Posted by: caliber19 December 7, 2012
मुनिया, माधुरी र मिना कुमारी (कथा)
Login in to Rate this Post:     1       ?         Liked by
 मुनिया, माधुरी र मिना कुमारी (कथा) भाग २ 
 
 
 
मसिनो स्वरमा उस्ले भनी "मुनिया" ।
 
 
एs, अनी सांच्चैको नाम के नी ? यो त घरको नाम पो होलात हैन ? 
मुनिया हो साहब, त स्कुलमा पनि एही छ । 
कजरीले आफै प्रष्ट्याइन् । मलाई त्यो नाम तेत्ती उचित लागेन, ठाडै मधेश झल्काउने नाम जस्तो लाग्यो । आफ्नो जातिय पहिचान र प्रदेश प्रती गर्व हुनु पक्कै पनि निकै स्वाभिमान र स्वतन्त्रताको कुरो हो तर हाम्रा कथित् नेता भनाउंदाहरुले तेस्लाई आफ्नै दुनो सोझ्याउने हेतुले मात्र परीभाषित गर्न थालेकाथिए । सोझासाझा जनताहरुलाई फगत मिठा सपना बांड्दै र दिग्भ्रमित पार्दै, तं पहाडे - म मधिशे भन्दै देशमा जुन विकृती, विखण्डन र विध्वंशको भल्खाडाहरु खनिरहेका थिए; मेरो आपत्ति तेस्मा मात्रै हो । आफ्नो खुशीको लागि अरुको गला रेट्नु जरुरी छैन र जात-लिंग-प्रदेश, देश भन्दा ठुलो हैन भन्ने मान्यता मात्रै हो । 
मलाई त तपाईंकी छोरीको नाम मन परेन है ! एस्ती राम्री हिरुनी जस्ती छोरीको नाम के राख्नु भाको ? 
मैले एसो गम खाएं, 'म' बाट सुरुहुने ५-६ वटा अभिनेत्रिका नामहरु दिमागमा दौडिए, एक ठाउंमा गएर ब्रेक लाग्यो । 
ल, एस्को नाम मैले माधुरी राखिदिएं है ! आज देखी म एस्लाई माधुरी नै भन्छु । 
माधुरिलाई आफ्नो न्वारन मन परेर हो कि अमन परेर हो, एक फांको चाउचाउ मुखमा हाल्दै बाहिर दौडी, कजरी केहीबेर उतै हेरीरहिन् । 
कतिमा पढ्छे ? 
५ कलास । 
ल, धन्यवाद तपाईंलाई । छोरीलाई पढाएर साह्रै राम्रो काम गर्नु भएकोरहेछ । 
आज्तक ठीक थियो साहब तर गाउंमा आगे ठुलो कलास छैन, त अर्को गाउंमा त के छ फिस मागिहाल्छ । ऊन्ले बह पोखिन् । 
किन ? तपाईंका श्रीमानले काम गर्नुहुन्न र ? 
हाम्रो आदमी छैन । ऊन्ले माथिल्लो ओठ टोक्दै पिडाहरु लुकाउने प्रयास गर्दैथिन् तर आंखाहरु रसाउंदै थिए । 
 
 
सर्लाहीको पिपरिया गाविसमा जन्मेकी हुन् रे कजरी । दलित, गरीब र छोरीमान्छे हुनुको हेपाइ तथा हण्डरहरु बाहिर हरेक पाइलैपिच्छे भोग्नु परे पनि आफ्नो आंगनमा भने घरपरिवारकी प्यारी नै थिन्; ४ दाजुहरु पछीकी कान्छी छोरी भएकोले । स्कुल र अक्षरको नाकमुखै देख्न पाइनन् तेसैले अहिले छोरीलाई जस्तै दु:ख-जिलो गरेर भएनी पढाउने रहर पालेकीछिन् । ९ वर्षमै बिहे भयो ऊन्को, बिहेको मत्लवनि था नभा बेला, ठुलाले जसो गर भने तेसै गरिछन् । अन्योल्मै बिदा भएर आधिबाटो कटेपछी मात्र घर जान्छु भनेर रुन सुरु गरिछन्, एक नातेदारले केही मिठाइ खान दिएर फकाउंदै ल्याएछन्; एस्तो मिठाइ र गुडीयाहरु त ऊता कत्ती धेरै छ भन्दै । 
 
