Posted by: _____ December 15, 2012
कसरी डुब्छन् व्यवसाय ?
Login in to Rate this Post:     0       ?        
 

व्यर्थमा ऋणको भारी

 
 

 
काठमाडौ, मंसिर २९ - 
अग्नि एयरमा काम गर्दा प्रबल अधिकारीको नाममा प्रबन्ध निर्देशक सुधीर बस्नेतले आफैं सञ्चालक रहेको कुबेर फाइनान्स कम्पनीबाट १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा तिरिदिँदै आएका बस्नेतले एक वर्षयता ब्याजसमेत तिर्न छाडेपछि प्रबल चिन्तित छन् । स्थापनाकालमै -करिब ७ वर्षअघि) प्रबलले अग्नि एयरमा जागिर खाएका थिए । २०६४ सालमा बस्नेतले ललितपुरको छम्पीमा रहेको १० रोपनी जग्गा उनको नाममा नामसारी गरेर ऋण लिने प्रस्ताव राखे । 'सुरुमा त मैले मानिनँ,' प्रबलले भने, 'तर आफ्नै मालिकले भनेको कुरा अटेर गर्न सकिएन ।' 

अग्नि एअर छाडेर ३ वर्षदेखि आफ्नै व्यवसाय गरिरहेका उनी एक वर्षअघिसम्म बस्नेतले ऋण चुक्ता गर्लान् भन्नेमा थिएँ । तर ब्याजसमेत तिर्न छाडेको भन्दै फाइनान्स कम्पनीले टेलिफोन गरेर ताकेता गर्न थालेपछि उनलाई चिन्ताले सताएको छ । आफ्नो नाममा ऋण लिइएको कुरा उनले घरमा पनि भनेका थिएनन् । तर केहीअघि उनलाई ब्याजसहित १ करोड १८ लाख रुपैयाँ तिर्न आउन भनिएको फाइनान्स कम्पनीको चिठी बर्दियाको घरमा पुगेपछि बुवा-आमाले थाहा पाए । 'बुवा-आमा त छाँगाबाट खसेजस्तो हुनुभएछ,' उनले सुनाए ।

बस्नेतले प्रबलजस्ता उनको कम्पनीमा काम गरेका सयभन्दा बढीको नाममा ठूलो परिमाणमा ऋण लिएको राष्ट्र बैंकसम्बद्ध स्रोतले बतायो । स्रोतका अनुसार उनले कुबेर फाइनान्सका साथै वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल फाइनान्सलाई कर्मचारीको नाममा ऋण लिन प्रयोग गरेका थिए । नगद अभावका कारण समस्यामा जेलिएका बस्नेतले ब्याजसमेत तिर्न नसकेपछि कुबेर फाइनान्सलाई अप्ठ्यारोमा परेको छ । अर्कोतिर कालोसूचीमा परेर आफ्नो भविष्य नै खतरामा पर्ला भनेर ऋणी कर्मचारी चिन्तित छन् । जागिर दिएकै कारण बस्नेतको ऋण बोक्न परेका कतिपयले उनको कम्पनी छाडिसकेका छन् । 'कतिपय त विदेश गइसके,' प्रबलले भने । अब यहाँ भएका ऋणीलाई संगठित भएर केही गर्नुपर्ने उनले बताए । 

कुबेर फाइनान्सबाट उनले करिब ४० जना कर्मचारीको नाममा २५ करोड रुपैयाँभन्दा बढी ऋण लिएका छन् । कुल ८३ करोड रुपैयाँ ऋण प्रवाह भएको कम्पनीको यो निकै बढी हो । बस्नेत कुबेर फाइनान्सको प्रवर्द्धक पनि हुन् । करिब ७ वर्षअघि स्थापना भएपछि सञ्चालक हुँदै आएका उनले वित्तीय कारोबार गर्ने एकभन्दा बढी संस्थामा बस्न नपाइने राष्ट्र बैंकको नीति आएपछि कुबेर फाइनान्स छाडेका थिए । 'फाइनान्स कम्पनीको स्थापनाकालदेखि नै उनले कर्मचारीको नाममा ऋण लिन थालेका थिए,' राष्ट्र बैंक स्रोतले भन्यो, 'ब्याज तिर्न छाडेपछि मात्र यो कुराको खुलासा भयो ।' उनले त्ाीन वर्षअघिसम्म ब्याज नियमित तिरे पनि साँवा नतिरी नवीकरण गराउँदै आएका थिए । तर घरजग्गा व्यवसायमा मन्दी सुरु भएपछि ब्याज पनि अनियमितता हुन थालेको थियो । 'त्यसयता केही ब्याज तिरे पनि अर्को कर्मचारीको नाममा त्यहींबाट ऋण लिएर त्यहीं ब्याज तिरेको देखियो,' स्रोतले भन्यो, 'एक वर्षयताचाहिँ केही पनि तिरेका छैनन् ।' 

