Posted by: dipika02 February 21, 2012
मिती र तिथी
Login in to Rate this Post:     5       ?         Liked by
 
भाग २
त्यो कागजी जन्ममिती ले के नै गर्छ र जस्तो लागेकोथ्यो त्यो बेलामा। हुन पनि नेपाल मा बसुन्जेल त केही फरक परेन। जब यता आउने सुर सार भयो तब धमाधम कागजपत्र हरु नक्कली जन्मदिन्मा बन्न थाले। सुरुमा त बानी नै परेको थिएन। जेस्मा नि सक्कली नै लेखिहाल्थे तर अब त सक्कली जन्ममितिलाई नक्कलीले मिती ले ढपक्क ढाकिसकेछ। तेस्को असर पहिलो सेमेस्टर मै देखेँ।
 
पहिलो सेमेस्टरमा केमेस्ट्री को पहिलो क्लास थ्यो। प्रोफेसर ले सुरुमै भने एकै दिनमा जन्मेका मान्छेहरुको एक अर्का सँग केमेस्ट्री मिल्छ रे। उनले त्यो हरेक पहिलो केमेस्ट्री क्लास मा भन्ने गरेका रहेछन्। प्रोफेसर सँग पहिले नै जन्मदिन एउटै दिन पर्ने हरुको लिस्ट हातमा रहेछ। महिना र तारिक उनले भन्ने अनी त्यो दिन जो जो जन्मेको हो उठेर एक अर्का सग परिचय गर्नु पर्ने।
 
उनले June महिना बाट सुरु गरे। आफु चै Jan-31st कुरेर बसिराथेँ। तिथी कुर्न भएन, जन्मेको दिन त्यहिथ्यो तेइ कुरेर बसे। उनले भन्दै जादा Oct 5th मा पुग्यो। एक जना केटा कता पछाडि उभिएको जस्तो पनि लागेकोथ्यो। उनले फेरी Oct 5th दोहोराए। उभिनेमा त्यही एक जना मात्रै थियो। तेस्पछी प्रोफेसर्ले " Dipika, what day were you born on?" भनेर कोठानै थर्किने जत्रो स्वर मा भनेपछी पो झल्यास्स सम्झेँ नकुल सर को उबेला को देन। उनले त बर्ष मात्रै नभएर गते पनि सारीदिएका थिए। भर्र्याङ् बाट खङ्र्याङ खुङ्रुङ तलतिर खदारिएको जस्तो भएर "Oh no, it was Oct 5th" मुख बाट फुस्किहाल्यो। सबैको हाँसो ले क्लास रङमन्च जस्तो भाथ्यो। तिनिहरुलाई के थाहा त्यो मितिमा आफ्नो जन्म ३ बर्ष जती अगाडि मात्रै भएको हो भनेर।
 
Oct 5th मै जन्मेको भनेर त्यो अघी देखी उभिएको केटा म भए नजिक लम्रङ लम्रङ गर्दै आयो। उस्को कम्मर सम्म पनि म आइपुग्दिनकी जस्तो देखिन्थ्यो। कुरा गर्न आफु मेच मै चड्दा नि नभ्याउला जस्तो थ्यो। मोटो सिसा भएको चस्मा लगाएको, त्यो चस्मा भित्र भासिएको आँखा खोज्न नि मेच चाहिएला जस्तो। मेरो देश, भेष, भाषा, भुसा सबैको बारेमा आज नजाने त भोली को दिन नै आउँदैन जस्तो गरेर सोध्न थाल्यो। नमिलेको केमेस्ट्री पनि मिलाउन तम्स्यो उु। बिचरालाई हाम्रो तिर त जन्मदिन पनि घटाऊने बढाउने चल्छ भन्ने के थाहा? जन्मदिन नजिकै आउँदैछ भनेर पनि उसैले सम्झायो मलाई। जन्मदिनको अग्रिम शुभकामना दिएर उस्लाई सक्दो छिटो बिदा गरिदिएँ। बिदा नगरेर नि के गर्नु? ढाँटेको कुरा काटेनी मिल्दैन भन्छन। बेक्कार लामो कुरा गर्दा कता तिर गएर कुरो फुस्केला भन्ने डर।
 
