Posted by: dipika02 February 22, 2012
मिती र तिथी
Login in to Rate this Post:     5       ?         Liked by
 
भाग ३
केही समय नेपालमा बसेर फर्किएँ। पढाई तँछाड र मछाड गर्दै दौडिन थाल्यो। तेस्लाइ भेटाउने धुनमा हतार र भागम्भाग मै दिन बिते। एन्जिनीरिङ्ग को अन्तिम सेमेस्टर मा थिएँ। ग्र्याजुएट हुनलाई senior year मा 6 क्रेडिट को सिनियर डिजाइन प्रोजेक्ट गर्नु पर्थ्यो। त्यो नसकी ग्र्याजुएट नहुने। 6 क्रेडिट को क्लासलाई १२ क्रेडिट कै मेहनत गरेकोथ्यौ म र मेरो पार्ट्नरले। एउटा wireless robotic system डिजाइन गर्न दिएका थिए कमिटिले। कहिले के नमिल्ने कहिले के गरेर बल्लतल्ल भनेको जस्तो भएकोथ्यो। दुई दिन मा कमिटी सामु देखाउनु पर्नेथ्यो र अर्को हप्ता EE Dept. लाई। बिहान सम्म चुरी र फुरी गर्दै गूडिराखेको फुच्चे robot एक्कासी मुर्दा लडेको जसरि भुइमा ढल्यो। चल्नै छोड्यो। तारहरु सबै हेर्यौ, प्रोग्रामको कोड सबै हेर्यौ, कतै केही भेटिएन। तेस्मै अल्मल्लिएको चार घण्टा नि बढी भईसकेकोथ्यो। पार्ट्नर उता आत्तिएर बेहोस् होला जस्तो भईसक्यो। "I have to graduate this semester. I have to..." भनेर त्यहा नै सेरिने हो कि जस्तो गर्न थाल्यो कत्तिन मैले चै ग्र्याजुएट हुन अर्को १० बर्ष लगाएनी हुन्छ जसरी। ओठ र घाँटि दुबै प्याक प्याक सुक्न थाल्यो। दिमाग ठ्याप्पै बन्द भएर टाउकोलाई कता लगेर बजारौँ जस्तो भईरा बेलामा फोन बज्यो। सारिकाले गरेकि रहिछ, उठाएँ।
 
"मोरो थोत्रे खटारा फेरी स्टार्ट भएन, तँ बसमा जा है काममा" -- सारीकाले दु:ख पोखी।
 
"लौ, आज के बार हो?" -- मेरो होस हवास ले काम गरेन। काममा जान पर्ने पनि भुसुक्कै भईछु।
 
"दिनभरी क्लास र ल्याब मा बसेर अहिले बार नै बिर्सिस? बौलाउलिस है ग्र्याजुएट हुने बेला सम्ममा"--हाँसोमा मिस्त्रित शब्दहरु आए। तेस्ले त्यो "बौलाउलिस" भन्ने शब्द खुब प्रयोग गर्थी। बेला बेलामा त डर नि लाग्थ्यो। बेक्कर सरस्वती मुखमा बसेको बेला पर्‍यो भने के गर्नु? गएन आफ्नो जिन्दगी?
 
"जा, बरु काममा चै गैहाल। बसमा जानु पर्छ आज, बेक्कार टार्डी पाउलिस"---मैले केही भन्न नपाई उसैले थपी।
 
त्यो थोत्रे गाडीले पनि दिनु दु:ख दिएकोथ्यो सारीका र मलाई। दुई जना मिलेर पहिलेनै ११ बर्ष गुडिसकेको Toyota Camry किनेका थियौँ। थोरै गूड्या किन्न त हुन्थ्यो तर पैसा हातको मैलो भन्थे हुन पनि तेस्तै नै हुन्थ्यो। देख्ने बित्तिकै सफा गरिहाल्न पर्थ्यो। आफुले नगर्या बेलामा कता कता बाट पानीको फोर्स आउथ्यो, त्यो छुसे अलिकती को जोड्जाम त एक तोड मै सफा चट हुन्थ्यो। तेइ थोत्रे गाडि नि किनेको एक बर्ष त राम्रै चल्यो। हामीले नि घोडा कुदाए झैँ कुदायौ। तेस्पछी त बुढो शरीरलाई रोग ले च्यापेको जसरी कहिले कता के बिग्रेको छ कहिले के। गर्मी आयो ac बिग्र्याछ, जाडो आयो हिटर। छानी छानी जुन बेलामा जे चाहियो त्यही बिग्रिन्थ्यो। जताततै खर्चै खर्च गरायो। त्यो एउटा गाडी हामीलाई हात्ती पाल्या जस्तो भारी भएकोथ्यो। धेरै खर्च गरियो अब जती चल्छ चलोस अनी बिग्रेसी थन्काइदिउँला भनेर हामीले केही बनाउनै छोडेको धेरै भईसकेकोथ्यो। त्यो ताका त ५० को स्पीड कटेपछी धामी काम्या जसरी काम्न थालेकोथ्यो हो न हो बाटोमै अलपत्र पार्लाकी जसरी। तर जातै फालिसकेको चै थिएन। धन्न गन्तब्य सम्म चै काम्दै र हल्लिदै भएनी अझ बेला बेलामा त मफ्लर लाई के हुन्थ्यो कुन्नी? गर्जदै भएनी पुर्याउथ्यो।
 