 
सशुरालमा २ अविवाहित अमाजुहरु, ५ जनाको विहे भैसक्या, ऊन्का श्रीमान कान्छा नै परेछन् र एक्ला सुपुत्र पनि । ति २ कन्याको पनि साइत जुरेपछी साशु-सशुराले अब केही माया देखाउन थाले । दिनहरु ठिकै बित्दैथिए तर भाविले ऊन्को निधारमा सुख कहाँ लेखेको थियो र ? १४ वर्ष पुग्दा-नपुग्दै माधुरीलाई जन्म दिएपछी, बच्ची काखमा छंदै श्रीमानको स्वर्गवास भयो । गोमन सर्पको डसाइले ऊन्को मृत्‍यु भएको थियो तर सशुरालिहरुले गलहत्याउंदै निकालिदिए - १४ वर्षकी विदुवाइ बोक्सी र २ महिनाकी अलच्छिनी बाउ टोकुवाइलाई । मानिस बलेको आगो न ताप्छ, समाज र माइतिले पनि के हेर्थ्यो ति दुई निरिह प्राणीलाई; हो मा हो मिलाएर काटेको घाउमा नुनचुक छर्दै सबैले तिरस्कार गरिदिए । बच्ची काखमा नभाकिभए कतै गएर झुन्निने मन थियो रे तर चाहेर पनि मर्न सकिनन् । तेस्पछी ऊस्कै मायाको एकमात्र साहारा र आफ्नो एक्लो हाड्छाला लिएर ऊत्रिन् ऊनी जिन्दगीको रणभुमिमा । कोही नहुनेको दैव हुन्छ रे, ऊनिमा पनि बिस्तारै शाहस, शक्ती र जुझारुपना आउनथाल्यो । तर म ऊन्लाई एतिसानो दायरामा बयान गर्न चाहन्न, म ऊन्लाई योद्धाको रुपमा बयान गर्न चाहन्छु; तर एक पटकमा एउटा दुश्मन मार्ने सामान्य सिपाही होइन, युद्धको दिशा नै बदल्ने क्षमता राख्ने - एक महान योद्धाको रुपमा । किनकी, ऊनी निहत्था लडिरहेकीछिन्  सिंगो समाजसँग, यहाँको कुरिती र बेथितिसँग, बैरी र बिसंगतिसँग, अनी केवल बांच्नुसँग मात्र हैन बचाउनुसँग । 
 
 
ऊन्को अनेक नाइनाश्तीका बाबजुद पनि आखिर मैले ऊन्लाई भान्से बनाइ छाडें । सांझ-विहानको खाना पनि एतै खाव भनेको थिएं, सुत्न ऊनिहरु खोलापरी सुकुम्बासी टोलको आफ्नै झुप्रोमा जान्थे । दिउंशो म आफ्नै काममा गाउंघर चाहर्दै हिंड्थे, ऊनी कहिलेकाहीं आएर सरसफाइ गर्ने र बेडबिस्तरा मिलाइदिने गर्थिन् । तेतिसम्म त ठिकै हो भनेर चाल मारेकोथें, एकदिन त बाल्टिमा भिजाइराखेको जम्मै कपडा धोइदिछन्, बेलुका आएर झपारेपछी तेसो गर्न छोडिन् । म बजार पुगेको बेला केही खानेकुरा र बालकथाका पुस्तकहरु ल्याइदिन्थें, माधुरी रुचिका साथ पढ्थी । 
भएन, तपाईंको नाम पनि फेर्नु पर्‍यो अब । एक विहान चिया खांदै गर्दा मैले सुनाएं । 
के भएछ र साहब ? हजुरलाई थाहा छ के हाम्रो नामको मतलब ? 
कजरी भनेको एक किसिमको गीत हो क्यारे, हैन ? 
अरे, कसरी जानिलिनुभएछ ! त के राम्रो छैन त हाम्रो नाम ? 
राम्रै छ तर हिंजो एकजनाले भईंसी कुट्दै गरेको देखें कि, त्यो भईंसीको नाम नि कजरी रे ! तेइ भएर मन परेन मलाई त । 
के भन्नु भएछ, भैंसको नाम पनि कजरी हुन्छ ? मुखसम्म पुर्याइ सकेको गिलास रोक्दै ऊन्ले आश्चर्य पोखिन् । 
अब तेही नाम रहेछ त । तेसैले तपाईंको नाम अब मिना कुमारी राखिदिने सोच्याछु मैले । छोरीसँग मिल्छ पनि, भईंसिको नामनी हुन्न । 
माधुरीको न्वारन गरिदिंदा यो नाम 2nd option मा थियो । 
हजुरले भनेर हुन्छ के ? हामीलाई कजरी नै राम्रो लागेछ । 
जे सुकै लागोस्, म त मिना कुमारी नै भन्छु । ल त, मिना कुमारी खाना बनाउंदै गर्नुस्, मेरो तल गाउंमा अलिकती काम छ । 
साहब पनि ! 
 
