Posted by: momoo August 24, 2011
GOLD is the new bubble! BEWARE
Login in to Rate this Post:     0       ?        
विष्णु पोखरेल, काठमाडौं, भदौ ७- दिनकै हजार रुपैयाँका दरले भाउ बढ्न थालेपछि सुनमा लगानी गर्नेहरू बढेका बढ्यै छन्। कतै तपाईं पनि बैंकमा जम्मा गरेको पैसा झिकेर सुन किन्ने विचार त गर्दै हुनुहुन्न?
बजार विश्लेषकहरू भन्छन्- यो 'अल्पकालीन' लगानी गरेर बढी नाफा कमाउने समय हो, 'दीर्घकालीन लगानी' भने जोखिमपूर्ण छ।

मंगलबार स्थानीय बजारमा सुन प्रतितोला ५३ हजार ९ सय रुपैयाँमा कारोबार भयो। यो एकै दिन ५ सय रुपैयाँ बढेको थियो। पछिल्ला केही सातादेखि प्रत्येक दिन ५ सयदेखि हजार रुपैयाँका दरले भाउ बढ्दै आएको छ। यही वृद्धि दरले धेरैलाई सुनतिर आकर्षित गरेको हो।

विश्लेषकहरूको भनाइमा सुनको मूल्य यस्तो विन्दुमा छ, जहाँबाट अझै धेरै माथि उक्लिन पनि सक्छ, एकैचोटि गर्ल्यामगुर्लुम झर्न पनि सक्छ। दुवै सम्भावना उत्तिकै बलियो छ। तर, तल झर्‍यो भने फेरि यही विन्दुमा आउन निकै समय लाग्छ।
अर्थशास्त्री चिरञ्जिवी नेपालका अनुसार 'आजै किनेर केही दिनमै बेच्ने'गरी अल्पकालीन लगानी गर्ने हो भने यो उपयुक्त समय हो। तर, लामो समय जोगाएर राख्न खोज्छु भन्नेले निकै जोखिम मोल्नुपर्ने उनले बताए। 'तोलामा हजार/दुई हजार नाफा खाएर आजको भोलि नै बेच्छु भन्नेलाई यो बजार ठिक छ,' नेपालले भने, 'दीर्घकालीन लगानीमा ठूलो जोखिम छ। बालुवामा पानी हालेजस्तो हुनसक्छ।'

सुन बजारको अन्तर्राष्ट्रिय इतिहास हेर्दा पनि एकचोटि भाउ तल झरेपछि फेरि माथि चढ्न वर्षौं लागेको देखिन्छ।

सन् १९८० मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिलेजस्तै अस्वाभाविक रूपमा बढेको थियो। त्यसबेला प्रतिऔंस ८ सय ५० अमेरिकी डलर पुगेको थियो। मौकाको फाइदा उठाउन धेरै लगानीकर्ता सुनमा झुम्मिएका थिए।

तर, ती लगानीकर्ताले कमाउनुको सट्टा केही महिनामै लाखौं डलर गुमाए। सुनको मूल्यले आफ्नो चमक गुमाउँदै २ सय ५० डलरसम्म झर्‍यो। 'घटेको भाउ उक्सिन लगानीकर्ताले झन्डै २५ वर्ष कुर्नुपर्‍यो,' सुन बजार विश्लेषण गर्ने गोल्ड रिपोर्ट डटकमले लेखेको छ, '२००५/०६ मा आएर मात्र बजार फेरि १९८० कै विन्दुमा पुगेको थियो। त्यसबेलासम्म लाखौं लगानीकर्ताले सम्पत्ति गुमाइसकेका थिए।'

त्यसयता विश्व आर्थिक मन्दीले सुनमा चरम मूल्य वृद्धि भइरहेको छ। विश्लेषकहरूले यसपालि पनि मूल्य वृद्धि टिकाउ नहुने बताइरहेका छन्। केही सातायताको वृद्धिलाई धेरैले 'अप्राकृतिक मूल्य वृद्धि' को संज्ञा दिएका छन्।

'सुन बजारको इतिहासले एकदमै धेरै बढेर एकदमै धेरै घटेको देखाएको छ,' नेपालले भने। युरोप-अमेरिकाको अर्थतन्त्रमा अलिकति सुधार आउनेबित्तिकै ह्वात्तै भाउ घट्नसक्ने उनले बताए।

अर्थशास्त्री तथा योजना आयोगका पूर्वसदस्य पुष्पराज राजकर्णिकार पनि लगातार भाउ बढेका बेला चाँडै नाफा देखेर लगानी बढ्नु स्वाभाविक भए पनि स्वदेशी बजारमात्र हेरेर गरिने लगानी जोखिमपूर्ण हुने बताउँछन्।

'अमेरिकी राष्ट्रपति बाराक ओबामाको एउटा बोलीको भरमा सुनको भाउ बढेको छ, कुनै दिन फेरि अर्को बोलीको भरमा ह्वात्तै घट्नसक्छ,' उनले भने, 'सुनमा लगानी गर्ने हो भने नाफाको निम्ति मात्र होइन, जोखिम मोल्न पनि तयार हुनुपर्छ।'

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले सुनमा लगानी गर्ने उपयुक्त समय नभएको बताए। 'भाउ एकदमै अस्थिर छ,' उनले भने, 'यस्तो बेला लगानी गर्नु भनेको डुब्नुमात्र हो।'

Nagariknews.com
Read Full Discussion Thread for this article