बस्नेतले ललितपुरको छम्पी, सैंबु र इमाडोलमा आफ्नो नाममा रहेको जग्गा धितो राखेका छन् । कुबेरमा उल्लेख्य हिस्सा खराब भए पनि समस्याग्रस्त नभएको राष्ट्र बैंक स्रोतले बतायो । उनले कर्मचारीको नाममा ऋण लिँदा राखेको धितो लिलाम गर्दा २० करोड रुपैयाँसम्म असुल हुन सक्ने बैंकको ठम्याइ छ । 'यसैले बचतकर्ता चिन्तित हुने अवस्था छैन,' राष्ट्र बैंक स्रोतले दाबी गर्‍यो । वल्र्ड मर्चेन्टबाट उनी र कर्मचारीको नाममा ९ करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको स्रोतले बतायो । नेपाल फाइनान्सबाट लिएको २० करोड रुपैयाँ ऋणमा पनि केही कर्मचारीको नाममा पनि लिइएको छ । तर बस्नेतले कर्मचारीको नाममा लिइएको ऋण क्रमशः चुक्ता गरिरहेको बताए । 'केही महिनाभित्रै सबैको चुक्ता गरिसक्नेछौं,' बस्नेतले भने । 

कर्मचारीको नाममा वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल फाइनान्सबाट ऋण लिँदा कुलेश्वरको ओरियन्टल हाउजिङ पहिलो र दोस्रो चरण तथा धुम्बाराहीको ओरियन्टल हाउजिङका हस्तान्तरण भइसकेका अपार्टमेन्टसमेत धितोमा राखेको फेला परेको छ । वल्र्ड मर्चेन्ट र नेपाल फाइनान्सले केही अघि ती अपार्टमेन्ट लिलामको सूचना निकालेपछि अपार्टमेन्टमा किनेर बसोबास गरिरहेका परिवार चिन्तित भएका छन् । ओरियन्टल हाउजिङमा तीन वर्षअघि ३३ लाख रुपैयाँमा अपार्टमेन्ट किनेकी कल्पना थापा नेपाल फाइनान्स कम्पनीले उनीसहित ओरियन्टलको ५२ वटा अपार्टमेन्ट लिलामीको सूचना निकालेपछि छांगाबाट खसेजस्तो भइन् ।

आंशिक रकम तिरेर अपार्टमेन्टमा बसोबास गर्न थालेपछि पूरा भुक्तानी गर्न आलटाल गर्ने ग्राहकको कारण यस्तो समस्या देखिएको बस्नेतले जिकिर गरे । 'पूरा भुक्तानी गरी लालपुर्जा लिन आउनु भनेर पटक-पटक ताकेकता गर्दा पनि कतिपय ग्राहक आउँदैनन्,' उनले भने, 'यसले गर्दा मैले बैंकको ब्याज तिरिरहनुपर्ने अवस्था आयो । पूरा भुक्तानी गरे पनि लालपुर्जा लिन समयमै नआउँदा केही ग्राहकको अपार्टमेन्टको धितो फुकुवा नभएको स्वीकार गर्दै उनी यस्ता ग्राहकको संख्या निकै कम रहेको बताए । 'पूरा पैसा नतिरी अपार्टमेन्टमा बस्नेले रकम भुक्तानी गरेमा सबैको धितो फुकुवा गर्न सकिन्छ,' उनले भने ।
Read Full Discussion Thread for this article