यहाँ आएपछी मलाई त्यो पुर्णिमा तिथी कहिले याद भएन। सधैं पुर्णिमाको बिहानै बुवाले फोन गरेर सम्झाउनु हुन्थ्यो। तेस्पछी बल्ल बाबा आमाको शुभकामना आउथ्यो। दुई बर्ष लगातार बुवाले सम्झाउनु भयो। तेस्रो बर्ष बुवाले सम्झाउनु भएन। त्यो बर्ष मैले आँफैले सम्झिए मेरो जन्मदिन। मेरो जन्मदिनको ठीक तीन दिन अगाडि बुवाको मृत्‍यु भयो। बाबा आमा कृया मा हुनुहुन्थ्यो, म पनि यहाँ बुवाको जुठो बार्दै थिएँ। निकै खल्लो लाग्यो मलाई त्यो दिन। बुवालाई सम्झेर धेरै नै रोएपछी बल्ल मन हलुका भयो।

त्यो सेमेस्टर सकेर म नेपाल जान लागेको थिएँ। बुवा निकै खुशी हुनुहुन्थ्यो तर मैले भेट्न पाइन। ३ महिना जतिले म ढिलो भएँ पुग्न। नेपाल पुगेपछी बुवाको कोठाभित्र छिर्न साह्रै गाह्रो भयो। मैले रुवाबसी गरे भने त्यहा अरुको रोदन थपिने निस्चित्थ्यो तेसैले मन दरो पार्नैपर्थ्यो। भित्र छिरे। बुवाको तस्बिर लाई ढोगेँ र ढोगे पछी मलाई आमाले एउटा रातो मख्मल ले मोरेको बट्टा हातमा राखिदिनु भयो। बुवाले मेरो जन्मदिनको उपहार भनेर आमालाई कानमा लगाउने टप दिनु भएको रहेछ। "छोरी अब आउछे अनी आँफैले दिनुस् न बुवा" भनेर आमाले भन्दा "तेतिन्जेल सम्म म बाँच्दिन होला। उु आएपछी तिमीले नै देउ" भनेर आमालाई जिम्मा लगाउनु भएको रहेछ। काँप्दै गरेको हातले बट्टा खोले। आँखा धमिलो भएर आयो। बट्टा भित्र सानो पर्चि पनि थ्यो। नेपाली कागजमा बुवाले त्यो दिन को मिती लेख्नु भएको रहेछ।नेपाली कागजमा मसिले लेखिएको भएर अक्षर पढ्न एकछिन समय लाग्यो। मेरो जन्मदिन भन्दा ठीक तीन दिन पहिलेको मिती रहेछ। बुवाले यो मायाजाल त्यागेर बिदा लिनु भएको दिनकै मिती रहेछ।
 
थर्थर कापेका ओठ र अवरुद्ध गला लिएर बुवालाई सम्झिएँ। सधैं पुर्ने पुर्ने भनेर रट लगाउने मेरो बुवाले तेइ पुर्णिमा सम्म पनि कुर्नु भएन छ। त्यो कागजमा बुवाको अक्षर पढ्दा उहाको हातका औँलाहरु आँफैले देखे झै लाग्यो। म सानो छँदा कती भरिला थिएँ ति औलाहरु, पछी छालाहरु पातलिदै गएका जस्तो लाग्थ्यो। "बुढेस्काल जती बैगुनी केइ हुन्न बा। आफ्नै छाला नि झुन्डिएर कती कुरुप हुन्छन हेर त। अब कती बाँच्छु होला र?" भनेर म यहाँ आउने केही महिना अगाडि आफ्नो औंलाहरु अनी हातमा पत्र पत्र परेका छालाहरु देखाउदै भन्नु भएको हिजै झै लाग्यो। कुनै दन्तेकथाका राजाले आफ्नो राज्यकाल सकिएपछी समाधी लिएर कल्पब्रीक्षमा परीणत भए झै लाग्यो। बुवाको छबी कोठाभरी रङ्मग्गियो। घाँटी नेर आएर सारा सम्झना र दु:खहरु जम्मा भए। आमाले काधमा हात राख्नु भयो तब सबै दु:खहरु बर्बर गर्दै आशु भई ओइरिनलागे।"यसरी पित्रिको आसिर्बाद र प्रशाद सबैले पाउदैनन छोरी, जतन गरेर राख्नु" आमाले सम्झाउदै भन्नु भयो।
 
क्रमश:
Read Full Discussion Thread for this article