Posted by: pixie May 25, 2011
REAL FACE OF MAOIST LEADERS
Login in to Rate this Post:     0       ?        

माओवादी सचिवका परिवारमा बुहारीमाथि अत्याचार, बुहारीको एक्सक्लुसिभ बयान

बिहेमा कम दाइँजो ल्याएको भन्दै एकजना माओवादी नेताले बुहारीमाथि गरेको अत्याचार निकै कहालीलाग्दो छ । दाइँजोमा सोफा नल्याएको निहुँमा माओवादी नेता सीपी गजुरेलकी बुहारी सुनिता गजुरेलले कस्तो ताडना सहिन् ? सुनिता गजुरेलले विश्वसन्देशलाई दिएकी छिन्, एक्सक्लुसिभ बयान ।

म सुनिता गजुरेल ससुरा चन्द्रप्रसाद गजुरेल (सीपी गजुरेल) केन्द्रीय सचिव, एकीकृत नेकपा माओवादी) की बुहारी तथा उहाँको कान्छो छोरा सञ्जीव गजुरेलको श्रीमती हुँ । हाम्रो विवाह २०६३–१०–४ गते हाम्रो परिवार र हामी दुवै जनाबीचको कुराकानी र सहमतिपश्चात सामाजिक परम्पराअनुसार भएको थियो । विवाहको प्रस्ताव उहाँहरुबाटै आएकाले मैले स्वीकार गरेकी थिएँ ।

विवाहको तत्कालै सासू कल्याणाी गजुरेल र ससुरा सीपी गजुरेल चितवनतिर घुम्न जानुभयो र फर्केको करिब दुई तीन दिनपछि फेरि दिल्ली भ्रमणमा जानुभयो । उहाँहरु फर्किसकेपछि सासू कल्याणी गजुरेलले बेला–बेलामा सम्पत्ति अर्थात् दाइँजोको कुरा निकाल्नुहुन्थ्यो । स–साना घरायसी कुरामा बिनाकारण गाली गर्नुहुन्थ्यो । मैले यस्ता कुरालाई सामान्य रुपमा लिन्थें । एक बुहारीको हिसाबले केही पनि जबाफ फर्काउन्नथें । तैपनि हामी दुई (सञ्जिव र मेरो ) को सम्बन्ध एकदम राम्रो थियो ।

विवाह भएको करिब एक महिनासम्म माइती घर गएका थिएनौं । त्यसैले माइती जाने सल्लाह भयो । हामी दुवै जना माइतीपछि हाँसीखुसी घर फर्कियौं ।

हामी माथि कोठामा पुग्यौं र मैले हाम्रो रीतअनुसार आफूले ल्याएका सामान कोसेलीहरु राखी ममीबुबालाई ढोगी दिएँ । उहाँले मैले ल्याएको कोसेली पनि फुकाउनुभएन । ‘यसले मेरो हिराजस्तो छोरालाई कस्तो पारी’ मलाई कम्ता भा को छ । यस्ती उस्ती भन्दै गाली गर्नुृभयो ।

एक दिन त बुबाले पनि सबै जना खाना खान बसेका बेलामा ममीले यसले ल्याएको दाइँजो गाग्री चुइने र छ भन्नुभयो ममीले त्यति भन्नासाथ बुबाले ए गाग्रीसमेत चुइने र छ ! भन्नुभयो ।

तैपनि दुई–तीन दिनसम्म आफन्तकोमा ढोगभेट चल्यो । त्यसै गरी दिनहरु बित्दै गए । म बिहान घरको काम गरेर अफिस जान्थें र बेलुका फर्केपछि घरका अन्य काम गरेर सुत्न जान्थें । मेरो दिनचर्या यस्तै थियो ।

समय अगाडि बढ्दै गयो । मेरो श्रीमान्ले ममीको कुरामा चित्त नदुखाउनू, म छँदैछु नि भन्नुहुन्थ्यो । म पनि मेरो श्रीमान् असल हुनुहुन्छ भन्दै चित्त बुझाउँथे ममीका कुरालाई वास्ता गर्दिनथें । यसै क्रममा हामी माइतीतिरबाट फर्किएको करिब १०–१२ दिनपछि बुबा युरोप भ्रमणका लागि जानुभयो र ममी चाहिँ गाउँ जाने कुरा चलिरहेको थियो । तर ममी गाउँ जानुभएन ।

ममीले बिस्तारै बिस्तारै झन्झन् अप्ठ्यारो पार्दै जान थाल्नुभयो । एक दिन, दुई दिन गर्दागर्दै उहाँहरुले मैले पकाएको खाना नखाने आफंै पकाएर खाने गर्न थाल्नुभयो । मैले कति अनुरोध गर्दा पनि उहाँले मान्नु हुन्नथ्यो ।

