Posted by: timi_mero_sathi October 26, 2012
फुट नोट्स--कुमार नगरकोटी
Login in to Rate this Post:     1       ?         Liked by
 

फुट नोट्स


।। आमा।।

कुमार नगरकोटी


म गुरुङसेनी हुँ। घले गुरुङसेनी।

बाउले मेरो नाम राखिदियाथ्यो- सरिता गुरुङ। मेरो माइती देश गोरखा हो। राजा पृथिवी नारान पनि गोरखाको थियो क्यारे ! जान्दिनँ। बुझ्दिनँ। भए पनि क्यारम् त ! राजा-रजौटाहरूले मेरो जुनी फेरिदिएनन् क्यारे ! भावीको लेखा, दैवको खेला अनुठो हुँदो रेछ। 

गाउँको माटोमा खेलीबढी हुर्कें। भीरपाखामा, पँधेराउँधी सुसेली गाउँदै तरुनी भएँ। गाईबस्तुलाई घाँसपात गर्दै हलक्क बढेँ। खोलाको चिसो पानीले आँतलाई सिँचाएँ। बाउले इस्कुल पठाएन। भेडी-गोठ जा भन्यो। किन जान्थेँ म, बिनसित्तैँ भेडाहरूसित भेडीगोठ ? बरू रोदीघरतिर गीत गाउँदै हिँडेँ। 

एक दिन गाउँको प्रहरी चौकीमा एउटा हल्दार आयो। दुब्लो पातलो। त्यो मुन्छे मलाई भेडाजस्तो लागेन। त्यो हल्दारले के जादुटोना गर्‍यो कोनि ! मेरी बास्सै ऽऽऽ म त त्यो जुँगे हल्दारको पिरेममा भुतुक्कै भएँ। 

गामठाममा आफ्नै सोल्टीहरू थे। केटाहरू थे। हट्टाकट्टा, सुङ्गुरको ज्यान भा'का पट्ठा। तर, तिनार्को मारुनी-नाचले मलाई लोभ्याएन। रोदीघरका ती अल्लारे भेडाहरूलाई, सोल्टीहरूलाई लोप्पा ख्वाइदिएँ। ती भेडाहरूसित क्यान मायापिर्ती लाउने नाइँ ! मेरो मन त जुँगे हल्दारले चोर्‍यो। 

त्यो हल्दार गोडा एक दिन हाम्रो घरमा आयो। दैलोछेवै आँगनमा बस्यो। घरमा बाउ थिएन। आमा थिएन। दाजैहरू थिएन। म मात्तै थिएँ। बाउ भन्थ्यो, बेलुकाका पाउनाहरू देउताका मुन्छे हुन्। दैवको मुन्छेलाई के रुवाउने ? 

घ्याम्पाबाट जाँड झिकेर एक बटुको त्यसलाई दिएँ। घुटुघुटु खायो। बरालाई कस्तो तिर्खा लाग्या रै'छ। अर्को जाँड थपिदिएँ। घुटुघुटु खायो। जुँगामा अल्झ्याको जाँड पुछ्दै हल्दारले भन्यो : "मैयाँ ! ब्या गर्ने हो मसित ?" 

आम्मुइ ! कस्तो ज्याद्रो मुन्छे रे'छ ! ब्या गर्छु पो भन्छ ! मोराले अर्को जाँड खाएपछि त झन् क्या पो भन्ने होला ? क्यार्ने ! मै मोरीलाई सरम भयो। लजाम्नु परेन त ! 

पछि बाटोघाटोमा मलाई मोराले पछ्याउन थाल्यो। आँखा सन्काउन थाल्यो। गोठाल्नी जाँदा हिन्दी गीत गाउँदै फकाउन थाल्यो। हाम्रो घराँ थुप्रै आरुका बोट थिए। मेरो पोल्टामा सँधै गोडा दसेक आरु हुन्थ्यो। आरुले त्यल्लाई हिर्काउँथँे। मोराले आरु त भुइँबाट टिपीकन खान पो थाल्थ्यो। त्यो लुरे हल्दारको त्यस्तो आँट ! 

साँच्चै आँटिलो थियो, त्यो मुन्छे। एक दिन त्यल्ले मेरो बाउसित भन्यो, "तिम्रो छोरी मलाई देऊ बूढा। ब्या गर्छु। पाल्छु। देश घुमाउँछु।"

बाउ काँ मान्थ्यो नाइँ ! परदेशीको के भर ! आज याँ/भोलि कुन्नि काँ ! बाउले भन्यो, "तिमी नेवारलाई छोरी दिन्नँ। परदेशीको के भरोसा ?"

