Posted by: crazy_love October 22, 2011
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

भाग-१५

दुइ हप्तापछि वकिलले सीडिओ कार्यालयमा डिवोर्सको प्रक्रिया समाप्त हुने ब्यबस्था मिलायो। धेरै पुरानो सम्बन्धलाइ कानुनी रुपमा अन्त्य गर्नु पर्ने भएकोले सीडिओ आफैले उ र साक्षीसङ कुरा गरेर मात्रै कागजपत्रमा दस्तखत गराउने कुरामा सहमति भयो। तोकिएको मिति र समयमा उनिहरु दुबैजना सिडीओ अफिसमा जानै पर्ने भयो। ३ बर्षपछि एकचोटि फेरि उसले साक्षीलाइ देख्ने भयो। पोखराबाट फर्केपछि उसले धेरै प्रयास गरेको हो साक्षीसङ कुरा गर्न, तर उ असफल भयो। साक्षीको दिदीले पनि धेरै सहयोग गर्न खोजेको थियो उनिहरुको कुरा गराउन तर साक्षी मान्दै मानिन। उसको जिबनले नयाँ मोड लिन लागेको बेलामा उसले साक्षीको नाममा मन डुलाउन बेकार थियो। तैपनि साक्षीलाइ भोलिपल्ट भेट्ने कुराले उ नर्वस जस्तो भैरहेको थियो। उसलाइ देखेपछि साक्षीको कस्तो प्रतिक्रिया होला? उसको आफ्नै कस्तो मनस्थिति कस्तो होला? के उसले साक्षीसङ आमने सामने प्रतक्ष्य कुरा गर्न सक्ला?

बिहानै उ अफिस हिड्यो र १२ बजेतिर वकिललाइ लिएर उ सीडिओ अफिस् पुग्यो, हुन त १२:३० मा सीडिओ सङ भेट्ने कार्यक्रम थियो। तैपनि अलिकति अगाडि पुग्नु राम्रो ठान्यो। त्यहा पुग्दा उसले सोचे अनुसार साक्षी देखेन, न त उसको परिवार आएको थियो। घडि हेर्दा पो थाहा पायो उ समयभन्दा १५ मिनेट पहिले पुगेको थियो। सीडिओ साहेब मिटिङमा ब्यस्त हुनुहुन्थ्यो, पिएले मिटिङ सकिन अझै आधाघन्टा लाग्ने कुरा बतायो। भनेपछि यता-उता गर्दा १ बजे मात्रै सीडिओ भेट्ने मौका मिल्ने भयो। वकिल सामान्य रुपमा फाइलहरु पल्टाएर पढ्न थाल्यो, उ स्थिर भएर बस्न सकेन, घरि माथिलो तल्ल घरि तल्लो भरेङ ओहोरदोहोर गर्न थाल्यो। उकुसमुकुस त भैरहेकै थियो, झन त्यहा अनेक किसिमका मानिसहरुको हल्लाले उसलाइ झन दिक्क बनायो। यस्तै १० मिनेटपछि उसले साक्षीको दिदीलाइ ढोकाबाट भित्र पस्दै गरेको देख्यो, साक्षी त आइन कि क्या हो? उसलाइ शंका लाग्यो। उसको मनमा शंकाको बादलले घेर्नु अगाडी उसले साक्षीलाइ पनि देख्यो। उही साक्षी जसले उसलाइ छोडेर गइ र जसलाइ उसले मायाको नाममा अपनाउने भन्दै मध्यरातमा अलपत्र छोडेको थियो। साक्षी अलि परिपक्व देखिएको थिइ, हलुका पहेलो रङको कुर्ता लगाएकी थी, टाढाबाट हेर्दा उसको मुहार शान्त तलाउ जस्तो देखिन्थ्यो। शायद उसले पनि जीबनसङ सम्झौता गरिसकेकी थिइ। 

"नमस्ते!" साक्षीको दिदी दुइ हात जोडिरहेकी थिइ।

"नमस्ते हजुर!" उसले अलि अप्ठ्यारो मान्दै नमस्ते फर्कायो।

"हजुरलाइ बधाइ छ है!" दिदी मुस्काइ।

"के को हजुर?" उसले बुझेन।

"बिहेको नि!" उ अलि लजाएको जस्तो देखेपछि दिदेले सोधी।"अनि परिवारमा सबैलाइ सन्चै?"