मेरो पेटमा बच्चा पनि आइसकेको रहेछ, शंका लागेर टेस्ट  गराउँदा साँचो निस्कियो । ममीले ‘तँ मेरो छोरालाई छोड्दे र आफ्नो बाटो लाग मात्र भनिरहनुहुन्थ्यो । हाम्रो घरको स्थिति साह्रै तनावपूर्ण थियो । ममीले त्यो व्यवहार गरेपछि सबैलाई टेन्सन हुनु स्वाभाविकै थियो । बुबाकै अगाडि ममीले यस्तो निकृष्ट व्यवहार गर्दा म ससुरा बुबासँग सहयोग र  विश्वासको अपेक्षा गर्दथें । उहाँले हस्तक्षेप गरी घरको स्थिति मिलाइदिए हुन्थ्यो भन्ने सोच्थें, तर किन हो कुन्नि बुबा चुपचाप केही नबोली मेरो त्यो दुर्दशा हेरिरहनुहुन्थ्यो ।

यसैक्रममा श्रीमान्ले अचानक मेरो पेटमा बढिरहेको बच्चा फाल्ने प्रस्ताव राख्नुभयो । म झसंग भएँ । रुन मात्र आयो  केही बोल्न सकिन । आफ्नो भाग्य सम्झेर घरमा अफिसमा जतिबेला पनि रुन मात्र आउँथ्यो, रोइरहन्थें । त्यो बच्चा मेरो लागि सञ्जिवको अनुपम उपहार थियो ।

म जसरी पनि त्यो बच्चा जन्माउन चाहन्थें । बेलाबेलामा  माइतीतिर गएर बच्चा जन्माउँ कि जस्तो विचार पनि आउँथ्यो । तर विवाह भैसकेकी चेली माइतीमा गई बच्चा जन्माउँदा सामाजिक प्रश्न उठ्थ्यो त्यसैले हिम्मत गर्न सकिन ।

श्रीमान् बच्चा फाल्ने कुरामा अडिग रहिरहनुभयो । मलाई कयांै पटक कन्भिन्स गरिरहनुहुन्थ्यो । आखिर हामी एकदिन हस्पिटल गयौं । डाक्टरले हाम्रोबारेमा सबै कुरा बुझेपछि पहिलो बच्चा नफाल्न नै सल्लाह दिए । मलाई अत्यन्त पीडा भयोे, म उहाँसँग धेरै रोएँ, म श्रीमान्को चित्त पनि नदुखोस्, र बच्चा पनि जोगाउन सकियोस् भन्ने कोसिसमा थिएँ । तर श्रीमान्ले भन्नुभयो– हेर सुनिता, अहिले मेरो राम्रो जागिर छैन, तिमी पढ्दैछौ, घरमा पनि यस्तो बबाल छ, भोलि बच्चा भएन भने मलाई पनि त कति टेन्सन हुन्छ, पछि अनेक उपाय गरौंला, केही नलागे टेस्टट्युब बेबीको पनि व्यवस्था छ । तिमी म भन्दा धेरै बुझ्ने पनि छौ । म तिमीसँग छँदैछु नि प्लिज मलाई साथ देऊ ।

अरु कुनै उपाय पनि थिएन । म बाध्य भएँ । मैले बच्चा फाल्नका लागि डाक्टरको सल्लाहअनुसार औषधिको प्रयोग गरें । डाक्टरकैै अगाडि एउटा र त्यसको ४८ घण्टापछि अरु औषधि प्रयोग गरें ।

औषधि खाएपछि बच्चा जाने क्रम शुरु भयो । बच्चा फालेको दुई दिनसम्म श्रीमान्ले राम्रो व्यवहार गर्नुभयो । तेस्रो दिनमा श्रीमान्ले अचानक मलाई सुनिता अब हामी सँगै बस्न सक्तैनौं अलगअलग बस्नुपर्छ भन्दै मलाई छाड्ने कुरा गर्नुभयो ।

म छाँगाबाट खसेजस्तो भएँ । राति श्रीमान् अलग्गै कोठामा सुत्न जानुभयो । अर्को राति म सुत्ने तयारी गर्दै थिएँ ।  ममीले एक्कासि ‘यो केटीले के नाटक गर्दैछे भनेर गाली गर्न शुरु गर्नुभयो । श्रीमान् केही नबोली जुरुक्क उठेर ममीको कोठामा सुत्न जानुुभयो । त्यसपछि ममीले एकान्त पारेर मलाई धेरै फकाउन थाल्नुभयो । तँ पढेलेखेकी मान्छे । जति पनि केटा पाउँछेस् । अब तिमीहरुको त कोठा पनि अलग भैसक्यो तिमीहरुको सम्बन्ध पनि राम्रो हुँदैन । (मैले अघिल्लो दिन श्रीमान्लाई किन छुट्टै सुतेको भन्दा उहाँले मलाई ज्योतिषले तीन दिनसम्म हामीलाई सँगै नसुत्नू भनेको छ भन्ने जबाफ दिनुभएको थियो) ।