"छोरीलाई बूढीकन्ने राख्ने कसम खा छौ कि बूढा !" परदेशीले बाउलाई भन्यो, "तिम्री छोरीलाई बहुत खुसीमा राख्छु।"

त्यो हल्दारले भनेको सुख कस्तो थियो ? कल्पेँ। पानीघट्टभन्दा पर नगाकी मलाई परदेशीले कुन देश डुलाउला ! म बूढीकन्ने किन बस्ने? अहँऽऽऽ नबस्ने। माइतीघरमा बिनसित्तैँ किन बस्ने ? अहँऽऽऽ अब नबस्ने। म त त्यो परदेशी मुन्छेसित देश घुम्न जाने। 

बाउलाई असला माछा खुप मन पथ्र्यो। यो असल मुन्छे चैँ किन बाउले मन नपरा होला ? अलिअलि जाँड पनि खाने बानी रेछ। चुरट, बिँडी पनि खाने रे'छ। तब के ? बाउ पनि त खान्छ नि ! मर्दले खाइहाल्छन् केको लन्ठा ! 

बाउले छोरी दिने भएनन्। हल्दारले जुँगा मिलाउँदै बाउलाई भनेको हिजै जस्तो लाग्छ, "तिम्रो छोरीलाई ब्या गर्ने यो ज्यानले आँटिसक्या छ, हेर बूढा ! खाने मुखलाई जुँगाले छेक्दैन।"

जुँगा पाल्ने मुन्छेले त्यसो भनेको काइदाको हुँदो रे'छ। बाउको जुँगा थिएन। मर्दसित जुँगा नहुनु बेफाइदाको हुँदो रे'छ। जुँगा नभएकाले बाउलाई घाटा लाग्ने भयो। किनभने, उसको छोरी जुँगेसित पोइला जाने भई। 

परदेशीको सरुवा भयो। जुनेली रातमा म त्यो हल्दारसित भागेँ। मैले माइती देश छाडेँ। बालापन भेडीगोठ, पानीघट्टतिर कतै छुटे। बाउ, आमै र दाजैहरूलाई मनमनै टाटा गरेँ। र, यौटा परदेशीको पछि लागँे। म गुरुङसेनी। यौटा नेवार मुन्छेको भाग्यसित दैवसन्जोगले जोडिएँ।

अब त बूढी भइगएँ। नातिनातिनाको दन्तेकथाको बज्यैजस्तो भइगएँ। 

परदेशीले आफ्नो भाका राखेकै हो। उसैको पछि लागेर नेपाल डुलेँ। कहिले काँ/कहिले काँ। मुन्छेको जुनी भन्याको यौटा यात्रा रे'छ। पुर्नेको रातमा गोरखा छाडेको मैले त्यसपछि आजसम्म माइती-देश जाने साइत जुराउन सकिनँ। नयाँ बेउली भा'थँे। खुसी थिएँ। सुख-दुःख जे-जे पो पर्ला ! बूढासितै बेहोरुँला नाइँ ! पक्कै पनि आफ्नी दुलहीलाई नमार्ला, नकाट्ला ! आफ्नी जोईलाई नरुवाउला। 

मेरो पैलो छोरा मरी गएपछि जन्मेको हो, कुमार। ढोरपाटनको हिउँमुनि पैलो छोरोलाई गाउँलेहरूले पुरिदिएका थिए। भावीले छैटीमा मेरो निधारमा यस्तै लेखिदिया रे'छ। तर, पैलो छोराको निधारमा भावीले क्यान केही लेखिदिएन ? भावीसित लेख्ने कलम, डटपेन, फुल्टिन पेन थिएन कि ! कलमको मसी पो सिद्धिया'थ्यो कि ! मेरो पैलो छोरा नाबालखमै मर्‍यो। मेरो काख रिित्तयो। मेरो कोख सिद्धियो। 

कुमार राजाको गाउँमा जन्म्या हो। महाराजगन्जको यौटा ज्यापूको घराँ। राजाको गाउँमा यौटा कुरो निको लाग्थ्यो मलाई। त्यहाँ सिनिमा-दुकानहरू हुँदा रे'छन्। हल्दारले मलाई जैनेपालको सिनिमा दुकानमा थुप्रै फिलिमहरू देखायो। 

