Posted by: everestpep October 10, 2012
माल महिमा : Repost
Login in to Rate this Post:     4       ?         Liked by

लेखनको पहिलो प्रयास, गल्तीहरुमा क्षमा याचना ।

माल महिमा

आलुको त्यत्रो गाथा लेख्ने भैरव अर्यालले मालको महिमा किन लेखेनन् म दङ्ग पर्छु । भैरव अर्याल जीवित हुँदा हुन त म उनलाई अनेक भाँती गरेर भए पनि माल महिमा लेख्न वाध्य पार्थे होला । उनी छैनन्, म आफै कम्मर कसेको छु रहस्यमयी माललाई खोतल्न । धेरै सम्बादहरुमा सुन्नु भएकै होला “ यो त अस्सली माल हो ” भनेर । तपाईंहरुले कहिल्यै सोच्नु भएको छ आखिर माल के हो ? मैले पनि आजसम्म नेपाली शव्दकोष हेरेको छैन माललाई कसरी परिभाषित गरिएको छ भनेर । तर म आफैंले आजसम्म  सुनेको, देखेको र भोगेको आधारमा यहाँ मालको बहुरुप बर्णन गर्ने प्रयास गर्दैछु ।
मैले पहिलो पटक व्यापारीहरुले सामान्यढङ्गले प्रयोग गर्ने मालसामान शब्द प्रयोग गरेको सुनेको हुँ । यस बाहेक मालको विस्तरित रुपहरुमा, शायद म आठ कक्षामा पढ्दै गर्दा होला मेरो एउटा साथीको मुखबाट सुनेको हुनुपर्दछ । उसले एउटा अलि उत्ताउली खालकी केटीलाई देखाउँदै बढो ठुलो कुरा पत्ता लगाए झैं भनेको थियो – त्यो त माल हो नि । मलाइ अझ एकिन छैन उस्को ठेट आशय के हो भनेर तर मैले अनुमान गरें त्यो केटी सजिलै केटा साथीहरु बनाउन सक्छे वा अलि अघि बढेर भन्ने हो भने खेलाउन सक्छे । त्यतिबेला त्यस्ता मालसम्मको पहुँच हाम्रालागि अकल्पनिय थियो त्यसकारण वास्तवमा उ के थिइ मलाई कहिल्यै थाहभएन । तर आजकल मध्यराततिर रत्नपार्क आसपास जानु भयो भने तपाईंले सजिलै व्यवसायिक मालहरु वा माल भेटाई दिने दलाल भेट्नु हुन्छ रे ।
यात्रा गर्दा देख्छु बडेमाका गाडीहरु – माल ढुवानी सेवा भनेर अगाडि, दायाँबायाँ लेखिएका कुदिरहेका । तीनले कहिले भैंसी, कहिले चामल, कहिले चीनी, कहिले छड सिमेन्ट त कहिले तरकारी आदि वोकी रहेका हुन्छन ।  त्यसकारण भैंसी, चामल, तरकारी यी सब माल हुन् र त्यतिबेला मलाई लाग्थ्यो सबै बिकाउ चीजहरु माल हुन । तर त्यसो होइन रहेछ । मेरो एउटा भाई छ जो भेट हुनासाथ आफ्नो हाकिमको गुणगान गाउँदै भन्न थाल्छ – मेरो हाकिम त माल छ अर्थात् उस्को हाकिम असल छ । तलब वृद्घि, विदा स्वीकृति, बढुवा सरुवामा आफ्नो कर्मचारीको ख्याल गर्छ रे । सबभन्दा ठुलो कुरा उ घुस खाँदैन रे अर्थात् उ बिकाउ होइन । यस्तो माल हाकिमको प्रशंशा नगरोस् पनि किन । तर उस्को हाकिम मालपोत कार्यलयका हाकिमलाई भन्ने गरिए झैं मालको हाकिम भने होइन । प्रायः जसो मालका हाकिम त ठ्याक्कै उल्टो पो हुन्छन् त । केहि न कामका कुमाल – गलत आचरण र घुस्याहा प्रबृतिका । अचम्म छ सामान कुमाल पर्यो बिक्री नहुने, मान्छे कुमाल पर्यो भने जतिमा पनि बिक्री भैदिने ।
