Posted by: Geology Tiger May 17, 2012
What is this? क्षेत्रीबाहुन against the rest of the world?
Login in to Rate this Post:     3       ?         Liked by
पहिलो: मेरो बुझाई के हो भने बन्दका आयोजकहरुको लागि उनीहरुले गरेको बन्द जहिले पनि जायज नै हुन्छ, चाहे त्यो जुनसुकै बिषयमा गरिएको किन नहोस् । बन्दका आयोजकहरु सोच्छन् उनीहरु पीडित छन्, मर्कामा छन् त्यसैले बन्द गर्न पाउनु उनीहरुको अधिकार हो । अर्को थरी बन्दबाट मार खेप्नेहरु स्कूल जाने केटाकेटीहरु, दिन दिनै ज्याला मजदूरी गरेर परिवार पाल्नपर्ने गरीबहरु, जस्तोसुकै परिस्थितीमा काममा जानुपर्ने कर्मचारीहरु, एक क्षण पनि उपचार गर्न ढिलो गर्न नहुने अवस्थामा पुगेका बिरामीहरु; यिनिहरुले बन्दकर्ताको केही बिगार गरेका हुँदैनन् तर सजाय चाँही यिनिहरुले नै भोग्नुपर्छ, यिनिहरुको सबैभन्दा ठुलो दोष यिनीहरु कानूनी राज नभएको देश नेपालमा जन्मे । बन्दमा सम्मिलित हुने अर्को पक्ष, केही काम नभएका बराले युवा देखि बच्चाहरु सम्मको समूह, वास्तवमा यिनीहरुलाई बन्दको आयोजनाकर्ताको माग के हो, त्यो जायज हो कि होइन जस्ता कुराहरु केही थाहा हुँदैन र त्यसमा यिनीहरुलाई चासो पनि हुँदैन । मात्र बन्द हुनुपर्छ यिनीहरुलाई दशै आउँछ, कतिले त राम्रो पारिश्रमिक पनि भेट्लान । नभए तोड्फोड मारपिट त गर्न पाइहालिन्छ ।

तर जुनसुकै मागको लागि भएको होस् बन्द गर्नु कहिले पनि जायज हुन सक्दैन ।

दोस्रो: नयापिढी साथीले जातिय संघियताको पक्षधरहरुको माग र त्यसलाई संघीयता बिरोधीहरुले कसरी बुझिरहेका छन् भन्ने बिषयमा केही लेख्नु भएको रहेछ । उहाँलाई लाग्यो कि जातीय संघीयता बिरोधीहरुले मात्र भ्रम पालिरहेका छन् र जातीय संघीयता पक्षधरहरुलाई सबै कुराको राम्रो ज्ञान छ । कृपया मलाई तपाईंको बिश्लेषणमा केही शब्द थप्ने अनुमति दिनुहोस् ।


माग: पहिचान र सामर्थ्यतामा आधारित राज्य
बुझाई र भ्रम: जातीय राज्य

मेरो बुझाई: न्यू मेक्सिको स्टेट युनिभर्सिटीबाट हो कि कुन्नि कताबाट नेपालमा रहेका अर्थको स्रोतहरु, नेपाली जनताहरुको आर्थिक अवस्था, र नेपाल राज्यले आर्थिक रुपमा थेग्नसक्ने राज्यको संख्या जस्ता बिषयहरुलाई आधार बनाएर नेपाललाई ३-४ संघिय राज्यमा विभाजन गर्नु ठीक हुन्छ भनेर एउटा रिपोर्ट दिएको थियो । के त्यो रिपोर्ट कुनै पाजी नेता अथवा नेपालको नक्सा र तथ्यांक विभागले दिएको जनगणनाको अंक अगाडि बसेर धमाधाम संघिय राज्यहरुको सिमा कोरिरहेका कुनै संघीयताविद्ले एक चोटि पल्टाउने कष्ट गरे? अनि के को सामर्थ्यतामा आधारित राज्य भन्ने? यदी २०औ थरी जातीहरु बसेको क्षेत्रमा ४०% भन्दा पनि कम संख्यामा रहेको जातीको नाममा एउटा राज्य घोषित गरिन्छ भने त्यो जातीय राज्य नभए के?


