Posted by: Shantipriya May 31, 2011
गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए
Login in to Rate this Post:     0       ?        
SOURCE : HIMAL KHABAR

नाराणहिटी हत्याकाण्ड षड्यन्त्रको खेती
 
नारायणहिटी दरबार हत्याकाण्ड षड्यन्त्र थियो भन्ने धारणाले हामीलाई अझै छाडेको छैन। सो घटनाको १० वर्ष पुगेको सन्दर्भमा प्रस्तुत छ, कनकमणि दीक्षितको किताब देखेको मुलुक को दोस्रो अध्याय 'षड्यन्त्रको खेती'का केही अंश।
कनकमणि दीक्षित

 
१९जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौँ उपत्यका ढपक्कै ढाकेको थियो। एउटा हेलिकप्टर विमानस्थलबाट उड्यो र मेघको घेरालाई तोडेर बारम्बार पश्चिमतर्फ जाने कोसिस गर्दागर्दै असफल भयो, अनि अँध्यारोमा झिपिक्-झिपिक् बत्ती बाल्दै विमानस्थलतिरै फर्कियो।

... न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई सेनाको जीपले थापाथली नर्भिक अस्पतालबाट हतार-हतार छाउनीस्थित सैनिक अस्पताल पुर्‍यायो। त्यहाँ पुग्दा उनले लामबद्ध लासहरूको थुप्रो देखे। खरानी वर्ण भइसकेको एक लासको छातीमा साईबाबाको लकेट झुण्डिएको थियो। डा. देवकोटाले दोहोर्‍याएर हेर्दा पो थाहा पाए, त्यो लास राजा वीरेन्द्रको रहेछ। श्रुतिको सास भने अझै बाँकी थियो। यसैबीच डा. देवकोटा माथि शल्यकक्षमा पुगेर युवराज दीपेन्द्रलाई बचाउन जुटे र आफ्नी पत्नी डा. मधु देवकोटा (दीक्षित)लाई मोबाइलमा फोन गरी यो कुरा बताए। केही समयपछि नै मधुको फोन आयो-

“कनक, बर्बाद भएछ, एभ्रीबडी इज डेड्!”
“के भनेको?”
“नारायणहिटीमा, रोयल फ्यामिली का सबै जना डेड्!”

यसरी थाहा भयो- मधुमार्फत राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनलगायत राजपरिवारका आठ जनाको मृत्युको कुरा। दीपेन्द्रको देहावसान पर्सिपल्ट भयो।

राति उडेको त्यो हेलिकप्टर अधिराजकुमार ज्ञानेन्द्रलाई लिन पोखरा जान खोजेको रहेछ। मोटर बाटोबाटै काठमाडौँका लागि हिँडेका ज्ञानेन्द्रलाई भोलिपल्ट बिहान मात्र हेलिकप्टरले गजुरीबाट उपत्यका उतार्‍यो।

आजसम्म पढिएका, सुनिएका र प्राप्त भएका विवरणका आधारमा युवराज दीपेन्द्रले आफ्ना पितालगायत अरू सबैलाई गोली हानेको प्रस्ट हुन्छ तर, विशेषगरी ज्ञानेन्द्रको परिवारका सबै सदस्य बचेको र पारसको ज्यादतीपूर्ण अतीतका कारण भोलिपल्ट बिहानैदेखि षड्यन्त्रका कुरा मात्र सुनिन थाले। नारायणहिटीभित्र वीरेन्द्रको परिवारबीचको तनाव, अन्तर्द्वन्द्व तथा खान्दानी परिवेशभित्र भएको कानेखुसीबारे प्रायःजसो सबै जनता अनभिज्ञ नै थिए। त्यसैले पनि यत्रो हत्याकाण्ड भएपछि षड्यन्त्र भएको वा रचिएको हल्ला पत्याउन धेरैलाई गाह्रो भएन भने युवराज दीपेन्द्रलाई दोष लगाउँदा धेरैले नपत्याउनु पनि स्वाभाविकै थियो।

भूमिगत अवस्थामा रहेको माओवादी भने षड्यन्त्रको खेतमा पानी लगाउन व्यस्त बन्यो। उता रातारात उत्पन्न परिस्थितिमाझ् हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता रहेको किटानीका साथ शुरु भएको भयानक षड्यन्त्रको सुझाव विपरीत रहेका प्रमाण, विवरण परिस्थितिका आधारमा तार्किक रूपमा आफ्ना भनाइ राख्न र खण्डन पेश गर्न सक्ने अधिकांश जानिफकार तथा बुद्धिजीवीहरूले मौनव्रत लिए र आजसम्म लिएकै छन् । पढेलेखेका ठहरिने नेपाली समाजका प्रतिनिधिहरूले प्रमाण नपुगेको र साधारण विश्लेषणले पनि अपूर्ण बनाइदिने यस षड्यन्त्रको कथालाई मान्यता र बढावा दिए। उता नेपाली बौद्धिकले मान्यता दिइसकेपछि संसारभर यही षड्यन्त्रको कथा फैलिने मौका पायो। ...

