भाग-४
उपत्यकामा बर्षा सकिएर रमाइलो मौसम शुरु भएको थियो, मानिसहरु दशैँलाइ बिदा गरेर तिहारको लागि तयारी गर्न थालेका थिए। सडक सधै झै ब्यस्त देखिन थालेको थियो। त्यस्तै ब्यस्त जिबनको एक साँझ उसको घरमा पारिबारिक बैठक भैरहेको थियो। अरु सदस्यको तुलनामा उ अलि कम बोलीरहेको थियो, धेरै सोचिरहेको थियो। उ त्यति हसिलो पनि थिएन न त दुखी थियो। उसलाइ बाहिरबाट हेर्दा ३ बर्ष अघि जस्तो थियो त्यस्तै देखिन्थ्यो। उसको सानी आमा छलफलमा धेरै उत्साहित देखिनु हुन्थ्यो, बेला बेलामा सुझाबहरु प्रस्तुत गर्नु हुन्थ्यो।
"आफन्तहरुको मात्रै लिस्ट ५०० त हुने भयो। कसलाइ नबोलाउने कसलाइ बोलाउने?" सानो आमा अर्थात् उसको बुबाकी दोस्रो स्वास्नीले हातको सानो नोटबुकमा हेर्दै भन्नु भयो।
"सबैलाइ बोलाउनु पर्छ!" उसको बुबाले निर्णय गर्नु भयो।
"यति ठुलो कार्यक्रम किन गर्नु पर्यो?" उसले सानी आमालाइ मात्रै हेरेर सोध्यो।
"बिहे जस्तो कुरा नि ठुलो र सानो भन्ने हुन्छ, राम्ररी गर्नु पर्छ एक बारको जिन्दगीमा!" अन्तिम बाक्यमा अलि जोड दिनु भयो सानी आमाले।
"तर मेरो त यो पहिलो बिहे हैन नि!" उसले झिजो मान्दै भन्यो।
"तेरो नभए नि उषाको त पहिलो हो नि!उ र उसको परिवारको कति रहर होला!" उसको बुबाले तुरुन्तै भन्नु भयो।
"उसको र हाम्रो परिबार मात्र मन्दिरमा गएर बिहे सकाए हुन्न? किन सारा संसारलाइ बोलाउनु पर्ने?" उसलाइ कति पनि चित्त बुझेन अहिले।
"उषा के चाहन्छे? तिमीले सोध्यौ?" सानी आमाले उसैलाइ हेर्नु भयो।
"मैले उसलाइ भनिसके मलाइ बिहेको तडकभडक मन पर्दैन। उसले म जे चाहन्छु त्यही "हुन्छ" भन्छे। उ जिद्दि गर्दिन।" उसको स्वरमा केहि सन्तुष्टी देखियो।
"तिमीहरु दुबै मन्दिर गएर बिहे गर्ने र परिबारमात्र बोलाउने भने ठिकै छ, तर बिहे पछि पार्टी गर्नै पर्छ। समाजलाइ बताउनै पर्यो नि!" उसको बुबाले अझै पनि ठुलै भोज गर्नु पर्ने कुरामा जोड दिनु भयो।
"यो मंसिरमा चाहि नभ्याउला जस्तो छ।" सानी आमाले केहि सम्झे झै भन्नु भयो।
"केटा केटी दुबै एक अर्कालाइ मन पराउछन्, मन्दिरमा जान कुन ठुलो कुरा हो र?, पार्टीको लागी अहिले देखि कुनै होटेलमा बुक गरौला। किन नभ्याउने हँ?" बुबाले अलि ठुलो स्वरमा सोध्नु भयो।
"हामीलाइ त त्यस्तै लाग्छ नि। तर--" सानी आमा तर पछि भन्न अनकनाउनु भयो। उसलाइ आफ्नो भाग्य प्रति फेरि एकचोटि शंका लाग्यो। बुबाको प्रश्नबाचक हेराइलाइ पन्छाउदै सानीआमाले भन्नु भयो "कानुनी रुपमा बिहेको लागि उनिहरु बाटो खुला छैन कि भनेर डराउछन्।"
"कसरी??" उसले बुझेन।
" कानुनी रुपमा डिवोर्स त भएको छैन नि। हो त्यही कुरामा बिस्वस्त हुन चाहन्छन्।"
"उ आफै लोग्ने छोडेर गएकी स्वास्नीमान्छे अब के खान यत्रो बर्षपछि फर्किन्छे त? त्यत्रो हिम्मत गर्न कानुनी आधार पनि त हुन पर्यो। बाटो खुला छ, अब त्यस्तो केहि झन्झट छैन। खुरुक्क उषाको आमासङ कुरा गर।" बुबाले सजिलै समाधान गर्नु भयो समस्याको।
बल्ल उ झसङ भयो, साक्षी अझै उसको जिबनसङ कतै न कतै सम्बन्धित भएर बसेकी रहेछ। कानुनी रुपमा भए पनि उसले बिहे गरेकी स्वास्नी रहिछ अहिले सम्म। के अझै पनि उसले साक्षीसङ जिन्दगीको हिसाबकिताब मिलाउन जरुरी छ?
"त्यो काम वकिलले गर्छ, हामीले चिन्ता गर्नै पर्दैन, बिहे चाहि केहि महिना पछि सार्नु पर्ला। यत्रो बर्ष त कुरियो भने अहिले किन हतार गर्नु?" सानी आमाले उपाय नि सोचि सक्नु भएको रहेछ।
बुबा र सानी आमाको कुरा कसरी डिवोर्स छिटो भन्दा छिटो सकाउने भन्ने बिषयमा केन्द्रित हुन थाल्यो। उ कोठासङै जोडिएको कौसीमा निस्क्यो र अध्याँरो शहरलाइ हेर्दै सोच्यो। साक्षी अहिले कहा होली? कस्ती होली? के गरिरहेकी होली?
क्रमश:
Thank u rachas jyu and homey ji!