ममीले अब यसरी चल्दैन यसका माइतीलाई बोलाइदिन्छु र  छिनोफानो गरिदिन्छु भनेपछि म डराएर श्रीमान्लाई साँच्चै हजुरले पनि मलाई छोड्न नै खोजेको हो ? भन्दा हो, तिमीलाई मैले केही दिन पहिले नै भनेको हुँ तर तिमीले मजाक सम्झियौ । त्यस्तो कुरामा पनि कसैले मजाक गर्छ र ? हो, अब हामी सँगै बस्न सक्तैनौं, भन्नुभयो । मेरो आँखामा सञ्जिवको विश्वासकोे पट्टी लागेको थियो । त्यति गर्दासम्म पनि मैले पत्याइन ।

ममीले, माइतीलाई फोन गर्न भनी

दबाब दिनुभयो । मैले उहाँहरुलाई रुँदै फोन गरें र भेटघाट गर्ने कुरा पनि भयो । अनि म प्रभा दिदी (श्रीमान्को कान्छी दिदी, जसले हामीलाई विवाह गर्न प्रस्ताव राख्नुभएको थियो) कोमा गएर उहाँसँग घरमा ममीले, बुबाले र सञ्जिवले गर्ने व्यवहारका बारेमा सबै कुरा राखें ।

दिदीलाई घरमा सबैलाई सम्झाउनू र हामीलाई जसरी भए पनि मिलाइदिनुस् भन्दा तिमी पढेलेखेकी मान्छे किन चिन्ता गर्छौ । केही व्यवस्था भइहाल्छ नि, मिलाउन त खै कसरी मिलाउनु र भन्नुभयो । म त्यहाँ बसेर धेरै बेर रोएँ ।

मेरो गर्भपतन गराएका कारण म एकदम कमजोर अवस्थामा थिएँ । तैपनि ममीले मलाई झनै दुव्र्यवहार गर्न थाल्नुभयो । ममीले मलाई खाना दिन पनि गाह्रो मान्न लाग्नुभयोे । बेलाबेलामा भातसमेत खान दिनु हुन्नथ्यो । म धेरै पटक त्यो घरमा भात खान नपाएर तड्पेको छु ।

मेरो खुट्टा थरथर काम्थ्यो । श्रीमान्ले पनि वास्ता गर्न छाड्नुभयो । मैले उहाँलाई धेरै आग्रह गर्थें र सम्झाउँथें पनि । तर उहाँले मेरो कुरा सुन्नुभएन । केही दिनपछि बुबा युरोपबाट फर्किनुभयो । उहाँ आएपछि त समस्या सुल्झिन्छ भन्ने मैले सोचेकी थिएँ । बुबा आएको दिन भने सबैलाई खाना पकाएर खुवाएँ ।

त्यो दिन सबैले खानु पनि भयो । अर्को दिनदेखि मैले पकाएको खाना कसैले पनि नखाने हुनुभयो ।

बुबा फर्केको दुई–चार दिनपछि मैले सबै कुरा बताएँ र हजुरले छोरा, ममी र मलाई पनि राखेर कुरा गरिस्यो भन्दा उहाँले मलाई यस्तो जबाफ दिनुभयो– यो तिमीहरुको बीचको मामला हो, मैले कारण सोध्न मिल्दैन । वैज्ञानिक कारण पनि हो, कसैकसैको यस्तै हुन्छ । मैले पनि कान्छो छोरोको बिहे रहरले गरेको थिएँ । तिमीहरुको यस्तै भयो । अब तिमीहरुले आ–आफ्नो भविष्य कसरी राम्रो हुन्छ त्यो सोच्नुपर्छ । मेरो दायित्व, तिमीलाई बिहे गरेर ल्याएकी बुहारी हौ, मेरो खासै सम्पत्ति केही छैन । मलाई पनि पार्टीले पालिराखेको छ । तिमी आफ्नो कर्तव्य गर । सुजाता कोइरालाजस्ता पनि महिला छन् । त्यसपछि मैले बुबासँग म त्यस्तो संस्कारमा हुर्केको केटी पनि होइन । हजुरलाई थाहा छँदैछ, म सामान्य  परिवारको छोरी हुँ । मेरो बुबा, ससुरा जे भने पनि हजुर नै हो । उहाँले बिस्तारै समाज परिवर्तन हुँदै जान्छ भन्नुभयो । मैले उहाँसँग घरायसी समस्याको सकारात्मक पहलकोे  अपेक्षा गरेकी थिएँ । तर निराश भएँ ।

