहत हुन्छु ।

जुन आमाले दस नङ्ग्रा खियाएर अर्काको कुटोकोदालो गरेर मलाई हुर्काउनुभयो, जुन आमाले आफ्नै जेठाजुदेवरहरूबाट अनेकौँ लाञ्छना, अपहेलना सहेर आफ्नो लक्ष्यप्राप्तिको निम्ति अडिग भई मलाई शिक्षाको बाटोतिर अग्रसर हुने वातावरण सिर्जना गर्नुभयो, आज उनै संघर्षशील मेरी आमा अर्धपक्षघातको सिकार भएर मबाट समेत टाढिनुपरेकोमा लज्जाबोधले म भित्रभित्रै गलिसकेको छु । तर पनि मेरी आमा मेरो परिवारमा अटाउन सक्नुभएको छैन । यो कुरालाई म सहर्ष स्विकार्न बाध्य भएको छु । करिब चौध महिनाअघिको कुरो हो । बिहान ओछ्यानबाट उठ्नेबित्तिकै आमा ढल्नुभएको थियो । उहाँ ढलेको आवाज सुनेर मानवी दगुर्दै आमा सुत्ने कोठामा पुगेकी थिइन् । मानवीसँगसँगै म पनि हत्तपत्त आमाको कोठामा पुगेको थिएँ । “आमालाई के भएको होला, उठ्नै सक्नुहुन्न” मानवीले आमाको पाखुरा समातेर उठाउने उपक्रम गर्दै भनेकी थिइन् । “के भो आमा ? के भो आमा ?” भन्दै म पनि अत्तालिँदै आमालाई उठाउन पुगेको थिएँ । तर मेरो प्रयास पनि निरर्थक भएको थियो । त्यसपछि आमालाई तुरुन्तै अस्पताल लगेर जँचाइयो । अस्पतालका डाक्टरहरूले आमालाई जाँचेपछि उहाँ पक्षघातको सिकार भएको ठहर गरे ।

 

दुई महिनासम्म आमा अस्पतालमा बसेर घर र्फकंदा उहाँको दाहिने हात र खुट्टामा त्यति भर नहुने भएको भए तापनि उहाँ बिस्तारै पाइला चालेर हिँडडुल गर्न सक्नेसम्म हुनुभएको थियो ।

आमा स्वस्थ भएर घर आउनुभएकोमा म असाध्यै खुसी भएको थिएँ । तर मेरो परिवारमा भने आमाको शारीरिक समस्याले गर्दा अनेकौँ प्रकारका समस्या सिर्जना हुन थालेका थिए ।

दाहिने हात प्रयोग गरेर आमा खानै सक्नुहुन्नथ्यो । कि मानवीले कि त मैले आमालाई खाना खुवाउनुपर्दथ्यो । तर खास गम्भीर समस्याचाहिँ के थियो भने आमासँग सम्बन्धित कतिपय क्रियाकलापहरू आमाका नियन्त्रणमा थिएनन् । उहाँ कहिले ओछ्यानमा त कहिले कोठामा जहाँतहीँ मलमूत्र त्याग गर्न लाग्नुभएको थियो । आमाले जताततै मलमूत्र चुहाउँदै हिँड्ने गरेकाले सारा घर डुङ्डुङ्ती गन्हाउन थालेको थियो ।

आमाले फोहोर पारेका लत्ताकपडा धुनका लागि मान्छे राख्न खोज्यौँ तर “त्यस्तो फोहोरी काम गर्नुभन्दा त बरु भोकै बस्छौँ” भन्ने जवाफ पाइयो ।

Read Full Discussion Thread for this article