माल कामुक, असल वा खराव मात्र होइन, यो नशालु पनि हुन्छ । नशाबाजहरु माल बनाउँछन्, माल भर्छन, सक्र्याउँछन, सुँघ्छन् । यहाँ माल जे पनि हुनसक्छ, गाजा, चरेश, अफिम्, स्म्याक् आदि । गतिलो र चोपे माल पाइन्छ भनेर मेरा कयौं साथीहरुले अध्याँरा गल्लीहरुमा, बसपार्क वरिपरिका भट्टीहरुमा गरेको दौडधुप मलाइ हिजै जस्तो लाग्छ । त्यस्तै खसी बोकाको मासुको शौखिनहरुको मन पनि यस्को मालले तानेको निकै देखेको छु । मालको उपस्थिति कहाँ छैन ? एउटा कुन चाहिं नेपाली फिल्ममा गीत नै छ – मेरो माल फर्काइ दे बाबु ज्यान जोगाउनु छ भने । यहाँ माल के थियो मलाई ठ्याक्कै याद भएन तर गीतको आशयले भन्छ माल मृत्युको कारण बन्न सक्छ । म्यारिज नामको तासको खेल खेल्न बस्नुस् त्यहाँ देख्नु  हुनेछ तपाईंले मालको कमाल । तपाईंको दिमागमा माल बाहेक केहि हुदैन । आफुलाई माल परोस् नपरोस् तपाईं सधैं माल काट्न लालयित हुनुहुन्छ । यदि माल हेर्नु भएको छैन भने तास फाल्नु अघि प्रत्येक तास माल नै हो जस्तो लाग्छ र तास फाल्नै सकस । तपाईं जस्तो सुकै महान खेलाडी भए पनि मालले माया गरेन भने तपाईंको खल्ती रित्तिने निश्चित छ ।
आफ्नो अथावा अर्काको घर बनाउने झन्झटमा कहिल्यै पर्नु भएको छ ? त्यहाँ थाहा पाउनु हुन्छ तपाईंले मालको महत्व । तपाईंको घर तासको महल जस्तो हुन सक्छ यदि जोडाईको माल गतिलो भएन भने । डिजाइनमा तोकिए झैं ठ्याक्कै १ः२ः४ अनुपातमा मैले बनाउन लगाएको माल साह्रो भयो भनेर छत ढलान गर्दागर्दै आधा छोडेर रिसले फन्किएर हिडेको ढलान टोली मैले भोगेको छु । तिनलाई फकाएर फिर्ता ल्याएर उनीहरुले भनेझैंको मालले ढलान सक्न मैले कति पापड बेल्न पर्यो त्यो पीडा मलाई नै थाहा छ । आफु इन्जिनियर भनेर के गर्नु ? धन्य ढलान सकिदिए र मेरो जागिर जोगाई दिए । नत्र मेरो कुमाल हाकिमले कुरा बझ्नेवाला थिएन । अझ, त्यो ढलानको माल बनाउनु अघि चाहिने अरु मालहरु (सिमेन्ट, गिटी, वालुवा, छड) जुटाउन कति गाह्रो छ त्यो भोग्नु भएकै होला । ढुवानीकर्ता वा आपुर्तिकर्ताकहाँ जानुस् , बार्गिनिङ्गको ध्येयले उस्को मुखमा एउटै कुरा झुण्डिएको हुन्छ – बजारमा अहिले माल आएको छैन, गिरेको छैन, मालको हाहाकार छ आदि आदि ।
नेपाली भाषामा मात्रा होइन अन्य भाषामा पनि मालको ब्यापक प्रयोग हुन्छ जस्तो लाग्छ मलाई । मेरो अम्रिका बस्ने साथीले भनेको उनीहरु खुब माल जान्छन रे किनमेल गर्न । जर्मनहरु पनि यस्को प्रयोग मज्जाले गर्छन ।   सोझो रुपमा माल भनेको पटक भन्ने जनाउँछ भने निपातको रुपमा पनि उत्तिकै प्रयोग हुन्छ ।
माल अनिवार्य जस्तै छ हाम्रो जीवनमा । माललाई राम्ररी प्रयोग वा मालको दलाली गरेर रातारात मालामाल बन्नेहरु पनि छन् वा मालको फन्दामा परेर गोलमाल हुने पनि छन् । परिणाम् जे भए पनि मालको पछि लागेकै छौं । अब सुटुक्क भन्नुस त मलाई तपाईं कुन मालको खोजीमा हुनुहुन्छ आजकल ?
 

Read Full Discussion Thread for this article