एक पटक मसँग कत्ति पनि पैसा थिएन मैले श्रीमान्सँग पैसा माग्दै थिएँ । ममीले थाहा पाउनुभएछ । दौडदै हाम्रो नजिक आउनुभयो र मलाई हकार्दै भन्नुभयो ‘अझ तँ मेरो छोरासँग पैसा माग्छेस् तैंले बिहे गरेर आउँदा माइतीबाट के ल्याएकी थिइस् र ! काठको टुक्रासम्म ल्याएकी छैनस् ।’ समयसमयमा उहाँले मलाई धेरै नराम्रो–नराम्रो शब्द भन्दै गाली गर्नुहुन्थ्यो  । रन्डी कस–कसको पेट बोकिस् र यहाँ आएर फालिस् भन्दै कति पटक उहाँले मेरो शरीरमा थुक्नुहुन्थ्यो ।

ममाथि अन्याय बढिरहेको थियो । मलाई त्यो घरमा कुकुरलाई जस्तै व्यवहार गरिन्थ्यो । मेरो कोठाको अवस्था पनि दयनीय थियो ।

बिहान अफिस जाने समय हुन्थ्यो, मैले पकाएको परिवारमा कसैले नखाने । अप्ठ्यारो हुन्थ्यो, बुहारी मान्छे एक्लै पकाएर खान सक्दिनथें । भोकभोकै अफिस जान्थें । उहाँहरुले म अफिस गएपछि ढिलो पकाएर खाने गर्र्नुहुन्थ्यो । मैले अफिसतिर हल्काफुल्का नास्ता गर्थें, त्यतिबेला मेरो तलब ३००० (तीन हजार) थियो ।

म शारीरिक र मानसिक दुवै रुपमा कमजोर हुँदै गैरहेकी थिएँ । बेलुका घर आएपछि आफ्नै कोठामा एक्लै बस्थें । म सुत्ने पलङसमेत ममीले आफ्नो कोठामा लैजानुभएको थियो । बेलुका ममी र श्रीमान्ले खाना दिँदा कुकुरलाई दिएजस्तै गरी फ्यात्त फाली दिनुहुन्थ्यो । मलाई श्रीमान् छोड्नका लागि बारम्बार प्रेसर आउँथ्यो । तेरो स्वाभिमान छैन ? तँलाई हामीले यस्तो कुकुरको जस्तो व्यवहार गर्दा पनि तँ बसिराख्छेस् भन्ने कुरा बारम्बार हुन्थ्यो ।

मलाई घरबाट निकाल्ने कोसिसहरु भैरहन्थे । यति हुँदा पनि मेरोतर्फबाट श्रीमान्प्रतिको मायामा कुनै कमी आएको थिएन । म उहाँलाई धेरै नै माया गर्थें । मलाई त्यहाँ नरकीय जीवन बिताउन बाध्य पारिदै गयो ।

एक दिन बुबाले मलाई बोलाएर घरमा बस्न नमिल्ने कुरा गर्नुभयो । मलाई एक्लै (खैरमारा–महोत्तरी, जहाँ हाम्रो खेती छ) खैरमारा गएर खेतीपाती गरेर गृहस्थी सम्हाले राम्रो हुने  सल्लाह दिनुभयो ।

त्यो कुरा चाहिँ मैले इन्कार गरें । मैले म उहाँहरुसँग घर बस्न नमिल्ने कारण सोधें । बुबाले आफूलाई पार्टीले पालेको र पार्टीमा यो कुरा उठिसकेकोले, छोराचाहिँ स्टाफका रुपमा बस्न मिल्ने तर म बस्दा अप्ठ्यारो पर्ने कुरा गर्नुभएको थियो ।

मैले बुबाको उक्त प्रस्ताव इन्कार गरिदिएँ । मलाई बारम्बार घर र श्रीमान् छोडिदिनका लागि दबाब आई नै रह्यो । मैले मान्दै मानिन ।

एकदिन ममी र श्रीमान्, छोरी (प्रभा दिदी) भएर दिदीकै घर भन्दा अलि तल दुईवटा कोठा खोज्नुभएछ । हामीलाई सार्ने कुरा भयो । मैले जान्न भनेर धेरै चोटी इन्कार पनि गरें ।