 
पाठक महोदयले आफैं यो प्रश्नको जवाफ दिइहेर्नुस्, “राजा वीरेन्द्रलाई कसले मारेको होला?” तपाईंको जवाफ के हुन्छ कुन्नि, तर मेरो निष्कर्ष भने मैले पेश नगरी हुँदैन- आजसम्म उपलब्ध प्रमाण तथा तर्कको आधारमा यो भन्न सकिन्छ कि नारायणहिटी विध्वंस युवराज दीपेन्द्रबाट रचिएको थियो। भोलि नयाँ प्रमाणले अर्कै तथ्य दर्साए म मेरो यो ठम्याइ बदल्न तयार छु। ...

जहाँसम्म प्रमाणको कुरा छ, त्यसका लागि नारायणहिटी हत्याकाण्ड हुँदा त्यहाँ रहेका २४ जनामध्ये मर्ने नौ जनाबाहेक बाँचेका १५ जनालाई सोधे पुग्नुपर्ने हो। हत्याकाण्डबारे जान्न चाहनेहरूका लागि सो घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उनीहरूले दिएको विवरणको हुबहु ट्रान्स्त्रि्कप्ट हाजिर छ। त्यही अन्तर्वार्ताको भिडियो एकताका नेपाल टेलिभिजनको अधीनमा थियो, त्यो पनि अनुसन्धान गर्न चाहनेले पत्ता लगाउन सक्नुपर्ने हो। उदेकलाग्दो कुरा त के छ भने हत्याकाण्डका प्रत्यक्षदर्शी बालबच्चाहरूको बयानलाई समेत विश्लेषकहरूबाट त्यति वजन दिइएन र विश्वास गरिएन। के उनीहरूको बयान पनि षड्यन्त्रकै पाटो थियो? राजनीतिक रूपले उनीहरू पूर्वाग्रही पक्कै थिएनन् होला। ...

कसले मार्‍यो त राजा वीरेन्द्रलाई? जवाफका लागि केही परिस्थितिजन्य प्रमाणलाई नियाल्नुपर्ने हुन्छ किनकि त्यो त्रिभुवन सदनका मूल पात्र बितिसकेका छन् भने बाँचेकाहरूको बयानलाई विश्वसनीय मानिएको छैन। हत्याकाण्डताका युवराज दीपेन्द्र मानसिक तनावमा थिए भन्ने ठम्याइ उनीसँग नजिक रहेकाहरूको छ। काका धीरेन्द्रलाई समेत पदच्युत गर्न सक्ने आमा ऐश्वर्यले छोरालाई देवयानी राणासँग विवाह गर्नका लागि निषेध गरेकी थिइन्। जुद्ध शमशेरको परिवार (रानी ऐश्वर्य) तथा चन्द्र शमशेरको सन्तान (देवयानीका बाबु पशुपति शमशेर राणा) बीचको पुरानो प्रतिस्पर्धा र कुण्ठाले वर्तमानसम्म असर पारेको रहेछ। भारतको रवाफी ग्वालियर घरानाकी पुत्री (देवयानी राणाकी आमा)बारे ऐश्वर्यको नकारात्मक सोचले पनि दीपेन्द्रको रोजाइ स्वीकार्य नहुनुमा भूमिका खेलेको देखिन्छ।