माग: जनजातिहरुले आफ्नो अधिकार पाउनुपर्छ
बुझाई र भ्रम: बाहुन क्षत्रीलाई अधिकार दिनुहुन्न

मेरो बुझाई: अधिकार जनजातीले मात्र होइन र बाहुन छेत्रीले मात्र पनि होइन सबैले पाउनुपर्छ । यदी कुनै राज्यलाई एउटा जातीको नाममा घोषणा गरेर त्यो जातीको मान्छेहरुलाई अग्राधिकार दिएर त्यो राज्यमा रहेका अरु जातीलाई विभेद गरिन्छ भने त्यो अरु जातीलाई अधिकार नदिएको ठहरिन्छ कि ठहरिदैन? मेरो साथी जो ब्रिटिश आर्मीको छोरा हो, जोसँग बाउबाजेको मनग्यै सम्पत्ति छ र राम्रो स्कूलमा पनि पढेको छ । उसले आइएस्सीमा कम दु:ख गर्छ र कम नम्बर ल्याउछ, म बाबुले दु:खसुख गरेर पठाएको खर्चले जसोतसो धानिएर रात दिन घोटिएर पढ्छु र उसको भन्दा बढी नम्बर ल्याउछु । तर अन्तमा गुरुङको छोरो भएकोले छात्रव्रितीमा उ नै छानिन्छ । मैले पढ्न नपाउनुको एक मात्र कारण बाहुन भएर । के यो बाहुन छेत्रीको अधिकार खोसेको भएन?


माग: बिकेन्द्रिकरण
बुझाई र भ्रम: बिभाजन

मेरो बुझाई: यदी बिकेन्द्रिकरण मात्र हो भने धान्न सक्ने अवस्थामा अजातिय राज्यहरु बनाउन त । जव देशलाई जातीय राज्यमा विभाजन गरिन्छ त्यो विकेन्द्रिकरण मात्र हुँदैन होइन देशलाई टुक्रा टुक्रा पार्ने षड्यन्त्रको सुरुवात हो ।


माग: देशको बिभेदकारी संरचनाको बिरोध
बुझाई र भ्रम: बाहुन क्षेत्रीहरुको बिरोध

मेरो बुझाई: नेपालमा भएको नियम कानून र कुनै पनि संरचनाहरु बिभेदकारी छैनन् । बिभेदकारी छन् त मान्छेहरुको मन र त्यो पनि अहिले त धेरै नै परिवर्तन भइसक्यो । र जती बाँकी छन् तिनलाई हटाउन सामाजिक चेतना फैलाउन जरुरी छ न कि एउटा जातको नाममा राज्य खडा गरेर अरु जातमाथि विभेद गर्न । एउटा विभेदको अन्त्य अर्को विभेदबाट संभव छैन ।


माग: घरभित्र कोठाहरुको निर्माण
बुझाई र भ्रम: घरको बिभाजन वा अंशबन्डा

मेरो बुझाई: घरमा फरक फरक काम गर्न फरक फरक कोठा पक्का पनि चाहिन्छ र त्यो बनाएको राम्रो पनि हो । तर यो कोठा तँलाई, यो कोठा मलाई यसमा मेरो बिशेष अधिकार, यो कोठा चाँही अर्कोलाई ... यति गरेपछी पनि यसलाई अंशबन्डा गरेको भनिदैन, घरको बिभाजन गरेको मानिदैन भन्ने हो भने नेपाल राजकीय प्रज्ञा प्रतिस्ठानलाई भनेर ब्रिहत नेपाली शब्दकोशमा अंशबन्डा शब्दको अर्थ बदल्न लगाए भयो ।

श्रेष्ठ बाबुको कुरामा चाँही म कुनै तुक देख्दिन शायद कुनै पदको लागि लड्दा बाहुन छेत्रीबाट पछाडि पारिनुभयो होला । बाहुन छेत्रीले फट्याइ गरेका छैनन् भनेर म तिनिहरुको बचाउ गर्ने पक्षमा छैन । तर यो प्रव्रिती बाहुन छेत्रीको मात्र पेवा होइन हरेक जातका नेपालीमा यो प्रव्रिती छ, हामी पनि यसमा अछुतो कहाँ छौ र? श्रेष्ठ बाबु के यहाँले कहिले आफ्नो मान्छेबाट फाइदा लिनुभएको छैन अथवा आफ्नो मान्छेलाई फाइदा दिनुभएको छैन?

