Posted by: meh_nepali September 21, 2011
३० गुणा ठूलो भुइँचालोको पर्खाइमा
Login in to Rate this Post:     0       ?        
http://www.ekantipur.com/np/2068/6/4/full-story/336015.html#.TnnJd9jwEl0.facebook




नेपालमा विसं १९९० सालमा गएको भुइँचालोको सबैले चर्चा गर्छन्, तर त्योभन्दा ठूलो भुइँचालो आउन सक्छ भन्ने कुराको विचार भने गर्दैनन् । भारतको विहार राज्यमा पनि गएको नब्बे सालको भुइँचालोले नेपालकै भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्कायो । अब त नेपालमा यति ठूलो भुइँचालो आउँदैछ कि नब्बे सालको भुइँचालो पनि सानो मानिनेछ । त्यसको कारण के हो भने हामी विसं १९९० सालको भन्दा करिब ३० गुणा ठूलो भुइँचालोको प्रतीक्षामा छौं । अब आउने भुइँचालोले तराईदेखि पहाडसम्म नै भयंकर क्षति पुर्‍याउनेछ । त्यसले काठमाडौं, पोखरा, विराटनगर लगायतका ठूला सहरको अवस्था के बनाउला ? यसबारे प्रशस्तै अध्ययन र तिनका आधारमा डर लाग्दा तथ्य सार्वजनिक भइसकेका छन् ।
नेपालमा एउटा ठूलो भुइँचालो आउनैपर्छ र आउँछ भन्ने हामीलाई थाहा छ, तर कहिले आउँछ ? योचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । हुन त नेपालको इतिहासमा यस्ता भुइँचाला धेरैपटक आएका हुन् । इतिहासको अध्ययन गर्दा हामीले के पाएका छौं भने विसं २५५ मा लिच्छवि कालमा पनि एउटा ठूलो भुइँचालो आएको थियो । त्यो भुइँचालो पनि नब्बे सालको भन्दा धेरै गुणा ठूलो

थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ ।

त्यस्तै २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धको पालामा नेपालमा शक्तिशाली भुइँचालो आएको थियो । त्यो कति शक्तिशाली थियो र के-के क्षति पुर्‍यायो भन्नेबारे पत्ता लगाउन हामीले अध्ययन गरिरहेका छौं । त्यसमा हामीलाई नेपालको पुरातत्त्व विभागले सहयोग गरिरहेको छ । खासगरी हामीले लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुहरूको अध्ययन गरिरहेका छौं । त्यो थाहा पाउनु भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण हुन्छ । पुरातत्त्वविद्हरूले त्यो बेला भुइँचालो आएको थियो भन्ने केही संकेतहरू पाएका छन् । इतिहासमा ती बाहेक पनि अरू ठूला भुइँचाला आएका थिए ।

किन आउँछ नेपालमा भुइँचालो ?

नेपाल विश्वको सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यो हिमाली क्षेत्रमा ठूलो भुइँचालो आउने सम्भावना धेरै भएको हो । भारतीय पठारको जमिन र यसका पाप्राहरू महासागरीय माटो र पत्रहरूले बनेका छन् । यसको भित्री सतह तातो र चिप्लो पनि छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व पट्टिका भनिन्छ, त्यो लेदो छ । त्यही भाग एकअर्कामा घसि्रने र चिप्लिने गर्छ, जसले गर्दा भुइँचालो पैदा हुन्छ । ती भूतत्त्व पटटिकाहरूले पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल पैदा गर्छन् । त्यसले ड्याङजस्तो परेको महासागरीय ढिस्को जस्तो भाग र महासागरीय सुरुङजस्तो भाग-भागमा पट्टिकाहरू निर्माण गर्न भूमिका खेल्छन् । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले नै भुइँचालो पैदा गर्ने हो ।

अहिले चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । यसरी दुई क्षेत्र नजिकिँदै जाँदा एकदिन जम्काभेट भएर ठाकिन्छन् र भुइँचालो आउँछ । ती कुनै बेला विस्तारै ठोकिन्छन् त कुनै बेला जोडले । त्यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ महादेशहरू अगाडि त बढ्छन्, तर भुइँचालो आउँदैन । ५० लाख वर्षपछि अहिलेको भारत भित्र दबिँदै गएर तिब्बती भाग माथि पर्ने क्रम चलिरहेको छ । त्यसैले नेपालको हिमाली भाग लगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो ।

