Posted by: _____ June 7, 2011
पिपल्सका अध्यक्षद्वारा ५० करोड दुरुपयोग
Login in to Rate this Post:     0       ?        

पिपल्सका अध्यक्षद्वारा ५० करोड दुरुपयोग गरेको खुलासा


सुदर्शन सापकोटा, काठमाडौं, जेठ २५- निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेर भागेका पिपल्स फाइनान्सका कार्यकारी अध्यक्ष छविलाल भुसालले घरजग्गामा मनपरी कर्जा प्रवाह गरेको खुलेको छ। व्यक्तिगत जमानी तथा धितो राखेर प्रवाह भएको कर्जा भुसालले आफ्नै व्यावसायिक उद्देश्यका लागि प्रयोग गरेका हुन्।

 
 
कम्पनी स्रोतका अनुसार अर्घाखाँची र काठमाडौं नागदहको जग्गा धितो राखेर करिब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। धितोको उच्च मूल्यांकन गराई दिएको कर्जा भुसालले घरजग्गा तथा प्लटिङमा खर्च गरेको स्रोतले बतायो।

व्यवस्थापन र सञ्चालक समिति दुवैका प्रमुख भुसालले आफै खुसी निर्णय गरी कर्जा दुरुपयोग गरेका हुन्। स्रोतका अनुसार कार्यकारी अध्यक्ष भुसाललाई १५ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने अधिकार सञ्चालक समितिले दिएको थियो।

फाइनान्स स्रोतका अनुसार विभिन्न १२ जना व्यक्तिको नाममा प्रवाह भएको कर्जा दुरुपयोग भएको छ। रियलस्टेट बजार उकालो लागेका बेला विभिन्न चरणमा प्रवाह भएको यो कर्जाको किस्ता र ब्याज उठ्न छाडेको थियो। 'एकपछि अर्को गर्दै कर्जा डुब्न थालेको छ,' फाइनान्स स्रोतले भन्यो, 'निक्षेपभन्दा बढी कर्जा भएकाले तरलता एकदमै अभाव हुन थालेको थियो।' कम्पनीको खाता अहिले २५ लाख रुपैयाँ मात्रै नगद छ।
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सोमबारबाटै फाइनान्स कम्पनीले महाबौद्धको केन्द्रिय कार्यालयसहित, त्रिपुरेश्वर र रुपन्देहीको सिद्धार्थनगर शाखा कार्यालय बन्द गरेको छ। शुक्रबारबाट बिदामा बसेको भनिएका भुसाल कार्यालय बन्द भएको दोस्रो दिन अर्थात मंगलबारसम्म सम्पर्कमा नआएको कम्पनी स्रोतले बतायो।

राष्ट्र बैंकले पूर्वजानकारी बिनै कम्पनी बन्द भएको खबर पाउनासाथ फाइनान्समा सोमबार विशेष निरीक्षण टोली खटाइसकेको छ। टोलीले तीनवटै शाखाको अध्ययन गर्न समय लाग्ने भएकाले विस्तृत जानकारी नआइसकेको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए। 'टोलीको प्रतिवेदन नआइसकेकाले अहिले नै केही भन्ने अवस्था छैन,' उनले मंगलबार नागरिकसँग भने, 'फाइनान्सका कार्यकारी अध्यक्ष पनि अहिलेसम्म सम्पर्कमा आइसकेका छैनन्।'

राष्ट्र बैंकसहित अन्य संस्थागत निक्षेपकर्ताले अवधि पुगेपछि नवीकरण नगरी निक्षेप झिकेर लगिदिएपछि फाइनान्सले सर्वसाधारणको पैसा फिर्ता गर्न नसकेको हो। फाइनान्सले प्राविधिक कारणले कार्यालय बन्द गर्नुपरेको भन्दै पैसा फिर्ता गर्न नसकिने सूचना टाँसेको छ।

जेठ मसान्तमा अवधि पुग्ने करिब १५ करोड निक्षेप भुक्तानी गर्नका लागि कम्पनीलाई संस्थागत निक्षेपकर्ताले पत्राचार गरिसकेका छन्। कम्पनीसँग भुक्तानी गर्नका लागि जम्मा २५ लाख रुपैयाँ मात्र छ। 'अध्यक्ष फरार छन्। कम्पनीसँग भुक्तानी गर्ने पैसा छैन,' फाइनान्सका एक कर्मचारीले भने, 'उपाय नभएपछि बन्द गर्नुपरेको हो।'

चैतसम्मको वित्तीय अवस्था राम्रो देखिए पनि पछिल्लो समय तरलता अभावले गाँजेका कारण तत्काल पैसा फिर्ता गर्ने अवस्थामा कम्पनी छैन। नेपाल राष्ट्र बैंकले कम्पनीमा रहेको १७ करोड ४८ लाख ४० हजार रुपैयाँ निक्षेपमध्ये गत साता अवधि पुगेको ७ करोड फिर्ता लगेपछि कम्पनीमा चरम तरलता अभाव भएको हो। कम्पनीमा चैतसम्मको तथ्यांकअनुसार फाइनान्समा भएको कुल ८९ करोड १४ लाख रुपैयाँ निक्षेपमध्ये सोमबारसम्म संस्थागत निक्षेपकर्ता नागरिक लगानी कोषको १० करोड, राष्ट्र बैंकको १० करोड र बिमा संस्थानको ३ करोड रुपैयाँ छ।

फाइनान्सको पैसा भने समस्याग्रस्त घोषित गोर्खा डेभलपमेन्ट बैंकमा फसेको छ। गोर्खामा फाइनान्सको ३ करोड ५१ लाख रुपैयाँ फसेको छ। गोर्खाले बिहीबारदेखि एक जनालाई सातामा एक पटक गरेर १ लाख रुपैयाँसम्म मात्र भुक्तानी गरिरहेकाले त्यो पैसा तत्काल उठ्ने सम्भावना छैन।

२८ करोड ९० लाख चुक्ता पुँजी रहेको कम्पनीको चैतसम्म एक अर्ब ४ करोड रुपैयाँ त कर्जा प्रवाह नै गरेको छ। कम्पनीले कुल कर्जामध्ये जग्गा खरिद र प्लटिङका लागि मात्रै ५८ करोड ५७ लाख, घरकर्जा ३० करोड ६२ लाख र ओभरड्राफ्ट कर्जा २३ करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ। निक्षेपको तुलनामा कर्जा बढी प्रवाह गरेकाले पनि कम्पनीमा चरम तरलता अभाव भएको हो। कम्पनीको कर्जा-निक्षेप अनुपात ८७ दशमलव ५७ प्रतिशत छ। यो ८५ प्रतिशतभन्दा कम हुनुपर्छ।

चैतसम्म कम्पनीले ६४ लाख रुपैयाँ नाफा कमाएको थियो। पुँजी पर्याप्तता अनुपात २६ दशमलव ९९ प्रतिशत छ। राष्ट्र बैंकले यो अनुपात कम्तिमा ११ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ। कम्पनीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा ५ प्रतिशतभन्दा तल अर्थात ३.०७ प्रतिशत छ।
Read Full Discussion Thread for this article