Posted by: somewhereondearth July 4, 2012
अदितिको साथी
Login in to Rate this Post:     1       ?         Liked by
 बाँकि भाग....

 

(छोडेको लामो भयो, आशा छ कथालाई अन्याय भएन होला!)

 

 

विश्वास पातलिदा आगो सल्कन बेर लाग्दैन । जितेको भूगोल मायाले मागुन्, दोस्रो सोचाई बिना अर्पिन्छ । तर तिनै माया एक भित्ता टाढा हुने छनक मिलोस, मनले लाख सोचिदिन्छ । माया आफैमा पवित्र हो । तर प्रेमीहरु लोभि हुन्छन्, प्रेमीकाहरु लोभी हुन्छन् ।  भाकल नपुग्दा ईश्वरको अस्तित्वलाई त शंका गरिन्छ, झन म त मायालु भन्दा एक कक्षा तल बाँचेको प्रेमी ।

 

 

ति अक्षरहरु नचिनेका मात्र थिएनन् । त्यहाँ शब्दहरु थिए, बाक्यहरू थिए, संवादहरु थिए । त्यहाँ छेडाइ हरु थिए, मस्काइहरु थिए । मैले ति अपरिचित लेखाइमा माया जित्न गरिने परिचित दाउहरु देखे, बुन्दै गरेका घरहरु देखे । म  कसरी चिन्दिन थिए होला र, ति सबै अनुभवहरु मेरा अंश-अंशमा थिए ।

 

 

उ जो थियो; उसले आफ्ना दाउ राख्दै थियो- माया जित्ने । यहाँ एउटै नारीमा हजार प्रेमीहरु पागल   हुन्छन् । म एक थिए, उ अर्को हुँदो हो । तर अदिति त जानकार थिइ । हामी माया बुन्ने हरेक गोरेटो सँगै हिंडि सकेका थियौं । व्यक्त-अव्यक्त मायाका पद, चाप सबैसँग अभ्यस्त थियौं । तर मैले अदितिलाई फेरि तिनै गोरेटाहरु हिड्दै गरेको भेट्टाए, अर्कै सँग । मायाको बाटोमा अनेक डाँडा काटेर एक घुम्तीमा म सँगै भएको प्रेमी, अर्को सिरामा फेरि किन यात्रा शुरु गर्दछ? यात्रा एउटै, यात्री एउटै, समय एउटै तर फरक पदयात्रीसँग भिन्न मोडमा यात्रा कसरी सम्भव छ? म खङग्रङ्ग भए । मन चिसो भयो ।

 

 

ति नचिनेका अक्षरले नाम पाए । ति नचिनेका अक्षरहरु अब बाक्य भए, मुक्तक बने, कविता बने । ति कबिताहरु अदितिका पुस्तिकाबाट उठेर उसका भाकामा गाँसिए ।  ति शब्दका, ति हरफका कोलाहलले मलाई क्रुद्ध बनाउँदै लग्यो । म मनबाट बिरामी हुँदै गए ।

 

 

अदिति त्यो साथीका कुराहरु सुनाउन थालि । जान्ने मान्छे, गुरुवर्गको प्यारो, मिजासिलो, सहयोगी आदि-आदि । उसका प्रतिभाहरु पनि कति हुन् । म मनबाट आफैंसँग कमजोर हुन थाले । अदितिका बातमा सँधै उसको साथी हुँदैन थियो, तर पनि म घरि-घरि ति बातमा उसलाई खोज्दथे ।

 

 

मैले भित्र मनको तापलाई मेरा ब्यवहारमा प्रसारित हुन नदिन भरमग्दुर प्रयास गरे । अदिति मेरी मायालु थिइ, मेरो आधिपत्य होइन । यहि भावले मलाई सम्हाल्यो । म निको हुन थाले ।

 

 

अदितिले इन्जिनियरिङ्ग सकि, म चौंथो बर्षमा पुगें । इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्याक्रम  मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ । म पनि सिक्दै गए, व्यवहारमा छिप्पिदै गए ।

 

 

ब्यक्त अब्यक्त मायालाई जीवन सुम्पिने आँट मायाको एउटा अध्याय हो । तर मायाका सबै पोटीहरु सगरमा हुँदैनन् । कति मनको खाडलमा बसिदिन्छन्, कतिले सपना बिझाउँछन् । यी सबै अनुभवलाई पचाएर मायालुलाई मनको सगरमा राखिराख्नु मायाको अर्को अध्याय हो । मैले त्यहि जान्दै थिए, त्यहि बुझ्दै थिए ।

 

 

अदितिको साथिका प्रतिभाहरुसँग म सन्तुलित हुँदै गए, उसका बिशेषणहरुसँग म सहज हुँदै गए । समयको कुरो हो, मौका मिल्दा उ एकदिन भेटियो । अदितिले चिनाइन, मैले भर्खर चिने झैं गरे । चिनजान पनि अचम्मको हुन्छ । पात्र भेटिनु अगाडि नै उसका तमाम ब्याख्याहरु बटुलेर हामी एउटा बिम्ब बनाई सक्छौं अनि साक्षात पात्र  भेटिदा उसलाई जेनतेन बिम्बसँग जोड्ने प्रयत्न गर्छौं । मैले पनि अदितिको साथीलाई, उसको बिम्बसँग जोड्ने प्रयास गरे । हामी यहि त मात खान्छौं । बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् । म अपवाद भइन ।