बुबा र मेरो श्रीमान्ले पल्लो कोठाबाट सुनिरहनुभएको थियो कसैले केही बोल्नुभएन । म त्यहाँ एकदमै निरीह प्राणीजस्तै भएँ । त्यसको भोलिपल्ट बिहानै म नुहाएर कपडा धुँदै थिएँ, मेरो श्रीमान्ले आँखा मिच्दै मेरो नजिक आई कोठा सर्न भन्नुभयो ।

म केही बोल्न सकिन नुहाईधुवाई सिध्याएर माथि जाँदा मेरो सामान जति सबै गाडीमा हाल्न ठीक पारिसकेको रहेछ । तर मेरो श्रीमान्को एकदुई वटा सर्टहरु मात्र राखिएको रहेछ । मैले उहाँको सबै सामान हाल्ने कुरा गरें तर उहाँले त्यहाँ राख्ने ठाउँ छैन । मेरो लुगा खुम्च्याएर किन राख्नु पहिला दराज किन अनि मेरो सामान लगौंला भन्दै उहाँको सामान हाल्न रोक्नुभयो ।

मैले मेरो विवाहको गहनाका बारेमा सोधें, मेरो श्रीमान्ले तँ कति महत्वाकांक्षी रहिछेस् बल्ल थाहा पाएँ भनी उत्तर दिनुभयो । त्यो सबै गहनाहरु अहिले पनि उहाँहरु सँगै छ किनकि मेरा सबै गहना बिहे भएको केही दिनमै उहाँहरुले राख्नुभएकोले मसँग कुनै गहनाहरु थिएन (गहनाका बारेमा छलफल नगरे मैले गहना मासेको आरोप आउने डरले मात्र मैले उक्त प्रसंग उठाएकी थिएँ) ।

त्यसपछि मैले बुबासँग कुरा गर्न पाउनुपर्ने कुरा गरे पनि बुबासँग कुरा गर्न दिइएन । मेरो श्रीमान्ले तँलाई मैले पाल्ने हो कि मेरो बुबाले भन्नुभयो । तैपनि मैले फेरि दुई–तीन पटकसम्म आग्रह गरें । मलाई बुबासँग कुरा गर्नै दिइएन र बुबाले पनि कुरा गर्न चाहनुभएन । कुरा गर्ने अनुमति नपाएपछि अन्त्यमा, बुबा म जान्छु है भनी बिदा माग्दा हुन्छ भन्नुभयो ।

मैले बिहान धोएर सुकाएको कपडाहरु घरमै भएकाले कपडा लिन दिउँसो अफिसबाट फर्कँदा पसें । तलैबाट फर्कन नरमाइलो लाग्यो र माथि चढें । म भित्र पसेको मात्र के थिएँ एक्कासि ममीले नराम्रोसँग चिच्याउनुभयो । किन ढोका खुल्लै पारेको, जो पायो त्यही मान्छे भित्र पसेको छ ।

ममी कराउन थालेपछि बुबाले आत्तिदै मेरो श्रीमान्लाई फोन डायल गर्नुभयो र उहाँले केके भन्नुभयो मैले सुनिन । म अकमक्क परिरहेँ । बुबाले विशाललाई फोन दिन भन्नुभएछ  विशालजीले मलाई फोन दिनुभयो । मैले फोन रिसिभ गरें । श्रीमान्ले तँ किन त्यहाँ गा’की भनेर सोध्नुभयो । मैले हजुरहरु सबैजना किन यसरी आत्तिनुभएको । म त बिहान धोएर सुकाएको कपडाहरु घरमै भएकाले कपडा लिन आएको भनें । यता मलाई राखिएको कोठामा श्रीमान्ले खाना नखाने ३÷४ दिनसम्म राति ८÷९ बजेतिर आउने र बिहानै चाँडै हिँड्नुहुन्थ्यो । यो क्रम दुई–चार दिन जति जारी रह्यो त्यसपछि उहाँ आउनै छाड्नुभयो । तीन–चार दिन जति नआएपछि म एकदिन बिहानै घरतिर गएँ ।

मेरा दुई जोर लुगा बोकेर । त्यहाँ म आएको सबैले देख्नुभएको थियो । मलाई कसैले ढोका खोलिदिनुभएन । म बाहिरै बसिरहें । मेरो श्रीमान् दूध लिन तल झर्नुभयो । तर ढोका ममीले नै खोलिदिनुभयो र फेरि लगाउनुभयो ।

त्यसपछि मेरा श्रीमान् बाहिर आएर तँ यहाँ किन आएकी भन्नुभयो । मैले उहाँसँग तपाईं त्यहाँ कोठामा नबस्ने भएपछि म पनि एक्लै बस्दिन । त्यहाँ सबै केटैकेटा छन् । मलाई एक्लै बस्न अप्ठ्यारो हुन्छ । म पनि तपाईंहरुसँग यहीँ बस्छु । केही समयपछि ढोका खुल्यो । म त्यही मौका पारी घरभित्र पसें । म कोठाभित्र छिर्नासाथ एक्कासि बुबाले यो अर्काको घरमा जबरजस्ती गर्ने को हो ? केको जबरजस्ती हो यो ? भन्नुभयो ।

