Posted by: kanchu! October 14, 2011
रोए माओवादी अध्यक्ष दाहाल.......
Login in to Rate this Post:     0       ?        
read this article and decide what kind of son was he???when his dad was alive..




http://nagariknews.com/society/nation/32046-2011-10-11-02-42-18.html


 
 

रुवाइरहने छोरोप्रति गर्व गरे मुक्तिरामले

चाँदनी हमाल, चितवन, असोज २४ - 'म फलानोको छोरा हुँ' भन्दा जति गर्व हुन्छ त्योभन्दा कैयौं गुना बढी छाती फुल्छ 'म फलानोको बाबु हुँ' भन्न पाउँदा। मुक्तिराम दाहाल तिनै बाबुमध्ये एक थिए, जो छाती फुलाउँदै 'म प्रचण्डको बाबु हुँ' भन्थे। तर, त्यो गर्वसँगै थुप्रै आँसु पनि बगाएका छन् उनले, पुष्पकमल दाहालको बाबु हुनुपरेकोमा।
 

हरेक बाबुले जेठो छोरालाई बुढेसकालको लट्ठी सम्झेको हुन्छ। उनका जेठा छोरा पुष्पकमल भने शिक्षक बनेर गोरखा गएपछि कहिल्यै घर फिरेनन्। 'देश परिवर्तन गर्छु' भन्दै उतैबाट 'क्रान्ति' मा होमिए। छोराको बाटो हेरिबसेका बाबुको त्यसपछि दुःखका दिन सुरु भए।

छिमेकीहरूका अनुसार उनलाई छोरीहरूको बिहेदान र कान्छो छोराको पढाइ खर्च पुर्‍याउनै हम्मेहम्मे पर्‍यो। कान्छो छोरा गंगाराम पढ्न बेलायत गएका थिए। अहिले एसियाको १३ देशका सामुदायिक वन हेर्छन्।

माओवादीको सशस्त्र द्वन्द्व सुरु भएपछि त उनी र उनको परिवार तत्कालीन सरकारको निगरानीमै परिहाल्यो। उनी पटकपटक सेना र प्रहरीको केरकारमा पर्थे। घरमै सेना सोधखोज गर्न आइरहन्थ्यो। थानाले पुर्जी काटेको काट्यै गर्थ्यो वृद्ध मुक्तिरामलाई। उनको निधन ८५ वर्षको उमेरमा शनिबार राति भएको हो।

'त्यतिखेर दाइ (मुक्तिराम) ले छोराको क्रान्ति के हो भन्ने पनि बु‰नुभएको थिएन,' भाइ कृष्णप्रसाद, ७४, विगतका दिन सम्झँदै भन्छन्, 'उहाँ छोरा (पुष्पकमल) देखि निराश हुँदै आँसु झार्नुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो- यत्रा दुःखले पढाएँ, कमाएर ल्याउला भन्दा यो विपतमा पारेर गयो।'

सरकारले पुष्पकमलको टाउकाको मूल्य ५० लाख तोकेपछि भने उनले छिमेकीसँग भनेका थिए, 'छोराले गतिलै काम गरेजस्तो छ।'

'क्रान्तिको बारेमा अलिअलि बु‰न थालेका थिए। पक्कै पनि मेरो छोरा अब कि मर्छ, कि केही गर्छ भनेर सुनाउँथे हामीसँग,' ८४ वर्षीय छिमेकी हरि पोखरेलले मुक्तिरामसँगको भलाकुसारी सम्झे।

'द्वन्द्वका बेला मान्छे मारिएको खबर सुन्दा भने चित्त कुँडाउँथे,' उनले भने, 'किन लडे भाइभाइ, चाँडै शान्ति आए हुन्थ्यो भन्थे।'

भूमिगत भएको ११ वर्षपछि प्रधानमन्त्रीका रूपमा मात्रै पुष्पकमललाई भेटे मुक्तिरामले, चितवन शिवनगरको पुरानो घरमा। भेटमा पुष्पकमल रोएका थिए। थुम्थुमाउँदै मुक्तिरामले भनेका थिए, 'छोरा, अब तिमीले देशमा शान्ति ल्याउनुपर्छ, फेरि कसैको रगत नबगोस्।'

त्यसपछि पनि छोरालाई भेट्न त्यति सजिलो भने भएन मुक्तिरामलाई। उनी पुष्पकमल भाषण गर्न गएका ठाउँमा पुगेकै हुन्थे। कहिले भेट हुन्थ्यो, कहिले रोएर फर्कनुपर्थ्यो।

तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयमा क्रान्तिकारी विद्यार्थी संगठनले नयाँ विद्यार्थीहरूको निम्ति स्वागत कार्यक्रम गरेको थियो। दाहाल मुख्य अतिथि थिए। बिहान ११ बजेको कार्यक्रममा छोरा भेट्न पाइन्छ भनेर मुक्तिराम समयभन्दा अगाडि नै पुगेका थिए। तर, पुष्पकमल आएनन्।

त्यस दिन कार्यक्रम स्थलको एउटा कुनापट्टि टुसुक्क बसेर आँसु चुहाउँदै उनले भनेका थिए, 'म त हतारहतार खाना खाएर छोरो भेट्न आएको, छोरो नै आइदिएन।'

