Posted by: kanchu! October 13, 2011
Dr.Bhattarai's actions -see again.
Login in to Rate this Post:     0       ?        
Nalapani bro, rightly said. again, there were few people who come in defense of Dr. Bhattrai, now will think 10 times before putting any words.

'मन्त्रीलाई नपोल्न' आठ लाखको प्रलोभन

सुन्दर खनाल, काठमाडौं, असोज २६- काशीनाथ तिवारी हत्याकाण्डमा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई उम्काउन एक बहालवाला विशिष्ट श्रेणी अधिकृतको मध्यस्थतामा आफूलाई आर्थिक प्रलोभन दिइएको पीडित परिवारले दाबी गरेको छ। आरोपी मन्त्रीकै मन्त्रालयका सह-सचिव नगेन्द्र झाले नयाँ बानेश्वरस्थित निवासमा मंगलबार बिहान बोलाएर आठ लाख रुपैयाँ दिँदै 'किटानी उजुरी फिर्ता लिन' सहमत गराउन खोजेको तिवारीपत्नी बबितादेवीले बुधबार खुलासा गरिन्।

झाले उक्त रकम 'व्यक्तिगत सहयोग'को नाममा थमाउँदै बाँकी कुरा मिलाउन मंगलबार दिउँसो प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गराउन खोजेको उनले सञ्चार माध्यमलाई बताइन्।

गत वर्ष तिवारीको वीरगन्जमा हत्या हुँदा पर्साका प्रमुख जिल्ला अधिकारी रहेका झाले प्रधानमन्त्रीकहाँ पुर्‍याएर 'झोली भरेर पठाइदिने' आश्वासन दिएको बबिताले उल्लेख गरिन्। 'मात्रै तिमीहरूले कोही हत्यारा चिनेको छैन भनिदिनुपर्‍यो,' उनले झालाई उद्धृत गर्दै भनिन्, 'त्यसपछि २४ घन्टाभित्र वीरगन्ज मालपोतमा जागिर, तिवारीलाई सहिद घोषणा र बच्चाहरूको भरणपोषणको व्यवस्था हुन्छ। जे माग्यो त्यो पाइन्छ।'

आफूहरूलाई भावुक बनाएर आठ लाख रुपैयाँ थमाएको र अन्य शुभचिन्तकसँग सल्लाह गरेपछि 'षड्यन्त्र' भन्ने लागेको मृतक तिवारीका सहोदर दाजु प्रयागले बताए। 'अब यो रकम उनीहरूविरुद्ध नै प्रमाणका रूपमा प्रयोग गर्छौं,' उनले भने।

आफ्नो भाइको हत्यालगत्तै भएको भेटघाटमा तत्कालीन प्रजिअ झाले केही सहयोग आफ्नो तर्फबाट गर्ने कबोल गरे पनि वर्षभर केही नगरेको उनले बताए। 'एक वर्षपछि प्रकरणले अर्कै मोड लिएपछि उनले एकाएक आठ लाख मागेर जुटाएको भन्दै थमाए,' उनले भने।
उनीहरूसँगै गएका तिवारी परिवारका सहयोगी तथा हिन्दु युवा संघका सल्लाहकार ज्योतिलाल साहका अनुसार झा 'परेका खण्डमा मन्त्री साहलाई दुई मिनेटमै भेटाउन सक्ने' पनि बताउँदै थिए।

गृह मन्त्रालयअन्तर्गत दुई वर्ष बस्दा कपिलवस्तु र पर्सा जिल्लाको प्रजिअ भई गत जेठमा भूमिसुधारअन्तर्गत नापी विभाग फर्केका झाले तिवारी परिवारको आरोप खण्डन गरेका छन्।

'यो एकदम गलत कुरा हो। मलाई फसाउने योजना हो। म किन कसैलाई त्यसरी पैसा दिऊँ?' नागरिकले प्रतिक्रिया माग्दा उनले भने, 'उनीहरू मैले प्रजिअ हुँदा के के भनेको थिएँ भनेर आएका हुन्, मैले जे गर्नपर्ने हो त्यतिबेलै गरेँ, अब के गर्ने हो प्रधानमन्त्रीकहाँ जानोस् भनेको हुँ।'