बुबा बोलेको सुनी फरक्क पछाडि फर्केकी मात्र के थिएँ ममीले मलाई कपालमा समातेर बाहिर निकाल्नुभयो र ढोका बन्द गर्नुभयो । त्यसपछि कसैले ढोका खोलेन । म ढोका बाहिरै बसेर धेरै बेर रोइरहें र केही सीप नलागेपछि कोठामै फर्किएँ ।

केही घण्टापछि श्रीमान् डेरामा आएर, आफूलाई के सम्झेकी छस् अब फेरि यस्तै जबरजस्ती गरिस् भने तँलाई वाईसीएलका महिला ल्याएर कुटाउँछु भन्दै फेरि त्यस्तै नराम्रो व्यवहार गर्नुभयो । त्यसपछि उहाँ हिँड्नुभयो र आउनु नै भएन ।

यस्ता दिनहरु बिताउन बाध्य भएँ । यसै क्रममा सोही वर्ष कात्तिक १२ गतेको कुरा हो । मैले कसैबाट ममीबुबा युरोप जानुभएको र मेरो श्रीमान्चाहिँ कोही अरु नै केटीसँग बसेको भन्ने सुनें ।

अफिसबाट आउनासाथ उहाँ बसेको घरमा गएँ । उहाँ कम्प्युटर चलाएर बसिराख्नुभएको थियो । म जानासाथ मलाई उहाँले कपालमा समातेर बाहिर निकाल्न खोज्नुभयो । मैले पनि जबरजस्ती गरें । हामीबीच भनाभन पनि भयो र उहाँले मलाई धेरै नै पिट्नुभयो । मलाई पनि खपिनसक्नु भएकाले मन शान्त पार्न २÷४ कुरा मुखले सुनाएर आफन्तको कोठातिर लागें ।

त्यसपछि २०६४ कात्तिक १३ गते म यी सबै विवरणहरु लिएर न्यायको आशामा नेकपा माओवादी पार्टीमा लिएर गएकी थिएँ । न्याय पाउने आशामा मैले नेकपा माओवादीका जिम्मेवार नेतासँग यी सबै कुराहरु राखेकी थिएँ । उहाँले मेरो कुरा राम्रोसँग सुन्नुभयो ।

यो कुरा हाम्रो पार्टीको प्रतिष्ठाको कुरा पनि हो । तपार्इं के चाहनुहुन्छ ? भन्ने कुरा गर्दा अंकल म सञ्जिवसँगै बस्न चाहन्छु भनेकी थिएँ । उहाँले मलाई त्यो केटालाई मैले चिनेको छैन, मैले सिधै कुरा गर्ने भनेको गौरवजी (सीपीजी)सँग हो, उहाँ अहिले हुनुहुन्न त्यतिन्जेलसम्म कुर्नुस्, म यो कुरा केन्द्रीय कमिटीमा पनि राख्छु । तपार्इं यी सब विवरण राखेर केन्द्रीय कमिटीमा एउटा निवेदन दिनुस् भन्नुभयो ।

मैले पनि उहाँकै सल्लाहअनुसार त्यही गरें । त्यसपछि बुबाममी पनि फर्किनुभएपछि पुस महिनामा सञ्जिव र म दुवै जनालाई पार्टी कार्यालय बुद्धनगरमा बोलाइएको थियो । हामीलाई त्यहाँ पनि एकराज भण्डारी (जो अहिले सभासद् हुनुहुन्छ, उहाँले नै हाम्रो केस डिल गर्नुभएको थियो) उहाँले हामीलाई मिल्नकै लागि सल्लाह दिनुभयो । चुनावको व्यस्तताका कारण, पछि समय दिन सक्नुभएन । तर समयसमयमा सञ्जिवको बिहेका लागि केटी खोज्ने कार्य जारी भैरहेको कुरा सुन्नमा आइरहन्थ्यो ।

चुनावको लगत्तै मेरो श्रीमान्ले (वैशाखतिर) सम्बन्धविच्छेदका लागि काठमाडौं महानगरपालिका फिराद दर्ता गराउनुभएछ ।  त्यसपछि हाम्रो समस्या सार्वजनिक भयो र मिडियामा पनि आयो ।