यौटा फिलिम हेर्दा मलाई बेथाले च्याप्यो। बूढाले ट्याक्सीमा डेरा ल्यायो। रातभर बेथाले रुवाएपछि ज्यापूको डेराको छिँडीमा ब्यान मैले कुमारलाई जन्माको हुँ। चिहाँचिहाँ गर्दै जन्म्यो। राती भोड्का खाई सुतेको बूढालाई चिहाँचिहाँले जगायो। आँखा मिच्दै त्यसले भन्यो, "बजियाले चिहाँऽऽऽ चिहाँऽऽऽ त गर्‍यो सीधै। तर, सीधै चिहान जान्छु भनेको त होइन होला। कि कसो मैयाँ ?"

"टेरो डिमाख, मरु ?" घरबेटी माले बूढालाई गाली गरी। 

मलाई ढोरपाटन याद आयो। हिउँमुनिको पुरएिको बालकथा सम्झेँ। चिहान सम्झेँ। गह भरेर आयो। मैले अठोट गरेँ, यो नयाँ छोरालाई चिहान, घाटको बाटो देखाउँदिनँ। यसलाई राम्रोसित पढाएर ज्ञानी, गुनी मुन्छे बनाउँछु...।

काले ज्ञानी, गुनी मुन्छे बन्ला भनेको त ज्याद्रो चकचके भएर निस्क्यो। बच्चामा कुमार कालै थियो। हाफ कट्टु लगाएर कताकता दौडिरहन्थ्यो। जोडले चिच्याएर बोलाउनुपथ्र्यो, "ए काले भात खान आइज।" अहिले पनि कालै छ। त्यसको दाह्री-जुँगा सेतो फुल्न थालेछ। त्यसको बच्चाको नाम नवराज थियो। नव घटेर पछि राजकुमार भयो। पछि राज हटेर कुमार मात्तै भयो। कुमार श्रेष्ठ। पछि श्रेष्ठ पनि हट्यो र कुमार नगरकोटी भइगयो। 

त्यसलाई हुर्काउन कम्ता गाह्रो भएन ! डोकोमा थुनेर राख्नुपथ्र्यो। डोकालाई याँमानको ढुंगाले थिचेर। बूढाको सरुवा भैरन्थ्यो। सरुवा रोग लागेको मुन्छे पो थियो कि नाइँ ! गुल्मी, तम्घास, रडिीतिर काले बामे सर्दै अनि टुकुटुकु हिँड्न पो थाल्यो। दौडन थाल्यो। बाउको भोड्काको सिसी फुटाउन थाल्यो। डोल्पामा चौरी गाईसित कुस्ती खेल्यो। टाउकोमा गोडा पाँचेक टाँका लाउनु परो। त्यो खत कालेको 'खप्पर'मा अझै होला। 

डोल्पाको हिउँमा काले दोचा र बख्खु लगाई ठमठम हिँड्थ्यो। भोटेको बच्चोजस्तो पो देखिन्थ्यो। पैँतीस सालमा एउटी कमनिस्ट बैनीले कालेलाई कपुरी क लेख्न सिकाइदेकी हो। त्यो कुसुम बैनीलाई कुमारले बिस्र्यो कि ! अक्षर-ज्ञान दिने आफ्नी अक्षर-आमालाई बिस्र्यो कि !

हल्दारको सरुवा भइरन्थ्यो। कहिले सुर्खेत, कहिले दाङ, कहिले हुम्ला/जुम्ला। रकुम जिल्लाको चौरजहारीमा परदेशीको 'पोस्टिङ' भा बेला थियो। बूढा एयरपोर्टको हाकिम सा'ब भाथ्यो। प्रहरी इन्चार्ज। एक साँझ बूढाको बुद्धिको घैँटोमा घाम लागेछ क्यारे ! भन्न पो थाल्यो, "बूढी ! छोराको पढाइ बिग्रने भो। मेरो ठेगान भएन ! सरुवा भइरहनुपर्छ। जागिर नै यस्तो छ। मैले स्कुल पढ्न पाइनँ। तँलाई पनि कालो अक्षर भैँसी बराबरजस्तो हो। यसरी स्कुल फेर्दै हिँड्ने हो भने त बजियाको  भविष्य बर्बाद हुने भो!" 

