भाग-१६
एकहप्तापछि उ अफिसमा केहि काम गर्दैथियो, मोबाइलको घन्टी बज्यो, नम्बर चिनेन, "हलो!" उताबाट आएको स्वर एक्दम मधुरो थियो, डराएको जस्तो! "हलो को?" उसले तुरुन्तै सोध्यो। "साक्षी!" एकछिन फोनको लाइन काटिएको जस्तो स्तब्ध भयो। उसलाइ साक्षीले यसरी फोन गर्ली भनेर एकरति पनि आशा थिएन, ३ बर्ष अघि भने कुरा बेग्लै थियो।
"अनि तिमी कहाँ?" उसले सोध्यो।
"घरमै!" साक्षीले एक्कासी सोधी"तपाइलाइ मैले बिहे नगर्नु कहिल्यै भने?"
"के रे?" उसले बुझेन।
"तपाइले अस्ति कागजमा के लेख्नु भएको थियो?" साक्षीको स्वर अलि ठुलो भयो।
उसले बल्ल सम्झ्यो त्यो कुरा, "तिमी चाहदैनौ भने म यो बिहे गर्दिन साक्षी!", उसले त्यही लेखेको थियो हतारमा।
"मेरो मतलब के भने---" उ कुरा बुझाउने प्रयासमा थियो, अफिसको अर्को फोन बज्न थाल्यो, तर ३-४ घन्टीपछि रोकियो।
"मेरो भनाइको तात्पर्य के भने यदि तिमीलाइ यसरी सिडिओ अफिस आएर साइन गर्ने काम झन्झट लाग्छ भने मलाइ बिहे गर्नु छैन। डिवोर्सको कागज नदेखाइ मेरो बिहे हुनै सक्दैन। ठिकै छ, तिमीलाइ मन नपरेको काम किन गराउने मैले?" उसले भनेको कुरा साक्षीले मौन भएर सुनिरही।
"डिवोर्सको लागि साइन गर्ने कुरा मेरो लागि ठुलो हैन, तर फेरि एकचोटि मैले गरेको गल्तीको लागि म समाजको अगाडी कति चोटि दोषीको रुपमा उभि रहु? त्यहा सोधिने प्रश्नहरुको जवाफ दिदै म कति चोटि आफ्नो आँखाबाट आफै गिरुँ? के म एउटा गल्तीको कारण जिन्दगीभरि दण्डित हुनु पर्छ भन्ने छ?" साक्षी स्वाशै नरोकी बोलीरहेकी थिइ।
"हेर साक्षी! यो सबै कुरा मलाइ थाहा छ। मलाइ पनि तिमीलाइ अरुले त्यसरी ब्यबहार गरेको मन पर्दैन-----------" उसको कुरा नसकाउदै फेरि अफिसको फोन बज्न थाल्यो। उसले एकछिन कुर्यो, तैपनि अफिसको फोन बज्न रोकिएन।
"यो कुरा म तिमीसङै भेटेर गर्छु। अहिले अफिसमा धेरै कामहरु छन्, यहाँ डिस्टर्ब् हुन्छ। तिमी साँझतिर एक्चोटि बाहिर आउन सक्छौ?" उसको मनमा फेरि साक्षीलाइ भेट्ने कारण जन्म्यो।
"मलाइ कहि जाने अनुमति छैन।" साक्षीको स्वरमा उदाशी थियो।
"किन?" उसले बुझेन।
"दिदीसङ बाहेक म कहिले पनि एक्लै बाहिर जान पाउदिन। मैले भने नि म सँजाय अझै भोगिरहेछु।" साखीको कुरा सुन्रेर उ छक्क पर्यो।
"त्यसो भए म आफै आँउछु तिम्रो घरमा!" उसले निर्णय गर्यो।
"प्लिज, नआउनुस्! मलाइ झन् धेरै कुरा सुन्नु पर्छ। तपाइ बिहे गर्नुस्, मबाट केहि समस्या हुने छैन।" साक्षी फोन राख्ने बिचार गर्दैथी।
"तिमी दिदी कहा हो अहिले?" उसले अड्कल लगायो।
"हजुर?" साक्षीले जवाफ नदिदै नेपथ्यमा "कसको फोन साक्षी?" भन्ने एउटा नारी स्वर सुनियो, त्यतिकैमा "रङ नम्बर!" भन्दै साक्षीले फोन राखिदिइ।
ँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँ
३ चोटि फोनमा साक्षीको दिदीसङ अनुरोध गरेपछि उसले बल्ल बल्ल १०-१५ मिनेटको लागी दिदीकै घरमा भेट्ने मौका पायो। उसले केहि यस्तो बिबशता सुनायो, साक्षीसङ सल्लाह नगरी नहुने बतायो। वकिलको सुझाब अनुसार भनेर भेट्नुको उदेश्य डिवोर्सको प्रक्रिया बनायो। खोइ, कसरी हो? उसले झुठ माथि झुठ बोल्नै पर्यो। अन्त्यमा साक्षी र उसलाइ बैठक कोठामा कुरा गर्ने बाताबरण दिइयो, जहाँ सुनसान थियो र उनिहरुलाइ कुरा गर्न कुनै अबरोध थिएन। तर बेलाबेलामा भने चिया र अनेक बहानामा कोहि न कोहि उनिहरुको कुरा सुन्न भित्र आइरहेका हुन्थे।