"सबै राम्रै हुनुहुन्छ! अनि उता बुबा- मुमा सबैलाइ आरामै हजुर?" उसले औपचारिकता निभायो।

"सबै बेस हुनुहुन्छ। बुबा हजुरलाइ सम्झिरहनु हुन्छ। के गर्नु आफ्नै छोरीले गल्ती गरेपछि भन्दै अझै दुखी हुनुहुन्छ।" उनिहरु कुरा गर्दा गर्दै साक्षी अलि पर कुनामा एउटा बेन्चमा गएर बसी। उसलाइ देखि कि देखिन उसले थाहा पाएन। तर उसले साक्षीलाइ टाढैबाट भए पनि लुकि लुकि हेरि रह्यो।

"कति बेर लाग्छ होला है? मेरो उता एक्दम अर्जेन्ट काम छ। आधा घन्टामा त सकिन्छ होला नि!" साक्षीकी दिदी हतार जस्तो गरिरहेकी थिइ।

"सीडिओ साहेब एउटा मिटिङमा ब्यस्त हुनुहुन्छ रे। हाम्रो काम त आधा घन्टा ढिलो हुने भयो।" उसले वकिलतिर हेर्दै भयो। वकिल पुलुपुलु साक्षीलाइ हेर्दै उसलाइ हेर्दै थियो।

"लौ मार्यो, मलाइ त १:३० बजे एउटा मिटिङमा नगै हुदैन। त्यो भन्दा अगाडी काम सके हुन्थ्यो।" दिदीले घडि हेर्नु भयो, "एकछिन है" भन्दै साक्षीसङ गएर कुरा गर्नु भयो। उसले दुबै दिदी बहिनीको भाब मात्रै देख्यो, बुझ्नै सकेन। साक्षी टाउको हल्लाइ रहेकी थिइ। उसलाइ साक्षीसङ कुरा गर्ने रहर जाग्यो।

"मुख हेर्दा त्यस्तो लोग्ने छोडेर पोइला जाने जस्तो त देखिन्न है?" वकिलले कानैनिर आएर सोध्यो उसलाइ।

"त्यतिबेला उ अपरिपक्व थिइ, गाइनेले मोहनी लगाएको थियो रे भन्ने हल्ला छ।" उसले साक्षीको बचाबमा नयाँ कथा थपिदियो।

"गाइने!" वकिल छक्क परेर उसको मुखमा हेरिरह्यो।

"एउटा पप गायक थियो, प्रख्यात त्यो बेला, अहिले त कुख्यातको लिस्टमा पर्छ!" वकिलले बल्ल बुझ्यो क्यारे अलिकति हास्यो मात्रै।

"सर म एकचोटि बुझ्छु है भित्र के हुदैछ?" वकिल फेरि सीडिओको कोठातिर लाग्यो।

उसले साक्षीतिर हेर्‍यो, उ कुनै किताब पढ्दै थिइ। उसकी दिदी भने घरिघरि घडी हेर्दैथी।

"मिटिङ सकिन अझै टाइम लाग्छ रे सर।" वकिलले भन्यो।

"कति टाइम?" उसको पनि अफिस छिट्टै फर्किनु पर्ने थियो।

"अझै १ घन्टा लाग्छ रे!" वकिल नि खुशी थिएन, उ पनि ब्यस्त थियो, मोबाइल बजिरहेको थियो।

उसले बहाना पायो साक्षी नजिक जाने, खुट्टाहरु लर्बराउन थाले, तर साहस गर्‍यो र पुग्यो। साक्षीलाइ एक नजर हेर्दै दिदीलाइ मिटिङ सकिन टाइम लाग्छ भन्ने सुचना दियो। उसको आवाज सुनेर साक्षी झस्की र किताबबाट नजर उठाएर उसलाइ हेरी, दुबैको नजर जुध्यो, फेरि किताबतिर हेर्न थाली। उसले देख्यो साक्षीको आखाहरु सजल हुन थाले, तप्प- तप्प आँसुका ढिक्काहरु गालाबाट झर्दै किताब भिजाउन थाल्यो। उसको मन अकस्मात नराम्ररी दुख्यो, उ यति नजिक नआउनु पर्ने। जबर्जस्ती उसले मनलाइ अन्तैतिर मोड्ने कोशिस गर्‍यो, साक्षीकी दिदी फोनमा कुरा गरिरहेकी थिइ, उसलाइ मिटिङ्मा उपस्थित हुनै पर्थ्यो।

"तिमी यहा बस्दै गर म मिटिङ सकाएर फेरि आँउछु।" दिदी बहिनीलाइ फकाउन थाली।

"नाइ, म पनि तपाइसङै आउछु।" साक्षी बच्चा जस्तै जिद्दि गर्न थाली।

"तपाइहरुको काम सकिन धेरै बेर लाग्दैन। सीडिओ साहेबको मिटिङ सकिनासाथै बोलाउनु हुन्छ। तपाइ जानु भयो भने हाम्रो काम नै रोकिन्छ। आज जसरी पनि यो काम सकाउनु पर्छ। सीडिओ साहेबले तपाइ दुबैलाइ देखेपछि १-२ कुरा सोध्नु हुन्छ र त्यसपछि तपाइहरु दुबैले साइन गरेपछि सक्यो। प्लिज! तपाइ चाहि नजानुहोस्! आज काम भएन भने अर्को समय मिलाउन धेरै गार्हो हुन्छ।" वकिल आएर साक्षीलाइ सम्झाउन थाल्यो। त्यसपछि बल्ल बल्ल मानी, उसकी दिदी गइ। एकप्रकारले उसलाइ सजिलो भयो साक्षीसङ कुरा गर्न। तर समस्या के पर्‍यो भने वकिल पनि नजिकै बस्यो। साक्षी किताब पढे जस्तो गर्न थाली, उसको नजरबाट टाढा भाग्न चाहन्थी शायद!