"त्यसो भा म क्यारम् त ?" बूढालाई भनेँ। 

"कुमारलाई बोर्डिङ्मा पढाउने, बुझिस्। त्यसले मनलागी पढोस्। अंग्रेजी स्कुलमा बेपत्ता पढोस्। बढेर ठूलो मान्छे बनोस्।" बूढाले मनको गुनासो पोख्यो। 

"खुप मुनासिब कुरा गर्‍यौ बूढा," भनेँ, "रौसी खान्छौ त ? पढाउने काइदा चैँ के हो ? कहाँ हो ? चौरजहारीमा त बोर्डिङ् छैनन्।" 

परदेशीले भन्यो, "एउटा डीआईजी साथी छ। रणबहादुर चन्दसित कुरा गर्‍या छु।"

"को रणबहादुर ?" सोधेँ। 

"त्यही त क्या डीआईजी। दाङमा भर्खरै पुलिस स्कुल खोल्या छ। मेरो फुच्चे कुमारले अब त्यहीँ होस्टलमा पढ्नेछ।"

"यो होस्टल चैँ क्या हो ?" सोधेँ 

"प्रहरी ब्यारेकजस्तै हो।" बूढाले यौटा गिलास रौसी र मासु खाँदै भन्यो। 

बूढाको पैसाले काँ पुग्थ्यो र ? नाकमा लाउने फूली, बुलाकी र कानको ढुङ्ग्री बन्धकी राख्ने भएँ। मेरो छोरा बुर्डिङ्मा पढोस्, सुनको के कुरा नाइँ ! होटल चलाउने भएँ। जुठो भाँडा माझेर भए पनि मेरो कालेलाई पढाउँछु/खुप पढाउँछु भनँे। यौटा दिन चीलगाडी चढेर काले बुर्डिङ् स्कुल पढ्न गो। 

हुस्टेल हो कि ब्यारेक कुन्नि क्या हो, त्यहाँ कक्षा तीनमा पढ्ने भो। चौरजहारीबाट नेपालगन्जसम्म चीलगाडीमा। नेपालगन्जबाट दाङसम्म बसमा। लौन नि ! कसरी जाने होला, त्यस्तो परदेशमा ! बूढाले छोरालाई पनि परदेशी बनाउने भो क्यारे ! 

आमालाई कहिल्यै नछोडेको, घरबाहिर एक दिन नबिताएको काले वषार्ंैसम्म अब घरबाहिर, मेरो काखबाहिर हराउने भो। खुप रोएँ। चीलगाडी चढ्नुअघि भन्या थेँ, "बाबुऽऽऽ राम्रोसित पढेर तिमी ज्ञानी, गुनी मुन्छे बन्नुपर्छ ल !"

ज्ञानी मुन्छे त मलाई अँगालो मारेर बेस्सरी रुन पो थाल्यो। बिचरो त्यो फुच्चे कुमार नगरकोटी...।

।। बा।।

आफ्नो संस्मरण म एउटा झुसिलकीराबाट सुरु गर्छु।

...एउटा झुसिलकीरा सदा मेरो पैन्टको खल्तीमा रहन्थ्यो। त्यो कीरालाई गोजीभित्र राखी म देश/परदेश घुमिहिँड्थे। वास्तवमा, म एक परदेशी नै थिएँ। वर्षौं वर्ष नेपालका दुर्गम गामठाममा डुलुवा बनी हिँडेँ। सरुवा भइरन्थ्यो। गोजीमा एउटा झुसिलकीरा सँधै रहन्थ्यो। 

चौरजहारीमा त्यो झुसिलकीरा एउटा दिन गोजीबाट निस्क्यो। 

कस्तो अचम्म ! त्यो पुतलीले आफ्नै आकाश खोज्न रुचायो। स्वतन्त्र उडान भर्ने रुचि देखायो। अनि, उडी गयो। 

मान्छेहरू भन्छन्, गोजीका झुसिलकीरा वास्तवमा म स्वयं थिएँ। म अर्थात् रत्नबहादुर। त्यो पुतलीको नाम थियो, कुमार नगरकोटी। गाँठी कुरो के भने हरेक पिता झुसिलकीरा हो र उसको पुत्र पुतली। 