 
मेरो काम सोचे भन्दा चांडो सक्किंदैथ्यो, १-२ दिन बिराएर सुधासँग कुरा पनि भैरन्थ्यो । "मलाई के ल्याइदिसिन्छ ?" एकबाजी ऊस्ले सोधेकिथी, "के ल्याइदिम् त तंलाई, यहाँ त्यस्तो स्पेशल त मैले केही भेट्याछैन !" भनेर म एसो सोच्दैथें, करीब-करीब मेरै अड्कलको माग राखी ऊस्ले, "मलाई त त्यहांको जम्मै मन्दिरहरुको प्रशादी चाहिन्छ ।" पुजापाठ प्रती आस्था नै छ ऊस्को । मेरो काम सक्किने बेलातिर एतै आइज घुमघाम गरेर सँगै फर्किम्ला भनेको मानिन । 
 
 
ओए माधुरी, तंलाई त खुबै पढ्न मन लाग्ने रैछ है ? एक सांझ भात खांदै गर्दा मैले सोधें । मतिर हेर्दै नहेरी, किताबमै आंखा दौडाउंदै ऊस्ले 'अं' भन्ने पारामा टाउको हल्लाइ । 
काठमाण्डु जान्छेस् त ? तंलाई अंग्रेजी स्कुलमा भर्ना गर्दिम्ला । 
म एक्लै ? बल्ल ऊस्ले आश्चर्यमा मलाई हेरी तर एकैछिनमा बिस्मातका रेखाहरु पनि ऊस्क्को मुहारमा कोरिए । 
कां एक्लै, तेरी आमा मिना कुमारीलाई पनि लिएर जाने नि, सानोतिनो काम लगाइदिउंला । जाने होइन त ? अब मैले ऊन्लाई प्रश्न गरें । 
के मजाक गर्नुभएछ साहब पनि !
सांच्चै भनेको । यहाँ तपाईंको को छ र बस्नुहुन्छ ? कमसेकम ऊता एस्ले पढ्न पाउंछे । 
 
 
आज-भोली गर्दागर्दै आखिर फर्किने दिन पनि आयो, मिना कुमारी पनि राजी भाकिथिन् आउन । मैले पनि आफ्नो बचन पुरा गर्दै; बौद्ध जाने बाटोमा ऊन्लाई एउटा किराना पसल थापिदिएं, माधुरीलाई चाबेलको स्कुलमा एड्मिशन गराइदिएं र बस्नकोलागी मित्रपार्क पछाडितिर २ कोठा पनि लिइदिएं । बेला-मौकामा म भेट्न गैरहन्थें, दङ्ग थिए ऊनिहरु । म पनि आफ्नै दुनियाँमा दङ्ग थिएं, सुधासित । ऊ पांचौ महिनामा थि, अब त पेट पनि प्रष्ट देखिन थाल्याथ्यो, अफिसको समय बाहेक अरु सबै समय अब म सुधालाई दिन थाल्याथें । सांझ-विहान अलि-अली वाकमा जान्थिम् अरुबेला त फेरी ऊस्तै वाद्बिवाद ! 
 
 
एकदिन मिटिङमै थिएं बाबाको फोन आएछ, गएर रिसिभ गरें, प्रशुती गृह बोलाउनुभो । हत्तारिंदै पुगें म, कोठामा छिर्नासाथ सुधा डाको नै छाडेर रुन थाली, तेहीं बेडमा बस्नुभाको आमा पनि भक्कानिनुभो, बाबा ठिङ्ग ऊभिएर पिल्-पिल् गर्दै हुनुहुन्थ्यो - सुधाको miscarriage भएछ । म छांगाबाट खसेझैं भएं, आफ्नै होश हराएको थियो त्यैपनी ऊस्को सिरानतिर गएर बसें, मलाई अंगालो हाल्दै ऊ धेरै बेरसम्म हिक्क-हिक्क गर्दै रोइरही, मेरो मुखबाट सहानाभुतिका दुई शब्द पनि फुट्न सकिरहेका थिएनन् । केही समयमै ऊस्को मुवाहरु पनि आइपुग्नुफो, सबैको तेही हालत थियो, मेरो मुटुमात्रै ढुंगाको काहां थियो र ? ठेस् लाग्दा सबैलाई दुख्छ, पिडा हुंदा सबैको मन रुन्छ; आफ्ना वेदनालाई छातीभित्रै कतिसम्म बांधी राख्न सकिन्छ, आफ्ना आंशुलाई परेलिभित्रै कतिसम्म सांची राख्न सकिन्छ - फरक तेत्ती न हो । 
 
