Posted by: Deep April 3, 2012
आभा
Login in to Rate this Post:     7       ?         Liked by
सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ...

भावहरुको अघि शब्दहरु निशस्त्र थिए। आकसिदा धडकन, झुक्दै उठ्दै गर्दा ती परेलीहरु, फक्रीदा ती अधरहरु, परीधी बाहीर पारे झै गरी परीधी भित्र पार्दा ती हेराईहरु निश्चित शब्दका पहुँच बाहीर थिए तर अमुक थिएनन। उ सूर्य थिई, उस्को बयान सायद गर्न सकिन्थ्यो पनि होला, तर सूर्य किरण झै छरीएका उस्का भावहरुको स्पर्श अनुभव त गर्न त सकिन्थ्यो तर भेला पार्न सकिन्नथ्यो। शब्दले समेटने त झन कुरै भएन।

 

बाङ्गे र उस्का कुरा हुन थाले, म चुपचाप छेउमै थिएँ। आभा बेला बेला हजुरबा तिर हेर्थी अनि कुरा गर्थी। कुरा औपचारीक नै थिए तै पनि उस्ले कौसीमा जाने मन गरी। बाङ्गेलाई भनी, म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो।

 

हैन भुजा खाएर जानु पर्छ, उस्ले बाङ्गेलाई भनी। बाङ्गेले काकीलाई अघि नै त्यो आज नहुने जानकारी गराएको सुनायो। त्यसो भए चिया नखाई त जान पाईँदैन भनी, बाङ्गेले त्यो कर्म पनि सकेको सुनायो। अहिले मलाई खान मन छ नी त, ल आउनु कौसीमा भन्दै उ बाटो लागि। बाङ्गेले म तिर हेर्यो, देख्यो होला दर्शन ढुङ्गामा दर्शन ढुङ्गा जुधेको अनि फिलुङ्गाहरु। हजुरबाले पनि जान त जा--बैनीले भनेको पनि मान्नु कैले काहीँ त भने। उस्ले केही भनेन-- पछी लाग्यो। मैले पनि फ्याँके दर्शन ढुङ्गा र लागें भर्याङ तिर बाङ्गे पछी पछी। आभाले चियाको अनुरोध भान्छमा जिम्मा लाईसकेकी थिई।

कौसीमा पुगे पछी बेग्लै रमाईलो भो। मैले बाङ्गेलाई देखेकै थिईन भन्दा पनि हुन्छ। उ अस्तित्व बिहीन थ्यो त्यहाँ मेरो लागि। उ त्यो खोला जस्तो थ्यो जो नदी सम्म पुग्थ्यो, नदीको अस्तित्वलाई स्थापित गर्थ्यो तर स्वयम् भने अस्तित्वहीन हुन्थ्यो।

दाजु-बैनीको कुरा हुँदो थ्यो। आभा र मेरा हेराई धेरै चोटी जुधेका थिए तर औपचारीक परीचय ओझेलमा परेको थ्यो।

बाङ्गे र उ मैतीदेबीको भिनाजुका कुरा गर्दै थिए, उ पस्चिम फर्केर उभिएकी थिई, बाङ्गे र म पूर्ब फर्केर। मेरो दाईने तिर उभिएको थ्यो बाङ्गे। कुरा हुँदै थ्यो उनीहरुको, म जात्राको खट जस्तो ढल्किदै दाईने तिर बाङ्गेको कुममा आफ्नो कुम अढेस लाउन पुगें। उ अलि छिटो कतै सरेको वा हटेको भए म नभएको खम्बामा जड्याँ अढेस लाग्या जसरी डंग्रगै हुने। तर उ उभिएकै थ्यो तर मेरो अढेसमा उस्को पनि सन्तुलन् बिग्र्यो, मेरो त बिगारेकै थ्यो। उ अलि पर हुत्तियो, म पनि सम्हालिएँ। आभाले केही बुझिन छक्क परी।

"के गर्या तैले यो?" बाङ्गे झर्कियो।

"हैन म त भुत भै छु कि क्या हो--आफुले हेर्दा छु जस्तो अरुले हेर्दा छैन जस्तो--अदृस्य भैयो कि भनेर टेस गर्या--" मैले भनें। भन्न सुरु गर्दा बाङ्गे तिर हेरेको थिएँ, सकाउँदा आभा तिर हेरें।