मेरो जीवन घुमन्ते परदेशीको एउटा यस्तो कथा हो, जसको कुनै स्थायी जरा छैन। आफ्नो जरा नभएको चरा थिएँ सायद म। काठमान्डूका रैथाने नेवारहरूलाई राणा प्राइम मिनिस्टरहरूले लगालग धपाउन थालेपछि मेरो पुर्खा दुई नम्बर रामेछाप बसाइँ गयो। 

जीवनमा खुबै हन्डर खाइयो। काका, दाजुहरूले स्कुल जान दिएनन्। गोठालो जाँदा भुइँमा अक्षरहरू लेख्न सिकेको हुँ। तर, गोठालो बन्नु मेरो नियति थिएन। १२ वर्षको उमेरमा घरबाट भागेर कलकत्ता गएको हुँ। ६ वर्षको रहलपहल आयु हाउडा बि्रजकै सेरोफेरोमा बित्यो। जुठो भाँडा माझिनँ कि ! कुल्ली, मजुरी गरनिँ कि ! पापी पेटका लागि के के गरनिँ? अलिअलि लेखापढी सिकँे।

देश फिरँे, प्रहरीमा भर्ती हुन। काठमाडौँमा।

"तँ श्रेष्ठ थरलाई कसरी जङ्गी जागिर खुवाउने ?" हाकिमले हप्कायो। थर्कायो। श्रेष्ठहरूलाई प्रहरी सेनामा भर्ना नलिने अलिखित आदेश रे'छ माथिको। मलाई जागिर त खानै थियो। के गरूँ भनी हाकिमलाई सोधेँ। उसैले जुक्ति फुराइदियो, "थर चेन्ज गर्। श्रेष्ठ होइन, तँ आजैका मितिदेखि रत्नबहादुर नगरकोटी भइस्।" 

प्रहरी सत्य सेवा, सुरक्षणम्मा २७ वर्ष बिताएँ। सम्पत्ति आर्जनको हिसाबकिताबमा गएगुज्रेको भएँ। छोराछोरीलाई शिक्षादीक्षा दिएँ। मैले आर्जेको सम्पत्ति बस्, यत्ति हो। हाम्रो पुर्खा, वंशमै कसैले नगरेको काम नाथे कुमारले गरेको हो। बजियाले राम्रो स्कुलमा पढ्ने मौका पायो। मेरो त पुर्पुरोमा त्यस्तो कहाँ? त्यसले एसएलसी पास गर्दा म त झन्डै फेन्ट भाको !

बीए गरोस्, त्यसपछि बिहे गरोस् भन्ने मेरो इच्छालाई बजियाले लोप्पा खुवाइदियो। बीए गरेपछि इन्स्पेक्टर बनाउँला भन्थेँ। घरजम गरेपछि नातिनातिना खेलाउँला भन्थेँ। बजियाले त जोगी बन्ने छाँटकाँट पो देखायो। चिहानघाटतिर बरालिएर हिँड्न थाल्यो। साधु, जोगी, सन्तहरूको संगतमा लाग्यो। गाँजा, भाङ, धतुरो खाई मसानघाटतिर पो हिँड्न थाल्यो। 

बजियाले रजनीश, गुर्जिफ, दोस्तोयब्स्की पढ्न थालेछ। अर्काकी स्वास्नीसित, आफूभन्दा जेठी आइमाईसित प्रेम गर्न थालेछ। त्यसको ह्यान्डराइटिङ् मलाई खुप मन पथ्र्यो। बच्चैदेखि बजियालाई औँला समाई मैले अभ्यास गराएको हुँ। उसलाई रंगीचंगी कलमहरू संग्रह गर्न मन पथ्र्यो। अरू जे जस्तो भए पनि अक्षरचाहिँ दामी हुनुपर्छ है केटा भनी म उसलाई बारम्बार सम्झाउँथेँ। किनभने, अक्षरसित मेरो मोह थियो। 

नाथे कुमार 'हस् बा' भनी मैले किनिदिएका फुलस्केप कागजमा घन्टाँै अक्षर अभ्यास गथ्र्यो। विभिन्न राम्रा कलमहरूको त संग्रह नै बनाइदिएको थिएँ, त्यसका लागि। 

मलाई लाग्थ्यो त्यसले कुनै दिन तिनै कलमहरूले आफ्नो दामी भाग्य लेख्नेछ। तर, बजियाले बरू कविता, कथा पो लेख्न थाल्यो। ए गाँठे! भएन त बर्बाद ? कुनै ठूलो हाकिम, खेलाडी, पाइलट, डाक्टर बन्ला भन्या त नाथे कुमार झुरपट्याँस लेखक पो बन्ने भो !