 
सतीले सरापेको देश भन्थे, आज हो झैं लाग्यो । हामीले कस्को के बिराएका थियौं र आज एत्रो सजाय हामीलाई ? अरुलाई लुट्दै र मार्दै हिंड्ने पनि त छन् नि, हामी आफ्नै पौरख र दु:ख-सुखले घरआंगन सिंगार्न खोज्नेको संसारै उजाडिदिने; यो कस्तो न्याय हो दैवको ? म आफ्नो मन जसोतसो दरो पारुंला तर कसरी सहली त्यो बिचरीले । शरीरको बाहिर कुनै घाऊ लागेकोभए आज रुंदिहो, भोली त निको हुंदोहो तर आत्मामा लागेको घाऊ बोकेर जीवनभर रुनुछ ऊस्लाई । 
 
 
म संधै भनी रहन्थें १-२ महिनाको लागि कतै घुम्न जाउं भनेर तर ऊस्ले मानिन । मेरो सामु सामान्य हुने प्रयास गरेपनि एक्लै हुंदा टोलाई रहन्थी, म बुझ्थें ऊस्लाई ठुलो मानसिक आघात पुगेको थियो जुन चुट्की बजाएर वा छडी घुमाएर निको हुने कुरा होइन । अहिले ऊस्लाई यदी सबै भन्दा बडी केही कुराको आवश्यक्ता थियो भने त्यो मेरै साथ, मेरै हात र मेरै हौसला थियो । ऊस्को जीवनमा अब साहाराको बिउ रोपेर आशाका बिरुवाहरु उमार्ने र खुशीका फुलहरु फुलाउने कर्तब्य मेरै थियो । 
 
 
भाउजुलाई कस्तो छ ? खबर गर्नु पर्दैन ? ऐले फुच्चीहरुले फोन गरे पछी पो बल्ल था भो । 
अगाडि सामुन्ने उभिएपछी मात्रै गुरुलाई देखें, म आफ्नै शुरमा चुरोट फुकिरहेको रैछु, मुख बिगार्दै 'ठीक छैन' भन्ने पारामा टाउको हल्लाएं । 
के भन्छन् डक्टरहरु ? मसंगै भुइंमा बस्यो ऊ पनि । 
VBAC गर्दैछन् । 
oh god ! तर धन्दा नमान् यार सब ठीक हुन्छ । मेरो ढाडमा प्याट-प्याट धाप दिंदै भन्यो । 
critical छ रे । 
अरे छोड्न यार, यि यो चुरोट खानु पनि critical मा हुनु हो । केइ हुन्न भाउजुलाई she is a fighter and you know that.   
गुरुले प्रशंगलाई अन्तै मोड्न खोज्यो तरपनि हामीबिच खास्सै कुरा भएन, २ जना धुम्धुम्ती बसीरहिम् चुपचाप, बेलाबेला चुरोट फुक्दै । 
 
 
विहानको ४ जती बजेको हुंदो हो, डा. ले फेरी बोलाए क्याबिनमा, एस्पाली गुरु पनि छिर्यो मसंगै । 
कस्तो छ डक्टर ऊस्लाई ? मैले छिर्नु र सोध्नु एकैसाथ गरें । गुरु एउटा कुर्सिमा बस्यो मलाई अर्कोमा बसायो । 
माफ गर्नुहोला, bad news छ । हामीले तपाईंको सन्तानलाई बचाउन सकेनौं र तपाईंकी मिसेसको uterus पनि फाल्नुपर्‍यो । 
अनी सुधा ? मेरो जिउभरी झनन्न कस्तो-कस्तो भो । 
वहाँलाई अंझै होश आइसकेको छैन, होश आए पछी___
म बर्लङ्ग कुर्सीबाट पछारिएछु ... 
 