कतिपय मिडियाहरु मलाई खौज्दै आइपुगे । मैले सुरुमा आफ्नो समस्या राख्न इन्कार गरें । सम्बन्धविच्छेदको कुरा थाहा पाएपछि म अत्यन्त विक्षिप्त भएँ । म एकदम हतास मनस्थितिमा थिएँ । मलाई कानूनी कुरा केही थाहा थिएन । केही शुभचिन्तकहरुले मुद्दामा वकिल राखी प्रतिउत्तर लगाउनुपर्ने सल्लाह दिनुभयो । फेरि मलाई वकिलबारे कुनै आइडिया थिएन । मुद्दा लड्न धेरै पैसा लाग्छ रे भन्ने सुनेकी थिएँ ।

मसँग पैसा पनि थिएन । यता काठमाडौं महानगरपालिकामा श्रीमान्ले सम्बन्धविच्छेदको फिराद दर्ता गराउनुभएपछि मुद्दाको प्रक्रिया अगाडि बढिरह्यो । त्यहाँको कानून अधिकृत र अरु मध्यस्थकर्ताकोे सहयोगमा धेरै चोटि छलफल चल्यो । म सञ्जिवभन्दा अलग बस्न नसक्ने र उहाँ मसँग बस्न नखोज्ने, मिल्नका लागि मेरो श्रीमान्लाई सम्झाउनुभयो । त्यहाँबाट पनि सकारात्मक प्रतिफल प्राप्त हुन सकेन । त्यसपछि नगरपालिकाले केस जिल्ला अदालतमा पठाइदियो ।

नगरपालिकाबाट मुद्दा जिल्ला अदालत जानेबेलामा मैले केही मानवअधिकारवादी संस्थाको नाम सुनेकी र उनीहरुले पीडित महिलाको तर्फबाट मुद्दा लड्छन् भन्ने पत्रिकामा पढेकी थिएँ । म सहारा खोज्दै माइती नेपाल र ओएचसीएचआरमा गएँ । माइती नेपालले जिल्ला अदालतमा चालिनुपर्ने कदमका लागि केही वकिलहरुसँग छलफल गर्ने योजना बनाई मलाई अर्को दिन बोलायो ।

वकिलको सल्लाहबमोजिम मैले प्रतिउत्तर लगाउने भएँ । मैले मेरो वकिललाई म सञ्जिवबाट अलग हुनु नपर्ने तरिका बताउन अनुरोध गरें । उहाँहरुले मानाचामल र अंशमुद्दा हाल्नुपर्ने यस्तो प्रक्रियाले सञ्जिवलाई मसँगको सम्बन्ध कायम राख्न सहयोग पुग्ने बताउनुभयो ।

मैले पनि त्यही गरे । (तर मानाचामल र अंशमुद्दाले मेरो र सञ्जिवको सम्बन्ध झन् छिटो टुङ्गिने थाहा पाएपछि उक्त मुद्दाहरु दुवै फिर्ता लिएँ । किनकि त्यो मुद्दा हाल्नुको उद्देश्य सम्पत्ति लिनुखानु नभई सञ्जिवसँग जीवन बिताउने आधार तयार पार्नुथियो) म सञ्जिवलाई गुमाउन चाहन्नथे । त्यसैले ओएचसीएचआरमा पनि गएँ । त्यहाँका अधिकृतहरुले सबै घटना विवरण बताउन भन्नुभयो । मैले पनि बताएँ ।

जिल्लामा हाम्रो सम्बन्धविच्छेदको मुद्दा हेर्ने माननीय न्यायाधीशज्यूसमक्ष म त्यो बेञ्चमा धेरै चोटि रोएकी छु । मैले माननीय न्यायाधीशज्यूलाई धेरै आग्रह गरें । कि मेरो परिवारले मलाई अन्याय गरे पनि अदालतसमेत लागेर मसँगबाट मेरो श्रीमान् जबरजस्ती नछिन्नुस् । म मेरो श्रीमान्लाई एकदमै माया गर्छु । ऊ पनि मलाई माया गर्छ तर किन हो कुन्नि परिवारको अगाडि डराउँछ । म सञ्जिवबाट अलग बस्ने कुराको कल्पनासम्म गर्न सक्तिन ।  मैले श्रीमान् छोड्नुपर्ने कुनै अपराध गरेकी छैन । कि त परिवार वा अदालतले मेरो गल्ती के हो देखाइदेओस् । कि त मलाई न्याय दियोस् ।  मसँग नगरेको गल्तीको सजाय भोग्ने हिम्मत छैन ।

एकदिन जिल्ला अदालतले मेरा लागि सम्बन्धविच्छेद हुने गरी एकदमै कठोर फैसला गरिदियो । त्यसपछि म अन्यायमाथिको अर्को अन्यायको बोझ बोकेर न्यायका लागि पुनरावेदन गएकी छु । पुनरावेदन अदालत पाटनमा मुद्दा चलिरहेको छ ।

