Posted by: Birkhe_Maila June 29, 2011
तानाशाह
Login in to Rate this Post:     0       ?        
।४।

झमक्क रात पर्न लागिसकेको थियो, र कतै कतै झ्याउँकिरीहरु कराऊन थालिसकेका थिए।
बिस्टे बुढाले पिठोको भारी चौतारीमा बिसाए र थुचुक्क बसे।
निधारभरी आएको पसिना, लगाईराखेको मैलो ढाकाटोपि झिकेर पुछे र टोपि हातमै लिएर केहि झोक्राएर तल नगर हेर्दै थकाई मार्न थाले।
रात पर्न शुरु भैसकेको भएर नगरमा पर कालीको किनारमा पानीमहलमा कतै बत्ति बलेको देखिन्थ्यो।
"हे भगवान धेरै राति हुनि भो!"
आफ्नो बुढो शरीर नगरसम्म पुग्दा धेरै रात पर्ने जानेर बुढा आत्तिँदै मनमनै बोले।

एकैछिनमा झ्याउँकिरीको आवाज धेरै बढ्न थाल्यो र अलिकता झिनो बाँकि उज्यालोलाई पनि अन्धकारले स्वाट्टै निल्यो।
बुढाले आफूलाई अलिकता तागतिलो महशुस गरे।
पिठोको भारिमा अल्झाएर राखेको दियालो र पत्थर झिके। निकै सकससंग पत्थर घोटेर दियालो बाले।
पिठोको भारि पुन:बोके र दाहिने हातले समातेको दियालोको राँकोलाई हल्का उचाईमा ल्याउँदै ओरालो झर्न थाले।
"भोकै होला बिचरो अहिलेसम्म!"
बुढालाई नातीको याद आयो र माया लाग्यो।
"केहि खान दे कि देनन कुन्नि असत्तिहरुले?"
साहुको काम गर्न दिनभरि गएको नाती पुरेलाई सम्झिए बुढाले।
पुरे बिहान झिसमिसेमै गएको थियो। बुढालाई थाहा थियो पुन्टेन्द्र साहुको बारिको काममा खान दिनु नदिनु रिट्ठेको मनमा भर पर्थ्यो। कहिले खुब माया गरेको जस्तो गरेर मजाले खुवाउँथ्यो र आराम गर्न पनि दिन्थ्यो तर धेरैजसो हातमा लिएको बाँसको सिम्किनाले त्यत्तिकै बहाना खोजि खोजि कामदारहरुलाई पिट्दथ्यो। पुरे भोकै परेछ भने राति ढिँडो पकाएर खान भ्याऊने गरेर बुढा घट्टमा गएका थिए तर बुढो शरीरले गर्दा फर्कँदा रात परेको थियो। गर्नु पर्ने काम, कर्तव्य र दुख उस्तै थिए बर्षौँ देखि तर शरीर क्रमश: बुढो हुँदैथियो।
बुढा आहत देखिए।
ऊनको मनमा फेरि घोर निराशा छाउन थाल्यो।
 
बुढालाई आजकल डरलाग्दो निराशाले घेर्छ बेलाबेलामा। यस्तो बेलामा आजभोली केहि समय भयो खै किन हो उनलाई मरौँ मरौँ लाग्न थालेको छ।
यहि डरले बुढाले आफ्नो सोचाईलाई रमाईलोतर्फ लैजान खोजे।
कतै केहि रमाईलो थिएन!
बुढा झनै आत्तिए।
२२ वर्षको छँदा जाहान बितिन् बालखा छोरा छाडेर। छोरा बुहारी उनि भन्दा पहिल्यै संसार छाडेर गए। कहिल्यै आफ्नो भन्नु केहि रहेन बुढासंग!
बुढाको पेटभित्र कतै जलन र पिडा छायो। शरिर झन्झनाएको जस्तो भयो र निधारमाथि ठुलो बल पर्यो। 
अत्यन्तै आत्तिएर झन आशाहिन देखिए बुढा।
"यहि एउटा नाति नभएको भए उहिल्यै कालीमा हालफाल्थेँ!"
बुढा बुदबुदाए।
नातीको अनुहार कल्पनामा आऊनासाथ, बुढालाई अलिक राहत अनुभव भयो।
"अब यसको राम्रो देख्न पाए केइ चाइन्नथो मलाई!"
बुढा मनमनै बोल्दै ओरालो झर्दै थिए।
 
नातीको कुरा मनमा खेलाउँदै जाँदा बुढा धेरै ठिक हुँदै आए।
"यसको बे' गरेसि हाइसन्चो हुन्छ!एल्ले साउको काम गर्च ब्वारिले घरको!"
"बिर्खे सम्धीसँअ कुरो राखिहाल्छु, सिमी नानी नि तरुनी भैसकिन्!"
बिर्खे बुढा बिस्टे बुढाको बालसखा थिए। एकै किसिमका दुख-सुख भोगेका यि दुई बुढाले पहिलेदेखि नै एकआपसमा सम्धीज्यू भनेर साइनो लाउँदथे र अब यहि कुरा वास्तविकतामा लेराऊने समय भएको थियो।
बुढा निकै तल आईपुगे, दोबाटो नजिकै थियो जहाँबाट बायाँ गए नगरमा बुढाको कटेरो थियो त बायाँ गए पानीमहल।
दियालोको राँको मधुरो हुँदैथियो र अब निभ्न आँटेको थियो।
बुढाले हिँडाईको चाल बढाए। दोबाटोसम्म पुग्दा दियालो बाँकि रहे, त्यसपछि अँध्यारैमा पनि बुढा आरामसंग नगर पुग्न सक्थे।
बुढाले आफ्नो वेग बढाए।
दियालो धिपधिपाऊन थाल्यो र अन्त्यमा निभ्यो।
 
बुढा दोबाटोमा पुग्नै आँटेका थिए, केवल केहि पाईला पर थिए!
अचानक बुढाले कतै चुरा बजेको जस्तो सुने।
दोबाटोको दायाँपट्टिको मोडबाट एउटा मानव छायाँ फटाफट दोबाटो हुँदै नगरतिर लगभग दौडिएको देखे बुढाले।
बुढा डराए!उनको पाइला जड् भयो!
चुराको आवाज अझै आउँदै थियो!
छायाँ ओझेल नहुन्जेल बुढा केहि आवाज ननिकाली चुपचाप उभिए!
निकै पछि बुढाको शरिरले हलचल गर्यो र केहि डराउँदै केहि प्रश्नहरु मनमा ल्याउँदै बुढा बाटो लागे!
"को होलि यिनि स्त्री यति राति चुरा बजाउँदै दोबाटोमा हिँड्ने?!"
अचम्भित र केहि त्रसित् उनि पिठो बोक्दै नगरतिर हिँड्दै थिए!
Last edited: 29-Jun-11 04:13 PM
Read Full Discussion Thread for this article