तिवारी परिवारले यो घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुर्‍याउने जनाएको छ। 'एउटा कार्यपालिकाको जिम्मेवार मान्छेले न्यायपालिकाको क्षेत्राधिकारमा रहेको विषय प्रभावित गर्न यसो भन्छ भने यो अख्तियार दुरुपयोग हो, हामी आयोग जान्छौं,' तिवारी परिवारसँग पारिवारिक नाता राख्ने नेपाली कांग्रेस सभासद सुरेन्द्र चौधरीले पीडितसाथ बसेर भने।



हामीलाई किन्न खोजियो : प्रयाग तिवारी
सर्लाहीमा शिक्षक काम गर्ने एक व्यक्ति १५ दिनयता मेरो पछि लागिरहेका थिए। प्रधानमन्त्रीलाई भेटाइदिन्छु भन्ने उनको कुरा मैले पत्याइरहेको थिइनँ। मतलबै गरिनँ। धेरै धाएका धायै गरेपछि साथीहरूसँग सल्लाह गरेँ। र, एकचोटि उसले भनेअनुसार काठमाडौं जाने निर्णय भयो।

हामी सोमबार दिउँसो ज्योतिलालजीको गाडीमा वीरगन्जबाट हिँड्यौं। म, बुहारी बबिता, ज्योतिलाल, उनका सहयोगी ओमप्रकाश पटेल र त्यो मास्टर। त्यो मास्टरको नाम पनि राम्रोसँग याद भएन, उसको मोबाइल नम्बर ९८४५०३०१९७ हो।

साँझ साढे सात बजे काठमाडौं आइपुगियो। सुन्धाराको सोनी होटलमा बस्यौं। भोलिपल्ट बिहान सात बजेपछि मास्टरले हामीलाई होटलबाट हिँडायो। साढे सात बजे नयाँ बानेश्वर शान्तिटोलस्थित नगेन्द्र झा (भूमिसुधार सह-सचिव) को घर पुर्‍यायो। हामीले चिनिहाल्यौं। राम्रो चियापानको व्यवस्था गरेका रहेछन्।

विस्तारै कुरा सुरु भयो। उनले गत वर्ष घटना भएपछिका भेटघाटका कुरा गरे। 'मैले भनेको थिएँ नि, एउटा ब्राह्मण परिवारमाथि परेको दुःखले व्यक्तिगत रूपमा छोएको छ भनेर,' उनले भने।

कुरा गर्दागर्दै एउटा मानिस कालो झोला बोकेर आयो र झालाई दियो। झाले त्यो झोला हामीतिर थमाउँदै भने, 'मैले यहाँ मागमुग गरेर जम्मा गरेको ८ लाख छ, यो अहिले मेरोतर्फबाट लानुस्।'

हामी अलमल पर्‍यौं। एउटा 'इमोसनल ट्र्याप'मा पारिएका थियौं। अब बल्ल झाले आफ्ना वास्तविकता खुलाउन थाले। उनले हामीलाई प्रधानमन्त्रीकहाँ दिउँसो चार बजे भेटघाटको व्यवस्था मिलाएको कुरा गरे। त्यहाँ गएर 'मात्रै हत्यारा कसैले चिनेको छैन' भन्नुपर्ने रे। सबै कुरा तुरुन्तातुरुन्तै मिल्ने रे।

बुहारी पढेकी छैन, वीरगन्ज मालपोतमा भोलिदेखि नै १० हजार रुपैयाँ तलब आउने पियनको जागिर। चौबिस घन्टामा काशीनाथलाई सहिद घोषणा। केटाकेटीको सबै ग्यारेन्टी। झोली भरेर पठाइदिने। आदि-आदि ।

हामी अलमलिएरै केही नबोली बाहिरियौं। त्यसपछि हाम्रा वकिल र सभासद चौधरीलाई फोन गर्‍यौं। भेटेर सल्लाह गर्दा हामीलाई खरिद गर्न खोजिएको निर्क्योल भयो।
झाले आफ्नै फोनबाट तीनचोटि सम्पर्क गरे। बालुवाटार गेटमा नाम गइसक्यो, आऊ कि आऊ भनेर ताकेता गरिरहे। मास्टरले पनि फोन गरे। हामी गएनौं।
हामीमाथिको अर्को अन्याय ठानी यो कुरा सार्वजनिक गरेका हौं।

