Posted by: KaliKoPoi December 21, 2011
मकैको भात
Login in to Rate this Post:     18       ?         Liked by
 मकैको भात

**************************

मैलो गोडा

फाटेको कपडा

सानो झुपडी

चिसो हाबा छिर्ने

बन्द नहुने

पूर्वपट्टीको सानो झ्याल

म बालक दंग पर्छु

धुलाको कणको रातो रबि-किरण सँगको लुकामारी हेर्दै

 

आँइ!!आँइ!!

अली परको गोठको भैंसी कराउछ

"उठिस बाबु!"

म खुशी भए

मेरि आमा आइन

आफू भन्दा ठुलो

घासको भारी बिसाइन

उनको मायाको बदला

म प्रहार गर्छु उनलाई

प्रश्न बाणले  

"भैसीको बुबु कैले खाने?"

पसिनाको खहरेबाट निस्कदै 

उनले निरस जवाफ दिइन

म बालक दंग पर्छु

अधिया पालेको रे, साहुले लान्छ रे आफ्नो भन्दै

 

मेरो भोक

उनको निराशाको थुप्रोमा 

थप एक थियो

चामल राख्ने 

रित्तो घैटो छामिन

केही नभएको

भकारी पनी नियालिन

उनको बिबसताको बिचमा

म आग्रह गर्छु

"आमा भात पकाउनु न।"

परको मकैको पिठोको पोको हेर्दै

उनी मुस्कुराउने कोशिश गर्छिन

म बालक दंग पर्छु

मकैको पिठोको पनि चामलको जस्तो भात बन्छ भन्दै। 

 

"एस्तो जाबो कुडो"

उनको आमिलो मनमा

अरु कुड्याउन कफी थियो

मेरा तिता हेय शब्द

उनले आफ्नो भाग्य लाई सरापिन

आधी पाकेको गोलभेडामा

थिचेर तिमुरको अचार बनाइन

अबरुद्ध गलाको बिचमा

उनको मिठो झुट

"आज पकाउदा के बिग्रेछ।"

आफ्नै हातले भात र अचार मुछ्दै

मलाई आँ गर्न भन्छिन

म बालक दंग पर्छु

कसैले नपाएको संसारकै मिठो भोजन गर्दै। 

 

 

समयको बेगमा

परिस्थितीको भुमरीमा 

कहाँ बाट कहाँ पुगे

दौडिन्छु म आज

उनले ताते गर्न सिकाइन

कालो बादल पारीको

सूर्य हेर्न सिकाइन

चौरासी ब्यन्जन ले त्रिप्त गर्न नसक्ने

मेरो भोकको तृष्णा

उनको हातको मिठो जादु

जब म नक्कल गर्न कोशिश गर्छु

मनबाट तप्प आँशु चुहिन्छ 

अनि म भन्छु 

आमा! मकैको भात

Read Full Discussion Thread for this article