बूढानीलकण्ठ स्कूलमा पढेका तर खासै केही इलम नगरी मात्र युवराजको पद बोकेका दीपेन्द्रमा देवयानीलाई विवाह गरे श्रीपेच हरण हुने आमाको धम्कीले ठूलै तनाव उत्पन्न भएको हुनुपर्छ। फेरि, बाबु वीरेन्द्रले राम्रो नियन्त्रणमा नराखेका दीपेन्द्रमा रक्सी तथा चरेस लिने आदत बसेको र साथीभाइको जस्तो व्यवहार गर्ने अङ्गरक्षकहरूले पनि यो लतका विषयमा कुनै कदम नचालेको बुझिन्छ। सानैमा पेस्तोल उपहार पाएर चलाउन सिकेका दीपेन्द्रलाई बन्दुक मोह त थियो नै। त्यतिबेला माओवादीसँग लड्न सेनाका कर्णेल-इन-चिफ भएका नाताले उनले तीन-तीन अत्याधुनिक स्वचालित बन्दुकको निरीक्षण गर्दै थिए र ती अस्त्र आफ्नै खोपीको र्‍याकमा सुसज्जित थिए।

दीपेन्द्रले हत्याकाण्डको केही दिनअगाडि योजनाबद्ध हिसाबले सबैलाई रात्रिभोजमा डाकेका थिए- चितवन र पोखरा भ्रमणमा रहेका काका ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत विशेष आग्रहका साथ। प्रधानमन्त्रीले पारिवारिक भेलामा आउँदिनँ, भनेर इन्कार गरेका थिए। नारायणहिटी प्राङ्गणभित्र दीपेन्द्रकै वासस्थान त्रिभुवन सदनमा त्यो १९ गतेको कालरात्रिमा बाबु-आमा, काका-काकी, बहिनी-ज्वाइँ, बच्चाबच्ची आदि भेला भए। छलफल र ड्रिङ्कस् चल्दैथियो। दरबारभित्र नितान्त पारिवारिक समारोह भएकाले अङ्गरक्षकहरू छुट्टै कोठामा बसेका थिए। प्रत्यक्षदर्शीबाट सार्वजनिक भएको सूचनाअनुसार अलि मात लागेको जस्तो देखिएपछि दीपेन्द्रलाई अरूको आडमा माथि बेडरुममा पठाइएको थियो तर एकैछिनमा मिलिटरी पोशाक लगाई तीन बन्दुक भिरेर उनी तल र्लिए। छुराले एक जनालाई मार्ला, अरूले नियन्त्रणमा ल्याउन कोसिस गर्दागर्दै पेस्तोल हुनेले दुईजना, तर मिनेटमा दर्जनौँ राउन्ड फायर गर्न सक्ने स्वचालित बन्दुकले एकैछिनमा नौ जना मार्न असम्भव थिएन।

देखेको मुलुक
लेखकः कनकमणि दीक्षित प्रकाशकः जगदम्बा प्रकाशन, २०६६ ISBN: 978-9937-8227-0-1

दीपेन्द्रको जस्तै अनुहार भएको मुकुण्डो लगाएर कसैले गोली चलाएको भन्ने आशङ्का भने बढी हिन्दी फिल्म हेर्नेको बुझाइ मात्र हो। वास्तवमा कसैको अनुहार दुरुस्त हुने गरी प्रयोग गर्न सकिने रबर मास्क कतै बन्दैन, सिवाय बलिउड सिनेमामा। ठूलो पर्दामा विशेष गरी खलनायकबाट मास्कको प्रयोग भएको जसरी देखिन्छ त्यो त फिल्म सम्पादनको तरक्की मात्र हो। तर यो कुरा नबुझनेका लागि दीपेन्द्रको अनुहारको मुकुण्डो लगाएर अरू कसैले गोली चलाएको हो भन्ने ठोकुवा पत्याउन सजिलो भइदियो। यस्तै उक्त रात कैयन् सुरक्षाकर्मी गायब गरिएको र लासलाई ट्रकमा लगेर जलाइएको हल्ला अझै जीवित छ तर त्यति धेरै मान्छेहरू मारिँदा पनि परिवार वा आफन्तबाट उनीहरूको खोजी किन भएन? आजसम्म धेरैले मान्दै र भन्दै आएको प्रमाणका आधार ज्ञानेन्द्रको वर्तमान निरङ्कुश स्वभाव र पारसको विगतको क्रियाकलापबाट मात्र जन्मिएको जस्तो देखिन्छ।

नारायणहिटी हत्याकाण्ड दीपेन्द्रले नै रचेका हुन् भन्ने प्रत्यक्षदर्शी छन् र दिवङ्गत दीपेन्द्रको मनस्थिति र आन्तरिक तनावबारे पनि परिस्थितिजन्य प्रमाण हाजिर छन्। राजा ज्ञानेन्द्रको हकमा हत्याकाण्डको बेला उनी पोखरामा रहेको तथ्य कसैले इन्कार गर्दैन। उनको निजी परिवारका सबै सदस्य बाँचेकोमा उनीमाथि शङ्का गरिएको छ तर उपलब्ध प्रमाणको सामु यो तथ्यले आफैंमा धेरै वजन पाउँदैन। यस सन्दर्भमा के कुरा पनि सम्झ्न जरुरी छ भने घटनामा ज्ञानेन्द्रको परिवारका सदस्य मात्र बचेका थिएनन्, बरु त्यो कोठामा रहेका आधाभन्दा बढी परिवारजन पनि बाँचेका थिए। ...