उस्ले सायद बुझी क्यारे, उ हाँसी। नबुझेको त बाङ्गेले पनि कहाँ हो र, अहिले बुझे जस्तो गर्यो।

"ए, यो मेरो साथी -- दीप, तर मान्छे खत्तम छ" उस्ले हाँसेर मेरो परीचय गरायो आभालाई।

"संगत गतीलो नभएर हो -- हुन त टोलमा म बिग्रेको यस्को संगतले, यो सुध्रेको मेरो संगतले भन्ने हल्ला ब्यापक छ" मैले नी थपें।

"हल्लै मात्रै हो की?" बल्ल उस्ले म तिर हेरेर मेरै लागि शब्द खर्च गरी। मन त तुरुन्तै खजान्ची भैगो। उस्का शब्द जम्मा पारीहाल्यो।

"अलि अलि त हल्लै पनि हो--मैले भन्या जति यो सुध्र्या अलि छैन, यस्ले चाहे जति म बिग्र्या पनि छैन" थप्दें भेट्या बेला।

"हो हो यो एकदम सज्जन छ" बाङ्गेले पेच हान्यो।

"त्यो पनि हुने रहर छ, त्यै उत्तम दर्जाको संगत पाएँ भने हुन्छु त्यो पनि एकदिन। त्यो दिन पनि त्यति पर छैन जस्तो छ।" अहिले पनि भनाई आभा तिर हेर्दै सकाएँ।

केही गुलाफी रंगले उस्को अनुहार केही पल सजाए अनि त्यस्मै लिन भए झैं देखें मैले।

"म सुकीर्ती" उस्ले म तिर हेर्दै भनी। अधरबाट उस्का मुस्कानका पुस्प-पत्रहरु झैं बर्षिदा थिए। मनले ती सबै पत्रहरु जतनले भेला पार्यो, भुइँमा एउटा पनि खस्न दिएन।

उस्ले आफ्नो परीचय दीईरहनु त पर्ने थिएन, तर दीनुको अर्थ मैले मेरै हिसाबले बुझें।

उस्ले दुई पल मेरा आँखमा सिधै हेरी अनि बाङ्गे तिर हेर्द सोधी, "दाई कुन स्कुलमा रे? पढाई राम्रो छ?"

"बाङ्गेले स्कुलको नाम भन्यो, पढाईको कुरा गरेन। हुन त स्कुल नाम चलेकै थ्यो--त्यतिले नै पुग्छ भन्ने सोच्यो कि थाह छैन"

त्यै बेला आयो चिया, केही निम्कीहरु पनि थिए।

"पढाई त गज्जब राम्रो छ होला है?" उस्ले बाङ्गेलाई हेर्दै फेरी सोधी। हातमा चियाको कप लिएकी थिई। मैले चै एक सुरुप लाई सकेको थिएँ। बाङ्गे सुरुप लिने क्रममा थ्यो। त्यसैले जबाफ मैले नै दिएँ।

"अब पढाईको बारे त पढ्नेलाई सोध्नु पर्च, यस्को काम त भर्ना भए पछी सकिगो नी"।

"आफु नी आफु--तँ छस नी बोर्ड हान्लास जस्तो" बाङ्गेले सुरुप लिएको चियामा भएको तापक्रममै झोस्यो मलाई पनि।

"हो त" मैले भनें।  बाङ्गेले झोसेको राम्रै लाग्यो मलाई।

"किन हुँदैन थ्यो --मास्टरहरु त्यै कुरा गर्दा हुन दिनदिनै--एस् एल सीको रिजल्ट भा दिन कुन कुन बोर्ड चै ध्वस्त पार्छ एल्ले फेल भा झोकाँ भन्दा हुन" यस पटक बाङ्गेले हाँसेर कुरा सकायो।