फेरि मेरो श्रीमान्ले अर्को विवाह गरेर लुकाइराखेको खबरहरु सुन्नमा आयो । हल्लाको पछाडि केही छ जस्तो लागेर अलि विश्वासिलो स्रोतबाट बुझ्ने कोसिस गरें । विवाह गरेको कुरा चाहिँ सत्य हो भन्ने कुरा आएको छ । तर यो खबरलाई गजुरेल परिवारले अत्यन्त गोप्य राखेको हुनाले त्यसको डिटेल इन्फरमेसन चाहिँ पाउन सकेको छैन । श्रीमान्ले गएको असारमा विवाह गरेर दशैंमा गाउँ खयरमारामा लगेको भन्ने खबर सुनेकी छु ।

त्यस खबरले मलाई साह्रै विक्षिप्त पा¥यो र मैले मेरो श्रीमान्लाई पटकपटक सम्पर्क गरी यथार्थ कुरा बताउन अनुरोध गरें ।

मैले त्यसको बारेमा जान्नलाई तीन पटकसम्म मेरा ससुरा सीपी गजुरेललाई फोन गरें, तर मेरो फोन उहाँले काटिदिनुभयो । फेरि मैले सञ्जिवको दिदी–भिनाजु र दाइलाई फोन गरेर बुझ्ने कोसिस गरें । तर, उहाँहरुले पनि रेस्पोन्स गर्नुभएन ।

म न्यायका लागि पुनः एकपटक माओवादी पार्टीमा आएकी छु । म त्यो जिम्मेवार परिवारबाट सोच्नै नसकेको अन्याय भोग्दै आइरहेकी छु । म न्यायका लागि धेरै पटक धेरैतिर भौंतारिएको छु । मैले सुनेअनुसार मेरो चरित्रमा दोष देखाउनका लागि धेरै नराम्रा लाञ्छना लगाई चरित्रहीन केटी हो, त्यसैले हामीले घरबाट निकालेको आदि–इत्यादि झूटा आरोपहरु लागाइएको रहेछ ।

यी सबै कुराहरु शतप्रतिशत झूठा हुन् । मैले कसैलाई पनि केही नराम्रो भनेकी छैन र कसैलाई मैले नराम्रो गरेको पनि छैन । मेरो चरित्रमा खोट देखाउने कुरा भएमा मसँग प्रत्यक्ष कुरा होस् जाँचबुझ गरियोस् र प्रमाणित भएमा सजाय भोग्न तयार छु ।

जहाँसम्म दाइँजोको कुराको सम्बन्धमा हाम्रो दुवै पक्षबीचमा कसरी विवाह गर्ने, दाइँजो केकति गर्ने भनेर मेरा आफन्त दाजुहरु सल्लाह गर्न जानुभएको थियो । त्यतिबेला आफ्नो गच्छेअनुसार माइतीतर्फबाट सामान्य चलनचल्तीअनुसार अरु सबै थोक गरेको (बैंक ब्यालेन्ससमेत गरेको) तर सोफालगायतको फर्निचर चाहिँ उहाँहरुलाई अप्ठ्यारो पर्ला (दुनियाले देख्दा के भन्लान् ?) भनेर नदिनुभएको हो ।

म एक सामान्य परिवारको छोरी भएकीले सम्भ्रान्त परिवारको छोरीको जस्तो दाइँजो ल्याउने क्षमता ममा थिएन र छैन । मेरो माइती कुनै राजनीतिक परिवार पनि होइन । सामान्य किसान परिवार हो । तर पनि मेरा बाबाआमाले दुःख गरी एमएसम्म पढाउनुभएको छ ।

बिहेमा कम दाइँजो ल्याएको कारणले आज मैले सारै पीडा झेल्नुपरेको छ । त्यसको असर भविश्यमाथि पारेको अन्धकारले आफूलाई साह्रै चिन्तित पनि तुल्याएकोे छ । सोफा नल्याएकै कारणबाट चेलीको घर बिग्रिएपछि मेरा माइती पनि अत्यन्त पछुताउनुभएको छ । मेरो माइती अहिले पनि गजुरेल परिवारलाई सक्दो सम्मान दिन तयार हुनुहुन्छ ।

न्याय माग्दै सुनिताले माओवादी अध्यक्ष प्रचण्डसमक्ष दिएको निवेदन

न्याय पाऊँ...............................................READ FULL ARTICLE AT http://www.vishwanews.com/2011/05/22/7865.html

Last edited: 25-May-11 09:00 AM
Read Full Discussion Thread for this article