तेस्रो: प्रश्न उठ्यो हरेक प्रस्तावित जातीय राज्यमा बाहुन छेत्रीनै किन यसको बिरोधमा छन् ? किन कि हरेक यस्ता प्रस्तावित राज्यहरुमा बाहुन छेत्रीहरुकै संख्या अधिक छ । अब कोही जातीले यिनीहरुकै बिरुद्द नारा लगाएर आफ्नो जातको नाममा राज्य खडा गर्न खोज्दा यिनीहरु किन चुप लागेर बस्थे । हामी यो कस्तो नेपाललाई सैयौ बर्ष पछाडि धकेल्ने कुरा गर्दै छौ?
नेपालमा एक भन्दा धेरै धर्म मान्ने मान्छेहरु बस्छन् त्यसैले नेपाललाई हिन्दू राज्य भन्न पाइन्न भन्ने हल्लाखल्ला भयो र नेपाल हिन्दू राज्य रहेन । धेरै हिन्दू धर्म मान्नेहरुलाई यो नराम्रो लाग्यो होला तर मैले सोचे धर्म निरपेक्ष हुनु त एक किसिमले राम्रै हो । धेरैले दौरा सुरुवाललाई खै केको प्रतिक ठाने, दौरा सुरुवाललाई राष्ट्रिय पोशाक रहन दिइएन । अन्तर्रास्ट्रिय रुपमा नेपाललाई प्रतिनिधित्व गर्न एउटा राष्ट्रिय पोशाकको जरुरी भए पनि देशमा सधैंभरी अरु पोशाक लगाएर हिंड्ने व्यक्तीलाई दौरा सुरुवालनै लगाउनु पर्छ भनेर करकाप गर्नु पनि ठीक होइन होला । यसरी हरेक क्षेत्रमा निरपेक्ष हुँदै गैरहेको नेपालमा फेरी जातीय राज्यको माग? त्यो पनि जुन क्षेत्रमा बिसौ जातीको बसोबास छ त्यस क्षेत्रमा एउटा जातिको नाममा राज्य! यो अरु जातिका मानिसहरुलाई कसरी सह्य हुन्छ? पक्का पनि यो जातीय राज्यको आन्दोलनलाई मात्र आफ्नो फाइदा खोज्ने नेताहरुले उचाली रहेका छन् र केही बिदेशी समूहहरुले यसमा घ्यू हालिरहेका छन् भन्नु भ्रम होइन यथार्थ हो ।

म फेरि पनि दोहराउनु चाहन्छु हाम्रो आवश्यकता भनेको जातीय सम्मान हो, जातीय पहिचान होइन । यदी पहिचान बनाउनु छ त देश र जनताको लागि केही गरेर आफ्नो व्यक्तिगत पहिचान बनाऔ, विश्व सामू एउटा नेपालीको पहिचान बनाऔ । अब हामी यो जात र त्यो जात भनेर अल्झिल्ने बेला छैन, सबै जात बराबर हो भनेर एक जातले अर्को जातलाई सम्मान गरौ । यो धर्म र त्यो धर्म भनेर अल्झिने बेला पनि छैन, एउटा धर्म मान्ने मान्छेले अर्को धर्म मान्नेलाई सम्मान गरौं । म त भन्छु हामी यो बिक्रम सम्बत् र नेपाल सम्बत् को चक्करमा पनि नपरौ सिधै इस्वी सम्बत् लगाइदिऔ । अब त यो चोर नेताहरुको चक्करमा नलागेर देशको लागि केही गरौ ।

"नेपाली हुन पूर्व जनमको कमाइले पुग्दैन,
पूर्खाको पौरख, श्रम र आशिष मात्रैले पुग्दैन,
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ, नेपाली चाहिन्छ ..
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन,
हैन भने नेपाली नभन,
वीरको छोरा नातिमा नगन"


गोपाल योन्जन


Last edited: 17-May-12 11:26 PM
Last edited: 17-May-12 11:26 PM
Last edited: 17-May-12 11:38 PM
Read Full Discussion Thread for this article