त्यै बेलाँ काकी आईन माथि। कुराका भाका फेरीए। उन्ले फेरी भातको राग अलापिन, बाङ्गेले मासुको। मासुको राग अलाप्नु के थियो, यसो घडी हेर्दै ओहो! भुसुक्कै ढीलो भैसकेछ भन्यो अनि छिट्छिटो चिया तान्न थाल्यो। मैले नी त्यै गर्या-- जिब्रोको एक तह एउटा सुरुपमा खुईलिया जस्तै भो। अब घराँ मासु भात खानु पर्ने होला, शनिबारको दिन-- स्वाद बाङ्गेको हतारले बिगार्ने भै गो--खुईलिया जिब्रोमा पीरो मासु--स्वाद त धरापमा पर्ने नै भो। तर जे होस, आभाको छत्र छायाँमा परीयो। जीब्रोको स्वाद अहिले धरापमा परे पनि मनको स्वाद भने झन तिखो भएको थ्यो।

बिदा भएर बाटो लागीयो। आभाले बाङ्गेलाई शब्दले मलाई भावले बिदा गरी। धोबीखोला हुँदै घर आईयो। बाटोमा बाङ्गेलाई मैले मासु किन्ने कुरा गर्दा त्यो त भन्द्या पो त भन्यो। थाहै थ्यो। किन तुषारापात तिर लागिस भन्दा किन किन यो काम गर्नु नहुने हो कि जस्तो लागीराछ मलाई भन्यो। मैले उस्लाई, "एक चोटी बिहे त हुन दे --तेरो भ्रम सबै हटछ" भन्दें। उस्ले घुर्यो मात्रै। अब सुकिर्तीको कुरा बन्द आजलाई। फेरी कुरा गरीस भने, उस्लाई यस्तो यस्तो कुरा भन्दीन्छु, अर्को भेट अघि नै तेरो सराद गर्दिन्छे उस्ले" भन्यो।

म चुप लागें। अहिले उसैले जितेको ठिक थ्यो।

त्यस पछी केही दिन बिते। बस स्टप जाने क्रम चलेकै थ्यो। मैले अरु बेला बाङ्गेको साथ मात्रै दिन्थे, अचेल उस्को लागि मेहनत पनि गर्न थालेको थिएं। बिशालनगरकी पाण्डे सुपत्री मामाघर तिरको सम्पर्कमा छे भन्ने पत्ता लगाएर माराजगन्ज दुई चोटी पुगीसकेको थिएँ। एक चोटी त बाङ्गेलाई समेत लिएर। पाण्डे सुन्दरीको हेराईमा अचेल निक्कै लचकता थियो। "यो चुरोट सुरोट भन्ने तान्ने कुरा चै होईन रे छ" भन्दै बाङ्गे वाक्दान गर्थ्यो--बिसेष गरी पाण्डे सुन्दरीलाई सुनाउथ्यो। बसको छेउछाउ चुरोट खान छोडेको थ्यो।

बाङ्गे मान्छे बैगुनी थिएन। आभालाई उस्को घर बोलाएको बेला मलाई घरमै लिन आएको थियो। कत्रो रहर थ्यो--के के न भनुम्ला--के के न सुन्न पाईएला--अनुभव गरीएला भन्ने थ्यो--बाङ्ग्या बाउले त्यै दिन बाङ्गे र मलाई बालाजु खेदे। आउदा आभा गैसकीछ। बाङ्गेले केही छैन, म यस्को क्षती पूर्ती गराम्ला भनेको थ्यो र भर परेको थिएँ। भर पर्नु पर्ने कारणमा त्यो बिशालनगरकी सुन्दरीले पनि योगदान गरेकी थिई।

शनिबारको बिहान थ्यो। सात जस्तो बजेको हुंदो हो। पशुपती जान बाङ्गे कुनै पनि बेला आईपुग्ने थ्यो। तयार हुँदै थिए। नभन्दै एकै छिनमा बाङ्गेलाई कोठा बाहीर बोलेको सुनें मैले। म त्यति बेला दोस्रो तलामा बस्थें। मुल ढोका बन्द भए मात्रै नत्र उ सुरु सुरु मेरै कोठामा आईपुथ्यो। काका बाहीर निस्कीन लागेका रे छन, उनी सँग दुई शब्द बोलेको सुनें। ढोका टक टक गर्यो। किन सुध्रेछ आज भन्दै थिएँ, उसैले खोल्यो ढोक्या। ढप्क्याको मात्रै थियो। चुकुल लाको थिएन। ढोका सम्म त म पनि पुगेकै थिएं। खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा।
...
Read Full Discussion Thread for this article