भुइँचालो नगइकन डाँडाकाँडा र पहाड-पर्वत बन्दैनन् । त्यसैले भुइँचालो त आउँछ । फरक के भने कहिले, कहाँ, कत्रो आउँछ ? र त्यसले कति क्षति पुर्‍याउँछ ? भन्ने हो । चट्टानहरूको प्रसंग पनि त्यस्तै हो । ती हलचल गर्छन् । कहिले विस्तारै र कहिले जोडसँग ठोकिन्छन् । हिमाल त ज्वालामुखीले पनि बन्छ, तर नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन ।

चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । महादेशहरूमध्ये भारत र तिब्बतको बीचमा यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहेको छ । फ्रान्सको पनि आल्पस हिमाली क्षेत्रमा भुइँचालो नआएको होइन, अहिलेचाहिँ रोकिएको छ । हुन त भुइँचालो महासागरहरू भित्र पनि आउँछ । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागर तटीय क्षेत्रमा त्यस्तो भइरहेको छ । त्यो पानीमुनि भएकोले हामीले त्यति थाहा पाउँदैनौं र क्षति पनि गर्दैन ।

यसरी सर्ने महादेश र पठारहरू तुरुन्तै ठोक्किने होइनन् । विस्तारै सर्दै गएर लाखौं वर्षको समय लाग्छ । भारत त पहिले एसिया महादेशमै थिएन । अथवा करिब २ करोड वर्ष पहिले टेथ्य भन्ने समुद्रले भारतीय महाद्विपीय पट्टकिालाई युरेसियाको पट्टिकाबाट छुट्याएको थियो । सर्दै गएर पछिमात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो । यस्तो प्रक्रिया लाखौं वर्षसम्म चलिरहन्छ ।

सगरमाथा हराउन सक्छ

भुइँचालो आउँदा हिमाल चल्छन्, पहिरो आउँछ, उपत्यकाहरू सर्छन्, कुनै उपत्यका नै खत्तम हुन्छन्, कतै नयाँ बन्छन् त कुनै सरेर अन्तै पुग्छन् । भूदृश्य (ल्यान्डस्केप) नै बदलिन्छन् । हिमाल चल्दा कुनै उपत्यका ठडिन्छन् पनि । उदाहरण दिइहालौं, सन् २००४ मा पाकिस्तानमा आएको भुइँचालोले कतिपय उपत्यकालाई दसदेखि बीस मिटर तल झारेको थियो । अहिले सगरमाथाको उचाइ वाषिर्क चार मिलिमिटरका दरले विस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा सानो हिमाल बन्न पनि सक्छ । सगरमाथा खस्कँदै जाने र 'के टु' ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर यो तत्कालै हुने प्रक्रिया नभएर दसौं लाख वर्षको हो । हिमाल विशाल र अडिग लाग्छन्, तर वास्तवमा ती पनि घडीका सुईजस्तै चलायमान छन् ।

लाखौं वर्षको इतिहास हेर्‍यौं भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौं । करोडौं वर्ष पहिले फ्रान्सको आल्पस क्षेत्रमा पनि सगरमाथाजत्तिकै अग्ला हिमाल थिए, तर पछि ती विलुप्त भए । आल्पस क्षेत्रमा हिमाल नाशिएझैं सगरमाथा पनि आठ-दस करोड वर्षपछि हराउन सक्छ । वर्षा, हावा, वरफ, हिउँ आदिले हिमाललाई खसाल्छन् । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया (अंग्रेजीमा- ओर्गाेजेनेसिस प्रोसेस) हो ।

तिब्बत चुलिँदो छ

हिमाली क्षेत्रमा भएको उचाइको विकास आश्चर्यलाग्दो छ । चीनको तिब्बत क्षेत्र ५ हजार मिटरभन्दा पनि उचाइमा पुगेको छ । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाल माथि चढेका छन्, त्यो ठीक छ, तर तिब्बत त हिमाली भागबाट निकै टाढा सिचुवान प्रान्तसम्म अग्लिएको छ । हामीले बुझ्न नसकेको कारण नै त्यही हो । त्यसो त खुम्बुदेखि चितवनसम्मकै पहाड अग्लिँदै गएका छन् ।