 

 

अग्लो केटो, छोटो कपाल, फोस्रो जिन्स, हलुका भाषा आदि । उमेरले-व्यवहारले एउटा घुम्ती काटेपछी लवाइको खासै महत्व हुँदैन। उसले पनि त्यो बुझिसकेको पाए । अदितिले हाम्रा व्यक्तित्व जोड्ने प्रयास गरि । उ हामीलाई समभुज बनाउन खोज्दै थिई, तर म भावनाका विषमकोणमा उभिएको थिए । त्यसैले त्यो सम्भव भएन । म उसँग गह्रौं नै भइदिए ।

 

 

अदिति जागिरे भइसकेकि थिइ । उसको पहिलो जागिर, मेरो चौथो बर्षका ब्यस्तता । हाम्रा भेटहरु राम्रैसँग पातलिएका थिए । ति भेटमा मायाका चिचिला हाँसो, जिस्काई, ठुस्काई, फकाइ भन्दा पनि ब्यवहारका सल्लाहहरु, समाजका अवलोकनहरु, अवलोकनका बिषयगत छलफल हुन्थे । अनि तिनै छलफलमा हामी एक अर्कालाई उडाउँथ्यौ, रिसाउँथ्यौ अनि फेरि तिनै माथि हाँस्थौ । उसको साथी उसका बिषयका बातमा एउटा नियमित उपस्थिति लिएर आउँथ्यो । म मिलेसम्म उसलाई पन्छाउँथे ।

 

 

समय बतासियो, मैले इन्जिनियरिङ्ग सक्दा-नसक्दा अदिति विदेश जाने भइ । मैले उसलाई नजाउ भन्ने तर्क थिएन । गाह्रो त उसलाई पनि उत्तिकै भएको थियो । उसले मलाई जसरी पनि विदेश आउने बाचा गराई । हामीले बिवाहको बारेमा नसोचेको, सल्लाह नगरेको होइन । तर दुवैले आफूलाई “तयार” पाएनौं ।

 

 

संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा  “विकल्प” को रुपमा उभियो । जसको सपना हामीले बर्षौ देखि बुन्दै बसेका थियौं, आज सबैथोक हातमा  हुँदा हामीले आफूलाई “तयार” भेट्टाएनौं । यो ब्यवहारले छिप्प्याएको परिणाम हो या समय सँगै परिष्कृत  अद्दतन माया !! मलाई थाहा छैन, म जान्दिन पनि । तर मेरा देवता साक्षी छन्, त्यो निर्णय लिदाँ मेरो माया बिसको उन्नाइस पनि भएन । अनि मलाई थाहा छ, अदितिको मन पनि चोखो नै थियो । उसले गाह्रो गरि जान्छु भनि, मैले बोझिलो हुन्छ भने । हामी धेरै पछी सँगै रोयौं ।

 

 

उ विदेश गइ । म नेपालकै जागिरमा अलमलिए । विदेशको पढाई, छात्रवृत्तीको ताकमा उ उसको साथीकै विश्वविद्दालयमा पुगी । परदेशीका हजार समस्या हुन्छन, मैले के नै गुनासो गर्नु थियो र । मैले गरिन । उसले छात्रवृत्ती पाई, खुशी भइ । मलाई सन्तोष नै भयो ।

 

 

म पनि विदेश जाने ताकमा लागे । अदितिले सहयोग गरि । छ-आठ महिना त्यसै लाग्यो । पहिलो प्रयास गरे, ‘भिसा’ लागेन । केहि तामझाम मिलाए, दोस्रो पट्क पनि लागेन । तेस्रो पटक पनि नलाग्दा मैले हारे!  मैले महाराजगञ्ज सम्झें । कहाँ डाक्टरी सपना चकनाचुर भएको ठिटो, कहाँ मायासँग जीवन जोडिने सपना छिनेको लोग्नेमान्छे । महाराजगञ्जको नतिजामा म रिसाएको थिए, उफ्रेको थिए । यहाँ म बाहिर शान्त भए, भित्र-भित्र रोए ।

 

 

अदिति अत्तालिइ । मैले पछि बिद्दावारिधि गर्न आउँछु भनि कुरो पल्टाँए । संघर्ष छोडेर अतिदि फर्कन गाह्रो थियो । म जाने उपाय तत्काल देखिन, उसलाई फर्क भन्न सकिन । ब्यवहार बुझ्दै जाँदा म नेपाल नै बस्ने छाँट भयो । अदितिलाई दुबिधा भयो, गाह्रो भयो। मैले त्यहि अनुभव गरे ।

 

मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो । म अदितिको साथीको पुरानो बिम्ब फोर्न थाले । उसका बिशेषणहरु बटुलेर म नयाँ बिम्ब बनाउँन थाले । 

 

 यति नै !

 

meaninglessthinkings@somewhereondearth

Read Full Discussion Thread for this article