"चिया- चिसो पिउने कि?" वकिलले साक्षीको अप्ठ्यारो महसुस गर्‍यो र उसलाइ कतै पर लाने बिचार गर्‍यो।

उसले साक्षीलाइ सोध्यो, साक्षीले उसलाइ हेर्दै नहेरी "नाइ" भनी। उ पनि केहि नखाने भयो। वकिल आफै निस्क्यो त्यहाबाट चिया पिउने बहानामा।

"साक्षी!" उसको स्वर सुने पनि नसुने झै गरी साक्षीले।

"साक्षी! मलाइ माफ गर!" साक्षी मौन थी।

उसलाइ कहा बाट त्यो आँट आयो कुनी उसले किताब समाइरहेको साक्षीको हात समातेर भन्यो "साक्षी! त्यो रात मैले जे गरे, त्यसको लागि म तिमीसङ माफी मागिरहेछु। प्लिज! मलाइ माफ गर!"

साक्षीले हत्त न पत्त आफ्नो हात तानी।

"म बिगतबारे केहि कुरा गर्न चाहन्न।" साक्षी किताब पढ्न थाली।

"त्यसो भए हामी बर्तमानको कुरा त गर्न सक्छौ नि? हैन?" उसले साक्षीलाइ अपलक हेरिरह्यो, साक्षीको आखामुनि काला धर्साहरु थिए। उसमा पहिले जस्तो आकर्षण थिएन, ओइलिएकी जस्ती थी।

"मेरो बिगत र बर्तमानमा केहि फरक छैन।" साक्षीले उसलाइ ब्यङ गर्दै सोधी।"तपाइको नि?"

"अँ, मेरो पनि त्यस्तै हो, तर केहि परिबर्तन जस्तो हुन लागेको छ।" उसले बिहेको कुरा निकाल्न चाहेन।

"यतिपछि मलाइ यहाँ ल्याउन किन जरुरी थियो?" साक्षीले रुँला रुँला जस्तो गरी भनी।

"साक्षी! यो मेरो इक्षाले हैन। म जसलाइ बिहे गर्दैछु, उसको परिवारको चाहना हो। मलाइ पनि यो सबै झन्झट गर्ने मन थिएन।" उसले "बिहे" शब्दले साक्षीको अनुहारमा कस्तो प्रभाब पर्छ हेरिरह्यो।

"म बाट तपाइको जीबनमा कुनै हस्तक्षेप हुने छैन। अझै पनि तपाइलाइ त्यो कागजको प्रमाण चाहिन्छ?" निधार खुम्च्याउदै सोधी साक्षीले।

"त्यो मलाइ थाहा छ!" त्यसपछि के भन्न लागिरहेको थियो, वकिल उनिहरु नजिकै आइरहेको देखेर उ चुप लाग्यो।

"आज काम नहुने भयो!" निराश हुदै वकिलले भन्यो।

"के रे?" उ केहिबेर साक्षीसङ कुरा गर्ने मौका चाहन्थ्यो।

"यो मिटिङ सकिनासाथ सीडिओ साहेब मन्त्रालय जाने रे। अर्को जरुरी मिटिङ छ रे। आजै सकाउन पाए कस्तो हुन्थ्यो?" वकिल अझै दिक्क थियो।

साक्षी जुरुक्क उठी र जाने लागेको देख्नासाथै उसले रोक्यो। "एकछिन!" भनेर वकिलबाट अलि पर गएर उसले साक्षीलाइ भन्यो।

"साक्षी, तिमीसङ मैले केहि कुरा गर्नुछ! हामी दुबैको मनमा धेरै कुराहरु अनुतरित छन्। ती कुराहरु प्रष्ट्याउनु पर्छ। मनलाइ दमन गरेर कहिले सुखी हुन सकिदैन, साक्षी। न तिमी, न म।" साक्षी उसको कुरा वास्तै नगरी भरेङ्तिर लागी, उ पछि पछि लाग्यो। ढोकाबाट बाहिर निस्केर साक्षी खुरुखुरु बस-स्टपतिर लागी। उसले हतार हतार एउटा टुक्रा कागजमा केहि लेख्यो र साक्षीको हातमा राखिदियो। उसले केहि भन्नु अघि नै बस आयो र साक्षी उसले दिएको कागजको टुक्रा हेर्दै बस चढी।

क्रमश:

Read Full Discussion Thread for this article