अहिले विश्वव्यापी मौसम परिवर्तनको कारण पनि सोचनीय छ । त्यसले गर्दा अरू हिमालको जस्तै सगरमाथाको पनि बरफ पग्लिँदा त्यसको उचाइ पनि घट्दै जान सक्छ । तत्कालका लागि भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले एभरेष्ट भन्ने मानिसले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । सगरमाथामात्रै नभएर अन्नपूर्ण, मनास्लु लगायत समय हिमाली शृङखला नै अग्लिरहेको छ ।

नेपालमा भुइँचालो एकदम धेरै आउँछ, तर सबै भुइँचालो आएको मानिसले थाहा पाउँदैनन् । साना भुइँचालो त निरन्तर आइनै रहन्छन्, तर चार रेक्टर स्केलदेखि मात्रै वस्तुहरू हल्लिने, थर्कने गर्छन् । यस्तो सानो भुइँचालो नेपालमा हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा आउँछ । छ रेक्टर स्केल भएपछि हामी ठूलो भन्छौं, जसले घरहरू भत्काउन थाल्छ, तर त्यो पनि भयानकैचाहिँ होइन । कहिलेकाहीँ पहाड, हिमाल, जंगलतिर गएको भुइँचालो स्थानीय मानिसले थाहा नपाउन पनि सक्छन् । नेपालमा त्यस्तो भुइँचालो एकदम सक्रिय छ ।

भ्रम र यथार्थ

नेपालको सबै क्षेत्र र एसियाको सबैजसो भागमा भुइँचालोको सम्भावना र जोखिम देखिन्छ । भूकम्पीय दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र हो, तर सबैभन्दा बढी भने होइन । पाकिस्तान, आसाम लगायत उत्तर-पूर्वी भारत, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियासम्म भुइँचालोको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदि्रक भागमा पनि भुइँचालोको जोखिम छ, तर पानीभित्र भएकोले त्यसले धेरै क्षति गर्दैन । एउटा कुरा के भने ठूलो भुइँचालो गएको ठाउँमा फेरि तत्कालै अर्को ठूलो भुइँचालो आउनु दुर्लभ हो । त्यसैले अहिले एकदम ठूलो भुइँचालोको सम्भावना कि त नेपाल कि त आसामको पूर्वी भागमा छ । त्यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो, यो क्षेत्रमा ठूलो भुइँचालो नआएको ।

अमेरिका लगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक साठी वर्षमा ठूलो भुइँचालो आउँछ भन्ने भ्रमपूर्ण विश्वास गरिन्थ्यो । नेपालमा प्रत्येक नब्बे वर्षमा ठूलो भुइँचालो आउँछ भन्ने पनि त्यस्तै अन्धविश्वास हो । त्यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि भरपर्दाे आधार छैन । नेपालको मामिलामा त झन् कम जानकारी भएकोले हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भुइँचालोको सूचना बटुल्ने उपकरण राखेका हौं । अमेरिकीहरूले पनि केही वर्ष पहिले त्यस्तै जानकारी लिन छ महिनादेखि दुई वर्षसम्म वीरगन्जदेखि त्रिशूलीसम्म ७५ वटा उपकरण राखेका थिए ।