साहित्यसित वास्तवमा हाम्रो वंश परम्परामा गाई बेचेको साइनुसम्म छैन। साहित्य, दर्शन, कथा, संगीतमा त्यसको कसरी मन बस्यो ? बडो अचम्म छ। यो जेनेटिक समस्या हो क्यारे ! त्यसको 'जीन'मा कसले कविताको डीएनए इन्जेक्ट गरििदएछ कुन्नि ? 

कहिलेकाहीँ बिचरोको माया पनि लागेर आउँछ। 

त्यत्रो सानु बच्चोलाई सुदूर होस्टेलमा राखेर कुनै अपराध त गरएिन भन्ने लाग्छ। त्यसले कहिल्यै पारविारकि वातावरण पाएन। त्योसित आफ्नो जरा भन्ने चीज नै रहेन। हामीकहाँ जन्म लिनु त्यसको भौगोलिक त्रुटि थियो कि त ! आफ्नो भन्ने थातथलो, पहिचान उससित केही भएन। यस्तो मान्छेलाई मानिसहरू आउटसाइडर भन्छन् क्यारे ! काठमान्डूबाट चिट्ठीमा कविता लेखी पठाउँथ्यो बजियाले मलाई ।

कुमार नगरकोटीसित म कसो कसो जोडिन पुग्दो रहेछु। किनभने, म त्यसको बाउ हुँ। मेरै पसिना अनि रक्तबीजले त्यसको 'आत्मज्यान' सिँचिएको छ। मेरो नाम रत्नबहादुर। ऊ मेरो पुत्र थियो। तर, अचेल मलाई आफूमा कुनै पितात्मक भावना, अनुभूति आउँदैन। मसित अब पितात्मकताको प्राइभेट अहंकार छैन। हाम्रो 'सम्बन्ध' पिता र पुत्रको 'पैतृक-सम्पत्ति'जस्तो पनि थिएन। 

मेरो मृत्यु विक्रम संवत् २०५४ मा मध्याह्नको ठीक १२ बजेर ३ मिनेटमा भएको हो। वैशाख १७ गते। नाथे कुमार जन्मेको थियो, मंसिर १७ गते। हाम्रो जन्म र मृत्युको गतेमा संगति मिलेको मान्नुपर्छ, १७ गते...। मेरो मृत्युपश्चात्, कोसीको घाट-किनारमा नाथे कुमारले मलाई मुखाग्नि/दागबत्ती चढाएको कुरा एकदमै साँचो हो। 

।। म।। 

-आई डन्ट वन्ना बी फुट नोट्स अफ् एनिबडिज लाइफ स्टोरी... -गेलहर्न

वन्ना-बी-वुमन अर्थात् गेलहर्नले अर्नेस्ट हेमिङ्वेसितको आफ्नो सम्बन्धका बारेमा एउटा पत्रकारलाई भनेकी थिई माथिको कुरा- म कसैको जीवन-कथाको 'फुट नोट्स' हुन चाहन्नँ। ती वन्ना-बी-वुमनको सूत्र कथन मलाई गजब लागेको हो। 

जीवनमा हामीले कति धेरै कुरा महत्त्वहीन ठानिदिन्छौँ। स-साना कुरा आत्मसंस्मरणबाट छुट्छन्/हराउँछन्। ती सीमान्तकृत सम्बन्ध, घटना, आस्था, विचार अन्ततः फुट नोट्समा देखापर्छन्। कहिलेकाहीँ मलाई कुनै रचनाको मूल लेखनभन्दा पाद-टिप्पणीहरू बढी मन परििदन्छन्। 

फिक्सन-गल्लीको मापसे-गृहमा चुपचाप विस्तीर्ण छु...।

शरद्को यो आउट डेटेड साँझमा तमाम कुख्यात अनुभूति/स्मृतिसितै छायांकित छु। देहभित्र निद्रामग्न आत्मा बिस्तारो चलमलाउँदो छ। बुर्जुवा गिलासमा बिजुली-पानीको तरल पोटर््रेट छ। छताछुल्ल हुन खोज्छु। (मापसे-गृह) दुवै ठिंग उभिएको (लिंगजस्तो !) रूखबाट चराहरू उडी गएपछि सायद, म आफ्नो घर र्फकनेछु। 

