Posted by: _____ September 25, 2011
१२ बुँदेका बेलाजस्तै फेरि भारतले भूमिका खेलोसः प्रचण्ड
Login in to Rate this Post:     0       ?        
  ८ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमतिका लागि १२ बुँदे सहमतिको बेलामा जस्तै सहयोगी भूमिका खेल्न भारतलाई आहृवान गर्नु भएको छ ।

नेपाल-भारत विकास एवं मैत्री संघद्धारा आइतबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले नेपालको समस्या समाधानमा भारतको सहयोग अपरिहार्य भएको बताउनु भयो । ‘भारतको सदायसता नभएको भए १२ बुँदे सम्भव थिएन’ उहाँले भन्नुभयो-’१२ बुँदे सहमति बेला जस्तै भारत फेरि एक चोटी अगाडि आओस्, म माओवादीका तर्फबाट खेल्ने भूमिका खेल्छु ।’

भारतीय राजदूत जयन्तप्रसाद समेत उपस्थीत सो कार्यक्रममा प्रचण्डले पछिल्लो समय भारतसँगको सम्वन्धमा चिसोपन आएको स्वीकार गर्दै नेपाल भारतको चिन्ता सम्वोधन गर्न १२ बुँदे सहमतिको बेलामा झै दुई पक्षबीच नयाँ सहमति आवश्यक रहेको बताउनु भयो ।

आफ्नो भाषणको अधिकांश समय नेपाल-भारत सम्वन्धको चर्चामा खर्चनु भएका प्रचण्डले त्यतिबेला सात दल र माओवादीवीच सहमति गराएजस्तै अहिले पनि कांग्रेस एमाले र माओवादीवीच सहमति गराईदिन भारतलाई आग्रह गर्नुभयो । नेपाल र भारत मिलेर अघि नबढे एउटाका कारण अर्कोले दुःख बेहोरिरहनुपर्ने प्रचण्डको भनाई थियो ।

सेनापति प्रकरणसँगै सत्ताबाट बाहिरिएलगतै भारतको चर्को आलोचना गर्दै आउनुभएका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेपछि केही लचिलो रुपमा प्रस्तुत हुनु भएको हो । संविधानसभाको निर्वाचनको नजितासँगै दलहरुबीचको सम्वन्ध विगि्रएको भन्दै उहँले आपसी अविश्वास अन्त्य गर्न दलहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा भारतीय राजदूत जयन्तप्रसादले नेपालको हितका लागि भारत जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो-’भारत नेपालमा शान्ति र समृद्धि चाहन्छ । नेपालको उन्नति भारतको पनि उन्नति हो ।’ राजदूत प्रसादले नयाँ आधारमा नेपालसँगको सम्बन्धलाई परिभाषित गर्न भारत तयार रहेको समेत बताउनु भयो ।

मैत्री संघका महासचिव एवम् भारत उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री पिके थुम्बाले नेपाल आफ्नो निर्णय आफैँ गर्न सक्षम रहेको बताउनु भयो । नेपालको सार्वभौमसत्ताको रक्षा हुन सके मात्र भारतलाई फाइदा हुने भन्दै उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारत सहयोगी भएर प्रस्तुत हुनु पर्नेमा जोड दिनुभयो ।

एमाले अध्यक्ष खनाल भारत प्रस्थान

यसैवीच नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल भारत प्रस्थान गर्नु भएको छ । उडिसास्थित कलिन्द विश्वविद्यालयले गुरु दिवसका अवसरमा आयोजना गर्ने विशेष समारोहमा भाग लिन खनाल आइतबार नयाँदिल्ली प्रस्थान गर्नु भएको हो ।

नयाँदिल्ली प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले प्रमुख दलबीच सहमति नभई शान्ति र संविधानको काम पुरा नहुने भन्दै राष्ट्रिय सहमति जुटाउने कामलाई प्रमुखता दिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । ‘शान्ति र संविधानका कार्यभार पुरा गर्न राष्ट्रिय सहमति चाहिन्छ, महत्वपूर्ण दलबीच सहमति नभई यो प्रक्रिया टुङ्गीदैन’ उहाँले भन्नुभयो-’राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्रीलाई मेरो सुझाव छ ।’ शान्ति र संविधान टुङ्ग्याउन प्रधानमन्त्रीसँग जादुको छडी नभएको भन्दै खनालले ४५ दिन भित्र शान्ति प्रक्रियाका मूलभूत काम टुङ्ग्याउने प्रधानमन्त्रीको प्रतिवद्धता पूरा हुने विश्वासिलो आधार नदेखिएको बताउनु भयो ।

उहाँ यही असोज १२ गते स्वदेश र्फकने कार्यक्रम छ । अध्यक्ष खनालले भारतमारहँदा त्यहाँ राजनीतिक भेटघाट भने नहुने जानकारी दिनुभयो । अध्यक्ष खनालसँगै पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, पूर्वमहान्यायधिवक्ता डा. युवराज सङ्ग्रौला लगायत पनि भारत जानु भएको छ ।
http://www.onlinekhabar.com/2011/09/25/90689.html



 

Read Full Discussion Thread for this article