अधिराज पारसको हकमा दीपेन्द्रको विध्वंस शुरु हुँदा उनले त्यो कोठाको एक भागमा रहेका बच्चाबच्चीलाई बचाउन दाइ नमार्नोस् भन्दै हात फिँजाएको जानकारी ती नातेदार बालकहरूले दिएका छन्। उता, ज्ञानेन्द्रको परिवारलाई मात्र किन केही नभएको त भन्नेको जवाफ छ- रानी कोमललाई जाँच्ने डाक्टरको भनाइमा कोमलको छाती नै पूरा छेड्ने गरी गोली पसेको थियो र रिबका हाडहरूलाई पनि चोट लागेको थियो। मुटु अलिकति मात्र छल्दै गोली फोक्सो छेडेर पछाडि ढाडबाट निस्केको थियो। गोली अलिकति यताउता भएको भए रानीको पनि आफ्ना जेठाजू, दिदी र अन्य परिवारजनसँग देहावसान निश्चित थियो।

प्रमाण र प्रत्यक्षदर्शीको कुरा त एउटा भयो, अझ् फराकिलो परिप्रेक्ष्यबाट पनि षड्यन्त्रको सम्भावना न्यून भएको अड्कल लगाउन सकिन्छ। २१औँ शताब्दीको युगमा पनि के, शक्तिशाली राजा बन्ने दाउमा ज्ञानेन्द्रले योजना बनाई दाइलाई मारेर आफू राजा बन्न खोजे होलान्? राजा भइसकेपछि देखिएको ज्ञानेन्द्रको मूर्ख्याईं र निरङ्कुशता लाद्ने चेष्टा गरेको भरमा उनलाई दाजु मार्ने योजना रचे भन्न मिल्छ? षड्यन्त्रपूर्ण हत्या गर्ने योजना बनाउँदा र एउटा राजालाई आफ्ना आफन्तसामु मार्न खोज्दा देखिने असङ्ख्य भेरिएबल्स् (नियन्त्रण भन्दा बाहिरका विभिन्न सम्भावनाहरू)का जोखिम मोलेर कसैले त्यस्तो हत्याकाण्ड रच्थ्यो होला! फेरि अरू पनि मर्ने सम्भावना हुँदाहुँदै सपरिवार उपस्थित भोजको बीच अरू कसैलाई लगाएर दाइको हत्या गर्न लगाउनु मूर्ख्याईं हुँदैनथ्यो? ती अन्य षड्यन्त्रकारीले कुनै बेला आफ्नो सहभागिताबारे बक्लान् भन्ने सम्भावना पनि हेर्नुपर्‍यो। ईर्ष्या, लोभ र पापपूर्ण कार्य गरेको भनिएका ज्ञानेन्द्रको मस्तिष्कमा जो-कोहीले आफैंलाई राखेर हेरून् र प्रश्न गरून्- यो सब पत्यार लाग्ने कुरा हो? ...

आजसम्मका प्रत्यक्षदर्शीको विवरणको आधारमा त्रिभुवन सदनको बैठक कोठाभित्र ६ जनाको हत्या गर्ने दीपेन्द्र नै थिए भन्न सकिने अवस्था छ। बाहिर दुई जना (ऐश्वर्य र निराजन)लाई पिछा गरेर गोली चलाउने पनि दीपेन्द्र नै थिए पनि भन्न सकिन्छ। दीपेन्द्र स्वयंको मरणको हकमा भने यसै हो भन्न मुश्किल छ- या त उनले बायाँ हातले आफैंले पिस्तोल चलाए या त हत्याको शृङ्खला रोक्न त्यहाँ आइपुगेका कसैले उनीमाथि गोली चलायो।

... नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुसन्धान र खोजी जरुरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुट्कारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून्।

Read Full Discussion Thread for this article