"साक्षी, तिमीलाइ त्यहा आउन गार्हो लाग्छ भने वकिलले अरु कुनै उपाय बताएको छ।" उसले कुरा शुरु नै त्यसरी गर्यो, जसले गर्दा साक्षी गम्भिरता पुर्बक उसको कुरा सुन्न तयार भइ।
"जहाँ गए पनि मैले आखिरमा जे सोधिन्छ त्यसको उत्तर दिनै पर्छ। यदि वकिलले जहा गएर छिट्टो काम सकाउछ, म त्यही आँउछु। मलाइ गार्हो भए पनि तपाइको जिबनको लागि म अबरोध त बन्नु भएन नि।" उसले पनि सहानुभुति देखाइ उ प्रति।
"हैन, हैन। मैले त्यस्तो केहि सोध्नै पर्दैन, खुरुक्क डिवोर्स पेपरमा साइन मात्र गर्ने भनेको छु।" उसको घाँटीबाट एकप्रकारको हलुका आवाज निस्क्यो, अप्ठ्यारो खालको।
"कहिले? कहाँ जानु पर्यो त म?" उसले उसको अनुहारमा प्रत्यक्ष हेरी, उसले देख्यो साक्षीको आँखामा गहिरो उदाशी छ र निधारमा तनाबको रेखाहरु देखिन्छन्।
"शायद यो हप्ताभित्रै! सकेसम्म छिटो!" त्यसोभन्दा उसले साक्षीको आँखामा हेर्न सकेन।
"अनि कहाँ?" साक्षीलाइ यो प्रश्नको जवाफ चाहिएको थियो।
"आज बेलुकी मलाइ वकिलले फोन गर्छ, अनि म तिमीलाइ भन्छु।" उसले गहिरो स्वाश फेर्यो।
साक्षी चुप लागी, चिया चिसो भैसकेको थियो। चिया पिउने मन कसलाइ थियो र त्यहा?
"चिया लिनुस्न!" साक्षीको दिदी भान्छातिर पस्ने बहानामा कोठाबाट फेरि भित्र पसी। उसले चियाको कप उठायो, एक घुट्को पियो।
"आजभोलि के गर्दैछौ?" उसले साक्षीलाइ सानो स्वरमा सोध्यो।
"घरमा बस्छु!" साक्षीले सटिक उत्तर दिइ।
"कलेज जाँदैनौ?" यस्को जवाफमा साक्षीले "जान्न" भनेर टाउको मात्र हल्लाइ।
"पढ्न मन लाग्दैन? मास्टर्स त गर्नु पर्ने, आजकाल एकदम कम्पिटिशन छ जब मार्केटमा। क्वालिफिकेशन त नभइ हुदैन।" उसले अलि जोड दियो शिक्षामा, उ कुरा नसकोस् भन्ने चाहन्थ्यो।
"मलाइ काम गर्ने अनुमति पनि छैन। किन पढ्नु पर्यो?" साक्षीले अरुले नसुन्ने गरी बिस्तारी भनी।
"काम गर्ने हो? म कुरा गरु?" उसले अनायासै साक्षीप्रति उसको आधिपत्य अझै छ झै जस्तो सोच्यो।
"अब कसैको कुरा सुन्नु हुन्न उहाँहरु! म आजिबन कैद हुनेछु यस घरमा! एउटा गल्तीको सँजाय मैले म्रित्युसम्म भोग्नै पर्छ!" साक्षीले आफ्नो मनको दुख पोखी।
उसङ साक्षीलाइ त्यहाबाट स्वतन्त्र बनाउने कुनै जुक्ति छैन, साँच्चै एउटा गल्तीको सँजाय कति धेरै, कति कठोर!
"कहिले कहि-- यस्तो लाग्छ कि!" साक्षीले उसको सोचाइलाइ भङ गर्दै हेरी र सुस्तरी भनी "यदि मिल्ने भए मेरो जिन्दगीको त्यो अध्याय मेटाउन पाए कस्तो रमाइलो हुन्थ्यो! त्यही एउटा अपरिपक्व भुलले मेरो जिन्दगीको सबै खुशी खोसेर लग्यो।"
"कहिलेकहि -- मलाइ पनि त्यस्तै लाग्छ साक्षी, जिन्दगीको त्यो एउटा पाना च्यातेर फाल्न पाए-- हाम्रो "आज" कति फरक हुँदो हो?" उसको मनको बह पोखियो।
दुबै सोचाइमा मग्न भए, उसको मोबाइल बज्यो। नम्बर हेर्दै उसले फोन उठायो "ए, अँ म यहाँ एउटा सानो मिटिङमा छु। आधाघन्टा लेट हुन्छु होला।"
साक्षी भान्छामा गइ र फेरि चिया बनाएर ल्याइ। उसलाइ त्यहाबाट उठ्नै मन लागेन, कुरा भन्दा धेरै उनिहरु बिगतमा डुब्न थाले, फेरि फोनको घन्टि बज्यो।
"उषा, म तिमीलाइ १५ मिनेटमा पिक अप गर्छु।" भन्दै उ उठ्यो, साक्षीले नसुने जस्तो गरी।
उ बाहिर निस्किदा साक्षी भित्तामा घडी हेरिरहेकी थिइ, घडीको सुइ फनफनी घुमीरहेको थियो। उसलाइ साक्षी कतै बाहिर निस्किन्छे कि भन्ने आशा लागिरह्यो।
"ढ्याम्म!" मुलढोका बन्द भएको आवाज सुनेर साक्षी झस्की। उ हिडिसकेको थियो।
क्रमश: