Posted by: fucheketo February 6, 2013
सावित्री
Login in to Rate this Post:     1       ?         Liked by
 सावित्री
 
भाग-२

रोहन सावित्री भन्दा तिन वर्षले कान्छो थियो। त्यसैले होला शुरु शुरुमा सावित्री रोहनलाई रोहन वावु भनेर वोलाउँथी। रोहन जव जव सावित्रीको मुखवाट वावुको उपमा पाउँथ्यो उसको उमेर प्रतिनै उसलाई घृणा लागेर आउँथ्यो। उमेरको एउटा अनौठो चरित्र हुन्छ ,दुवै तर्फ समान रुपले वढ्छ । रोहनले जति सुकै चाहोस्, रोहन जति नै वुढो हुँदै जाओस् सावित्री भन्दा सदैव तिन वर्षले कान्छो नै रहनेछ।तर मन र उमेर पृथक थिए , रोहन मनले परिपक्व हुन चाहन्थ्यो । त्यसैले सावित्रीको अघि गम्भिर रहन्थ्यो। उ सावित्रीलाई देखाउन चाहन्थ्यो त्यो वावु शरिर भित्र एउटा परिपक्व आत्मा छ, जसले सावित्रीलाई वुझ्छ। सावित्रीका मृत रहरहरु अनि शुषुप्त चाहनाहरु विउँझाउन सक्ने आँट राख्दछ त्यो मनले। रोहनका गहिरा आँखाहरु कहिले काहिँ सावित्री सँग जुद्दा मात्रै पनि सावित्रीको मनमा आगो लगाउन पर्याप्त थिए। उसका गहिरा आँखा सावित्रीलाई पुरानो जीवनमा डोर्याएर लान्थे। जहाँ सावित्री एक्ली थिईन, दुखी थिइन।

रोहनकी दिदि सुधा पनि अचम्म कि थिई , गम्भिर । उ आफ्नै कोठामा घोत्लिरहन्थी काममा, मानौँ ल्यापटपका पावर पोइन्ट प्रेजेन्टेसन मा नै संसार थियो उसको । तर पनि सयपत्रीझैँ पत्रै पत्र रहेको सुधाको मन सावित्रीको अघि कहिले काहिँ खुल्दथ्यो। कहिले काहिँ उ सावित्रीलाई सोद्थी "कसैको कसैसँग माया वसेको कसरी थाहा हुन्छ?" भनेर । सावित्री अतितमा हराउँथी ।उसलाई लाग्दथ्यो उसको वुढोसँग विताएको दुई महिना नै उसको सम्पुर्ण जीवनको अंश हो। अरु त जीवन हुँदै होइन, मात्र काटेका समयहरु हुन् । निरस् समय , मृत समय।अनी सुधालाई भन्थी दिदी " त्यो भोगेको कुरोलाई म शव्दमा कसरी भनुँ !"। हुन त सुधालाई थाहा थियो, सावित्रीलाई यि प्रश्न राख्नु उचित हैन । त्यो त फगत उसलाई पिडा थप्नु हो तर पनि सुधा प्रश्न तेर्स्याइदिन्थी। सावित्री त्यहि प्रश्नमा छिर्के लागेर लड्थी अनि अतितको हिलोमा फेरि मैली हुन्थी।

दिनहरु वित्दै गए। अथवा भनौँ मृत समय लम्विदै गयो।एकदिन रोहनले सावित्री किचनमा एक्लै भएको मौका पाएर सावित्रीको हात पक्डियो। सावित्रीको छाति जोडले धड्कियो। उसले सावित्रीको आँखामा आँखा जुधायो। सावित्रीलाई त्यो आँखा को तेजमा, रापमा आफु मोम वनेर पग्लिए झैँ लाग्यो। उसलाई थाहा थियो, यो सम्वन्धको अस्तित्व छैन। तर उसले सम्वन्ध र सुखलाई तराजुमा जोखी । एउटा पाटोमा उसको सम्वन्ध अनी जीवन दुखको पहाड वन्दै गएको यथार्थ थियो। अर्को पाटोमा पल पल मालामा गाँसिदै आएको सपनामा थियो। उसलाई विउँझिन मन लागेन।उसले आफ्नो अनुहार रोहनको छातिमा राखिदिई । उहि न्यानोपन, उहि राप , हो उसलाई थाहा छ , यो स्थायी रहनेछैन। उसको मनले प्रतिप्रश्न राख्यो " सावित्री तँ एउटा यस्तो वस्तु भन् , यो संसारमा जुन शास्वत छ, शास्वत त तँ पनि छैनस् !"। मनको प्रतिकार उसलाई चित्त वुझ्यो । उसलले जोडले रोहनलाई समाती । रोहन धेरै वेर सावित्रीको कपाल खेलाईरह्यो। सावित्रीको जीवनमा दोस्रो पुरुष आयो।

कथा विचित्रको हुन्छ। गति समान हुन्न कथाको, अनि कथाका कथाकार कहिलेकाहिँ हरफ हरफमा फरक हुन्छन् । सावित्रीको कथा पनि त्यस्तै छ। पहिलो खण्डमा उसको भोगाइ पृथक थियो।पहिलो खण्डमा उसले रोज्न केहि पाइन, जीवन स्वर्णिम हुँदा उसलाई लाग्यो भाग्य उसमाथी दयावान वनेको छ।जीवन मृत हुँदा उसलाई लाग्यो भाग्यले क्रुर खेल खेल्यो।

दोस्रो खण्डमा उसले भाग्यमाथी अभुतपुर्व जित हाँसिल गरी । यसपाली लक्ष उसैले रोजी । उसलाई पलहरुमा जीउन मन लाग्यो । हुन पनि त लामो यात्राको सोच वनाएर निरस यात्रा गर्नु भन्दा उसका छोटा , साना साना गोरेटा रमाइला, हरित थीए। उ चाहन्थी ति गोरेटाहरु कहिल्यै नटुंगिउन, मात्र गोल घुम्ति घुमिरहुन । अनि उ त्यहि वनपाखामा दौडिरहोस् निष्फिक्री।

रोहन सँगको सम्वन्धमा उसले रोहन सँग केहि चाहेकी थिइन। मात्र आकर्षण थियो एक अर्का प्रतिको ।दुइ जनाले शुन्यता वाँडेका थिए।शुन्यता को वाँडफाँड अचम्मको हुन्छ शुन्य वाँडिन्छ तर पनि दुवैको भागमा पुर्णता पर्छ । 

अव कथा थोरै मोड्छु, सिधा कथाहरु र सिधा वाटोहरु निरस् हुन्छन् । जव जव यात्रा जटिल हुन्छ तव तव जीवनमा कलात्मकता आउँछ। सावित्रीको कथा पक्कै पनि निरस् थिएन।

सावित्रीमा रोहनसँगको साथले परिवर्तन ल्यायो । एउटा पृथक परिवर्तन, उ अव खुशी हुन थाली । एउटा कालो छायाँ वनेको उसको वुढोका यादहरु रोहन सँग वितेका समयको प्रभावमा हराउँदै गए। एक दिन सुधाले उसलाई सोधेकी थिई" तँलाई आजकल तेरो वुढोको याद आउँदैन?" भनेर । त्यतिवेला पो सावित्रीले झल्याँस्स सम्झी, हो त उसको एउटा वुढो भनाउँदो पनि थियो। उसले त्यो याद लाई फेरि पनि पन्छाउँदै भनी " मरोस् कि राखोस्, मलाई केहि मतलव छैन!!"। सुधा उसलाई हेरीरहि।

सुखको प्रभाव अनुहारमा पहिला देखिन्छ । खिन्न मनले कहिल्यै सुन्दरता उव्जिन्न। मान्छे जव खुशी हुन्छ उसको त उर्जाले पनि सुन्दरता ल्याउँछ। सावित्री त्यहि भएर होला आजकल सवैको नजरमा सुन्दर थिई। घरका वुढा मान्छे पनि कहिलेकाहिँ सावित्रीलाईँ जिस्क्याउँथे " हैन के भएको छ हँ तँलाई, आजकल त फुरुंग छेस् !" उ पनि चिल्लो घसिदिन्थी "तँपाई हरु सवैको माया पाएकी छु, खुशी हुन कर नै लागेको छ अहिले त मलाई!"

सावित्री वस्ने घरको तल एउटा पानपसल थियो। छेवैमा विहान दुध, वेलुका तरकारी वेच्ने ठाउँ। सावित्रीलाई त्यहाँ पुगिरहनु पर्थ्यो ।प्रत्येक दिन दुध लिन जाँदा उसको भेट एउटा केटा सँग हुन्थ्यो। यो कथाको तेस्रो पुरुष भन्नुपर्छ त्यो केटालाई। शान्त तर रहस्यमय ।दुइ जनाको दुध देखी लिएर तरकारी किन्ने समय जुधेर होला दुवैको दिनहुँ जसो नै भेट हुन्थ्यो।

" कहाँ वस्नुहुन्छ यहाँ ?" दुई चार दिनको भेटघाट र मुस्कानको साटासाट पछि एकदिन सावित्रीले नै सोधेकी थिई।
"छेवैमा छ, पाँच मिनट जति लाग्छ ।" उसले पनि शान्त भएर नै जवाफ फर्कायो।
"अनि के गर्नुहुन्छ त यहाँ?" सावित्रीले प्रश्न राखी 
केटोले सावित्रीलाई हेरिरह्यो। केहि वोलेन, तरकारीको झोला लियो अनि फरक्क फर्किएर वाटो लाग्यो। सावित्रीले खुट्याउन सकिन , उसको प्रश्न कहाँ गलत थियो भनेर।
क्रमश:
 
Read Full Discussion Thread for this article