पृथ्वीसँगै नाच्छ उपग्रह

पृथ्वीको धरातल अलि धिमा गतिमा चलायमान हुन्छ । मानिसहरूले भुइँचालो जानुपूर्व नै वस्तुहरू यताउती चलेको पनि पाएका छन् । धरतीमा कहिलेकाहीँ त्यही ठाउँमा रूखबिरुवा हुन्छन् त कहिले हुँदैनन् । दिशा परिवर्तन भएको, कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अत्यन्त्रै मोडिएको, भिरालो ठाउँ अन्तै फर्किएको पनि पाइएको छ । भुइँचालो जानुपूर्व पृथ्वीको धरातलमा यस्तै खाले अनौठा परिवर्तन देखापरेपछि भुइँचालो गएको पाइन्छ । ती निरन्तर देखिएका नभए पनि मानिसहरूले पटक-पटक अवलोकन भने गरेका छन् । हामी वैज्ञानिकहरूसँग अहिलेसम्म त्यसको व्याख्या छैन र त्यसलाई अझै पनि मापन गर्नसकेका छैनौं । अहिले केही मानिसले पृथ्वीको चुम्बकीय धरातलले कतै भुइँचालोसँग सम्बन्ध पो राख्छ कि भन्ने बारेमा यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यो पत्ता लगाउन केही भू-उपग्रहहरू पनि छोडिएका छन् । तिनले पृथ्वीको चुम्बकीय धरातलको गतिशीलताबारे खोजी गर्छन् र वस्तुहरू भुइँचालो जानुपूर्व चले-नचलेको हेर्ने गर्छन् ।

अहिले हामीलाई भुइँचालो कहाँ आउँछ ? भनेर थाहा भए पनि कसरी आउँछ र त्यसको गति पनि कति हुन्छ भन्ने थाहा छैन । त्यस्ता सबै जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छौं । पच्चीसवटा भूकम्प मापकयन्त्र (सिस्मोग्राफ) नेपालका विभिन्न ठाउँमा राखेका छौं । तिनले चौबीसै घन्टा काम गरिरहेका हुन्छन् । ती यन्त्रले म्याग्नेच्युड एकदेखिको भुइँचालोको हरेक झड्कालाई रेडियो तरंगमार्फत सुर्खेत र काठमाडौं गरी दुई ठाउँमा रहेका केन्द्रमा पठाउँछन् । भुइँचालोको गति पत्ता लगाउन भू-उपग्रहको माध्यमद्वारा सूचना प्राप्त गर्ने विश्वव्यापी प्रणाली जीपीएस -ग्लोबल पोजिसनिङ सिष्टम) प्रयोग गछौं । नेपालका लागि जीपीएसका सात-आठवटा केन्द्रले लगातार काम गर्छन् । यो फ्रान्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो ।

भुइँचालोका बारेमा धेरै अध्ययनहरू हुने गर्छन् । नेपालमा हरेकपटक भुइँचालो जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ । केही भइहालेमा उद्धारका लागि सहज होस् भनेर यसो गरिएको हो । भुइँचालो मापन गर्ने काम भने खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार र ती राखिएका केन्द्रहरूमा गएर निरन्तर निगरानी गरिरहनुपर्छ । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गछौं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलेन्स (डीएएसई) ले नेपालसँग सहकार्य गर्छ ।

हामीचाहिँ भूकम्पीय र ज्वालामुखी जोखिमको अध्ययन गछौं । त्यो काम म प्राध्यापक रहेको पेरिसको जुस्यु विश्वविद्यालयको इन्स्िटच्युटले हेर्छ । नेपाल र फ्रान्सबीच पच्चीस वर्षदेखि चल्दै आएको यो सहकार्यको मैले विगत दस वर्षदेखि जिम्मेवारी लिँदै आएको हुँ । कुनै साथीहरू भूगर्भ (जिओलोजी), कसैले बाँध र कसैले पानीसम्बन्धी अध्ययन गर्छन् । चट्टानको प्रकार, प्रकृति र ढाँचा सबै भुइँचालोसित सम्बन्धित हुन्छन् । सबै अध्ययन गर्न सायद हामी पर्याप्त छैनौं ।

भुइँचालो कहिले, कसरी र कस्तो तरिकाले आउँछ ? त्यसपछि के हुन्छ ? भुइँचालोलाई कसरी स्पष्टसँग बुझ्न सकिन्छ ? यस्ता अनेक प्रश्न उब्जिन्छन् । खासगरी भुइँचालोको भविष्यवाणीका लागि हामी धेरै घोत्लिने गरेका छौं । वैज्ञानिकहरू बीचका अनुभव साटासाट गर्न तथा नयाँ सम्भावनाहरूबारे पत्ता लगाउन हामी बेलाबेलामा कार्याशाला र गोष्ठीहरू पनि गछौं । भुइँचालो आयो भने त्यसबारे कसरी बच्ने भनेर हामी गाउँका प्रमुख, शिक्षक तथा सर्वसाधारणलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं ।

सावधान, अगाडि महाभूकम्प !

हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन लागेको दस वर्ष नाघिसक्यो, तर जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम कहिल्यै रोकिएन । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर कसरी काठमाडौंका मानिसलाई बुझाउन सकिन्छ थाहा छैन । हामीले पर्खिरहेको भुइँचालो आयो भने कुनै ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैन । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यो बीचका मानिसको जीवन एकदम ठूलो जोखिममा छ । हामीले यो कुरा वर्षौंदेखि भन्दै आएका छौं, तर कसैले सुनेको छैन । मान्छेहरूले सात-आठ तलाभन्दा अग्ला घर ठड्याइरहेका छन् । जबकि त्यहाँ भुइँघर मात्रै बनाउनुपर्ने हो । एउटा वास्तविकता के भने अब नेपालमा आउने ठूलो भुइँचालो जताबाट आए पनि क्षति सबैतिर गर्नेछ । दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले 'सतर्क रहनु, लौ है नेपालमा अब महाभुइँचालो आउन सक्छ' भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेरपुच्छर लगाएको छैन ।

भुइँचालोबाट बच्नका लागि नेपालमा भवन निर्माणका नियम, कानुन र आचारसंहिता नै नभएको पनि होइन, तर कसैले पालना गरेको छैन । अर्को कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको छ । भविष्यबारे सोच्ने फुर्सदै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ, किनकि निर्वाचनको निश्चितता हुन्छ, तर भुइँचालोको कुनै निश्चितता छैन ।

अर्को कारण त भ्रष्टाचार पनि हो, तर भ्रष्टाचारमात्र एउटा कारण भने पक्कै होइन । भ्रष्टाचार त फ्रान्समा पनि हुने गर्छ । फ्रान्सको दक्षिणमा पर्ने निशतिर सानो खाले भुइँचालो जाने गर्छ । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो, तर मानिसले लागू गरेनन् । मानिसहरूले आफ्नै सुरक्षाका लागि बनाइएका कानुन त मान्दैनन् भने अरू के कुरा ? क्षति भइसकेपछि सरकारलाई दोष दिएर त काम छैन नि ! कसले दबाब दिएको छ त काठमाडौंमा गगनचुम्बी घर बनाउन ? त्यसैले सरकारलाई मात्रै दोष दिएर हुँदैन ।

मैले त काठमाडौंको बारेमा सोचेको हुँ । भुइँचालोपछिको गाउँहरूको बारेमा सोच्ने हो भने त कहाली लाग्छ । त्यहाँ उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्नभिन्न हुन्छन्, फोनका तार छिनेर सम्पर्कविहीन अवस्था हुनेछ । पानीका पाइप फुट्नेछन् । अस्पतालका भवन ढल्नेछन्, बाँकी रहेका अस्पतालमा पनि घाइते राख्ने ठाउँ हुने छैन । औषधीको अभाव हुनेछ, उद्धार गर्ने मानिस हुने छैनन् आदि-आदि । अनि के गर्ने ?नेपालमा आउने महाभुइँचालोपूर्व नै हामीले सबै जानकारी लिने प्रयास गरेर भुइँचालोभन्दा अगाडि हुन खोजिरहेका छौं, तर भोलि नै आयो भने त हामी हार्छौं । त्यसैले हरेकपटक रेडियोमा भुइँचालो गयो रे भन्ने सुन्नासाथ म झसङ्ग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि 'ए नेपालमा होइन रहेछ, योपटक बँचियो' भनेर अलि ढुक्क हुन्छु । सधैं यस्तो भने हुँदैन, एकदिन त्यो डरलाग्दो दिनको सामना त गर्नैपर्छ ।

साभारः ददि सापकोटाद्वारा लिखित 'त्यो नेपाल' पुस्तकबाट ।

लेखक फ्रान्सेली भूकम्पविद हुन् ।


SOURCE : EKANTIPUR
Read Full Discussion Thread for this article