मृत्युको असामयिक निधनमा म एकपटक जिउने योजनाहरू बनाउँदो रहेछु। जीउनु, जीवनसितको अन्तरमि/अघोषित प्रतिबद्धता न हो ! तसर्थ, अलिकति/थोरै जिउँदो रहेछु, फुट नोट्सहरूमा...।

यी अलिखित अटोबायोग्राफिकल स्मृतिहरूमा फुट नोट्सले भूमिका खेलेका/लेखेका रे'छन्। बुझ्छु/सम्झन्छु/र ट्वाँ पर्छु। 

मेरी गुरुङसेनी आमा भन्नुहुन्थ्यो, "बाबुऽऽऽ राम्रोसित बढेर तिमी ज्ञानी, गुनी मुन्छे बन्नुपर्छ ल !"

तर, प|mयाङ्क्ली स्पिकिङ्, म ज्ञानी/गुनी मान्छे होइन। आमालाई अझै भ्रम छ कि म ज्ञानी मुन्छे हुँ। किनभने, म कविता लेख्छु। मेरी आमाका निम्ति कविता लेख्ने मान्छे कवि होइन, बरू ज्ञानी मुन्छे हो। फसाद के भने म कथा पनि लेख्छु। 

आमाको सोझो मनको हिसाबकिताब के हो भने ज्ञानी मुन्छेले केवल एउटैसित 'मायापिर्ती' लगाउनुपर्छ। विधवा नै सही, एउटै मुन्छेको अस्तित्वसित समर्पित हुनुपर्छ। आमा केवल रत्नबहादुर नगरकोटीसित समर्पित भएझैँ। तर, के गर्नु ? म अनैतिक रे'छु ! कवितासित मात्रै होइन, मेरो त कथा, फिक्सनहरूसित 'एक्स्ट्रा मरटिल लभ अफेयर्स' छ। 

क्यारम त !

बा भन्नुहुन्थ्यो, "नाथे कुमार ऽऽऽ हाम्रो वंशमा कसैले नगरेको काम गरसि्। अंग्रेजीमै एमए ठोकेर म बूढालाई देखाइदिइस्। कथाको किताप पनि निकालिस्। यो नै त हो नि मैले आर्जेको कुल सम्पत्ति ऽऽऽ।"

स्वर्गीय बालाई मैले भन्नै सकिनँ, "बा ! म गाडधनजस्तो महत्त्वपूर्ण हुन सकिनँ, तिम्रो जीवनको। तिमी मर्दा मसित कात्रो किन्ने पैसा पनि भएन।"

मलाई थाहा छ, जीवनमा यस्ता कुरा मूल कथामा, टेक्स्टमा आउँदैनन्। यस्तै फुट नोट्समा पनि ती लिपिबद्ध हुने गर्छन्। ती फुट नोट्स हामीले वास्ता नगरेका शिलालेखहरू हुन्। 

चिनुवा अचेवे आफ्ना रचनाहरूमा आफ्नो जरा खोजी बस्छन्। भीएस नयपाल आफ्नो जराको खोजमा आफ्नो थरसितै 'नेपाल' खोजी बस्छन्। थुपै्र कामु/काफका/लामिछाने/रोशन शेरचनहरू आ-आफ्ना जरा खोज्दै फुट नोट्स लेखी बस्छन्। आफ्नो पुर्खाले आर्जेको वंशमा कहीँकतै केही छुटेझैँ/हराएझेँ लाग्ने ती प्रशस्त पाद-टिप्पणीहरू कुन शिलालेखमा लेखिँदो हो ? 

आत्माको विशाल संग्रहालयमा पाद-टिप्पणीको सेक्सन कहाँनेर होला ? मेरो जरा काँ हो, मेरी आमाको जरा काँ हो ? मेरा बा को जरा काँ हो ? कहिलेकाहीँ काव्यको लहडमा सोची बस्छु, म सायद चरा हुँ। चराको राज्य कहाँ हो ? चराले आफ्नो अस्तित्वको फुट नोट्स लेख्छ कि लेख्दैन ?

- कविता लेख्दालेख्दै

कुमार नगरकोटी

कुनै दिन,

बिलाउनेछ : अक्षर/शब्द

एवं विम्बहरूमा

बतासमा कपुर बिलाएझैँ

(कुनै अलिखित फुट नोट्सझँै) । 
http://www.ekantipur.com/nepal/article/?id=4432

 

Read Full Discussion Thread for this article