अन्तिम अवस्थामा पनि जेठा छोराको राजनीतिबारे सोधखोज गरिरहन्थे उनी। 'उपचारका क्रममा जनमैत्री र अन्नपूर्ण अस्पतालमा रहँदा पत्रिका हेर्ने र छोराले संविधान बनाउने सहमति गर्‍यो कि गरेन सोधेर हैरान पार्थे,' भतिजा नारायण दाहालले भने, 'अन्तिम अवस्थामा पनि देशको शान्ति र संविधानप्रति चेतनशील थिए।'

यही फूलपातीअघि पुष्पकमलका सम्धी ईश्वरीबहादुर केसी, ७५, बिरामी मुक्तिरामलाई भेट्न गएका थिए। त्यतिखेर उनले 'छोरालाई शान्तिका लागि सम्झाउनू' भनेर आग्रह गरेको केसीले बताए।

 

भोटबाट नुन ओसार्थे
अंशबन्डा गर्दा मुक्तिरामको भागमा तीन रोपनी जग्गा पर्‍यो- कास्कीको ढिकुरपोखरी-२, लेवाडेको पाखोबारी। त्यत्तिले परिवार पाल्न नपुगेपछि १७-१८ वर्षका मुक्तिनाथले तिब्बतको भोटबाट नुन बोक्न थाले। भोटदेखि पोखरासम्म नुन ल्याइपुर्‍याउन एक साताभन्दा बढी लाग्थ्यो। घर र बस्तुभाउलाई चाहिने छुट्ट्याई बचेको पोखरा बजार लगेर बेच्थे, अनि तीन मोहरदेखि दुई रुपैयाँसम्म ज्याला बोकेर घर फिर्थे।

'बाटाका घरमा खाने खर्च छाड्दै भोट जान्थ्यौं,' उनका काकाबाजे तर्फबाट भाइनाता पर्ने रामचन्द्र पौडेल ७२, सम्झन्छन्, 'चार दिनपछि छाडेको खर्च माग्दै खाँदै फर्कन्थ्यौं।'

मुक्तिरामसँगै सात दिन लगाएर भोटबाट नुन ओसारेको अझै सम्झना छ उनलाई। 'त्यतिखेर पैसा आउने राम्रो कामै नुन बोक्नु थियो,' मुक्तिरामका भतिजा नन्दलाल, ५४, बाल्यकाल स्मरण गर्दै भन्छन्, 'हामी सानै भए पनि बा र काकाबाका पछि लाग्थ्यौं।'

उनका अनुसार मुक्तिराम साह्रै बलिया थिए। भोटबाट फिरेको भोलिपल्ट अरू थकाइले चुर भएर खुट्टामा तेल घसिरहेका हुन्थे, उनी भने फेरि उतै लाग्थे।

 

भैंसीगोठमा जन्मे पुष्पकमल

बाबु गोविन्द दाहालका दुई पत्नीमध्ये जेठीपट्टिको कान्छा छोराका रूपमा १९८५ माघ १० गते मुक्तिरामको जन्म भएको थियो।

बाबुआमाको निधनपछि संयुक्त परिवारको भार मुक्तिराम दाजुभाइको काँधमा आयो। गरिबीकै कारण उनले सामान्य लेखपढ मात्रै गरे। २००३ मा भवानी भण्डारीसँग मागी विवाह गरेपछि उनी गाउँमै पाखोबारी र भैंसीगोठ स्याहारेर बसे।

भैंसीगोठमै रहँदा २०११ मा मुक्तिरामका जेठा छोरा पुष्पकमल दाहालको जन्म भएको हो। 'गोठ नगई त्यत्रा गाईभैंसीलाई पुग्ने घाँस पहाडमा थिएन,' भाइ रामचन्द्र भन्छन्, 'गोठमै जन्मेका हुन् प्रचण्ड, हामीले भोलिपल्ट मात्रै घर ल्यायौं।'

मुक्तिनाथ २०१९ मा गाउँको जेथा बेचेर चितवन बसाइ सरे। ढिकुरपोखरीबाट नौ दिन हिँडेर डोकानाम्ला र केही भैंसी लिएर पश्चिम चितवनको शिवनगरमा भारी बिसाए। सँगै आएका दाजु कुलबहादुर र मुक्तिराम मिलेर चार हजार रुपैयाँमा शिवनगरका आँधिखोले बिकको पाँच बिगाहा जमिन किनेर त्यहीँको छाप्रोमा बसे।

चितवनको माटोमा राम्रो खेती फस्टाएपछि मुक्तिरामका दिन फेरिए। 'आम्दानी बढेपछि दाजुभाइले छुट्टै घर बनाएर बस्यौं,' भतिजा नन्दलाल भन्छन्, 'काका रातदिन कुटोकोदालो गर्थे, छोराछोरी भने पढ्न पठाउँथे। छोराहरू पुष्पकमल र गंगारामले पनि बाबुलाई भरिसक्य मद्दत गरे।'

तर, चितवनको रामपुर क्याम्पसमा कृषि पढेका पुष्पकमल शिक्षकको जागिर खान गोरखा गएपछि दाहाल परिवारको जीवनमा ठूलै उथलपुथल आयो।

Read Full Discussion Thread for this article