 
स्टार्ट नै नभएपछी बनाउन परीहाल्यो। फेरी कती को चुना लाग्ने भयो भन्ने पिर छुट्टै। पढाई र पैसाको सन्तुलन नि आफ्नो कहिले नमिल्ने। ढिकिच्याउ जस्तो थ्यो। कामलाई थन्काएर पढाईलाई एसो उकास्न खोज्यो, पैसा खस्किन्थ्यो। पैसालाई उकास्यो जाँच का ग्रेड ले झस्काउथ्यो। पढ्न त युनिभर्सिटी ले यसो उसो बन्द्बस्तै गर्द्याथ्यो तर खान परीहाल्यो, बाँच्न परीहाल्यो। केही सिप नलागेर हप्तामा २५ घण्टा जती बाहिर कलेक्सन एजेन्सी मा काम गर्थे। युनिभर्सिटीमा थाहा पाए त घोक्र्याउथे सिधै तर खान र बस्न नपाएर लम्पसार परे नि घोक्र्याइहाल्थे। भाग्यमा तेइ घोक्र्याउनै लेख्यारैछ भने त कस्को के लाग्छ र? भनेर आटै गरियाथ्यो।

तेइ २५ घन्टे कलेक्सनको काम पनि सजिलो त कहाँ थ्यो र? ब्याज नै साँउ भन्दा १० गुना धेरै तिरिसक्दा नि नघटेको त्यो ऋण "अब त काटे रगत आउछ निचरे के आउछ थाहा छदैछ, म त फुटेको कौडिनी तिर्दिन, तिमीहरुले जसरी निकाल्ने हो निकाल" भनेर अडान कसेका ऋणीहरु सँग अरु पैसा ओकल्न लाउनु पर्थ्यो। अझ बेला बेलै "गो ब्यक तू योर कन्तिरी" भनेर कन्ट्री नि राम्रो सँग भन्न नजान्ने ले उल्टै झपार्थे। उनिहरुले जे भनेनी आफुले सुन्न पर्थ्यो। न फोन काट्न पाइन्थ्यो न त उल्टो झपार्न नै। कहिले त रगत उम्लेर टाउकोबाट नै निस्केला जस्तो हुन्थ्यो, तर गाँस र बास नि सोच्नै पर्‍यो। उम्लेको रगत लाई शान्त पारेर तै पनि अलिकती त तिरिहाल्छन कि भनेर प्रयास गर्नै पर्थ्यो।

त्यो ढलेको robot लाई लकर मा राखेर बस चडेर गएँ काम गर्न। एकातिर प्रोजेक्ट नमिलेको पिर, अर्को तिर बसमा जानु परेको, काम त झन रमाइलो कहिले नै लागेकोथ्यो र? दसैंमा घिच्याएको खसी जसरी जबर्जस्ती मन नलागी नलागी छिरे काम मा। आफ्नो टेबलमा पुग्दा ठुलो फुकेको बलून र एक पोको चक्लेट राखेको देखेँ। एउटा टिम बाट अर्कोमा सारीदिएको जम्मा एक हप्ता मात्रै भएकोथ्यो। "यो HR बुढीले फेरी कस्को पोको मेरो मा राखिदिछे, ६० कटिसक्दा नि काम गर्दैछे, के याद होस्?" भनेर मनमनै उस्लाई गाली गर्दै गएँ उस्को अफिसमा।
 
"It was on my table. I think you left it at a wrong Place"--- उस्लाई किन? कसरी? केही नसोधी आँफै जान्ने भएँ म।
 
"Isn't it your Birthday today? that's what my record shows"---- उु त झन म भन्दा नि अचम्म पर्दै कम्प्युटर मा हेर्न थालि।
 
पहिले त बुढीले कुन चाइ लाई म भन्ठानी जस्तो लाग्यो। बिर्थडे भनेपछी पो झल्यास्स टाउकोमा बिजुली खसेको जसरी कागजी जन्मदिन सम्झिएँ। फेरी बिर्सेंछु नक्कली जन्मदिन। पहिलो दिन केमेस्ट्री क्लासको दुर्घटना पछी सधैं याद हुन्थ्यो Oct 5th । त्यो दिन दिमागमा हजार वोटा कुराहरु खेलिराखेकोथ्यो कस्ले सम्झन सक्नु त्यो नक्कली जन्मदिन? सक्कलिनै त बिर्सेंला जस्तो भएको बेलामा।
 
सम्झन त सम्झेँ तर बुढीलाई पो के भन्ने? उु त्याँ चस्मा नाक को डाँडी बाटै तल झरिसक्दा नि मत्लब नगरेर आफु झुक्केको हो कि भनेर एकचित्तले मेरो फाइल खोजिराथी।

क्रमश:
Read Full Discussion Thread for this article