हाम्रो पहिलो माग हो, अपराधीलाई कानुनको कठघरामा ल्याउने। प्रहरीले फेरि अनुसन्धान सुरु गरी केसले नयाँ मोड लिएको अवस्थामा हामीले प्रलोभन मात्र नभई धम्कीसमेत खेप्दै आएका छौं। हामी अडिग छौं।

यहाँ त हामीलाई किन्न खोजियो। हामी मान्नेवाला छैनौं।
(सुन्दर खनालसँगको कुराकानीमा आधारित)




यो पनि हेर्नुस्-

प्रमाण अपुग भन्दै मन्त्री साहलाई उन्मुक्ति

कानुनका ज्ञाता भन्छन्-मन्त्रीलाई सुनियोजित उन्मुक्ति दिइयो

अमन कुशवाहको साबिती बयान
म नेकपा एमाओवादीको बारा, पर्सा, रौतहट जिल्ला राज्यसमितिको साधरण सदस्य हुँ। हाम्रो पार्टीको निर्णयअनुसार २०६७-१-१ देखि तत्कालीन सरकारको विरोधमा आमहडताल गर्र्दै आएकोमा २३ गते जाहेरवालाका (बबितादेवी) का पति (काशीनाथ तिवारी) को नेतृत्वमा आएको हिन्दु युवा संघका कार्यकर्ताले हाम्रा कार्यकर्तामाथि आक्रमण गरे। हाम्रा ४-५ सभासदमाथि समेत कुटपिट गरी घाइते बनाएको र हाम्रो बन्दोबस्तीका सामानसमेत लुटी लगेको हुँदा हिन्दु युवा संघ र हामीबीच रिसइबी रहँदै आएकोमा काशी तिवारीलाई गोली हानी मार्नुभन्दा अगाडि मलाई फिरोज भन्ने सियाराम कुशवाहले बारा जिल्लाको सिमरास्थित वाइसिएल कार्यालयमा मिटिङ छ भने। बोलाए। त्यहाँ मिटिङ नभई निज सियाराम कुशवाह र प्रभु साह तेली रहेकोमा हाम्रो पार्टीको एउटा काम छ, राम्रो मोटरसाइकल चलाउने मान्छेको आवश्यक भएकाले तिमीलाई ल्याएको भनी सभासद रहेका साहले १-२ दिन सियारामसँग घुमफिर गर, अनि काम गर्ने र काम गरेपछि विदेश पठाइदिन्छु भनी सभासदले भनेको सोही क्रममा केही पर प्रभु साह र सियारामबीच पैसा लेनदेन देखेको। सोही दिन मलाई अहिले घर जाऊ भनी घर पठाएको। भोलिपल्ट उही स्थानमा बोलाई फिरोज (सियाराम) ले मलाई मोटरसाइकल हाँक्न लगाई वीरगन्ज लगेको र घटनास्थल रानीघाट पुगेपछि जाहेरवालाको घरचोकतिर हिँडेपछि मैेले सोध्दा हाम्रो सभासदलाई कुटपिट गर्ने हिन्दु युवा संघको अध्यक्ष काशी तिवारीको घर यहीँ छ, मौका मिलेपछि गोली हान्नुपर्छ भनेको। सभासदले हामीलाई यही कामका लागि पठाएको भनेको र केही दिनपछि गोली काशी तिवारीमाथि फिरोजले गोली हानेको र ऊ दौडिएर मेरो मोटरसाइकलमा बसी भागेको। त्यसको केही दिनपछि काठमाडौंको एउटा कोठामा जाँदा सभासद साह र सियाराम सँगै बसेको र हामीले काम सफल गरेकोमा सभासदले १ लाख ५० हजार दिनुभएको छ लिनू भनेको र सभासदले पार्टीको राम्रो काम गर्नू, विदेश पठाइदिन्छु भनेको हुँदा म त्यहाँबाट फर्किआएँ। उक्त पैसा घरखर्च र बहिनीको बिहेमा मासिसकेको हो। (सम्पादित अंश)

http://nagariknews.com/news-highlights/139-highlights/32106-2011-10-13-03-54-27.html
Read Full Discussion Thread for this article