Posted by: juction4love November 21, 2012
नेपाली पण्डीतका बीहेका कुरा
Login in to Rate this Post:     0       ?        
 धर्मशास्त्रका विद्वानहरुका अनुसार गाउँठाउँमा न्यायाधीशको रुपमा काम गर्ने पण्डित, पुरोहितहरुले विवाहको लगन र समयलाई लत्याउन थालेका छन् । ‘हामीले ग्रह, नक्षत्र र शास्त्रका धेरै कुराहरुको हिसाब गरेर विवाहको लगन निकालेका हुन्छौं’ नेपाल पञ्चांग निणर्ायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो-’तर कसैको आग्रहमा पुरोहितहरुले मनलाग्दी रुपमा जथाभावी लगन निकालेर विवाह गर्ने प्रवृत्ति बढेको छ ।’ उहाँका अनुसार यस्ता पुरोहित, पण्डितहरुले धर्मशास्त्र र विधान विपरीत काम गरेका छन् । ‘शास्त्र र विधानले हुँदैन भनेको कुरालाई त मान्नुपर्यो नि’ ढुंगेलले भन्नुभयो-’पण्डितहरुकै कारण विवाहको संस्कार, परम्परा र मान्यता खलबलिन पुगेको छ ।’

हतारमा विवाह गर्नुपर्यो पुरोहितसँग सल्लाह गरेर लगन नभएको बेलामा पनि साइत जुराउने चलन हिजोआज हृवात्तै बढेको छ । विवाहको लागि निशेध गरिएको कात्तिक र चैतमा समेत हिजोआज विवाह हुन्छ । मायाप्रेम, विदेश जाने हतारो या अरु कुनै कारणले केटाकेटी तथा अभिभावकले गाउँठाउँका पण्डितसँग विवाहको बारेमा सल्लाह गर्छन् । लौ लगन भन्दा पहिल्यै या त्यो भन्दा पछि गर्नुपर्यो भनेर दबाब दिन्छन् । पुरोहितहरुले पनि यसो पात्रो पल्टाएजसो गर्छन् । लौ न त यो दिन मिल्ने रहेछ भनेर तर्क गर्छन् । अनि लगन नभएको दिन पनि विवाह हुन्छ । यो परिपाटी विस्तारै बढ्दै जाँदा हिजोआज विवाहको लागि लगन पर्खनेहरुको संख्या घट्दै गएको छ ।

यसरी निकालिन्छ लगन

धर्म गुरुहरुका अनुसार मंसिर, माघ, फागुन, बैशाख, जेठ र असार मात्र विवाहको लागि उचित महिना हो । यी महिनामा पनि सबै दिन विवाह गर्न सकिन्न । ग्रह, नक्षत्र र धर्मशास्त्रका अरु धेरै हिसाब गर्नुपर्छ । ‘२७ वटा नक्षत्र मध्ये ११ वटामा मात्र विवाह गर्न हुन्छ’ ढुंगेलले भन्नुभयो-’यस्ता धेरै हिसाब गरेर लगन निकाल्न हामीहरुलाई झण्डै १५ दिन मेहनत गर्नुपर्छ ।’

उहाँका अनुसार पात्रो निकाल्ने बेला नेपाल पञ्चांग निणर्यक समितिका सदस्य र पात्रो तयार पार्ने अरु पण्डितहरुले छुट्टाछुट्टै बसेर आआफ्नो ढंगले लगन हिसाब गर्छन् । यसरी हिसाब गरेर लगन निकाल्न एकजनालाई झण्डै दुई दिन लाग्छ । १० जनाले छुट्टाछुट्टै बसेर तयार पारेको लगनलाई एक ठाउँमा राखेर हेरिन्छ । सबैकोमा सबै लगन मिलेको छ भने उतिखेरै पारित हुन्छ । तर छुट्टाछुट्टै भयो भने फेरि सामुहिक बसेर साझा दिनको टुंगो लगाइन्छ । यसरी छुट्टाछुट्टै र सामुहिक रुपमा बसेर तयार भएको लगन पारित गरेर पात्रोमा लेख्ने काम हुन्छ ।

‘यसरी हामीले धेरै मेहनत र आपसी छलफल गरेर लगन निकालेका हुन्छौं, तर यसको उल्लंघन गर्ने काम भैरहेको छ’ ढुंगेलले भन्नुभयो । शास्त्रले दिउँसो १२ बजेदेखि साँझसम्म विवाह गर्न हुँदैन भनेको छ । तर हिजोआज यही समयमा बढी विवाह हुन्छ । ‘जन्ती ढिलो पुगेको, नभ्याएको भनेर लगनको दिन पनि समयको ख्याल गरिएको हुँदैन’ ढुंगेलले भन्नुभयो-’लगनमा, त्यो पनि समयमै विवाह गर्नेहरु निकै नगण्य मात्रै छन् ।’

जथाभावी गर्दाको असर

धर्मगुरुहरुका अनुसार लगन र समयको ख्याल नगरी विवाह गर्दा दम्पत्ती, घरपरिवार र समाजमा नकारात्मक असर परिरहेको छ । तर यसमा कसैले ख्याल गरेको हुँदैन । ‘विवाह हुने बित्तिकै कसैको मृत्यु भयो या छिटै सम्बन्ध विच्छेद भयो भने मात्र मान्छे झल्याँस्स हुन्छन्, तर कालान्तरमा हुने असरको चाहिँ ख्याल गर्दैनन्’ पञ्चांग निणर्ायक समितिका सदस्य सचिव ढुंगेलले भन्नुभयो । उहाँका अनुसार दम्पत्तीबीच मनमुटाब, पारिवारिक कलह, सन्तान प्राप्तीमा दोष, स्वास्थ्यमा समस्या लगायतका असरहरु बढ्दै गएका छन् । ‘विवाह जस्तो महत्वपूर्ण कुरामा अरु विषयजस्तै लगन र समयको महत्व निकै छ भन्ने कुरा बुझ्न जरुरी छ’ ढुंगेलले भन्नुभयो ।

Read Full Discussion Thread for this article