 
टाउकोमा कता के दुखे जस्तो भो, निधार भन्दा अलिक माथि देब्रेतिर ब्यान्डेज गरेको रैछ । एसो चारैतिर आंखा घुमाएं, हस्पिटलको बेडमा त म पो सुतिरहेको छु, मन झसङ्ग भो, हं ! सुधालाई के भो ? हातको सलाइन थुतेर बेडबाट झर्दै गर्दा एक नर्स दौडंदै आइपुगिन् । 
प्लिज-प्लिज्ज, तपाईं एकछिन पल्टिरनुस् । 
हैन म .. म .. म ऊता जानु पर्ने छ, ऊता .. ऊता जानु पर्ने छ, मेरो .. 
प्लिज एक मिनेट पल्टनुस् त । ऊन्ले मलाई बेडमा ढल्काइन् अनी मेरो दाइने हातमा अड्किराको निडल मिलाएर तानिदीइन् । एकछिनमा कता बाट हो, गुरु आइपुग्यो । 
सुधालाई कस्तो छ ? बेचैनीमा लर्बराउंदै सोधें । 
भाउजु बिल्कुल ठीक हुनुहुन्छ, चिन्ता नली' । 
सिस्टर म जाउं है । म बेडबाट उठीहालें, ऊन्को अनुमतिको मलाई वास्तै थिएन । 
तर आएर एकपटक डक्टरलाई भेट्नुस् है । 
 
 
हिम्मतले काम ले गुरु, हेर् तं नै टुटिस् भने भाउजुको झन् के हाल हुन्छ सोच्त । गुरु बाटोमा सम्झाउंदै थियो । 
म लामो-लामो पाइला चाल्दै कोठाभित्र छिरें, सबै जना तेहीं रहेछन् । सुधाले पुलुक्क हेरी र हेरिरही । 
ल - ल भाउजुलाई धेरै भिड नगरिदिनुस्, सबैजना केही समय बाहिर गैदिनुस् । गुरुले सबैलाई बाहिर निकाल्यो तर सुज्याना मान्दै मानिन्, तेहीं एउटा कुनामा ऊभिएर सुंक्क-सुंक्क गरिरही । म गएर सुधाको बेडमा बसें, ऊस्ले मेरो दुबै हात आफ्नो हातमा लिई र टुलुटुलु मलाई हेर्दै चुपचाप बलिन्द्र आंशुका धारा बगाउन थाली, आज मैले पनि आफुलाई थाम्न सकिन, मेरा पिडाहरु पनि कहिले दायां हातमा कहिले बेडसिटमा तप्प-तप्प चुहिन थाले, आज केही भन्ने र छाती पिटी-पिटी रुने सामर्थ्य पनि बांकी रहेको थिएन । धेरै पछी सुधाले ताकत बटुलिछ "म किन मर्न सकिन" भनी र अर्कोपट्टी मुख फर्काएर बिलौना गर्दै रुन थाली । म अंझै पनि सुधाको दुबै हात थामेर उंधोमुन्टो लाइरहेको थिएं, सुज्याना पनि रुंदै पछाडिबाट गम्ल्याङ्ग अंगालो हाल्न आइपुगी । 
 
 
दु:ख सायद एस्ले पनि मैले भन्दा कम देखेकी र कम बुझेकी त काहाँ हो र भन्ने लाग्यो । बिचरीले अभाव र गरीबीमा नै बाल्यकाल बिताइ, अलिकती सुखका दिन फिर्नै लाग्दा भाग्यले फेरी अर्को किला ठोकिदियो मुटुमा, आमालाई नि गुमाइ । भर्खरै ७ कक्षामा पढ्दै गरेकी बच्चीको अरु कोही साहारा थिएन, हामीले नै आफ्नो घर र छातीमा आश्रय दियौं । एकदिन उतैको स्थानिय स्कुलमा एड्मिशन गर्ने क्रममा प्रिन्सिपल सरले सोधेकाथिए, नाम के होनि नानुको ? ऊस्ले केही बोलिन, खाली मलाई हेरिरही । ऊस्को त्यो अवोध हेराइ र मायालाग्दो अनुहारले ममा एक भिन्दै भाव तरंगित गरिदियो । 
"सुज्याना"  । मैले फ्याट्ट भनिदिएं, दुईबाजी नसोचिकनै; खै ! किन हो ? त्यो बेला मलाई 'माधुरी' नाम पनि उचित लागेन ऊस्कालागी । 
'सुधा' र  मेरी आमाको नाम 'जानकी' लाई मिलाएर हामीले त्यो नाम तयार पारेका थियौं, आफ्नो पहिलो सन्तानको लागी । 
 
 
घर आइपुगेकोथ्यो, मैले गाडी पार्क गरें । सुधा र सुज्याना अघी हेरेको सिनेमाकै कुरा गर्दै बाहिर निक्लिए - म एकछिन भित्रै बसेर ऊनिहरु घरतिर जांदै गरेको हेरिरहें । 
अश्तु । 
 
 
Read Full Discussion Thread for this article